Thursday, February 13, 2025
Homebreaking-newsयौनजन्य अपराध र न्यूनीकरणमा भूमिका के ?

यौनजन्य अपराध र न्यूनीकरणमा भूमिका के ?

- Advertisement -spot_img

जीतसागर जी.एम.

यौनजन्य अपराधमा संलग्नलाई कारबाहीका लागि कानुनी व्यवस्था कडा छ । तर पनि यौनजन्य अपराध कमी हुन सकेको छैन् । तुलसीपुरमा भएको पछिल्लो घटनाले फेरि सबैलाई सशंकित बनाएको मात्र छैन्, सचेत पनि गराएको छ । दोषीलाई कानुनी कारबाही होला । पीडितले न्याय पाउलान् । तर यस्ता किसिमका घटना किन भइरहेका छन् ? समाज कता जाँदैछ भन्ने मुख्य सोचनीय विषय बनेको छ । बलात्कारजस्तो जघन्य अपराध न्यूनीकरणमा कसको भूमिका के हुन सक्छ ? प्रदेश टुडे दैनिकको नियमित स्तम्भ टुडे राउण्ड टेबलमा विभिन्न सरोकारवालाको विचारलाई समेटेका छौँ । – सम्पादक


उजुरीमा मिलापत्र गर्दैनौं

यौनजन्य हिंसा न्यूनीकरणका लागि सचेतना अभियानमा प्रहरीले भूमिका बढाएकै छ । प्रहरीले समुदाय साझेदारी कार्यक्रम विभिन्न ठाउँमा निरन्तर गरिरहेको छ । मानव बेचबिखन, जबरजस्ती करणी लगायतका ठूला–ठूला जघन्य प्रकृतिका अपराध न्यूनीकरणतर्फ हाम्रो हरेक वर्ष रणनैतिक योजना पनि बन्ने गरेको छ ।

सचेतनामूलक कार्यक्रमका लागि हामीले हरेक वर्ष निश्चित गन्तव्य र लक्ष्य बनाएका हुन्छौँ । सोहिअनुसार कार्य पनि भइरहेको छ । हामीले विषेशगरी स्थानीय सरकारसँग मिलेर विभिन्न कार्यक्रम गरिरहेका छौँ । स्थानीय निकायसँगको सहकार्यमा विभिन्न विद्यालयदेखि समुदायसम्म सचेतना दिने काम गरिरहेका छौँ । तर पनि पछिल्लो समय जवरजस्ती करणीका घटनामा कमी आएको अवस्था छैन्  ।

हामीसँगको तथ्यांकमा चार वर्षको अवधिमा २ सय ७९ जबरजस्ती करणीका घटना भएका छन् । यस प्रकृतिको घटना बिगतका वर्षको तुलनामा बढेको देखिएको छ । आर्थिक वर्ष ०७६/०७७ मा ४४, आर्थिक वर्ष ०७७/०७८ मा ७६, आर्थिक वर्ष ०७८/०७९ मा ७५ जबरजस्ती करणीका घटना थिए भने बितेको आर्थिक वर्षमा ८४ वटा जबरजस्ती करणीका घटना भएका छन् । यसरी तथ्यांक हेर्दा समाज शिक्षित बन्दै गएपनि बर्सेनि जबरजस्ती करणीका घटना बढेका छन् । यसभित्र पनि धेरै प्रकृतिका घटना छन् । जबरजस्ती करणी उद्योग, हाडनाता, बाल यौन दुव्र्यवहार, बाल यौन दुरूपयोगजस्ता घटना भएका छन् । यसैगरी वैवाहिक बलात्कार पनि छन् ।

समग्र जिल्लाको अवस्था हेर्दा पछिल्लो समय सामाजिक सञ्जालको दुरूपयोग गरी मायाप्रेमको नाममा गरिने सम्बन्ध पनि बलात्कारको रूपमा उजुरी आउने गरेको छ । पछिल्ल्लो पुस्तामा देखिएको यस्तो किसिमको गलत प्रवृतिले पनि वास्तविक पीडितले न्याय पाउन निकै गाह्रो हुने गरेको छ । आपसी सल्लाहमा भएका यौन क्रियाकलापलाई पनि बलात्कारको रूपमा ल्याउँदा खेरी वास्तविक पीडितले न्याय पाउन सकेको छैन् । जस्तैः २० वर्ष माथिको मञ्जुरी लिई वा नलिई भन्ने छ ।

