
जीतसागर जी.एम.
स्थानीय तहमा दोस्रो कार्यकालका लागि जनप्रतिनिधि आएको एक वर्ष पूरा भएको छ । निर्वाचित भएर आएको दोस्रो वर्षमा प्रवेश गरेको अवस्थामा नागरिकका अपेक्षालाई पूरा गर्न जनप्रतिनिधिलाई सोचेजस्तो सजिलो छैन् । आर्थिक मन्दीको प्रभावका बीचमा नागरिकका अपेक्षालाई पूरा गर्न जनप्रतिनिधिलाई हम्मेहम्मे छ । एक वर्षको अवधिमा जनप्रतिनिधिले गरेका कामको समीक्षा र अनुभवलाई प्रदेश टुडे दैनिकको नियमित स्तम्भ टुडे राउण्ड टेबलमा समेटेका छौँ । – सम्पादक
पहिलो कार्यकालका योजना पूरा
घोराही उपमहानगरपालिकामा अहिलेको कार्यकाल मेरो दोस्रो हो । यसअघि पाँचवर्षे कार्यकाल पूरा गरिसकेपछि गएको वर्ष बैशाख ३० मा भएको निर्वाचनमा मलाई आम मतदाताले अनुमोदन गर्नुभयो । म दोस्रो कार्यका लागि निर्वाचित हुँदै गर्दा पहिलो कार्यकालमा पूरा हुन नसकेका योजना पूरा गर्ने सुवर्ण अवसर मिल्यो ।
पहिलो कार्यकालमा धेरै योजना पूरा गरेको थिएँ । केही अपूरा थिए । केही योजना बन्ने मात्र गरेका थिए । ति योजनालाई म अहिले क्रमशः पूरा गर्ने कोसिसमा छु । परिणाम पाँच वर्षमा जेजति देखियो । त्यसरी अहिलेको कार्यकाललाई फलदायी बनाउने योजनामा छु । नागरिकका आकांक्षा थुप्रै छन् । स्रोत साधन सीमित छन् । तर यति भनेर छुट पाउने कुरा पनि भएन् ।
नागरिकका आशालाई पूरा गर्ने अभिभारा लिएर आएपछि सकेजति काम गर्नुपर्छ । सोहिअनुसार मैले काम गरेको छु । पहिलेको कार्यकालभन्दा दोस्रो कार्यकाललाई अझ परिणाममूखी बनाउन लागेको छु । तर निर्वाचनमा आउँदा देखिएको उत्साह पछिल्लो चरणमा केही समस्या देखिएका छन् । आम नागरिकलाई सर्वविविधै छ ।
बजेटको जुन अवस्था रह्यो र मूलुकको अर्थ व्यवस्था अस्तव्यस्त भयो । त्यसैले नै विकासका लक्ष्य भेटाउन केही बाधा अवरोध अवश्य छन् । यसकारण हामीले सोचेजस्तो परिणाम ल्याउन केही समस्या हुन्छ भन्ने छ । तर पनि हामी उत्साहित छौँ । चुनौतीका बीचमा अवसर खोज्दै नागरिकलाई सहज, सुलभ सेवा सुविधा दिन दोस्रो कार्यकालमा निरन्तर लागिरहेका छौँ ।
म अझै पनि उत्साहित छु । बिगतमा भएका कामको समीक्षा गरी आगामी दिनलाई अझ फलदायी, सुशासनमैत्री बनाउन निरन्तर लागिरहेको छ । एक वर्षको अवधिमा पनि थुप्रै राम्रा काम भएका छन् । शिक्षा, स्वास्थ्य, पूर्वाधार, सामाजिक विकासलगायतका क्षेत्रमा उल्लेख्य रूपमा काम गरेका छौँ । सुशासनको कुरामा पनि धेरै व्यवस्थित गरेका छौँ । त्यसलै पनि मलाई लाग्छ, पहिलेको कार्यकालभन्दा अहिलेको कार्यकाल अझ व्यवस्थित हुन्छ ।
तर पनि जुनसुकै काम गर्दा खेरी आर्थिक महत्वपूर्ण कुरा हुन्छ । चालुवर्षमा पनि आर्थिक संकटका कारण कतिपय योजना अपूरा रहेका छन् । अनुमान गरेभन्दा कम राजस्व संकलन भएको छ । रजिष्ट्रेशन शुल्क सोचेजस्तो उठेको छैन् । राजस्व पनि अनुमान गरेको भन्दा निकै कम संकलन भएको छ ।
