दाङ, २९ साउन । नेपाल महिला सामुदायिक सेवा केन्द्र घोराही दाङ सम्मानित भएको छ । स्वावलम्बन विकास केन्द्र काठमाडौँले आफ्नो ३२औँ वार्षिकोत्सवको अवसरमा नेपाल महिला सामुदायिक सेवा केन्द्रलाई सम्मान गरेको हो । संस्थाले विभिन्न माध्यमबाट समाज रूपान्तरण र सामाजिक तथा आर्थिक विकासका लागि उत्कृष्ट कार्य गरेको भन्दै नेपाल महिला सामुदायिक सेवा केन्द्रलाई सम्मान गरेको हो ।
आफ्ना सदस्यहरूले उत्पादन गरेको वस्तुहरूको बजारिकणका लागि हरियो बजार स्थापना गरी देशकै नमूना कार्य गरेकाले स्वावलम्बन विकास केन्द्रले वार्षिकोत्सवको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा महिला सामुदायिकलाई सम्मान गरेको हो ।
स्वावलम्बन विकास केन्द्रका अध्यक्ष शंकरमान श्रेष्ठको अध्यक्षता एवं नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा गरिएको सम्मान नेपाल महिला सामुदायिक सेवा केन्द्रका सह–सचिव गीता योगी र कार्यक्रम अधिकृत आरके शीतलले ग्रहण गरेका थिए । त्यस अवसरमा देशभरका उत्कृष्ट पाँचवटा गैरसरकारी संस्थाहरूलाई सम्मान गरिएको थियो ।
नेपाल महिला सामुदायिक सेवा केन्द्रले किसान सदस्यहरूले उत्पादन गरेको सामग्रीहरू बजारीकणका लागि घोराही उपमहानगरपालिका वडा नम्बर १५ रतनपुरमा हरियो बजार (ग्रीप शप) सञ्चालन गरेको छ । हरियो बजारमा दूध सागर डेरी पनि सञ्चालनमा गरिएको छ ।
हरियो बजारमा स्थानीय कृषकहरूले उत्पादन गरेको कृषीजन्य उत्पादनहरू दाङको पहिचान तोरीको तेल, विभिन्न जातका स्थानीय चामल, गेडागुडी, दाल, मसला, बेसार, अदुवा, भाँगो, टिमुर, तील, सिन्कामारी, सिन्की, सुकाको साग, पाते पाप्रो, मस्यौरालगायत अन्य घरायसी उपभोगका लागि आवश्यक पर्ने सम्पूर्ण सामाग्रीहरू बिक्री गर्ने गरिएको छ ।
यस्तै स्थानीय किसानहरूले उत्पादन गरेको दूधलाई नेपाल सरकारको मापदण्डमा रही प्रशोधन गरिएको प्याकेजिङ दूध, दही, पनिर, खुवा, घ्यू, बटर, पेडा, रसबरी, बेकरी आईटमहरू पाउरोटी, डोनट, ब्रेड, पेस्टीज उत्पादन एवं बिक्री गर्दै आएको छ ।