तर २० वर्ष मुनिको हकमा दुवै कुरा हुँदैन् । १८ वर्ष मुनिको हकमा नचाहेर वा चाहेर कुनै पनि किसिमले यौन क्रियाकलाप गर्न पाउँदैन् । यदि २० वर्षमाथिको हकमा महिलाले विमति राखेको हकमा मात्रै बलात्कारको रूपमा पनि आउन सक्छ । कानुनमा डर, धम्की, त्रास देखाई गरेकोलाई मञ्जुरी मानिने छैन् भन्ने छ । लोभ, डर, धाक, औकात लगायतका कुरा देखाउन नपाउने कानुनी व्यवस्था छ । उमेर पुगेको हदमा उजुरी पुगेन भनेमात्रै घटना बाहिर आउँदैन र दोषीलाई प्रहरीले पक्राउ गर्न सक्दैन् । तर उमेर पुगेको हकमा पनि उजुरी आएको खण्डमा दोषी कानुनी कट्घरामा आउँछ ।

जबरजस्ती करणीको घटनामा पनि कुन उमेर समूहकालाई कति कानुनी सजाय हुने व्यवस्था फरक फरक छ । जस्तो कि १० वर्ष मुनिको हकमा वा अपाङ्गता, १० देखि १४ वर्ष, १४ देखि १६ वर्ष, १६ देखि १८ वर्ष, अशक्तको हकमा, ७० वर्ष माथिको हकमा पनि कानुन कडा छ । १८ देखि माथि, वैवाहिक सम्बन्धमा भएका श्रीमान् श्रीमतीबीच असहमतिमा हुने यौन क्रियाकलापलाई वैवाहिक बलात्कारको रूपमा पनि लिने गरिएको छ ।

उजुरी आएन भने प्रहरीलाई थाहा छैन् । तर उजुरी आएको खण्डमा हामीले गर्ने छानबिन र दोषी पक्राउ गर्न कुनै कसुर बाँकी राख्दैनौँ । प्रहरीमा उजुरी आएमा प्रहरीले मेलमिलाप गर्दैन् । उमेर पुगेको वा नपुगेको कुनैको हकमा यस्ता घटनामा मेलमिलाप भन्ने शब्द नै हुँदैन । मुख्यतया बढ्दो सूचना प्रविधिको दुरूपयोग हुँदा समाजमा बलात्कारजन्य अपराधका घटना हुने गरेका छन् । यस्ता घटना न्यूनीकरणमा प्रहरीको एक्लो प्रयासले मात्रै सम्भव छैन् । समयमा सूचना प्रहरीले पाएमा दोषी उम्कन पाउँदैन् । यसका लागि समुदाय चनाखो बन्नुपर्छ । प्रहरीलाई आमनागरिकले साथ र सहयोग गर्न आवश्यक छ ।
सबैको भूमिका सशक्त हुनुपर्छ


महिला हिंसाः समस्या र समाधान

लैंगिक हिंसामा सबैभन्दा बढी महिला नै पर्ने गरेका छन् । सामाजिक परम्परा नै महिलालाई महिला भएकै कारण विभेद गर्ने हिसाबले अघि बढेको छ । महिलाका पक्षमा जतिजति कानुन बन्दै गए तर कार्यान्वयन पक्ष फितलो हुँदा कानुन बनेको अनुभूति धेरै गर्न पाएनन् । मानिस शिक्षा र चेतनाले सभ्य हुनुपर्नेमा झनझन् असभ्य र हिंस्रक बन्दै गएको अनुभूति हुन्छ । समय जति प्रगतिशील र विकसित हुँदैछ, महिला हिंसाको स्वरूपमा झनझन् अमानवीय र क्रूर बन्दै गएको छ । तुलसीपुरमा भएका दुई घटनाले हामी सबैलाई लज्जित बनाएको छ । ११ वर्षीया बालिकादेखि ७३ वर्षीया आमामाथि भएको यौन अपराधले हामी सबैको शिर निहुँराएको छ ।

