Friday, January 24, 2025
Homebreaking-newsकिटजन्य रोगमा सावधानी

किटजन्य रोगमा सावधानी

- Advertisement -spot_img


जीतसागर जी.एम.


वर्षायाम सुरू भएसँगै विभिन्न रोगको जोखिम बढी हुन्छ । यो समयमा विषेशगरी किटजन्य रोगहरू डेंगी, मलेरिया, झाडापखाला, हैजा, आँउ, स्क्रबटाइपस, कालाजारलगायतका समस्या बढी देखापर्दछन् । लामखुट्टेको टोकाइबाट डेंगी, मलेरियाजस्ता रोगहरू देखापर्ने गर्दछन् भने अरू विभिन्न जीवाणुबाट विभिन्न किटजन्य रोगहरू देखापर्ने गरेको छ । वर्षायाममा रोगको जोखिमबाट बच्नका लागि आवश्यक सावधानी र रोग लागिसकेपछि उपचार विधि र पद्धति के हुन सक्छ ? प्रदेश टुडे दैनिकको नियमित स्तम्भ टुडे राउण्ड टेबलमा स्वास्थ्यकर्मीको विचारलाई समेटेका छौं ।  – सम्पादक


आरआरटी टिमको व्यवस्थापन

वर्षायाममा हुन सक्ने विभिन्न महामारी तथा किटजन्य रोगबाट बच्नका लागि स्वास्थ्य कार्यालय दाङले विभिन्न माध्यमबाट सचेतना दिने काम गरिरहेको छ भने वर्षायाममा आउन सक्ने महामारीजन्य रोग रोकथाम तथा नियन्त्रणका सहयोग पु¥याउन आरआरटी टिम तयार बनाउने काम भइरहेको छ ।

जिल्लाका दशवटै पालिकामा आरआरटी टिम बनाउने कामलाई निरन्तरता दिएका छाँै । विपद्जन्य घटनामा मानवीय क्षति हुन नदिनका लागि आरआरटी टिमले काम गर्छ भने विपद्मा आवश्यक औषधिका लागि बफर स्टक पनि हुन्छ । यसबाट आवश्यक औषधि समयमै व्यवस्थापन गर्न सक्छौँ ।

यो समयमा विषेशगरी झाडापखाला, आउँ, डेंगी, मलेरियाजस्ता रोगहरू देखापर्दछन् । वर्षाका कारण बाढी पहिरो आउँदा पानी दूषित हुन गई झाडापखाला, हैजाजस्ता महामारी आउन सक्छ । यसबाट बच्नका लागि पानी सधैँ उमालेर खाने, साबुन पानीले हात धोएरमात्रै खाना खाने गर्नुपर्छ ।

वर्षामा विषेशगरी खोला कुवाको पानी प्रयोग गर्दा महामारीजन्य रोगहरू लाग्ने सम्भावना बढी हुन्छ । पानीका पाइपहरू कतै बिगिएको अवस्थामा ढलको पानी मिसिएर पानी दूषित हुन्छ र पानीजन्य रोगहरू लाग्ने खतरा बढी हुन्छ । यसबाट बच्नका लागि हामीले पानी फिल्टर गरेरमात्रै हुँदैन् ।

पानी उमालेर खाने बानीको विकास गर्न सकेपछि पानीबाट लाग्ने धेरै प्रकारका रोगबाट बच्न सकिन्छ । यसअघिका वर्षमा कोरोना महामारीको जोखिम थियो । अहिले स्वास्थ्य सावधानीमा पनि लापरबाही हुन थालेको छ । बितेको वर्षमा कोरोनाका कारण स्वास्थ्य सावधानी धेरै हुँदा झाडापखाला, हैजाजस्ता पानीजन्य रोगको संक्रमण कम थियो । तर यसवर्ष सावधानीमा केही लापरबाही देखिएको छ । यस्तो अवस्थामा पानीबाट लाग्ने रोगहरू महामारीका रूपमा फैलन सक्छन् । त्यसैले पनि स्वास्थ्य सावधानीमा विषेश जोड दिनु आवश्यक छ ।

