घोराही, ४ भदौ । नेपाल महिला सामुदायिक सेवा केन्द्रको ३०औँ स्थापना दिवसको अवसरमा छात्राहरूलाई सेनेटरी प्याड वितरण गरिएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर ६ मा रहेको जयशेर मावि रावतगाउँका तीन सय बढी छात्राहरूलाई सोमबार सेनेटरी प्याड वितरण गरिएको हो ।
नेपाल महिला सामुदायिक सेवा केन्द्रका अध्यक्ष कल्पना न्यौपानेको अध्यक्षता एवं घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमा डिसीको प्रमुख आतिथ्यता र विद्यालयका सहायक प्रधानाध्यापक दिपेन्द्र पुनको विशिष्ट आतिथ्यमा भएको कार्यक्रममा विद्यालयमा अध्ययनरत छात्राहरूलाई सेनेटरी प्याड वितरण गरिएको थियो ।
कार्यक्रममा बोल्दै घोराही उपमहानगरपालिकाका उपप्रमुख डिसीले संस्थाले वार्षिकोत्सवको अवसरमा सामाजिक कामहरू गरेकोमा धन्यवाद ज्ञापन गर्दै यस्ता सामाजिक कार्यहरूलाई निरन्तरता दिन अनुरोध गरिन् । संस्थाले स्थानीय उद्योग स्थापना गरी सोही उद्योगबाट उत्पादन गरेको सेनेटरी प्याड निःशुल्क रूपमा वितरण गरेकोमा खुसी व्यक्त गर्दै उनले छात्रा एवं शिक्षिकाहरूलाई पुनः प्रयोग गर्न मिल्ने सेनेटरी प्याड प्रयोगपश्चात् सल्लाह, सुझाव दिन अनुरोध पनि गरिन् ।
उनले स्थानीय सरकारले विद्यालयमा सेनेटरी प्याड वितरण गर्दै आएको बताउँदै यस विषयमा विद्यालय परिवार पनि जिम्मेवार बन्नुपर्ने उनको भनाइ थियो । ‘तपाईहरूले यो सेनेटर प्याड प्रयोग गरेपछि यसको बारेमा हामीलाई सल्लाह, सुझाव दिनुहोला, हामी तपाईहरूको सल्लाह, सुझावको आधारमा यसलाई कसरी व्यवस्थित गर्न सकिन्छ ? भनेर सल्लाह गर्ने छौँ’ उनले भनिन्– ‘सेनेटरी प्याडको प्रयोगका विषयमा सबै सचेत हुन आवश्यक छ, यसको सही प्रयोग नहुँदा स्वास्थ्यमा समस्या हुन सक्छ त्यसैले छात्राहरू आफै सचेत हुने र विद्यालयले पनि यस विषयमा सहजीकरण गर्न आवश्यक छ ।’
नेपाल महिला सामुदायिक सेवा केन्द्रले ग्रामीण क्षेत्रका छात्राहरूलाई महिनावारीको समयमा विद्यालय छोड्नुपर्ने बाध्यता कम गर्नका लागि विद्यालयहरूमा निःशुल्क सेनेटरी प्याड वितरण गर्दै आएको छ । जिल्लाका ग्रामीण क्षेत्रका छात्रा एवं जोखिममा रहेका समुदायका महिलाहरूलाई निःशुल्क रूपमा सेनेटरी प्याड वितरण गर्दै आएको संस्थाका अध्यक्ष कल्पना न्यौपानेले जानकारी दिइन् ।
संस्थाले सञ्चालन गरेको महिला स्वरोजगार केन्द्र घोराही–१५ ले उत्पादन गरेको सेनेटरी प्याड निःशुल्क रूपमा समुदायमा वितरण गर्दै आएको उनले बताइन् । ‘हामीले महिला स्वरोजगार तालिम केन्द्र घोराहीले उत्पादन गरेको सेनेटरी प्याड एवं मास्कहरू आवश्यकता अनुसार समुदायमा वितरण गर्दै आएका छौ’ अध्यक्ष न्यौपानेले भनिन्– ‘महिनावारीको समयमा विद्यालय छोड्नुपर्ने बाध्यता नहोस् भन्ने उद्देश्यका साथ यो अभियान सञ्चालन गरेका हौँ ।’
कार्यक्रममा मनोविमर्शकर्ता लक्ष्मी ढकालले सेनेटरी प्याड प्रयोगका विषयमा जानकारी गराएकी थिइन् भने कार्यक्रमको सहजीकरण कार्यक्रम अधिकृत आरके शीतलले गरेका थिए । वि.स २०५० भदौ ३ गते स्थापना भएको संस्थाले स्थापना दिवसको अवसरमा आइतबार रक्तदान एवं शैक्षिक सामग्री वितरण गरेको थियो ।