दाङ, २९ असार ।
दाङ साहित्य तथा संस्कृति प्रतिष्ठानमा पाँच लाख बराबारको अक्षयकोष स्थापना गरिएको छ । तुलसीपुर उपमहानगरपालिका–१७ बस्ने रेग्मी परिवारले ऋषिराम रेग्मीको स्मृतिमा पाँच लाख रूपैयाँको अक्षयकोषको घोषणा गरेका हुन् । स्व. रेग्मीको स्मृतिमा प्रकाशित स्मृतिग्रन्थ लोकार्पणका अवसरमा रेग्मी परिवारले पुरस्कारका लागि अक्षयकोषको घोषणा गरेको हो ।
रेग्मीका जेठा छोरा बामदेव रेग्मी र कान्छा छोरा सन्तोष रेग्मीलगायत परिवारका सदस्यहरूले उक्त अक्षयकोष स्थापना गरेका हुन् । हरेक वर्ष असार २९ गतेका दिन वितरण गर्ने गरेर साहित्यकारलाई पुरस्कार दिइने छ । पुरस्कार वितरणका लागि कार्यविधि बनाइने प्रतिष्ठानले जनाएको छ । दाङ जिल्लामा स्थापना भएकामध्ये यो सबैभन्दा ठूलो राशीको अक्षयकोषका रूपमा रहेको छ ।
शुक्रबार घोराही–१० फन भ्यालीमा आयोजना गरिएको कार्यक्रममा ऋषिराम रेग्मीको स्मृतिग्रन्थ र रेग्मीले रचना गरेका कविता र गीतको संग्रह विमोचन गरिएको थियो । दाङ साहित्य तथा संस्कृति प्रतिष्ठानका अध्यक्ष डिल्लीराज शर्मा श्रीधरको अध्यक्षतामा भएको कार्यक्रममा रेग्मीले साहित्य, संस्कृति र समाज सेवाको क्षेत्रमा गरेको योगदानको चर्चा गरिएको थियो ।
सो अवसरमा लोकार्पण गरिएको स्मृतिग्रन्थको चर्चा डा. हिमलाल पन्थीले गरेका थिए । कार्यक्रममा डा. शिवकुमार आचार्य, प्रा. लेखनाथ आचार्य, रेग्मीका बालसखा धर्मबहादुर बैरागी, साहित्यकारहरू नवराज रजौरे, पुरूषोत्तम खनाल, पद्मप्रसाद शर्मा, जानका रेग्मी, कमलमणि देवकोटा, खगराज न्यौपाने, खुमानन्द अधिकारी, उत्तमकृष्ण मजगैयाँ, लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
बलदेव रजौरेको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन डिल्लीराज रेग्मीले गरेका थिए । सोही अवसरमा आदिकवि भानुभक्त आचार्यको व्यक्तित्व र कृतित्वका बारेमा चर्चा गरिएको थियो । साहित्यकार कमलमणि देवकोटाले भानुभक्त आचार्यले नेपाली साहित्यमा पु¥याएको योगदानका बारेमा चर्चा गरेका थिए ।
वि.सं. १९९९ साल कार्तिकको लक्ष्मीपूजाका दिन जन्मिएका ऋषिराम रेग्मीको निधन २०७७ साल असारको २९ गते भानुजयन्तीका दिन भएको थियो । स्नातकोत्तरसम्मको अध्ययन गरेका रेग्मी नेपाल संस्कृत विश्वविद्यालयमा लामो समय काम गरेका थिए । नेपाली र संस्कृत साहित्यमा राम्रो दख्खल राख्ने रेग्मी दाङ साहित्य तथा संस्कृति प्रतिष्ठानका अध्यक्षसमेत थिए ।
उनका दर्जनौ लेख, रचना प्रकाशित छन् । उनको पहिलो कृतिका रूपमा कविता र गीत संग्रह प्रकाशित भएको छ । परिवारका सदस्यहरूका अनुसार उनले लेखेका पाण्डुलिपिहरू रहेका छन् । रेग्मीको स्मृतिमा प्रकाशित स्मृतिग्रन्थमा ५१ वटा लेख रचनाहरू रहेका छन् । उनले लेखेको भाषाशास्त्र र यसको विकास क्रम विषयको लेख पनि प्रकाशित छ ।