महिलामाथि हुने हिंसा लैंगिक समानता हासिल गर्ने बाटोको तगारो, दिगो विकासको बाधक हो । महिला हिंसाका कारण महिला र बालिकाको समुन्नत जीवन जीउन पाइरहेका छैनन् । हिंसा प्रभावितको स्वास्थ्य, भावना, मनोविज्ञान, शारीरिक सुरक्षा र आत्मसम्मानमा समेत नकारात्मक प्रभाव पारिरहेको छ । यसका अतिरिक्त उत्पादनमूलक काममा महिलाको अनुपस्थिति वा सुस्तता देखिन्छ । महिलाविरूद्ध हुने हिंसाले प्रायः महिलालाई व्यक्तित्व विकास र प्रगतिमा मात्रै रोक्दैन, परिवार र सिङ्गो समुदायको सामाजिक, आर्थिक र राजनैतिक विकासमा पूर्ण योगदान पु¥याउनबाट रोक्दछ ।

महत्वपूर्ण कुरा के हो भने, हिंसाले सामाजिक विभाजनको मुद्दालाई प्रोत्साहन गर्नुका अतिरिक्त शान्ति, विकास र समुन्नतिमा बाधा सिर्जना गरेको छ । व्यक्तिबाट बलात्कार, घरेलु हिंसा, यौन उत्पीडन, प्रजननमा जबरजस्ती, महिला शिशु हत्या, भू्रण हत्या, प्रसूति हिंसा, दाइजोका कारण हिंसा, जबरजस्ती विवाह, बालविवाह, बहुविवाह, कुटपिट, मानसिक यातना आदि महिला हिंसामा पर्छन् ।

नेपालमा महिला हिंसा न्यूनीकरणका लागि विभिन्न कानुनी तथा संस्थागत व्यवस्था कायम छन् । पहिलो लिखित कानुन मुलुकी ऐन १९१० को जीउ मास्ने बेच्ने, सती जाने, आशय करणी, करणीको आशयले हातपात गर्ने, हाडनाता, जबरजस्ती एवं कमारा र बाँधाको महलको व्यवस्थालाई पनि त्यो समयको प्रगतिशील व्यवस्था मान्नुपर्ने हुन्छ । त्यसपछि जारी गरिएको सुधारिएको मुलुकी ऐन २०२० हुँदै विभिन्न विषयगत कानुन हुँदै मुलुकी फौजदारी संहिता २०७४ सम्म आइपुग्दा महिला हिंसा न्यूनीकरणका लागि प्रशस्त कानुनी व्यवस्था र प्रतिवद्धता छन् । सोही मात्रामा राज्यले संस्थागत संयन्त्रहरूको पनि स्थापना र विकास, स्रोतको परिचालन गर्दै आएको छ ।

खराब मानसिकता कसरी निर्माण हुन्छ र यसमा जिम्मेवार के हो वा को हो ? भन्ने प्रश्नको उत्तर खोज्न अब ढिलो गर्नुहँुदैन । पुरूषले मनन गर्नुपर्ने केही कुरा छन् । तपाईं जतिसुकै प्रजातान्त्रिक, न्यायप्रेमी र क्रान्तिकारी नै किन नहुनुस्, महिलाको शरीर र आत्मसम्मानलाई व्यवहारतः सम्मान गर्ने सफा नियतको अभावमा तपाईंका सबै परिचय गौण बन्दछन् । तपाईंमा यौनजन्य हिंस्रक प्रवृत्ति छ भने र त्यसले सिर्जेका घटना सार्वजनिक भए भने तपाईंका अन्य सबै सद्गुण ‘शून्य’ मा विलुप्त हुन्छन् । त्यति मात्र होइन तपाईं पुरूषको महिलाप्रति सदाशय र मैत्रीभाव हरदम परीक्षामा छ हिजोआज ।