व्यवसायी धरासयी बनेका छन् । घरभाडा बुझाउनसमेत अप्ठेरो परिरहेको अवस्थामा नगरमा संकलन हुने कर पनि सोचेअनुरूप उठेको छैन् । पूर्वाधार विकासको काम नहुँदा खेरी मजदुर वर्ग पनि बेरोजगार बनेका छन् । आर्थिक क्षेत्र चलायमान नहुँदा सरकारको कामसमेत प्रभावित भएका छन् ।
गतवर्ष बैशाख ३० मा भएको निर्वाचनबाट दोस्रो कार्यकालका लागि निर्वाचित भएर आएपछि उत्साह आर्थिक मन्दीले प्रभाव पारेको छ । योजना बनेरमात्रै भएन्, योजनाको काम हुनलाई बजेट चाहिने, तर अपेक्षाकृत बजेट छैन् । अहिले पनि संघ र प्रदेशको सरकारले केही बजेट कटौती गरेको अवस्था छ । यसले आगामी आर्थिक वर्षको बजेटलाई समेत प्रभावित बनाउने निश्चित देखिएको छ । गतवर्ष एउटा वडामा एक करोड जतिको बजेट गएकोमा आउने आर्थिक वर्षमा करिब ८० लाखको बजेटमात्रै जाने भएको । यसले गर्दा सोचेअनुरूपको विकास नहुने निश्चित छ ।
आर्थिक संकटले विकास निर्माण प्रभावित
निर्वाचित भएर आएको पहिलो एक वर्षलाई हामीले मूलतः आर्थिक संकट वर्षकै रूपमा लिएका छौँ । हामी निर्वाचित भएर आएपछि पहिलो वर्षमै आर्थिक मन्दीको प्रभाव प¥यो । आर्थिक संकटका बीचमा सोचेअनुरूप धेरै काम गर्न नसकिए पनि स्रोत र साधनले सकेजति काम गर्न सकेका छौँ । लक्ष्यअनुरूप राजस्व संकलन हुन सकेन । चालुवर्षमा देशभरीका उपमहानगरपालिकामध्ये तुलसीपुर उपमहानगरपालिकाले सबैभन्दा कम राजस्व संकलन गरेको छ । राजस्व संकलनसमेत सोचे अनुरूप संकलन हुन नसकेपछि अरू विकास निर्माणमा त प्रभाव पर्ने नै भयो ।
आर्थिक संकटकै बीचमा हामीले धेरै महत्वपूर्ण काम गरेका छौँ । शिक्षा, स्वास्थ्य, सडकलगायतका क्षेत्रमा केही सुधार र विकासको गति बढेको अनुभूति गरेका छौँ । सीमित स्रोत साधनका बीचमा पनि महत्वपूर्ण काम भएको छ । शिक्षा क्षेत्रको कुरा गर्नुपर्दा खेरी तुलसीपुर उपमहानगरपालिकामा स्थान्तरण भएका विद्यालयमा पुनः कक्षा सञ्चालन गरेका छौँ । विद्यार्थी संख्या कम भएर मर्जको स्थितिमा पुगेका विद्यालयमा फेरि अहिले पाँच कक्षासम्मको अनुमति प्रदान गरी ति विद्यालयलाई थप व्यवस्थापन गरेका छौँ । शिक्षा क्षेत्रमा देखिएका कमीकमजोरीलाई सुधार गरेका छौँ ।
सामुदायिक विद्यालयमा तहगत प्रधानाध्यापकको व्यवस्था गरेका छौँ । यस्तै शिक्षकको दरबन्दी मिलान गरिएको छ । मेट्रो कलेजमा आयुर्वेदिक डिप्लोमा (एएएचए) कक्षा सञ्चालन गर्ने स्विकृति प्रदान गरेका छौँ । स्वास्थ्यको क्षेत्रमा हेर्दा खेरी मेट्रो हस्पिटलमा विशेषज्ञ जनशक्तिको व्यवस्था गरिएको छ । यस्तै ७० वर्ष पुगेका ज्येष्ठ नागरिक र सुत्केरी आमालाई निशुल्क एम्बुलेन्स सुविधा प्रदान गरेका छौँ ।
तर अब आगामी वर्षमा के गर्ने भन्ने अन्यौल छ । आर्थिक मन्दीको कारण बजेट नै घट्ने भएपछि चालुवर्षका कार्यक्रमलाई कति निरन्तरता दिने भन्ने नै अन्यौल कायम रहेको छ । नगरले गरिब र विपन्न १ सय २० जना नागरिकलाई स्वास्थ्य उपचारका लागि सहयोग गरेका छौँ । पूर्वाधार विकासमा पनि महत्वपूर्ण काम भएको छ । सडकका २६ वटा पूर्वाधारका काम चालुवर्षमा भएका छन् । यसमा १५ वटा योजना सम्पन्न भएका छन् भने बाँकी योजनाहरू सम्पन्न गर्ने प्रक्रियामा छन् ।
