
दाङ, १३ असार ।
दाङको देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा असार २ देखि १२ गतेसम्म लमही नगरपालिकाको आर्थिक सहयोग तथा ब्रैन स्टोर्मिङ इभेन्ट्सको आयोजना तथा देउखरी वारियर्सको सहआयोजनामा सञ्चालित जिल्लास्तरीय चौथो लमही मेयर कप पुरूष टि–२० क्रिकेटको उपाधि गुरूकुल क्रिकेट क्लवले जितेको छ ।
फाइनलमा गुरूकुलले डिफेन्डिङ च्याम्पियन त्रिसिद्देश्वरीलाई ५ विकेटले पराजित गर्दै उपाधि जितेको हो । २० ओभरको खेलमा ९८ रनको विजय लक्ष्य पछ्याएको गुरूकुलले १६.२ ओभरमा आफ्नो ५ विकेट गुमाएर भेटायो । गुरूकुलका लागि अर्जुन घर्तीले २ छक्कासहित १९ बलमा २४ रन बनाए । त्यस्तै दिपक बोहराले १५ बल खेल्दै ३ चौका र १ छक्कासहित २३ रन बनाए । मनोज पुनले नटआउट १८ रन, मोहन खत्रीले १६ रन र सन्तोष केसीले नटआउट ९ रन बनाएका थिए ।
अतिरिक्तमा गुरूकुलले ६ रन जोडेको थियो । बलिङमा त्रिसिद्देश्वरीका हरिस केसीले ४ ओभरमा १९ रन खर्चदै ३ विकेट लिएका थिए । कौशल रूपाखेती र दिवान पुनले १ विकेट लिएका थिए । टस हारेर पहिला ब्याटिङ गरेको त्रिसिद्देश्वरीले २० ओभर खेल्दै ८ विकेट गुमाएर जम्मा ९७ रन मात्र बनाएको थियो । त्रिसिद्देश्वरीका लागि समीर शर्माले २६ बलमा १ छक्का र १ चौकासहित २१ रन बनाए । कप्तान शंकर बुढाले १६ बलमा २ छक्कासहित १९ रन बनाए ।
कौशल रूपाखेतीले १७ रन र लक्ष्मण बुढाले ११ रन बनाए भने अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । अतिरिक्तमा त्रिसिद्देश्वरीलाई ७ रन मिलेको थियो । ९७ रनमा रोक्न बलिङमा गुरूकुलका मोहन खत्रीले ४ ओभरमा १९ रन खर्चेर ४ विकेट लिन सफल रहे । बिरू मगरले ४ ओभरमा १ मेडन राख्दै ७ रन खर्चेर २ विकेट लिए । दिपक बोहोरा र अर्जुन घर्तीले समान १/१ विकेट लिए । गुरूकुलले २२ बल छदै ५ विकेटले जितेको थियो ।
फाइनल खेलको म्यान अफ द फाइनल गुरूकुलका मोहन खत्री भए । प्रतियोगिताको वेष्ट बलर त्रिसिद्देश्वरीका हरिस केसी भए । उनले ५ खेलमा १२ विकेट लिएका थिए भने एकै खेलमा ७ विकेट समेत लिन सफल भएका थिए । प्रतियोगिताको वेष्ट ब्याट्सम्यान गोरखा स्कुल लमहीका प्रज्वल थापा भए । उनले ४ खेलमा १७५ रन बनाउन सफल रहेका थिए ।
प्रतियोगिताका उदाउँदो खेलाडी गोरखा स्कुलका प्रमेश केसी भए भने प्रतियोगिताका राइजिङ प्लेयर गुरूकुलका जोन ओली भए । प्रतियोगिताका यी विभिन्न विधाका खेलाडीहरूलाई विधागत ट्रफी प्रदान गरिएको थियो । प्रतियोगिताको उपविजेता त्रिसिद्देश्वरी स्पोर्ट्स क्लवले द्वितीयको ट्रफी, मेडलसहित पुरस्कार २५ हजार रूपैयाँ प्राप्त ग¥यो भने बिजेता बनेको गुरूकुलले प्रथमको ट्रफी, मेडल सहित ५० हजार रूपैयाँ प्राप्त गरेको हो ।
जिल्ला बाहिरबाट ३ खेलाडी समावेश गर्न मिल्ने गरी आयोजना गरिएको यस प्रतियोगितामा सहभागी कुल ११ टिमलाई ३ ग्रुपमा विभाजन गरी प्रत्येक टिमलाई ३ लिग म्याच खेल्ने अवसर मिलेको थियो भने ग्रुप प्रथम हुने ३ टोलीलाई सुपर–३ अन्तर्गत एकआपसमा खेलेका थिए । सुपर–३ मा गुरूकुलले त्रिसिद्देश्वरी र गोरखालाई पराजित गर्दै फाइनल प्रवेश गरेको हो भने त्रिसिद्देश्वरीले गोरखालाई पराजित गरेर फाइनल प्रवेश गरेको थियो ।
फाइनल खेलका विजेता गुरूकुल क्रिकेट क्लवको व्यवस्थापन टेकेन्द्र वलीले गरेका थिए भने कोचमा गुरूकुल एकेडेमीका अनुशासन संयोजकसमेत रहेका थिन्ले वांङ्दि भुटिया रहेका थिए । कार्यक्रमका प्रमुख अतिथि लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरीले क्रिकेट खेलप्रतिको खेलाडीको आकर्षणलाई बढावा दिन र हौसला प्रदान गर्न प्रत्येक वर्ष मेयरकपको आयोजना गरिने बताए ।
२०८०/०८१ को बजेट मार्फत पनि यस्ता खेललाई समेटेर अगाडि लैजाने भन्दै खेलाडीलाई निरास नहुन पनि उनले आग्रह गरे । यस्तै कार्यक्रममा बोल्ने अन्य वक्ताहरूले पनि यस्ता खेल नियमित गर्नुपर्ने बताएका थिए । अर्जुन बस्नेतको स्वागत मन्तब्यबाट सुरू भएको कार्यक्रमको सहजीकरण सुरज खनालले गरेका थिए ।