श्रीराम दहित
संसारमा एक अनुपम सुन्दर देश छ नेपाल
विकसित देशहरुले लोभिदै भन्छन् सुन्दर नेपाल
सैकडौं पर्यटकीय स्थान छन् यहाँ सम्बन्धितले देख्ने देखाउने कहिले ?
सुन्दर ऋषि संस्कृतिको परिचय प्रचारप्रसार गरौं सबै मिली अहिल्यै
पहिचान गर्न सकेका छैनौं अमृततुल्य घरआँगनका वनस्पति
ईमान आस्था आत्मविश्वास बेच्दैछौं कौडीको भाउमा कमाउन सम्पत्ति
मन्दिर देवालय विहार छन् सैकडौं ऋषिमुनिको तपस्थलि जन्मस्थल
भाव एक संस्कृति अनेक छन् उद्देश्य एक राख्ने सहिदको जन्मस्थल
भातृत्व आपसी उच्च मानवीय स्वभाव आदर सत्कार नेपालीको पहिचान
संसारका सबै देशमा पहिचान हाम्रो नेपाली आदर्श गाउने गुणगान
पूर्वको पशुपति पाथीभरा अनि सुन्दर पश्चिममा दिव्य खप्तड धाम
सुनमा सुगन्ध भरिए झैँ राख्न नाम सबै मिली गरौं अनुकरणीय काम
जिउँदोमा जन्ती मृत्युमा मलामी मात्रै होइन भुटुन नुन सुन पनि पैंचो
परिवार झैँ बाँच्ने अनि बचाउने संस्कृतिको अन्त नजाओस् साँचो
नेपालमै सम्पदा असंख्य छन् समाजवाद आध्यात्म हामी महसुस गरौं
शक्ति असंख्य हामीमै छ कस्तुरीले झैँ बिना खोज्दै अलमल नगरौं