टरिगाउँ विमानस्थलको नयाँ डिपिआर बनाउने काम भएको छ । यस्तै इन्धन डिपोसम्म पुग्ने सडकको निर्माण गरिएको छ । सडक कालोपत्रे गर्ने तयारीमा छ । ट्रेड टावर निर्माणको काम सुरू भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ मा रहेको ऐतिहासिक पर्यटकीयस्थलमा सुरक्षाको व्यवस्थाका लागि प्रहरी चौकी स्थापना गरेका छौँ । वडा नम्बर १५ मा क्रिकेट मैदानका लागि जग्गाको हक हस्तान्तरण गर्ने निर्णय गरेका छौँ । यस्तै फोहोरबाट मल उत्पादन गर्ने प्रक्रिया सुरू भएको छ । कम्पोष्टल मल उत्पादन गर्ने काम भएको छ ।
यस्तै कृषि डिजिटल प्रणाली सुरू भएको छ । कृषि कार्यालयमार्फत कृषि क्षेत्रका उत्पादन र बजारीकरण सबैलाई डिजिटल माध्यमबाट सूचना प्रवाह गर्ने काम भएको छ । लुम्बिनी प्रदेशका १ सय ९ पालिकामध्ये तुलसीपुर उपमहानगरपालिकाले सबैभन्दा पहिला दलित सशक्तिकरण ऐन ल्याएको छ । मेला महोत्सव कार्यविधि बनेको छ । धेरै कुरा गर्न सकिने अवस्था थिएन, तर पनि हामीले धेरै काम गर्ने कोसिस गरेका छौँ ।
चालुवर्षलाई आर्थिक संकट वर्षको रूपमा हेरेका छौँ । पर्यटन क्षेत्रको विकासका लागि पर्यटकीय स्थलहरूमा प्रचारात्मक कामहरू गरेका छौँ । नगरस्तरीय पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्न हामीले कार्यक्रम पनि गरेका हौँ । यस्तै खेल क्षेत्रको विकास लागि चालुवर्षमा वडा अध्यक्ष कप, मेयर कप प्रतियोगितासमेत गरेका छौँ । अब आगामी वर्षमा पनि धेरै ठूला काम गर्नसक्ने अवस्थामा छैनौँ । करिब शून्य बजेट छ भने पनि हुन्छ । बजेटका हिसावले आन्तरिक राजस्व निकै कम छ ।
नीतिगत रूपमा हामीलाई संघ र प्रदेशले पनि दायित्व थपिदिएको छ । संघ र प्रदेशको ५० प्रतिशत भुक्तानी रोकिएको छ । आगामी वर्षमा नयाँ योजना आउँदैनन् । पुराना योजनालाई बहुवर्षिय योजनामा ढालेर काम गर्नुपर्ने अवस्था छ । पुराना योजनालाई सम्पन्न गर्ने दिशातर्फ लाग्ने कोसिस हाम्रो छ ।
सन्तोषजनक छ पहिलो वर्ष
निर्वाचित भएर आएको पहिलो वर्ष समग्रमा ठिकै रह्यो । नागरिकको तिब्र आंकाक्षा, सीमित स्रोत साधनका बीचमा पनि निर्वाचनका समयमा गरेका प्रतिवद्धता पूरा गर्ने भूमिका सुरूको एक वर्ष पनि महत्वपूर्ण भएको छ । सोचेजति सबै काम गर्न नपाए पनि एक वर्षमा लक्षित अधिकतम काम गर्न सफल भएका छौँ । भौतिक विकास र मानवीय विकासलाई सँगसँगै अघि लगेको छु ।
शिक्षा, स्वास्थ्य, रोजगार, विद्युत, भौतिक पूर्वाधारलगायतलाई प्राथमिकतामा राखेर काम गरेको छु । चालु वर्षमा अपेक्षित योजनाहरू पूरा भएका छन् । धेरै कुराहरू भएपनि केही कुरा पूरा हुन सकेनन् । आफूले सन्तोष हुने काम गरेपनि नागरिकका चाहना पूरा गर्न निकै गाह्रो कुरा छ । योजना बनेरमात्र भएन् । आर्थिक पक्ष बलियो भएन भने बनेका योजना पूरा हुँदैनन् । तर पनि सकेजति पूरा गर्ने कोसिसमा हामी छौँ । पाँच वर्षको गन्तव्य नै पहिलो वर्षले अवश्य निर्धारण गरेको छ ।
