
जीतसागर जी.एम.
दाङ, ४ भदौ । दाङमा बर्सेनि महिला, बालबालिका र ज्येष्ठ नागरिक हराउने गरेका छन् । जिल्ला प्रहरी कार्यालय दाङको तथ्यांक अनुसार बर्सेनि हराउने महिला, बालबालिका र ज्येष्ठ नागरिककोे संख्या बर्सेनि बढ्दै गएको छ । जिल्लामा ४९ महिनामा ९ सय ६९ जना महिला हराएको प्रहरीले जनाएको छ ।
आर्थिक वर्ष ०७६/७७ देखि चालुवर्षको साउन महिनासम्ममा ९ सय ६९ जना महिला हराएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी राजन कुमार गौतमले जानकारी दिए । उनका अनुसार आर्थिक वर्ष ०७६/७७ मा दुई सयजना, आर्थिक वर्ष ०७७/७८ मा ३ सय १ जना, आर्थिक वर्ष ०७८/७९ मा ३ सय ५३ जना, आर्थिक वर्ष ०७९/०८० मा ३ सय ८२ र चाल वर्षको साउन महिनामा ३४ जना महिला हराएको निवेदन दाङ प्रहरीमा परेको छ ।
महिला हराएको तथ्यांक डरलाग्दो देखिएपनि अधिकांश महिला दोस्रो बिहे गरेर जाने गरेको देखिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी गौतमले बताए । ‘महिला हराएको जानकारी प्रहरीमा आउँछ, हामीहरू पनि उहाँहरूको खोजीमा लाग्छौँ, अन्तिममा दोस्रो बिहे गरेर गएको जानकारी प्रहरीमा आउँछ, केहीलाई हामी आफैले पत्ता लगाउँछौँ’ उनले भने– ‘महिला भेटिए पनि प्रहरीमा जानकारीसमेत आउने कम छ, तर हराएका सबै महिला दोस्रो बिहे गरेको पनि हुँदैनन्, जेहोस् अधिकांश दोस्रो बिहे गरेर गएका हुन्छन् ।’
उनले अरू कारणले पनि हराउने गरेको बताए । ‘कतिपय अरू कारणले बेपत्ता हुनुभएको हुन्छ । तर अधिकांश घटना दोस्रो बिहे गरेर गएको देखिन्छ’ उनले भने–‘कतिपय जानकारी नआउँदा नभेटिएको तथ्यांकमा आउने प्रहरीले दाबी गरेको छ ।’ श्रीमान वैदेशिक रोजगारीमा गएको अवस्थामा श्रीमती परपुरूषसँग दोस्रो विवाह गरेर जाँदा महिला हराउनेको संख्या बढ्दै गएको प्रवक्ता गौतमले बताए ।
‘महिला हराउनुमा वैदेशिक रोजगार पनि छ’ उनले भने–‘कतिपय महिला दोस्रो बिहे गरेर जान्छन्, कतिपय वैदेशिक रोजगारीमा पनि जाने गरेका छन् ।’ प्रहरीको तथ्यांकअनुसार महिलापछि सबैभन्दा बढी हराउनेमा बालबालिका र ज्येष्ठ नागरिक रहेका छन् । कानुनले २० वर्ष मुनिका बिहेलाई अपराध मानेपनि हराएर जानेमा २० वर्षमुनिका किशोरी रहेको र अधिकांश विहे गरेर गएको देखिने गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरीको तथ्यांकअनुसार ४९ महिनाको अवधिमा ४ सय ८४ बालिका हराएका छन् भने हराएका बालिकामध्ये ४ सय ७३ बालिका भेटिएका छन् । जिल्लामा ११ जना बालिका अझैपनि सम्पर्कबिहीन रहेको देखिएको छ । ४९ महिनाको तथ्यांकलाई हेर्दा बालिका बर्सेनि हराउने क्रम बढ्दो रहेको छ ।
आर्थिक वर्ष ०७६/७७ मा ९० जना बालिका हराएकोमा आर्थिक वर्ष ०७७/७८ मा १ सय ७, आर्थिक वर्ष ०७८/७९ मा १ सय ५८ जना, आर्थिक वर्ष ०७९/८० मा १ सय ७३ जना र चालुवर्षको साउन महिनामा १४ जना बालिका हराएका छन् । बढ्दो सूचना प्रविधिको प्रयोगक अर्थात् मोबाइल फोन, सामाजिक सञ्जाल लगायतबाट चिनजान भएको युवाहरूसँग परिवारलाई जानकारी नै नदिई घर छाडेर विवाह गर्दा बालिकाको संख्या हराएको सूचीमा पर्ने गरेको डिएसपी गौतमले बताए ।
यस्तै ४९ महिनाको अवधिमा २ सय ९१ बालक हराएका छन् भने २ सय ८२ जना बालक भेटिएका छन् । ९ जना बालक अझै पनि सम्पर्कमा आएका छैनन् । आर्थिक वर्ष ०७६/७७ मा ६० जना बालक हराएकोमा आर्थिक वर्ष ०७७/७८ मा ३९ जना हराएका थिए । आर्थिक वर्षमा ०७८/७९ मा ८३ जना, आर्थिक वर्ष ०७९/८० मा १ सय ३३ र चालुवर्षको साउनमा १३ जना बालक हराएको देखिएको छ । पारिवारिक अवस्थाका कारण धेरै बालकले घर छोड्ने गरेका छन् ।
अभिभावकको निगरानी बढ्न नसक्नु, अभिभावकबिहिन बालकलगायतले बालकले घर छोड्ने गरेको प्रहरीले जनाएको छ । जिल्लामा ९ जना बालक अझै सम्पर्कबिहीन रहेका छन् । परिवारहरू बसाइँ सरेर जाँदा जिल्लामा खोजीका लागि केही समस्या हुने गरेको प्रहरी प्रवक्ता गौतमले बताए । प्रहरीका अनुसार चार वर्ष एक महिनाको अवधिमा २८ जना ज्येष्ठ नागरिक पनि हराएका छन् भने २४ जना फेला परेका छन् ।