जीतसागर जी.एम.
लामो समयको खडेरीले नागरिकको जनजीवन अस्तव्यस्त बन्यो । गर्मीका कारण तातो हावा चलेपछि स्वास्थ्यमा पनि असर गरेको छ । गर्मीले जनजीवन अस्तव्यस्त बनेको समयमा सोमबार वर्षा पनि भएको छ । वर्षातले नागरिकलाई केही राहतको महसुस भएको छ । तर अझै पूर्णरूपमा मौसम प्रणाली सक्रिय नहुँदा गर्मीको जोखिम कायमै छ । गर्मी मौसमले पारेको प्रभाव र न्यूनीकरणका उपायका बारेमा प्रदेश टुडेको नियमित स्तम्भ टुडे राउण्ड टेबलमा सरोकारवाला समेटेका छौँ । – सम्पादक
विपद्जन्य घटनामा चनाखो छौँ
गर्मी वा अन्य विपद्जन्य घटनाबाट नागरिकलाई बचाउन उच्च सतर्कता अपनाईरहेका छौँ । लुम्बिनी प्रदेश सरकारले स्वास्थ्य मन्त्रालयलाई हाईअलर्टमा राखेको छ । जिल्ला अस्पताललाई व्यवस्थित बनाउने काम सरकार बनेदेखि नै भइरहेको छ । नागरिकको पहुँच प्रत्यक्षरूपमा जोडिने भनेको जिल्ला अस्पताल नै हो । अब अहिले गर्मीको मौसम सँगसँगै यसपछि पनि हुने सक्ने विभिन्न विपद्जन्य घटनाबाट हुन सक्ने क्षतिलाई कम गर्न प्रदेश सरकार गम्भीर छ । अहिले विषेशगरी तराईका जिल्लामा बढी गर्मी बढेको छ । लुम्बिनी प्रदेशका ६ वटा जिल्ला तराईमा पर्छन् ।
प्रदेश राजधानी दाङसहित बाँके, बर्दिया, कपिलवस्तु, पश्चिम नवलपरासी र रूपन्देही जिल्लामा अत्याधिक गर्मी बढेको जनजीवन अस्तव्यस्त हुन थालेको छ । विषेशगरी दैनिक ज्याला मजदुरी गरेर खाने वर्ग बढी समस्यामा छन् । अहिलेसम्मको अवस्थामा गर्मीले स्वास्थ्य क्षेत्रमा अझै ठूलो प्रभाव पारेको छैन् । तर अझै यहि मौसम निरन्तर भइरहेमा ‘लू’ लाग्ने र जसले गर्दा अस्पतालमा बिरामीको चाप बढ्ने हुन सक्छ । त्यस्तो बेलामा सबै नागरिकले सहजै उपचार पाउनका लागि आवश्यक पूर्वतयारी गरेका छौँ ।
विगतमा पनि प्रदेश सरकारले कोरोना महामारीको समयमा महत्वपूर्ण भूमिका खेलेको हो । आम नागरिकलाई हामीले बुझाउनुपर्छ । नागरिकमा प्रदेश सरकारको औचित्य छैन् भन्ने बुझाइ छ । यसमा नागरिकभन्दा पनि हामीले बुझाउन सकेका छैनौँ कि भन्ने लाग्छ । प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा प्रभावकारी काम गर्न नसकेको भए कोरोना महामारीमा पनि अझै ठूलो समस्या आउन सक्थ्यो । त्यो बेलामा प्रदेश सरकारले व्यवस्थापन राम्रो गरेका कारण धेरै मानवीय क्षति हुन पाएन् ।
अहिले पनि कुनै पनि बेलामा विपद्जन्य महामारी फैलिन सक्छ भन्नेमा हामी सचेत छौँ । यसका लागि आगामी आर्थिक वर्षको बजेटमा पनि विपद्को क्षेत्रमा आवश्यक बजेट बिनियोजन गरेका छौँ । अहिले गर्मीको मौसममा लु को जोखिम छ । यसपछि पानी परेपछि फेरि बाढी पहिरोजस्ता विपद्जन्य घटना हुन सक्छन् । यसका लागि अर्थात् त्यस्ता विपद्जन्य घटनाबाट क्षति कम गर्न प्रदेश सरकारले आवश्यक तयारी गरिरहेको छ ।