पालिकामा जनप्रतिनिधिको टिमले पनि साथ दिएको छ । काम गर्न चाहेपछि जनप्रतिनिधिको कुनै अवरोध हुँदैन् । तर पनि कतिपय काममा जिम्मेवारी दिएकाले पूरा नगर्दा समस्या पनि हुन्छ । जस्तै कि उपभोक्ता समितिले पूरा गर्नुपर्ने जिम्मेवारी पूरा नगर्दा समस्या पनि हुन्छन् । तर ति समस्या समाधान गरेर अघि बढेको छ । गाउँपालिकामा विद्युत नपुगेका बस्तीमा पनि विद्युत पु¥याउने काम भएको छ । सडक पूर्वाधारका काम पनि भएका छन् । सडक पूर्वाधारलाई आगामी आर्थिक वर्षमा संघ र प्रदेशको दुवै सरकारबाट साझेदारीमा कालोपत्रे, ग्राबेललगायतका कामलाई अघि बढाउने छौँ । यसपटक पनि भएका छन् । सीमित बजेटका बीचमा पनि थुप्रै काम गर्न सफल भएका छौँ ।
नागरिकका आशा स्थानीय सरकारप्रति धेरै देखिन्छ । स्थानीय सरकारले नै हरेक काम गरिदिन्छ भन्ने आशा स्थानीयलाई छ । यस्तो अवस्थामा नागरिकले घर अघिको खाल्डा पुर्नका लागि समेत स्थानीय सरकारको भर पर्नुपर्ने अवस्था छ । विद्युतको महशुल पनि स्थानीय सरकारले तिरिदिनुपर्छ भन्ने सोच आम नागरिकमा छ । यसकारण पनि स्थानीय सरकारप्रति नागरिकको बुझाई निकै नजिकको छ ।
तर स्थानीय सरकारले सबै काम पूरा गर्न सक्ने अवस्था हुँदैन् । मेरो चाहना के हो भने कम्तिमा पनि नागरिकले पनि जिम्मेवारी सम्झीएर स्थानीय सरकारलाई सहयोग गर्नुपर्छ । गाउँपालिकामा कार्यकाल एक वर्ष पूरा हुँदै गर्दा कृषि, पर्यटनलगायतका क्षेत्रमा सम्भावना छ । कृषि पेशालाई आधुनिकीकरण गरेर लैजान सकेपछि समृद्ध गाउँपालिका बन्न सहयोग पुग्छ । पालिकाभित्रको उर्वराभूमिलाई अधिकतम सदुपयोग गर्न पालिकाले अधिकतम कोसिस गरिरहेको छ ।
विद्युतको क्षेत्रमा एउटा महत्वपूर्ण काम भएको छ । गाउँपालिकादेखि करिब दुई सय मिटर टाढा विद्युत विस्तारको काम भएको छ । आठ वर्षअघि विद्युत विस्तारको लागि पोल गाडेपनि तार तान्ने काम भएको थिएन् । तर स्थानीयले मिटरसमेत जडान गरिसकेको अवस्था थियो । मोबाईल पनि चार्ज गर्न टाढा जानुपर्ने अवस्था थियो । ति ठाउँमा करिब डेढ महिना अघि गाउँपालिकाको आर्थिक सहयोग, विद्युत प्राधिकरणको समन्वयमा ति ठाउँमा विद्युत विस्तार गरिएको छ । यस्तै दंगीशरण गाउँपालिका वडा नम्बर १ को फुर्केसल्लीमा विगतका वर्षमा तार विस्तार भएको तर बीच ठाउँतिर रूख ढलेर तार छताछुल्ल अवस्थामा पुगेका कारण त्यसको व्यवस्थापन गर्ने काम पनि भएको छ । आउने वर्षमा सडकको पूर्वाधारलाई प्राथमिकतामा राखेर काम गर्ने योजना बनाएको छु ।
खरको छानोमुक्त र विद्युतीकरणमा जोड
