प्रदेश टुडे
दाङ, ३२ साउन । तुलसीपुर–९ दाङ बेलुवामा अवस्थित सगरमाथा विद्यालयले विद्यार्थी, अभिभावक र समाजलाई सचेत बनाउने उद्देश्यले सचेतना कार्यक्रमको आयोजना गरेको छ । विद्यालयका प्रधानाध्यापक छवि कुमार वलीको अध्यक्षता, जापनिज चुकुभा विश्वविद्यालय इबारिकीका असिस्सेन्ट प्रोफेसर डा. युका नाकामुराको प्रमुख आतिथ्यता एवं स्वास्थ्यकर्मी तथा सामाजिक अभियान्ता जीवराज चौधरी र अभिभावक इन्द्रजित चौधरीको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो ।
मानव रगतमा पाइने रातो गोलाकार रक्त कोषिकाको स्वरूप परिवर्तन भई हँसियाजस्तै आकारमा रूपान्तरण हुने रक्तअल्पतासम्बन्धी रोगलाई सिकलसेल रोग वा सिकलसेल एनिमिया भनिन्छ । यो रोग वंशाणुगत रोग हो र नेपालमा खासगरी पश्चिम तराईका थारू जातिमा बढी पाइन्छ । यो रोग जिनमा हुने खराबीले आमाबुबाबाट छोराछोरीमा सर्ने गर्छ । यो रोग लागेका बिरामीहरूको रक्तकोषहरू हँसिया आकारको हुने भएकाले यसलाई हँसिया रोग पनि भनिन्छ । प्रमुख प्रशिक्षक युकामुराले भनिन् ।
दाङ र आसपासका क्षेत्रमा व्याप्त रोगमध्येको एक सिकलसेल एनिमियाले सम्पूर्ण मानव शरीरमा अक्सिजन पु¥याउने रातो रक्त कोषिकाको आकार नै परिवर्तन गर्छ । तराई क्षेत्रमा बसोबास गर्ने थारू समुदायमा यो रोगको उच्च प्रकोप देखिएको छ, शरीर दुख्ने, विभिन्न संक्रमणहरू हुने, कडा थकानको महसुस र रक्तअल्पता हुने लक्षण देखिएको छ ।
यस रोगबाट संक्रमित व्यक्तिहरूले आफ्नो दैनिक जीवनमा कुनै पनि प्रकारको शारीरिक काम गर्न कठिनाइ महशुस गर्छन् र समुदायमा सामाजिक र आर्थिक विपत्तिको शिकार हुन्छन्’ कार्यक्रममा बोल्दै विशिष्ट अतिथि जीवराज चौधरीले बताए । यसैगरी अभिभावक इन्द्रजित चौधरीले विद्यालयले समय–समयमा विद्यार्थी, अभिभावक र समाजको स्वास्थ्यप्रति संवेदनशील बन्दै विभिन्न कार्यक्रम गर्दै आइरहेको र पछिल्लो समयमा सबैको रोजाइको विद्यालय बनेकोमा खुशी व्यक्त गरे ।
थारू समुदायका कतिपय व्यक्तिहरू यस रोगबाट निकै पीडित रहेका छन् त कतिपय यो रोगबारे अनविज्ञ छन् साथै संक्रमित उपचारबारे जानकारी नपाएर धेरैजना घरमै पीडा सहेर बस्दै आएका छन् । अधिकांश भूत वा देवता रिसाएको विश्वासमा गाउँकै धामी, झाँक्री र गुरूवाको शरणमा जाने गरेका छन् । रोग पहिचान हुन नसक्दा कयौंको ज्यान गएको छ ।
यस रोगबाट सङ्क्रमित व्यक्तिमा गोलाकार रक्तकणिकाहरू छिटो–छिटो नष्ट भै रक्तसञ्चारमा अवरोध उत्पन्न हुने र रगतमा अक्सिजनको कमी हुन गई शरीरका विभिन्न अङ्गमा क्षति पुग्ने हुन्छ । सिकलसेल एनिमिया भएमा शरीरमा पीडा, अन्य रोगहरूको सङ्क्रमण, कमलपित्तजस्ता लक्षण देखिने, फोक्सोमा रूकावट हुने, मृगौलामा खराबी आउने, मस्तिष्कमा आघात हुने, फियो वा कलेजोमा रक्तसञ्चार रोकिनेजस्ता लक्षण देखापर्ने विद्यालयका प्रधानाध्यापक छवि कुमार वलीले जानकारी गराए । कार्यक्रमको सहजीकरण विद्यालयका कार्यक्रम प्रमुख शरद शर्माले गरेका थिए ।