एकपछि अर्को क्रमशः चुनौती थपिदै गएका छन् । प्रदेश सरकारले यसका लागि हुनसक्ने सम्भावित विभिन्न विपद्जन्य घटनाबाट क्षति कम गर्नका लागि बजेट विनियोजनदेखि तालिमप्राप्त जनशक्ति तयार गर्ने काम गरिरहेको छ । कोही पनि नागरिकले विपद्जन्य घटनाबाट मृत्युवरण गर्न नपरोस् । आर्थिक अभावकै कारण उपचार नपाएर मृत्युवरण गर्नुपर्ने अवस्था आउन नदिन प्रदेश सरकार गम्भीर रूपमा लागिरहेको छ ।
समस्या छन् । बजेट विनियोजनदेखि जनशक्ति पर्याप्त रूपमा पाउन सकिएको छैन् । तर सकेसम्म स्रोत र साधनले सकेजति विपद् न्यूनीकरणमा सरकार प्रतिवद्ध छ । बाढी पहिरोजन्य घटना हुने पनि लगभग निश्चित देखिन्छ । यसका लागि उद्धार टोलीलाई तालिम दिने र उद्धार सामग्री समयमै व्यवस्थापन गरिरहेका छौँ ।
आउँदो ११, १२ र १३ गते दाङको लमहीमा पूर्वतयारीको कार्यक्रम पनि राखेका छौँ । नेपाल आर्मी र पुलिस फोर्ससँग बैठक भने गरिसकेका छौँ । उहाँहरूसँग उद्धार सामग्री पनि छ । त्यसका लागि हामीले अहिले नयाँ मोटरबोट पनि प्राप्त गरेका छौँ । दैविक प्रकोप पूर्वसूचना दिएर आउने होइन्, तर क्षति न्यूनीकरण आवश्यक कम गर्न सकिन्छ । यसका लागि आवश्यक पूर्वतयारी बेलैमा गर्न आवश्यक छ ।
बढ्दै बिरामी
गर्मी बढेको छ । जलवायु परिवर्तनको असर अहिले देखिएको छ । तराई क्षेत्रमा गर्मी निकै बढेको छ । गर्मी बढेसँगै तातो हावा चल्दा स्वास्थ्य समस्याको जोखिम पनि बढेको हो । तातो हावा चलेपछि स्वास्थ्य समस्याको जोखिम बढ्ने भएकाले चनाखो रहनुपर्छ । बढ्दो तापक्रमका कारण हावाको गुणस्तर एकदमै खराब (नाजुक) देखिएको छ । तातो हावाले वायु प्रदुषण हुने र यसले बालबालिका, बृद्धबृद्धा र बिरामीको श्वासप्रश्वासमा असर पु¥याउने गर्दछ ।
यस्तो गर्मीमा अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन, निस्कुनुपरे छाता ओढेर हिँड्न र प्रशस्त पानी पिउनुपर्छ । बढ्दो गर्मीसँगै झाडापखालालगायतका मौसमी रोगहरूको संक्रमण बढ्ने जोखिम हुन्छ । तुलसीपुरमा पनि झाडापखाला, आउँका बिरामी देखिएका छन् । अत्याधिक गर्मीकै असरले गर्दा स्वास्थ्य समस्या लिएर अस्पताल आउनेहरू बढ्न थालेका छन् ।
गर्मीमा ताजा खाना खानुपर्छ र स्वस्थ रहनुपर्छ । गर्मीमा तुरून्त पकाएको भोजन नै खानुपर्छ । यो मौसममा विशेषगरी पचाउन सजिलो हुने खानेकुरा मात्र खानुपर्छ । बिहान उठेको एक–डेढ घन्टाभित्र केही न केही खानुपर्छ । लामो समयसम्म खाली पेट बस्नाले शरीरमा आवश्यक पोषकतत्वको कमी हुनपुग्छ । बिहानको सुरूवात मन तातो पानीमा कागतीको रस र महसित गर्नु राम्रो हुन्छ । गर्मीमा चिया–कफीको सेवन कम गर्नुपर्छ । यसबाहेक जुस, आइस, दही, लस्सी, सातु, कागती–पानी, वेल सर्वत, नरिवल पानी, उखुको रसलाई आफ्नो खानपिनमा समावेश गर्नु फाइदाजनक हुन्छ ।
