Wednesday, April 24, 2024
Homeविचारहेटौडाको सहिद स्मारक पुग्नु भयो ?

हेटौडाको सहिद स्मारक पुग्नु भयो ?

- Advertisement -spot_img


केही वर्ष यता आएर हामी नेपालीहरूमा पनी घुमफिर गर्ने बानीको विकास भएको छ । जसले गर्दा पर्यटन शब्द अहिले सबैको प्यारो भएको छ । कसैले पर्यटनसम्बन्धी कुराकानी निकाल्यो भने सबैका ध्यान तानिन्छ । कुनै नयाँ ठाउँमा घुमफिर गरेर आएको मानिसको कुरा सुन्दा हामी पनि जान पाए हुन्थो भने झै लाग्छ । समुन्द्र नदेखेकाहरूलाई समुन्द्र देख्ने मन हुन्छ भने, पहाड, हिमाल र प्रकृतिले सिंगार दिएका सम्पदा नदेखेकाहरूलाई ती क्षेत्रमा पुग्न मन लाग्दछ ।

मकवानपुर जिल्लाको हेटौडामा निर्माण गरिएको सहिद स्मारक अहिले पर्यटनको लागि गन्तब्य बनेको छ । मल्लकालिन राजाहरूको पालादेखि नै भारत एवं तराईको भू–भागबाट उपत्यका जाने मुख्यद्वारको रूपमा रहेको मकवानपुरको हेटौडा । राणकालीन अवस्थामा सिकार खेल्ने जंगलदेखि लिएर देश विदेशको यात्रामा हिडने भूगोल पनि हो हेटौडा । रोपवेदेखि लिएर सडक यातायातको सुरूवात गर्ने भूगोल पनि मकवानपुर नै मानिन्छ ।

मकवानपुरको ऐतिहासिक महत्व र पर्यटनको बारेमा चर्चानै गरेर सकिन्न । पहाडी भाग र भित्री मधेशको दुई उपत्यकाबाट बनेको मकवानपुर जिल्लाको भूगोल स्थलगत यात्रा गर्ने हो भने बल्ल पर्यटकहरूले त्यसको महत्वको बारेमा जान्न सक्दछन् । व्यक्तिगत स्वार्थविना देश र जनताको भलाईका लागि आफ्नो ज्यानको बलिदान दिने व्यक्तिलाई सहिद मानिन्छ । नेपाली शब्द कोषले पनि सहिदलाई यसरी नै परिभाषित गरेको छ ।

राणा शासनको विरूद्ध प्रजापरिषद्को गतिविधिमा लागेबापत वि.स. १९९७ साल कात्तिक २ गते पक्राउ गरी त्यसपछि १९९७ साल माघ १५ गते दशरथ चन्दसँगै विष्णुमतीको किनारमा रहेको शोभा भगवतीमा गोली हानी गंगालाल श्रेष्ठलाई मृत्युदण्ड दिइएको थियो । त्यसैगरी शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमालाई पनि स्वतन्त्रताको लागेको कारण फाँसी दिएकाले सहिद मान्ने गरिन्छ ।

निरंकुश शासन व्यवस्थाको अन्त्य गरी प्रजातान्त्रिक शासन व्यवस्थाको आरम्भ गर्ने महान अभियानमा पहिलो पटक सहादत प्राप्त गर्ने लखन थापा प्रथम सहिद हुन् । सहिद तिनै हुन, जसले निजी कुराबाट माथि उठेर देश दुनियाका लागि जीवनको बाजी थापे । ईश्वर बल्लभका कविताअनुसार सहिद तिनै हुन्, जसले आफूलाई समाप्त गरेर अरूलाई प्रारम्भ गरेका छन् । हामीले टेकेको यो खुला धर्ती, हिँडेको स्वतन्त्र बाटो तिनै सहिदको बलिदानबाट प्राप्त भएको हो । यसरी विभिन्न कालखण्डमा जीवन आहूति दिने सहिदहरूको स्मृतिमा हेटौंडा–११ मा निर्मित सहिद स्मारक अहिले पर्यटनको गन्तव्य भएको छ ।

हेटौडाको सहिद स्मारक पुग्ने पर्यटकहरू सहिदहरूप्रति सम्मान जाहेर गर्दछन् । सहिद स्मारक पुगेपछि पर्यटकहरू सहिदहरूले पछ्याएको मार्गमा हिँड्ने कसम पनि खान्छन् । हेटौडाको सहिद स्मारकमा विभिन्न समयमा जीवन उत्सर्ग गरेका १२ सहिदका आकृति एउटै ढुङ्गामा कुँदेर निर्माण गरिएको स्मारक अहिले आएर पर्यटनको गन्तब्य मात्र नभएर हेटौडा बजारकै धरोहर बनेको छ ।

