Saturday, July 20, 2024
Homeमुख्य खबरखेलाडी उत्पादन गर्दै सेन्टर मावि

खेलाडी उत्पादन गर्दै सेन्टर मावि

- Advertisement -spot_img
तुलसीपुर, ६ असार । 
किरण वली सेन्टर मावि तुलसीपुरमा पढ्छन् । उनले पनि फुटबल खेल्छन् । खेलप्रति धेरै रूचि भएका वलीले गत जेठ १४ गतेदेखि २१ गतेसम्म बेलझुण्डीमा सञ्चालित अन्तर आधारभूत विद्यालयस्तरिय फुटबल  प्रतियोगितामा भाग पनि लिए ।
त्यसबेलामा खेलकै समयमा हातमा चोट लाग्यो । डाक्टरले उनलाई आराम गर्न सुझाव दिए । तर उनी चोट लागेपछि खेलमा सहभागिता जनाए । उनी सम्मिलित टिम प्रतियोगितामा सफल पनि भयो । खेलमा प्रथम पुरस्कार जित्न सफल भयो । विद्यालयमा कक्षा ८ मा पढ्ने उनका बुबा छैनन् ।
आमाले जसोजसो पढाउनुभएको छ । खेलमा प्रथम उपाधि जितेसँगै विद्यालयले उनलाई निःशुल्क पढाउने भएको छ भने खेलका लागि आवश्यक ड्रेस र जुत्तासमेत उपहार दिएपछि उनी प्रफुल्ल छन् । ‘निःशुल्क पढ्न पाउने भएपछि खुसी छु’ उनले भने– ‘मलाई मेरो आमाले र विद्यालयका गुरूले दिएको साथले हौसला थपेको छ ।’
आशीष नेपाली पनि सेन्टर माविमा पढ्छन् । उनी पनि विद्यालयको खेलाडीमा पर्छन् । कक्षा सातमा पढ्दै गरेका आशीषले पनि खेलाडी भएकै कारण निःशुल्क पढ्न पाएका छन् । ‘मैले ड्रेस र जुत्ता पाउँदा निकै खुसी भएको छु, अझ मैले विद्यालयमा निःशुल्क पढ्न पाउने भएको छु’ उनले भने– ‘बुबा–आमा र गुरूले मलाई साथ दिनुभएको छ ।’
किरण र आशीष जस्तै विद्यालयमा पढ्ने खेलप्रति रूचि भएका विद्यार्थीलाई खेलाडी बनाउने अभियानमा छ । विद्यालयले फुटबलमात्रै नभएर विभिन्न विधामा खेलाडी उत्पादनका लागि आवश्यक संरचना, प्रशिक्षकमा लगानी गरिरहेको छ । विद्यालयका प्रधानाध्यापक भागवत पौडेलले खेलकुदका लागि आगामी आर्थिक वर्षमा करिब १० लाख बजेट व्यवस्थापन गर्ने बताए ।
‘फुटबलसहित तेक्वान्दो, कराँते, भलिबल, मार्सल आर्ट लगायतका खेलमा खेलाडी उत्पादन गर्ने विद्यालयले योजना अघि सारिसकेको छ’ उनले भने– ‘यसका लागि आवश्यक बजेट सरकारसँग माग गछौँ ।’ उनले आगामी भदौपछि एथ्लेटिक्स र भलिबलका खेलाडी उत्पादनका लागि प्रशिक्षकको व्यवस्था गर्ने बताए । ‘खेलकुदका पनि एउटै विधामा सीमित रहँदैनौँ’ उनले भने– ‘विभिन्न विधाका खेलका लागि आवश्यक संरचना र जनशक्तिको व्यवस्था गछौँ ।’
यसैबीच विद्यालयले फुटबल खेलाडीलाई जुत्ता र डे«स उपहारसहित सम्मान गरेको छ । विद्यालयले अन्तर आधारभूत विद्यालयस्तरिय फुटबल प्रतियोगितामा उपाधि हासिल गर्ने खेलाडी विद्यार्थीलाई जुत्ता र डे«ससहित सम्मान गरेको हो ।  गत जेठ १४ गतेदेखि २१ गतेसम्म बेलझुण्डीमा सञ्चालित फुटबल  प्रतियोगितामा सेन्टर मावि तुलसीपुरले उपाधि हासिल गरेको थियो ।
प्रतियोगितामा सहभागी खेलाडी विद्यार्थीलाई विद्यालयले निःशुल्क शिक्षासँगै प्रति विद्यार्थी पाँच हजार बराबरको खेलकुदका सामग्रीसहित सम्मान गरेको विद्यालयका प्रधानाध्यापक पौडेलले जानकारी दिए । जुत्ता र डे«सले विद्यार्थीलाई खेलका लागि थप हौसला थपेको बताए ।
शिक्षासँगै खेलकुदप्रतिको विद्यार्थीको रूचिलाई प्राथमिकतामा राखेर विभिन्न खेलमा विद्यालयले प्रशिक्षण गरिरहेको प्रधानाध्यापक पौडलेले बताए । उनले फुटबलमात्रै नभएर अन्य विधाका खेलसँग पनि विद्यार्थी जोडिएको बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लेखतराम पौडेलको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
त्यस अवसरमा नगरप्रमुख खड्काले तुलसीपुरका सामुदायिक विद्यालयमध्ये सेन्टर माविले खेलाडी उत्पादनमा महत्वपूर्ण भूमिका खेलेको बताए । उनले तुलसीपुरलाई खेलकुद क्षेत्रको हब बनाउनका लागि आगामी वर्षमा पनि आवश्यक बजेट विनियोजन गरिने बताए ।
त्यस अवसरमा दाङ जिल्ला फुटबल संघका महासचिव लक्ष्मण बस्नेत, निवर्तमान अध्यक्ष सुशिल श्रेष्ठ, विद्यालयका खेल प्रशिक्षक दुर्गाराज लवटले बालबालिकाको खेलकुदमा लगानी विद्यालयसँगै अभिभावकले पनि गर्नुपर्ने बताए ।
विद्यालयले खेलाडीलाई निःशुल्क शिक्षासँगै खेल सामग्री दिएपछि आफूहरूलाई झनै सहज भएको अभिभावक सुधा वलीले बताइन् । कार्यक्रमको सहजीकरण विद्यालयका सहायक प्रधानाध्यापक भोला पौडेलले गरेका थिए ।
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here