बाहिर घामबाट फर्केपछि तुरून्तै फ्रिजको पानी पिउनु हुँदैन । त्यसको साटो सुराही माटोको भाँडामा राखिएको पानी राम्रो हुन्छ । मिठाईको बदलामा फलफूल खानुपर्छ । अत्याधिक चिसो पेयपदार्थबाट टाढा रहनुपर्छ । पचाउन सजिलो हुने तथा हल्का सब्जी खानुपर्छ । गाजर, टमाटर, पालकबाहेक पानीको मात्रा भएको लौकाजस्ता सब्जी राम्रो हुन्छ । गर्मीमा दैनिक रूपमा कम्तीमा दिनको तीन लिटर पानी पिउनुपर्छ । जतिधेरै पिसाव निकाल्न सक्यो उति नै राम्रो हुन्छ ।
व्यायाम अथवा शारीरिक अभ्यासभन्दा पहिला र पछि पनि पानी अथवा तरल पदार्थ पिउनुपर्छ । खानामा सुप तथा फलफूलको मात्रा बढाउनुपर्छ । मसलदार खाना कम खानुपर्छ । डब्बामा बन्द भएको जुसबाट जोगिनुपर्छ । ताजा फलको जुसलाई प्राथमिकता दिनुपर्छ । शारीरिक सरसफाईमा ध्यान दिनुपर्छ । बिहान चिसो पानीले नुहाउनु उपयुक्त हुन्छ । हल्का र खुकुलो पहिरन लगाउनुपर्छ । सेतो वा उज्यालो रंगको पहिरन उपयुक्त हुन्छ ।
तुलसीपुरमा अघिल्लो वर्षको तुलनामा यसवर्ष छिटै गर्मी (तापक्रम) बढेको हो । मानवीय व्यवहार र गतिविधि, उद्योग, कलकारखानाले तापक्रम वृद्धि र वातावरणमा असर गर्दछ । फोहोर मैलाको उचित व्यवस्थापन नहुँदा पनि हावा प्रदुषित हुने हुन्छ । जंगलमा आगलागीका घटनाले पनि वायु प्रदूषण र तापक्रम बढ्नमा भूमिका खेलेको छ । तीनै तहका सरकारले मौसम र वातावरणीय सचेतनामा उचित ध्यान दिई नागरिकलाई सुरक्षित बनाउन ध्यान दिनुपर्ने हुन्छ । तुलसीपुर उपमहानगरपालिकामा पनि आवश्यक सतर्कता अपनाईएको छ । सम्भवतः अब धेरै दिन मौसम गर्मीको नहुन सक्छ ।
सावधानी अपनाउनु राम्रो
पछिल्ला दिनमा गर्मी बढ्दै गइरहेको छ । चर्किंदो घामसँगै बढेको गर्मीमा तातो हावा चल्न सुरू हुने भएकाले तराईमा ‘लू’ को समस्या बढ्दै गएको छ । सामान्य भाषामा ‘लू’ लाग्नुलाई गर्मी मौसमको रोग भनेर चिनिन्छ । गर्मी र ‘लू’ बाट बच्न निकै सतर्कता अपनाउनुपर्छ । सामान्य लापरबाही गर्दा ‘लू’ का कारण मानिसको मृत्युसमेत हुन्छ । नेपालमा ‘लू’ को असरले प्रति लाखमा दुईजनाको मृत्यु हुने गरेको छ । पछिल्ला दिनमा तराईका जिल्लामा अत्यधिक गर्मीका कारण जनजीवन प्रभावित बनेको छ ।
पूर्व, मध्य र पश्चिम तराईका जिल्लामा अधिकतम तापक्रम ४२ डिग्री सेल्सियससम्म पुगेको छ । गर्मी र ‘लू’ का कारण विशेषगरी बालबालिका तथा ज्येष्ठ नागरिकलाई असर पु¥याउन सक्छ । बारम्बार प्यास लागिरहनु, अनुहार रातो हुनु, टाउको दुख्नु, दिगमिग हुनु र बान्ता हुनु, अत्याधिक तापक्रमका कारण बेहोस हुनु, नाडीको गति धेरै बढ्नुका कारण बिरामीको शरीरको तापक्रम १०१ देखि १०४ सम्म हुनु, बिरामीमा छटपटी र उदासीनताको भाव देखिनु ‘लू’ का लक्षणहरू हुन् ।
