दाङ, ३० साउन ।
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । नतिजा अनुसार करिब ५१ दशमलब ९१ प्रतिशत मात्र ग्रेडेड (उत्तीर्ण) भएका छन् । त्यस्तै ४९ दशमलब ०९ प्रतिशत भने नन ग्रेडेड भएका छन् ।
परीक्षामा नियमित र ग्रेडवृद्धि गरी ४ लाख ४८ हजार विद्यार्थी सहभागी भएको बोर्डले जनाएको छ । गत बैशाख २६ देखि जेठ ५ गतेसम्म देशभरका एक हजार चार सय ५७ परीक्षा केन्द्रमा चलेको परीक्षामा सहभागी हुन चार लाख ६७ हजार तीन सय ८९ विद्यार्थीले फाराम भरेका थिए ।
बोर्डका अनुसार यस वर्ष ५६ हजार बढी विद्यार्थी ग्रेड वृद्धि परीक्षामा सहभागी भएका थिए । गत बर्ष बोर्डले लेटर ग्रेडिङ निर्देशिकामा संशोधन गरेर पहिलो पटक हरेक विषयमा सैद्धान्तिकतर्फ कम्तिमा ३५ प्रतिशत अंक नल्याए ग्रेड सिटमा एनजी अर्थात् नन ग्रेडिङ उल्लेख हुने व्यवस्था गरेको थियो ।
गतवर्ष नियमिततर्फ १ लाख ८८ हजार चार सय १० जना नन् ग्रेडिङमा परेका थिए । यो वर्गका विद्यार्थी उच्च शिक्षा अध्ययनका लागि भर्ना हुन पाउँदैनन् । दुई विषयमा एनजी आएमा ग्रेडवृद्धि परीक्षा दिन पाइन्छ ।
गतवर्ष कक्षा १२ मा ४८ प्रतिशत विद्यार्थीले मात्र ग्रेडसिट प्राप्त गरेका थिए । त्यसअघि दुईभन्दा बढी विषयमा एनजी आए अर्को वर्ष सबै विषयको परीक्षा दिनुपर्ने व्यवस्था थियो । –इदुखबरबाट