तपाईंको ‘पुरूषत्व’सँगै तपाईंभित्रको मानवीय र ‘न्यायिक’ चरित्र नै परीक्षामा छ । हिजो थिएन भन्ने होइन, तर आज बढी छ । हिजो सतिप्रथा अन्त्य गर्दै आज हामी यो युगमा आइपुगेका छौँ । भोलिका दिनमा यस्ता किसिमका अपराध पनि हुन्थे र भन्ने बनाउनतर्फ हामी सबैको ध्यान जान आवश्यक छ । घरपरिवार, विद्यालयबाट नै छोराछोरीमा निगरानी, असल शिक्षा अनि दीक्षा दिएर बालबालिकालाई हुर्काउन सक्नुपर्छ । तब मात्र आउने दिनमा महिला तथा बालिकाले फरक लिंग भएका कारणले कमजोर महसुस गर्नुपर्दैन, हिंसामा पर्नुपर्दैन । अपराध न्यूनीकरणमा सरोकारवालामात्रै होइन्, सबैको भूमिका महत्वपूर्ण हुनेछ ।


मानवीय विकास कम प्राथमिकता

तुलसीपुरमा भएको पछिल्लो घटनाले हामी स्तब्ध छौँ । ११ वर्षको बालिकादेखि ७३ वर्षीया आमालाई भएको यौन हिंसाले हामी अत्यन्तै लज्जित भएका छौँ । हाम्रो शिर निहुरिएको छ । समाजलाई नै लज्जित बनाएको छ । समाजमा यस्ता किसिमका घटना हुन थालेको नयाँ पनि होइन् । तर पनि यस्ता किसिमका गलत कुकर्म समाजमा दिनप्रतिदिन भइरहेका छन् । यसले समाज कतातिर जाँदैछ भन्ने प्रश्न आइरहेका छन् । यस्ता किसिमका अपराधमा संलग्न दोषीलाई कारबाहीका लागि कानुनहरू धेरै बनेका छन् । बलात्कारको घटनामा संलग्न दोषीलाई जन्मकैदसम्मकै सजाय कानुनमै व्यवस्था गरिएको छ ।

अपराध गर्नेहरूलाई कारबाही गर्ने कुरा संविधानमै उल्लेख छ । तर अक्षरस कानुनको कार्यान्वयन नहुँदाखेरी आज यो देशमा, यो समाजमा हामीले यस्ता यौन अपराध सुन्नुपरेको छ । यसलाई न्यूनीकरण गर्नका लागि बनेको यौन अपराधका विरूद्धमा बनेका कानुनहरू अक्षरस कार्यान्वयन गर्नुपर्छ । महिला अधिकारकर्मी यस्ता किसिमका घटनामा संलग्नलाई कडा कारबाहीको माग गरिरहेका छौँ ।

समाजमा सभ्य नागरिकको पहिचान नदिदासम्म यो हाम्रो समाज सभ्य बन्दैन । राज्य, विभिन्न संघसंस्था, मिडिया र आम सरोकारवालाले आफ्नो क्षेत्रबाट आ–आफ्नो कर्तव्य पूरा गर्ने हो भने धेरै घटना कम हुन सक्छन् । यस्ता किसिमको घटना न्यूनीकरणमा समुदायसँगै प्रहरीको पनि महत्वपूर्ण भूमिका छ । कुनै पनि नागरिकले म सुरक्षित छ भन्ने वातावरण हुनुपर्छ । यसका लागि शान्ति सुरक्षामा प्रहरीले आफ्नो भूमिकालाई सशक्त बनाउनुपर्छ ।