‘लू’ को प्रथम उपचार भनेको शरीरको तापक्रम कम गर्नु हो । ‘लू’ बाट पीडित व्यक्तिलाई शीतल, स्वच्छ हावा र वातावरण चिसो भएको राम्रो ठाउँमा सुताउनुपर्छ । यदि तपाईंलाई ‘लू’ लाग्यो भने नजिकको चिकित्सकबाट तुरून्त प्राथमिक उपचार गराउनुपर्छ, जसका कारण समयमा नै सबै कुराको नियन्त्रण हुन्छ ।
‘लू’ लागेको बिरामीले आफ्नो जीवन रक्षाका लागि घोल (नुन, चिनी, कागती र पानी) समय–समयमा पिइरहनुपर्छ । ‘लू’ लागेपछि सकेसम्म निधारमा बरफको पट्टी राख्नुपर्छ । ‘लू’ लागेमा वा लाग्न नदिन दही र मौसमी फलफूल जस्तैः सुन्तला, अंगुर, खरबुजा र मौसमको रस ‘लू’ ग्रस्त बिरामीलाई पिउन दिनुपर्छ । पुदिनाको सर्वत पिउनाले पनि ‘लू’ बाट राहत प्राप्त हुन्छ । ‘लू’का बिरामीलाई तरल पदार्थ नै पिउन दिनुपर्छ । ‘लू’ लागेमा प्याजलाई पकाएर त्यसमा जिरा, चिनी र गाईको घिउ मिसाएर बिरामीलाई खानदिनु पर्छ । यसो गर्दा बिरामीलाई धेरै आराम प्राप्त हुन्छ । ‘लू’ बाट बच्ने उपाय–काँक्रोको सेवन गर्नुपर्छ ।
गर्मी मौसममा काँक्रो खानाले शरीरले शीतलता प्राप्त गर्दछ । जसबाट एकाएक ‘लू’को असर पनि हुँदैन । बेल, आँप, कागतीको सर्बतको सेवन गर्नुपर्छ । गर्मीमा बेल, आँप तथा कागतीको सर्बतले हाम्रो शरीरमा पानीको स्तरलाई कायम गरिराख्छ । जसले निकै हदसम्म ‘लू’बाट बचाउन पनि सहयोग पु¥याउँछ । घाममा खाली पेट निस्कनुहुँदैन, कागतीको सर्बत भएपनि खाएर निस्कनुपर्छ । सकेसम्म धेरैभन्दा धेरै पानी पिउनुपर्छ । घाममा धेरै ननिस्कनु नै उत्तम उपाय हो । यदि निस्कनै छ भने शरीरलाई पूरै तरिकाले ढाकेर मात्र निस्कनु होला ।
के खाने, के नखाने ? कागती पानी प्रचुरमात्रामा खानुपर्छ । नुन, चिनी तथा कागतीको रस (भिटामिन–सी) लाई जीवन रक्षक तरल पदार्थ पनि भनिन्छ । साँझको बेला तारिएका खानेकुराहरू तथा चिल्लो–पिरो खानेकुरा खानु हुँदैन । प्रायः हल्का खाना खानुपर्छ । तर, धेरै व्रत बस्नु हुँदैन । मदिरापान नगर्नु नै उत्तम हुन्छ । भोजनमा प्याज, पुदिना, सलाद तथा काँचो आँपको चाना बढी खानुपर्छ । ‘लू’ बाट बच्न हरेक सानोभन्दा सानो कुरामा ध्यान दिनुपर्छ । यदि तपाईं एसी अथवा कुलरको अगाडि बस्नु भएको छ भने कहिले पनि अत्यधिक घाम अथवा हावामा नजानुहोला ।