वर्षायाममा किटजन्य रोगहरू पनि देखापर्ने गरेको देखिन्छ । विभिन्न किराको टोकाइबाट लाग्ने रोगहरू देखापर्ने हुँदा आवश्यक स्वास्थ्य सावधानी अपनाउनुपर्छ । यस्तो समयमा सर्पदंशको जोखिम बढी हुन्छ भने लामखुट्टेबाट लाग्ने रोगको जोखिम पनि हुन्छ । सर्पदंशको उपचार समयमै नपाउँदा ज्याने जाने स्थिति हुन्छ । त्यसैले पनि सर्पदंश भइहालेमा कसरी छिटो उपचार कहाँ हुन्छ भन्ने तयारीदेखि आवश्यक सावधानी अपनाउन आवश्यक छ ।

घरमा सुत्दा झुलको प्रयोग गरेपछि धेरै किटजन्य रोगबाट बच्न सकिन्छ । वर्षायाममा किटजन्य रोगबाट बच्नका लागि घर वरपरको वातावरण सफा राख्नुपर्छ । वातावरण सफा वर्षामात्रै नभएर हरेक समयमा राख्नुपर्छ । जसले गर्दा विभिन्न किटजन्य रोगहरूबाट बच्न सकिन्छ । जिल्लामा अहिले विषेशगरी डेंगुभन्दा पनि मलेरियाका बिरामी देखापरेका छन् । डेंगु तथा मलेरियाको जोखिममा दाङ पर्ने गर्दछ । यि रोगबाट बच्नका लागि हामी लामखुट्टेको टोकाइबाट बच्ने नै हो ।

यो समयमा जोखिम हैजा, झाडापखाला, डेंगु, मलेरियाजस्ता रोग देखिएको छ । स्वास्थ्य कार्यालय दाङका जिल्लाका दशवटै पालिकाका स्वास्थ्य शाखासँग समन्वय गरेर वर्षायाममा लाग्न सक्ने रोगबाट बच्न सचेतनाको काम गरिरहेको छ । जिल्ला विपद् व्यवस्थापन समितिसँग पनि आवश्यक समन्वय गरेका छौँ । जिल्लामा कुनै पनि बेला विपद्जन्य घटना आउँदा स्वास्थ्य उपचारमा सहजता कसरी ल्याउन सकिन्छ भन्नेमा हामी गम्भीर छौँ ।


वातावरणको सरसफाई र सावधानी

अहिले किटजन्य रोगको प्रकोपको समय हो । गर्मी महिना वा वर्षायाम भन्ने बित्तिकै विभिन्न किसिमका सङ्क्रामक रोगहरू देखिने गर्छ । यस्तोमा किटजन्य रोग, किराहरूले टोक्ने, सर्पले टोक्ने आदि हुनेगर्छ । यस्तो समयमा पानीजन्य, खानाजन्य अनि लामखुट्टे आदिबाट हुने सङ्क्रमण पनि बढ्ने गर्छ । गर्मी महिना सरूवा रोग, किराहरूको टोकाइ आदिबाट जहिले पनि सामना गर्नुपर्ने समयका रूपमा देखिन्छ ।

जसमा हैजा, झाडापखाला, डेङ्गी, टाइफाइड, सर्पदंश रहेका छन् । बिगतमा कोरोनाको भाइरसको संक्रमण थियो तर अहिले मौसमी रोगहरूको प्रकोपको समय छ । यस्तो अवस्थामा ढुक्क हुने अवस्था छैन । अहिलेको समयमा किटजन्य रोग देखिने भएकाले पनि यसबाट बच्न सावधानी अपनाउनु नै उत्तम विकल्प मानिन्छ ।