कुन क्षेत्रमा बढी यौन हिंसाका घटना हुन्छन् भन्ने प्रहरीले गहिरो अनुसन्धान गरेर आवश्यक जनशक्ति परिचालन गर्नुपर्छ । पहिचान गरेर प्रहरीले गस्ती बढाउनेदेखि सुरक्षा समितिलाई परिचालन गर्न प्रहरीले आफ्नो भूमिकालाई बढाउनुपर्छ । नागरिकस्तरमा सचेतना कसरी फैलाउने भन्ने बारेमा पनि प्रहरीले आवश्यक रणनीति बनाउनुपर्छ । यस्ता किसिमका सचेतना फैलाउने कार्यक्रममा लागि सरकारले पनि आवश्यक लगानी लगाउनुपर्छ । अहिले पनि हामीले विकास भौतिकलाई मात्रै हेरिरहेका छौँ । भौतिक विकास नहुँदा केही निश्चित क्षेत्रका नागरिक प्रभावित होलान् ।

तर मानवीय विकासमा लगानी भएन भने सिंगो राष्ट्रलाई नै गलत बाटोतिर लैजाने निश्चित छ । दाङका दशवटै स्थानीय तहमा पुगेको छ । ति दशवटै स्थानीय सरकारले मानवीय विकासका लागि विनियोजन गरेको बजेट निकै कम छ । यसले पक्कै पनि हाम्रो समाजलाई सही दिशामा लैजान सक्दैन् । राज्यले भौतिक विकाससँगै मानवीय, सामाजिक विकासलाई पनि प्राथमिकतामा पार्नुपर्छ ।

यौन अपराधजस्ता हिंसालाई रोक्नका लागि अर्थात् न्यूनीकरण गर्नका लागि व्यापक रूपमा संवाद, बहस गर्न आवश्यक छ । अनि व्यापक रूपमा कानुनी साक्षरताका कार्यक्रमहरू पनि चलाउनुपर्छ । आज समाज विकृति विसंगतितर्फ ओतप्रोत भइरहेको छ भन्ने हामीले महशुस गरेका छौँ । मानवले कर्तव्य र दायित्व नबुझैँ लागेको छ । बुझेर पनि बुझ पचाएकोजस्तो लागेको छ । त्यसैले गर्दा पनि सबै तह सबै क्षेत्र, ठाउँहरूबाट हामी साँच्चिकै दृढ संकल्पका साथ लाग्ने हो भने बलात्कारजन्य हिंसा धेरै न्यूनीकरण गर्न सकिन्छ ।

मलाई लाग्छ कसैले पनि शून्य सहनशीलता लिन सक्यो भने कसैले पनि अपराध गर्न सक्दैन् । अपराधीलाई संरक्षण गर्ने काम कोहि कसैबाट हुन हुँदैन् । अपराधीको संरक्षण हुँदा पनि बलत्कारजस्तो जघन्य अपराधका घटना बढिरहेका छन् भन्ने आम नागरिकको बुझाइ छ । त्यसैले यस बारेमा प्रहरी चनाखो बन्नुपर्छ । दोषीलाई कुनै पनि किसिमले राजनैतिक संरक्षण हुन हुँदैन् । अपराध न्यूनीकरणमा आमसमुदाय पनि चनाखो बन्नैपर्छ ।


कानुनी साक्षरता बढाऔँ

विगतको तुलनामा महिलामा जागरूक धेरै आएको छ । स्थानीय सरकारको कार्यपालिकादेखि प्रतिनिधिसभामा महिलाको प्रतिनिधित्व हुँदा अब त महिला हिंसाका घटना धेरै कम भइसकेको छन् जस्तो लाग्थ्यो । तर मेरो कुरा पछिल्लो घटनाले फेरि पनि गलत सवित गरेको छ । तुलसीपुर बसपार्कमा भएको ७३ वर्षीया आमामाथि भएको घटनाले हामी स्तब्ध भएका छौँ । तुलसीपुरको प्रतिष्ठासँग जोडिएको विषयले हामीलाई फेरि रिस, आक्रोस आएको छ । बालिकादेखि बृद्धआमा असुरक्षित हुँदा धेरैलाई सशंकित बनाएको छ । पढ्न गएको छोरी सकुशल फर्किन्छ फर्किन्न भन्ने चिन्ताको विषय बनेको छ ।

