प्रदेश टुडे
दाङ, २७ साउन । दाङका पालिकामा भूमिहीन तथा बटैया किसान लक्षित परियोजना सुरू भएको छ । भूमिहीन तथा बटैया किसानहरूको सुरक्षा सञ्जाल तथा हरित ग्रामीण नेपालका लागि भू–सम्बन्ध सम्बन्धी समस्या समाधान परियोजनाको सुरू भएको हो ।
दाङको लमही नगरपालिका, राजपुर, गढवा र राप्ती गाउँपालिका कार्यक्षेत्र रहेको परियोजनाको शुभारम्भ गर्दै भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले भूमिहीन वर्गको उत्थानमा परियोजना सहयोगी बन्नुपर्नेमा जोड दिए । परियोजना सञ्चालन गर्दै गर्दा सरकारी र सार्वजनिक जग्गाको संरक्षणमा पनि परियोजनाले ध्यान दिनुपर्नेमा सचिव दुवाडीको जोड छ ।
कार्यक्रममा यूएन ह्यबिट्याट नेपालकी बसोबास प्रबन्धक प्रज्ञा प्रधानले परियोजना सञ्चालन हुने पालिकाहरूमा महिला, युवालगायत भूमिहीन र आदिवासीको भू–सुरक्षा अभिवृद्धि हुनुका साथै दिगो आजीविका र हरित आर्थिक क्रियाकलापमा पहुँच वृद्धि गर्ने योजना रहेको जानकारी दिए । हरित र न्यायोचित विकासको राष्ट्रिय जलवायु प्रतिबद्धता पूरा गर्न नवीनतम उपायहरूमार्फत भूमिहीन अवस्थालाई कम गर्ने र जीविकोपार्जनमा सुधार तथा उत्थानशील भू–उपयोग योजना बनाउने परियोजनाको उद्देश्य रहेको उनको भनाई छ ।
यस्तै यूएन ह्याबिट्याट नेपालका परियोजना संयोजक राजाराम छत्कुलीले वि.सं. २०८४ साल जेठसम्म सञ्चालन हुने परियोजनाले लक्षित क्षेत्रका भूमिहीन र अनौपचारिक बसोबासीको भू–सुरक्षा अभिवृद्धि गरी चार वटै पालिकाको जोखिम सम्वेदनशील भू–उपयोग योजना तयार गरेर कार्यान्वयनमा ल्याउने बताए ।
परियोजना शुभारम्भ कार्यक्रममा दाङका चार वटै पालिकाका प्रमुखहरूको उपस्थिति थियो । पालिका प्रमुखहरूले आफ्नो क्षेत्रमा रहेको भूमीहीन, अव्यवस्थित बसोबासी एवम् बटैया किसानहरूको समस्याबारे चर्चा गर्दै परियोजनाले उनीहरूको समस्या समाधानमा सहयोग गर्ने विश्वास व्यक्त गरेका छन् ।
परियोजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न आफुहरूले सक्दो सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्ति गरिएको छ । मन्त्रालयका सहसचिव जोशीले लक्षित क्षेत्रका सबै पालिकाका प्रमुखहरूलाई परियोजनाबाट सक्दो प्रतिफल लिन आग्रह गर्दै समन्वय र सहजीकरणका लागि मन्त्रालय प्रतिबद्ध रहेको बताए ।