किटजन्य रोगमा ज्वरो त अनिवार्य नै हुन्छ भन्दा पनि हुन्छ । ज्वरो आउने, टाउको दुख्ने, टाइफाइड हुने हुन्छ । तुलसीपुरमा स्वास्थ्यकर्मीले जाँच गर्ने क्रममा चालुवर्षमा ७ सय ७१ जनामा डेंगु देखिएको हो । गत आर्थिक वर्षमा डेंगु ३१ जनामा देखिएको थियो ।

तर अहिले अत्याधिक देखिएको छ । यसकारण पनि तुलसीपुरमा डेंगुको जोखिम छ । गम्भीर खालको डेंगु तुलसीपुरमा कम देखिए पनि डेंगुका बिरामी अत्याधिक देखिएका छन् । सामान्यखालकोे डेंगु आफै हराएर पनि जान्छ । यो समयमा मलेरिया पनि देखिन्छ । ठाउँ–ठाउँमा पानी जम्मा हुन्छ, त्यसमा लामखुट्टे फैलन्छ ।

डेंगु, मलेरिया फैलाउन यहि नै एउटा कारण हुनसक्छ । यो रोगको लक्षण विषेशगरी टाउको दुख्ने, पिसाबको रङ रातो हुनु, बेचैनी महसुस हुनु, अधिक तिर्खा लाग्नु, जोर्नी दुख्नु आदि हुन् । ज्वरो आयो भने खुला हावा आउजाउ गर्ने कोठामा बस्नुपर्छ । जति सकिन्छ, आराम गर्नुपर्छ । हल्का र सुपाच्य खानेकुरा खानुपर्छ । दूध, चिया, जुस पिउनुपर्छ । तर, भुटेको, तारेको, मसलेदार खानेकुरा खान हुन्न । तुलसीपुर उपमहानगरपालिकामा किटजन्य रोगको परिक्षण निःशुल्क भइरहेको पनि छ । तत्काल पानीजन्य र खानेकुराबाट फैलने सङ्क्रमण तथा किराको टोकाइबाट बचौँ । अब भनेको किटजन्य रोगहरू देखिने बेला हो ।

हुन त स्क्रब टाइफस पनि किटजन्य रोगअन्तर्गत पर्छ । यो असार, साउनमा उच्च हुन्छ । अर्को भनेको लामखुट्टेबाट सर्ने डेङ्गी हो । यसले जति–जति आफ्नो स्वरूप फेर्छ यो त्यति नै जटिल हुने गर्छ । यसबाट बच्ने भनेको लामखुट्टेको टोकाइबाट बच्ने हो । त्यो भनेको लामखुट्टे बस्ने वातावरण सिर्जना नगर्नु हो । त्यसो भनेको हाम्रो वरिपरि पानी जम्ने वातावरण नबनाउनु हो । त्यसका लागि फालेका ड्रम र टायरमा ध्यान दिनुपर्छ ।

यस्तै अहिले नाइरोबी फ्लाइ किराको प्रकोप पनि छ । तर आत्तिनुपर्ने अवस्था भने होइन् । गतवर्ष सङ्क्रमण पहिलेदेखि थियो । सामान्य चिलायो भने जचाउन त कोही जाँदैनन् । तर, नाइरोबी फ्लाइ रङ्गीन खालको किरा भएकाले मान्छे डराएर अनि यो के खालको किरा हो भनेर जिज्ञासाका कारण पनि चर्चामा छ ।

यदि नाइरोबी फ्लाइ शरीरमा बसिहाल्यो भने त्यसलाई मार्ने वा थिच्ने गर्नु भएन । यो अहिलेको प्रचारले सिकाएको कुरा हो । यो कोरोनाको जस्तो महामारी अनि ज्यान नै जाने खालको सङ्क्रमण होइन । यसलाई यदि शरीरको कुनै भागमा बसेको छ भने खसाल्ने अनि बसेको ठाउँमा साबुन पानीले धोएको खण्डमा यसबाट हुने असरबाट जोगिन सकिन्छ ।