एसीमा बस्दा रक्तनलीहरू संकुचित हुन्छन् । अचानक एसीबाट सोझै चर्को घाममा जानाले शरीरको तापमान अचानक परिवर्तन हुन्छ । जसबाट खुम्चिएको रक्तनलीहरू अचानक फैलिन थाल्छ र ब्लड प्रेसर बढ्छ । यसबाट बच्नका लागि एउटा सरल तरिका के छ भने एसीबाट बाहिर आएको केही समयका लागि कुनै शीतल ठाउँमा बसेर शरीरको तापमानलाई सामान्य बनाउनुपर्छ । कुनै पनि प्रकारको क्रिम लगाएर घाममा निस्कनु हुँदैन ।
गर्मीले समस्या
गर्मी बढेपछि दैनिक काम गरेर गुजारा गर्नेको दैनिकी चलाउनै समस्या थियो । घर बाहिरसमेत निस्कन पाएका थिएनौँ । लगातार लामो समयसम्म गर्मी भयो । मैले थाहा पाउने भएदेखि यसवर्ष नै सबैभन्दा बढी गर्मी महसुस गरेँ । यसपटक निकै समस्या भयो । खानेपानीसमेत सहजै पाउन सक्ने अवस्था भएन् । लामो समयको गर्मीले कुवा पनि सुेकेका छन् । खानेपानी पाउन पनि निकै हम्मेहम्मे भयो । गर्मीले लगाएका तरकारीसमेत सुके ।
अहिले लामो समयपछि पानी परेको छ । यसले केही शितलता महशुस गरेका छौँ । सोमबार बिहानसम्म गर्मी निकै थियो । घरमा पंखा चलाएर बस्ने अवस्था पनि थिएन् । बिजुली घरी आउने घरी जाने समस्याले पंखा पनि चल्ने अवस्था भएन् । पंखा चलेपनि तातो हावा आउँथ्यो । बारीमा लगाएका मकै पनि सुकिसकेका छन् । फेरि मकै रोप्नुपर्ने अवस्था आएको छ । पानी समयमा नपरेपछि खडेरीले मकै सुकेका हुन् ।
मकै सुकेपछि फेरि अर्कोपटक मकै रोप्नुपर्ने अवस्था आएको छ । तर ढिला गरी रोपिएको मकै फल्दैन् । अहिलेको गर्मीले आउने वर्षसम्म समेत असर गर्ने देखिएको छ । खेतमा पनि यतिबेला ब्याड राख्ने मौसम थियो । तर वर्षात समयमा भएन । वर्षात समयमा नभएपछि ब्याड पनि राख्न पाइएको छैन् । सोमबार परेको पानीले ब्याड राख्ने अवस्था भएको छैन् । ब्याड राख्नका लागि अझै पानी पर्नुपर्छ ।
गर्मीले लामो समयसम्म काकाकुल बन्ने अवस्था आयो । अहिलेको जस्तो कहिलै भएको थिएन जस्तो लाग्छ । मैले थाहा पाएसम्म गर्मीको तापक्रम अहिले धेरै बढेको जस्तो लागेको छ । गर्मीले वरपर केही बालबालिका, ज्येष्ठ नागरिक पनि बिरामी परेका छन् । हामीले त जसोतसो दिन काटेका छौँ । अहिलेसम्म ठिकै छौँ । समस्या त छन् । तर पनि स्वास्थ्यमा असर परेको छौँ ।
सोमबार परेको पानीले केहि शितलता महशुस गरेका छौँ । केही भएपनि राहत दिएको छ । लामो समयको गर्मीले व्याप्त अवस्थामा रहेका हामी सानो वर्षापछि पनि राहतको महशुस गरेका छौँ । अब फेरि पनि यस्तो गर्मी नहोस् भन्ने कामना गरिरहेकी छु । लगतार लामो समयसम्म पानी नपर्दा निकै समस्या हुन्छ । हामीले यसपटक निकै सास्ती पायौँ । पूर्वतिर वर्षातले क्षति गरेको खबर सुन्ने तर यता पानीको थोपा त बादल पनि नआएपछि निकै चिन्तित थियौँ । तर सानो भएपनि सोमबार पानी परेको छ । यसले हामी सबैलाई राहत दिएको छ । हामी घरबाहिरको काम गर्नेलाई सबैभन्दा बढी असर गरेको अनुभूति गरेँ ।