निता चौधरी
तुलसीपुर, ३२ साउन । नेपाल सरकारले सञ्चालन गरेको दादुरा रूवेलाविरूद्धको खोप अभियानमा दाङका दुई लाख बढी बालबालिकाले खोप लगाएका छन् । जिल्लाका ६ महिनादेखि १५ वर्षमुनिका कुल २ लाख ३ हजार ६ सय १२ जना मध्येबाट २ लाख ६ सय ४५ जना बालबालिकाले खोप लगाएको जिल्ला स्वास्थ्य कार्यालय दाङले जनाएको छ ।
कार्यालयले दिएको तथ्यांक अनुसार सबैभन्दा धेरै घोराही उपमहानगरपालिका र कम दंगीशरण गाउँपालिकामा खोप लगाइएको थियो । घोराही उपमहानगरपालिकाका ६६ हजार ३ सय ७३ मध्ये ६३ हजार ५ सय, तुलसीपुरका ५७ हजार २ सय ८३ मध्ये ५६ हजार ९ सय ९६ जना, लमही नगरपालिकामा १४ हजार ४ सय ४२ मध्ये १५ हजार ९ सय ९ जना, बंगलाचुली गाउँपालिकामा ८ हजार १ सय ५१ बालबालिका मध्ये ७ हजार ४ सय ९० जनालाई खोप लगाइएको स्वास्थ्य कार्यालय दाङका खोप शाखा प्रमुख किशोर कुमार आचार्यले जानकारी दिए ।
यस्तै शान्तिनगरमा ७ हजार ५ सय ५१ जनामध्ये ७ हजार ६ सय ९७ जना, बबईमा ८ हजार ९ सय २ मध्ये ८ हजार ९ सय ५८ जनालाई, दंगीशरणमा ५ हजार ६ सय ६० मध्ये ५ हजार ५ सय ९२ जनालाई, राप्तीमा १३ हजार ९ सय ४० जनामध्येबाट १४ हजार ६ सय १९ जनालाई, गढवामा १२ हजार १ सय ५९ मध्ये १२ हजार ६३ जनालाई र राजपुर गाउँपालिकामा ९ हजार ५१ मध्ये ७ हजार ८ सय २१ जनालाई खोप लगाइएको उनको भनाइ छ ।
दाङमा ६ महिनादेखि ५९ महिनासम्मका ४९ हजार ४ सय ३४ जना बालबालिका रहेकोमा ४९ हजार २ सय २८ जनालाई खोप लगाइयो भने ५ वर्षदेखि १५ वर्ष मुनिका १ लाख ५४ हजार १ सय ४७ जना रहेकोमा १ लाख ४९ हजार ९ सय ९४ जनालाई खोप लगाइएको थियो । १० वटै पालिकाका ८ सय १ खोप केन्द्रबाट खोप लगाइएको थियो ।
जिल्लामा खोप लगाउनका लागि १ हजार ७ सय ४५ जना स्वास्थ्यकर्मीहरू र १ हजार ७ सय ४५ जना स्वयम्सेवकहरू परिचालन गरिएको थियो । नेपाल सरकारले गत जेठ २५ गतेदेखि असार ७ गतेसम्म दादुरा रूवेलाविरूद्धको खोज तथा खोप अभियान दादुराको प्रकोप बढी देखिएको दाङलगायत देशभरका नौवटा जिल्लामा सञ्चालन गरिएको थियो ।
यसैबीच राष्ट्रिय खोप तालिका अनुसार बालबालिकाको उमेर अनुसार नियमित लगाउनुपर्ने खोप लगाउन छुटेका १ हजार ४ सय २३ जना बालबालिकालाई खोप लगाइएको खोप शाखा प्रमुख आचार्यले जानकारी दिए । उनका अनुसार स्थानीय तहका स्वास्थ्य शाखाहरूले अनुगमन गरी दादुराको खोप लगाउन छुटेका बालबालिकाहरूलाई उक्त खोप लगाइएको हो ।
जिल्लाको घोराही उपमहा–नगरपालिकामा २ सय ३९ जना, तुलसीपुरमा २ सय ५२ जना, लमहीमा ३ सय ९० जना, बंगलाचुलीमा ८४ जना, शान्तिनगरमा ३३, बबईमा २, दंगीशरणमा ४३, राप्तीमा ९४, गढवामा ७४ र राजपुरमा २ सय १२ जनालाई नियमित खोप लगाउन छुटेका बालबालिकालाई खोप लगाइएको आचार्यले बताए ।
‘हामीले नियमित खोप लगाउन आग्रह गर्दागर्दै पनि केही नागरिकहरूले आफ्ना बालबालिकालाई खोप लगाउन छुटाउनुभएको हुन्छ, त्यस्ता बालबालिकालाई गाउँघरमै गएर प्रत्येक स्थानीय तहका स्वास्थ्य शाखाले खटाएका स्वास्थ्यकर्मीहरूले अनुगमन गरी खोप लगाउन छुटेको भेटाएपछि खोप लगाउँछन् । अनुगमनका क्रममा खोप नलगाएका बालबालिका भेटिएमा बालबालिका भेटिएको महिनामा नै खोप लगाउँछन’ उनले भने ।