लामखुट्टेको टोकाइबाट बचौं

वर्षायामसँगै विभिन्न रोगको जोखिम हुने गरेको छ । यस समयमा तराईमा देखिने डेंगु रोगको प्रकोप पछिल्लो समय पहाडी भेगसँगै दाङमा पनि देखिन थालेको छ । तुलसीपुरमा पनि यसका बिरामी चालुवर्षमा धेरै देखिएका छन् । नेपालमा केही वर्षयता डेंगी प्रकोपका रूपमा देखिँदै आएको छ ।

एडिस एजेप्टाइ र ए.ई. अल्बोपिक्टस जातको पोथी लामखुट्टेको टोकाइबाट भाइरसको संक्रमण भाइस सर्ने डेंगी रोग अहिले प्रकोपको रूपमा देखिएको छ । यो रोगको संक्रमण तुलसीपुरमा गत आर्थिक वर्षमा ३१ जनालाई देखिएकोमा यसवर्ष ७ सय ७१ जनामा देखिएको छ ।

वर्षातको समयमा यो रोग बढी देखापर्छ । सामान्यतया डेंगीको भाइरस फैलाउने लामखुट्टेका लागि भने २२ देखि ३४ डिग्रीसम्मको तापक्रम निकै अनुकूल मानिन्छ । धेरै मानिसमा डेंगीको संक्रमण देखिए महामारीको रूप पनि लिन सक्छ । पाँचदेखि सात दिनसम्म बच्चा उत्पादन गर्न सक्छ । यसले एक पटकमा एक हजार अण्डासम्म राख्न सक्छ ।

डेंगी एक भाइरस हो । यो डेंगीका चार वटा सेरोटाइप हुन्छन् । एउटा सेरोटाइपले संक्रमण गरे संक्रमितको शरीरमा त्यो सेरोटाइपविरूद्ध एन्टिबडी बन्ने गर्छ । तर, त्यसले अर्को सेरोटाइपहरूबाट प्रतिरक्षा भने गर्दैन । एक व्यक्ति चार पटकसम्म संक्रमित हुनसक्छन् ।

विषेश गरेर मनसुनको सिजनमा फैलिने रोगको प्रकोप अन्य सिजन भन्दा धेरै बढेको पाइन्छ । यो सिजनमा डेंगी, स्क्रवटाइफस जस्ता रोग पछिल्लो वर्ष बढेको पाइन्छ । सबै अस्पताल र स्वास्थ्य संस्थामा कन्ट्रोल स्ट्राटेजीमा डेंगी रोग छ । ज्वरो आयो भने समस्या हुन्छ । सामान्यतया अरू संक्रमण जस्तैः डेंगी हुदाँ ज्वरो आउने, आँखा अगाडिको भाग दुख्ने, शरीर गल्ने, टाउको दुख्ने हुन्छ । कसैलाई ब्लिडिङ सिस्टममा समस्या देखियो, प्लेटलेट्स कम भयो भने रातो डावर देखिने, फोकाजस्तो देखिने, रगतको डावर देखिने हुन्छ । यस्ता लक्षण देखिनासाथ अस्पताल गएर जाँच गर्नुपर्छ । वा स्वास्थ्यकर्मीसँग परामर्श लिनु आवश्यक हुन्छ ।

डेंगी भाइरसबाट लाग्ने रोग हो । डेंगी भएको व्यक्तिलाई लामखुट्टेले टोकेर अर्को निरोगी व्यक्तिलाई टोक्यो भने डेंगी सर्ने गर्छ । यो लामखुट्टेबाट नै सर्ने गर्छ । अन्य कुनै तरिकाले डेंगी सरेको पाइँदैन । हाम्रो देशको सन्दर्भमा एजिप्टाई भन्ने प्रजातीको लामखुट्टेले टोकेर डेंगी सरेको पाइन्छ । यो रोग तराईका जिल्लामा मात्र नभएर पहाडी र हिमाली जिल्लामा पनि पाइएको छ । डेंगी एक ठाउँमा मात्र नभएर सबै ठाउँमा देखिन लागेको छ भन्ने देखाएको छ ।