समाज विकृत बन्दै जाँदा सिंगो राष्ट्रलाई नै यसले गम्भीर असर निश्चितरूपमा पार्छ । विश्वास गर्ने कसलाई हो त भन्ने मुख्य चिन्ताको विषय हो । उपचार गर्न हिडेकी आमा असुरक्षित छन् । विद्यालय जाने बालिका यौन हिंसामा पर्छिन भने समाज कतातिर जाँदै छ भन्ने मुख्य सोचनीय विषय बनेको छ । मेरो घरमा सानी छोरी छन् । पछिल्लो पटक तुलसीपुरमा भएको घटनाले म त पुरूषलाई समेत पढाउन दिन्न भन्ने सम्म भएको छु । किनभने मेरो छोरी त्यहाँ सुरक्षित छैनन् भन्ने अविश्वास छ । त्यसलै पनि हाम्रो समाज कहाँ छ ? भन्ने मलाई लाग्छ ।

महिला समानताको कुरा गरिरहँदा मलाई लाग्छ । कानुनी साक्षरताको अभावका कारण पनि महिला यौन हिंसामा छन् जस्तो लागेको छ । प्रहरीको रेकर्डमा सामान्य व्यक्तिमात्र होइन्, स्नातक पढेका व्यक्ति पनि अपराधमा संलग्न देखिएको छ । बलात्कारसम्बन्धी बनेका कानुनी सचेतना नागरिकलाई दिन सकेनौँ भने अझै पनि बलात्कारजन्य अपराध बढ्न सक्छ । घटना शून्यमा झार्न नसकेपनि न्यूनीकरण गर्नका लागि बनेका कानुनमा के के कुराहरू छ भन्ने कुरा अभिभावक पनि सचेत हुनुपर्छ ।

सरकारले पनि सचेतनाका कुराहरू किशोर–किशोरीदेखि अभिभावकसम्म लैजाने वातावरण बनाउनुपर्छ । यसका लागि विभिन्न संघसंस्थाको भूमिका त छदैँछ । प्रत्येक विद्यालयमा महिला हिंसाका कानुनी कुराको बारेमा छलफल चलाउनुपर्छ । बलात्कार गरेपछि के हुन्छ वा कुनै पनि किसिमको अपराध गरेपछि के हुन्छ भन्ने कुराको बोध गराउनुपर्छ । यस कुरामा अझै पनि हामी धेरै पछाडि छौँ । कानुन त बने तर कानुनी सचेतना सबैसम्म पुग्न नसक्दा कार्यान्वयनमा मुख्य चुनौती थपिएको छ ।

कागजमा बनेका कानुन व्यवहार तहमा पाउनका लागि कार्यान्वयनको पाटो बलियो बन्नुपर्छ । तुलसीपुरमा भएको पछिल्लो घटनाले पनि के देखाउँछ भने सायद ति आमाले प्रहरीमा गएपछि म सुरक्षित हुन्छु भन्ने कुराको जानकारी भएको भए त्यस्तो किसिमको यौन हिंसा खेप्नुपर्दैन थियो । यसमा दोष आमाको होइन् । दोष त राज्य र सरोकारवालाको हो । गाउँ–गाउँमा कानुनी साक्षरता चलाउन सकेमा थोरै भएपनि अपराधका घटना न्यूनीकरण हुन्छ । सकेसम्म अपराधका घटना घट्न पाउँदैन् । अपराधका घटना भएपनि दोषी उम्कन पाउँदैन् । यस्ता किसिमका घटना हुन नदिन समुदाय पनि सचेत हुनुपर्छ ।

सडकमा बस्ने आमा बलात्कृत हुँदै गर्दा वरपर समुदायले थाहा पाएन कि थाहा पाएर पनि बोल्न चाहेन भन्ने मुख्य प्रश्न छ । हामी आफ्नो परिवारमात्रै होइन, समुदायप्रति पनि जिम्मेवार बन्नुपर्छ । सभ्य समाजको निर्माण गर्नका लागि व्यक्ति, परिवार, समाज राम्रो हुनुपर्छ । सबैको भूमिका बलियो बनाउन सक्यौँ भने हिंसाजन्य अपराधका घटनामा कमी आउनेछ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here