निर्वाचित भएर आएको एक वर्ष पूरा भएको छ । यस अवधिमा नागरिकको चाहनाबमोजिम विकास निर्माणदेखि नीति निर्माणको काम भएका छन् । पहिलो वर्षले नै अब बाँकी चार वर्ष सफल हुन्छ भन्नेमा विश्वस्त छौँ । एक वर्षको अवधिमा आवश्यक कार्यविधि बनाएका छौँ । गतवर्ष बैशाख ३० मा भएको निर्वाचनमा आम नागरिकले मलाई जिम्मेवारी सुम्पेपछि सफलरूपमा अघि बढ्नका लागि एक वर्षलाई उपलब्धिमूलक बनाएका छौँ । एक वर्षको अवधिमा धेरै सिक्ने अवसर पायौँ । नागरिकका आवश्यकता धेरै छन् । सीमित स्रोत साधनका बीचमा हामीले धेरै अपेक्षा पूरा गर्नुपर्ने जिम्मेवारी छ । मैले नागरिकका जतिसक्दो धेरै आवश्यकता पूरा गर्नका लागि आवश्यक रणनीति लिएको छु ।
संघ र प्रदेश सरकारसँगको समन्वयमा शान्तिनगर गाउँपालिकामा आवश्यक विकास निर्माणको कामलाई अघि बढाउने रणनीति लिएको छु । एक वर्षको अवधिमा पनि मैले शिक्षा, स्वास्थ्य, विद्युत, सडकलगायत भौतिक एवं मानवीय विकासमा काम गरेको छु । गाउँपालिकाका केही बस्तीमा अझै पनि विद्युत विस्तार हुन नसकिरहेको ठाउँमा विद्युत विस्तारको काम अघि बढेको छ । कतिपय घरमा विद्युत विस्तार पनि भइसकेको छ ।
गाउँपालिकालाई आगामी तीन वर्षभित्रमा उज्यालोयुक्त बनाउनका लागि काम गरिरहेको छु । विद्युतको काम करिब ९० प्रतिशत पूरा भएको छ । अब खानेपानीको समस्या समाधानका लागि काम भइरहेको छ । नागरिकको धेरैभन्दा धेरै माग सडक पूर्वाधारको काम भइरहेको छ । नागरिकले सहजरूपमा स्वास्थ्य पनि सहजरूपमा पाइरहेका छन् । यस्तै गाउँपालिकालाई खरको छानोमुक्त पालिका बनाउनका लागि संघ सरकारले करिब ८० लाख बजेट पठाएको छ । यसको कार्यान्वयनमा लागि म निरन्तर लागिरहेको छु ।
नागरिकको खुसी ल्याउनका लागि म अध्यक्षको जिम्मेवारीमा आएको छु । यसलाई मैले ठूलो अवसरको रूपमा लिएको छु । थोरै बजेटमा धेरै काम गर्नका लागिपरेको छु । चालुवर्षमा आर्थिक मन्दीको ठूलो प्रभाव परेको छ । तर पनि आधारभूत आवश्यकतामा आधारित विकास निर्माणलाई निरन्तरता दिएको छु । शान्तिनगर गाउँपालिकामा आन्तरिक राजस्व पनि निकै कम संकलन हुन्छ । यस्तो अवस्थामा विकास निर्माणलाई केही असर त गर्छ । तर पनि सकेजति धेरै विकास निर्माण गर्न म तत्पर छु ।
गाउँपालिकामा मुख्यगरी कृषि क्षेत्र नै आर्थिक समृद्धिको प्रमुख आधार हो । कृषिलाई व्यावसायिक रूपमा लैजानका लागि पालिकाले आवश्यक रणनीति बनाएको छ । अधिकांश नागरिक कृषि पेशामा छन् । तर परम्परागत पेशामा रहेका नागरिकलाई आधुनिक कृषि खेती गर्नका लागि पालिकाले आवश्यक प्रयास गरिरहेको छ । गाउँपालिकालाई कृषिमा आत्मनिर्भर गराएर मात्र होइन्, त्यसबाट आर्थिक समृद्धि खोज्नका लागि कृषिको व्यावसायिकरण गर्नुको विकल्प छैन् ।
गाउँपालिकाले शिक्षामा पनि जोड दिएको छ । विद्यालयमा बालबालिका पढ्ने वातावरण बनाउने आवश्यक नीति ल्याउन लागेको छ । बालबालिकालाई शिक्षासँगै सीपमा पनि दक्षता दिनका लागि आवश्यक नीति बनाउन लागिएको छ । शिक्षाको विकास भएर मात्रै हुँदैन्, सीपको पनि विकास हुनुपर्छ भन्ने सोचका साथ गाउँपालिकाले आवश्यक रणनीति बनाउन लागेको छ ।