हाम्रो स्ट्राटेजी भनेको लार्भालाई खोज्ने र नष्ट गर्ने हो । डेंगी सर्ने सिजन मनसुन हो, यतिबेला पानी धेरै पर्ने, खाल्डोमा पानी जम्ने हुनाले यो सिजनमा बढी देखिन्छ । सहरी क्षेत्रमा यो समस्या बढ्न सक्छ । तर, एउटा जिल्ला बढी प्रभावित होला भनेर भन्न सकिँदैन । वर्षायाममा देखिने यो प्रकोप मंसिरसम्म देखिन सक्छ । त्यसैले पनि सबैजना सचेत हुन आवश्यक छ ।

त्यसको लागि आफ्नो घर वरीपरीको वातावरण सफा राख्नुपर्छ । स्कुल तथा समुदायमा जनचेतनाका कार्यक्रम चलाउनुपर्छ । यो सिजनमा धेरै पानी पर्ने भएकाले घर वरिपरि पानी जम्न दिनुहुँदैन । कपडा लगाउँदा पूरा बाउला भएको कपडा लगाउनुपर्छ । लामखुट्टेले टोक्ने ठाउँमा पूरा कपडा लगाएर वा सावधानी अपनाएर मात्र जानुपर्छ । डेगींको जस्तो केही लक्षण देखिएमा तुरून्तै अस्पताल जानुपर्दछ ।


सरसरफाई सचेनामा जोड

वर्षायाममा विभिन्न रोगको सङ्क्रमणको जोखिम रहन्छ । यो समयमा विषेशगरी पानीजन्य र किटजन्य रोग बढी मात्रामा देखिने गरेको छ । यो समयमा स्वास्थ्यमा विषेश ख्याल गर्नुपर्छ । यो समयमा झाडापखला, टाइफाइड, जन्डिस, हैजाजस्ता रोग हरेक वर्षजस्तो देखिने गर्छ । बाढी पहिरोपछि देखिने स्वास्थ्य समस्या भनेको पानीसँग सम्बन्धित सङ्क्रमणहरू हुन् ।

पानीमात्रै नभएर किटजन्य समस्या जस्तैः मलेरिया, डेंगु पनि देखिने हुन्छ । वर्षायाममा साझा प्रकृतिका सरूवा रोगहरूमध्ये मलेरिया, डेंगु, झाडापखला र स्क्रबटाइपसजस्ता रोगहरू देखापर्ने हुँदा सावधानी अपनाउन आवश्यक छ । शान्तिनगर गाउँपालिकामा पनि बिगतका दिनमा झाडापखालाका समस्या नआएको होइन् । महामारीको रूप लिन नपाए पनि झाडापखालाका बिरामी भएका थिए ।

हैजा पनि वर्षायाममा बढी देखिने रोग हो । झाडापखाला भनेको लक्षण हो भने हैजा भनेको रोग हो । हैजाजस्तो अरू रोगका कारण पनि झाडापखाला लाग्छ । भिब्रिया कलेरा नामक ब्याक्टेरियाका कारण हैजाको सङ्क्रमण हुने गर्छ । सङ्क्रमण भएका १० जनामध्ये एक÷दुईजनालाई एकदम कडा हैजा हुन्छ ।

जसमा चौलानी पानीजस्तो पखाला तारन्तार हुने गर्छ । जसका कारण केही घण्टामा मान्छेको ज्यान पनि जान सक्छ । विशेषगरी विभिन्न खाना, पानी तथा किटजन्य रोगहरू प्रमुख कारण हुने गर्दछन् । यस्ता रोगहरूको प्रकोप बढ्नुको पछाडि विभिन्न कारण रहेका छन् ।

वर्षाको सुरूवातसँगै पानीका स्रोत मानिस तथा जनावरहरूको मलमूत्रबाट दूषित हुने गर्दछन् । जसका कारण फैलिने र रोगहरू फैलाने गर्दछन् । पुरानो पाइपबाट आउने पानीमा पनि कतै प्वाल परेर वा जोडिएको ठाउँमा गडबढी भएमा, मानिस तथा जनावरहरूको मलमूत्रबाट दूषित पानी धारामा आउने हुन सक्छ । दूषित पानीको कारणले धेरै किसिमका झाडा, बान्ता, ज्वँरो, जन्डिस आदि रोगहरूका किटाणु फैलिने गर्दछन् ।

