सल्यान, २१ जेठ ।
सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा अपाङ्गता भएका व्यक्तिहरूलाई क्षमता विकाससम्बन्धी १० दिने मुढा बुनाई तालिम सम्पन्न भएको छ । बनगाड कुपिण्डे नगरपालिका महिला तथा बालबालिका शाखा देवस्थलको आयोजनामा १० दिने तालिम सम्पन्न भएको हो ।
समापन कार्यक्रममा बोल्दै नगर प्रमुख कर्ण बहादुर बुढाथोकीले जन्मदै कोही सीप सिकेर नआउने भएकाले सीप सिक्ने इच्छाशक्ति र त्यसमा निरन्तरता दिन सक्नुपर्ने बताए । अपाङ्गता भएका व्यक्तिहरू विभिन्न काम गरेको उदाहरण दिँदै नगर प्रमुख बुढाथोकीले कार्यक्रम सफल भएको र त्यसलाई निरन्तरता दिनेसमेत बताए । कामले काम सिकाउने बताउँदै उनले शारीरिक रुपमा अपाङ्गता भएका व्यक्तिले पनि अपाङ्गजस्तै काम गर्न सक्ने बताए ।
भौतिक पूर्वाधारलाई मात्र विकास देख्ने भन्दा पनि सामाजिक, आर्थिक क्षेत्रको विकास महत्वपूर्ण भएको उनको तर्क छ । सडक मात्र नभएर अन्य क्षेत्रमा समेत काम नगरपालिकाले गर्ने बताए । प्रमुख प्रशासकीय अधिकृत जगत बहादुर घर्ती मुढा बुनाइ सिकाइ कार्यक्रम राम्रो भएको र यसलाई थप नगरपालिकाले निरन्तरता दिनेसमेत बताए ।
यो सँगै अन्य सीपमूलक कार्यक्रम गर्नेसमेत बताए । यसलाई कसरी व्यवहारमा लागू गरेर आर्थिक आयआर्जनमा सिर्जना गरेर आत्मनिर्भरमा जोड दिनसमेत बताए । विगतका कमी कमजोरीबाट सिक्दै बाकी दिनमा सुधारेर अगाडि बढ्ने बताए । महिला शाखा प्रमुख निरु शाहीले मुढा बुनाइ तालिमलाई थप व्यवहारमा लागू गरेर अगाडि बढ्न हौसला प्रदान गर्दै थप अन्य तालिम पनि सिकाउने उनले बताइन् ।
आयुर्वेदिक शाखा प्रमुख हेमन्त चन्दले स्वास्थ्यलगायत आयुर्वेदिक सम्बन्धी कुरा राखेका थिए । आयुर्वेद नै जीवनमा प्रयोग गरेमा धेरै राम्रो हुने भएकोले अपाङ्ग भएका व्यक्तिहरूले पनि त्यसमा ध्यानाकर्षण गर्नसमेत आग्रह गरे । सीप सिक्दै स्वास्थ्यसम्बन्धी ख्याल गर्नुपर्नेमा उनले जोड दिए । प्रशिक्षक डन्डी खत्रीले सीपलाई निरन्तरता दिएमा धेरै राम्रो हुने बताए ।
सहभागी रिम बुढाले समय छोटो भएको तालिम सिकाएर धेरै राम्रो गरेको यसले आफ्नो जीवनस्तरमा केही सहयोग हुने आशा गरेको समेत बताए । सहभागी दुर्गा बहादुर बस्नेतले १० दिने क्षमता विकास तालिम सिकाएर नगरपालिका पहिलो पटक गरेको कुनै तालिममा सहभागी हुन पाउँदा असाध्य गर्व लागेको बताए ।
अपाङ्ग भएको वर्षौँ हुँदा विगतमा कहिले नभएकोले अहिले हुँदा असाध्य खुसी लागेको र पुनः यस्ता तालिम थप्दै जानु पर्ने भन्दै आग्रह गरे । आउँदो क्षमता विकास तालिम थप अपाङ्गहरूलाई प्राथमिकता दिन आग्रह गरे । कार्यक्रम १ नम्बर वडा अध्यक्ष थुम बहादुर बिसी अध्यक्षतामा भएको थियो भने सहजीकरण लक्ष्मी साहीले गरेकी थिइन् ।