वर्षायामसँगै झिङ्गा माखाको विकास तथा संख्या बढ्न थाल्दछ । यिनीहरू विभिन्न किसिमका फोहोर मलमूत्रमा बस्ने र मानिसहरूले खाना बनाउँदा, खाना खान तयार पारिएको खाना तथा पानीमा आएर बस्दा रोगका किटाणु खानामा सारिदिन्छन् र खाना तथा पानी दूषित बनाइदिन्छन् । खाना र पानीको सेवनले झाडा, बान्ता, ज्वरो, जन्डिसजन्य रोग लाग्ने गर्दछ ।

दूषित खाना पानीको प्रयोगले टाइफाइड, भाइरल पखाला आदि जस्ता रोग लाग्न सक्छ । यस्तै वर्षायामसँगै विभिन्न किसिमका किटजन्य रोगहरूको प्रकोप बढ्ने गर्दछ । लामखुट्टेबाट सर्ने रोगहरू– मलेरिया फिलेरिया जा. एनसेफालाइटिस आदिको प्रकोप बढ्न सक्छ । साथै भुसुनाबाट सर्ने कालाजारको सङ्क्रमण बढ्न सक्छ । पानीको प्रभाव कम भएपछि विभिन्न किसिमले जमेर बस्ने पानीमा विशेष गरेर बर्खाको अन्तिममा जमेको पानीमा फूल पार्ने र फैलिने लामखुट्टेको अर्को प्रकारको घनत्व बढ्न थाल्दछ । यसले डेंगु रोगका विषाणु सार्ने काम गर्दछ । यो लामखुट्टेले एकैपटक धेरै मानिसलाई टोक्ने हुनाले यस्ता रोगहरूको प्रकोप महामारीका रूपमा आउन सक्दछ ।

यो समयमा पानी राम्रोसँग उमालेर पिउनुपर्छ । सधैं खाना बनाउनुभन्दा अगाडि, खाना खानु अगाडि, दिसापिसाब तथा अन्य काम गरिसकेपछि साबुन पानीले हात धुने, पानीको मुहान वरिपरि तारजाली लगाउने र पानी दूषित हुन नदिन खुला दिसापिसाब गर्न तथा गाईभैंसी आउन नदिने, सडेगलेका बासी तथा काँचो खाने कुरा नखाने गर्नुपर्छ । खाना पकाएर मात्र खाने, फलफूल सफा पानीले सफा गरेर सेवन गर्ने, सतही तथा जमिनको पानीको शुद्धता सम्बन्धित निकायमा गएर चेक गराएर मात्र खाना बनाउन वा खान प्रयोग गर्ने साथै दूषित देखिएमा क्लोरिनको प्रयोग गरी शुद्ध बनाइ प्रयोग गर्ने गर्नुपर्दछ ।

यस्तै किटजन्य रोगबाट बच्न घर वरिपरि सरसफाई गर्ने, लामखुट्टेले फूल पार्ने ठाउँ तथा पानी जम्मा हुने ठाउँ टायर, सिसी, बोत्तल आदि हटाउने, लामखुट्टे तथा अन्य किटबाट जोगिन लामो बाहुलावाला कपडा लगाउने, शरीर ढाक्ने, अनावश्यक साँझ राती बाहिर नजाने । जानै परे लामखुट्टे भगाउने क्रिम लगाउने, झुलको प्रयोग गर्ने, घरभित्र किटनाशक झोल छर्ने, पानीको स्रोत ढाक्नेलगायतका काम गर्नुपर्छ । रोग लाग्नै नदिनका लागि शान्तिनगर गाउँपालिकामा आवश्यक सचेतनाको काम भइरहेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here