२५ टनको एउटै ढुंगामा राष्ट्रको स्वाधीनताका निम्ति तत्कालीन बेलायती सेनाविरूद्ध लडेर वीरगति प्राप्त गरेका भक्ति थापा, राणा शासनविरूद्धको लडाइँमा अमरत्व प्राप्त गर्ने दशरथ चन्द, गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमार शुक्रराज शास्त्रीदेखि किसान आन्दोलनमा ज्यान गुमाएका भीमदत्त पन्त र पञ्चायतविरूद्ध लड्ने क्रममा जीवन गुमाएका रत्नकुमार बान्तवा, क्याप्टेन यज्ञबहादुर थापा, दुर्गानन्द झा, वीरेन्द राजवंशी, मुनेश्वरी यादव र प्रभाकर पौडेलको आकृति कुँदिएका सहिद स्मारकमा राखिएका छन् ।

यति मात्र होइन २०४६ यता ज्यान आहूति दिनेहरूको सम्झनामा स्मारकमा ६५ फिट अग्लो सहिद स्तम्भ निर्माण गरिएको छ । १९ मिटर अर्धव्यास रहेको स्तम्भमा सहिदहरूको अमूर्त चित्र, आन्दोलनमा प्रयोग भएका गोला, बारूद, बन्दुक र लाठीलगायतको चित्र अंकित छन् । यो नेपालको आकर्षक नक्साको जगमा स्तम्भ निर्माण गरिएको छ । त्यहाँ सहिदहरूवारे विस्तृत अध्ययन गर्न सहिद ग्यालरी बनाइएको छ ।

तीन का जमिनमा फैलिएको ग्यालरीको प्रवेशद्वारमै ०९७ सालका चार सहिदका आकृति कँुदिएका तस्विर रहेका छन् । स्मारकको प्रवेशद्वार नै सुन्दर देखिन्छ । झोलुङ्गेपुलले स्मारकलाई थप आकर्षण बनाएको छ । स्मारकभित्र बगैंचा, मिनी चिडियाखाना, मदन वाटिका, स्विमिङ पुल, रोटेपिङलगायत बालउद्यान र टावर पनि छ । करिब १२ बिघा जमिनमा फैलिएको यो स्मारक समुदायस्तरवाट निर्मित गरिएको अद्वितीय स्थल हो । सहिद स्मारकमा प्रत्येक अरू समयमा भन्दा नयाँ वर्षमा पर्यटकहरू बढी घुमफिरको लागि पुग्ने गर्दछन् । स्मारक हेटौडाको बुद्धचोकबाट १० किलोमिटर पश्चिमको डाँडामा पर्दछ । जंगलको बीचमा शान्त वातावरण भएकोले हेटौडामा पुगेपछि स्मारक घुमफिरको लागि पर्यटकको पहिलो रोजाईमा पर्ने गरेको छ ।

हेटौडाको स्मारक अवलोकन गरेपछि मकवानपुर जिल्लामा घुमफिर गर्ने धेरै ठाउँहरू छन् । घुमफिरको समय लम्बाउन सके उत्तरी मकवानपुरको थाहा नगरपालिका क्षेत्र मकवानपुरको सबैभन्दा धेरै पर्यटकहरू पुग्ने ठाउँ हो । थाहा नगरपालिका क्षेत्रबाट देखिने हिमश्रृंखला, पालुङ उपत्यका, चित्लाङको होमस्टेलगायतका स्थानमा पुग्दा पर्यटकहरू रमाउँछन् । जाडो मौसममा हिँउ परिरहने मकवानपुरकै सबैभन्दा उचाई क्षेत्र सिमभञ्याङमा पर्यटकहरू हिउँमा खेल्न रमाउँछन् ।

पालुङ उपत्यकामा रहेको नेपालको सबैभन्दा ठूलो मानव निर्मित जलाशयको रूपमा रहेको इन्द्रसरोवर ताललाई नजिकैबाट देख्न सकिन्छ । अहिले पर्यटकहरू इन्द्रसरोवर ताललाई हेर्न घुइँचो लाग्ने गर्दछन् । इन्द्रसरोवर तालमा डुंगामा समेत सयर गर्न पाउने भएकोले पर्यटकहरूको आकर्षक गन्तव्यको रूपमा विकसित हुँदै गएको छ ।

इन्द्रसरोवर अर्थात् कुलेखानीको जलाशय समुन्द्रको सतहबाट १ हजार ५ सय ३० मिटर उचाइँमा छ । आजभन्दा तीन दशक अगाडि निर्माण गरिएको योे जलाशयबाट पानी संकलन गरेर हिउँदमा बिजुली उत्पादन गर्ने कुलेखानी मुलुककै एकमात्र जलाशययुक्त विद्युत गृह हो । कुलेखानीको जलाशयबाट पहिलो ६० मेघावाट दोस्रो ३२ मेगा र तेस्रो १४ मेगा क्षमताको विद्युत गृह निर्माण गरिएको छ ।

हेटौंडा बजारबाट १८ किलोमिटर पूर्व थुम्कामा रहेको मकवानपुरगढी ऐतिहासिक, सामरिक एवं पर्यटकीय दृष्टिले समेत महत्वपूर्ण मानिन्छ । पृथ्वीनारायण शाहको ससुरालीसमेत भएकाले पनि मकवानपुरगढी नेपालको इतिहासमा छुट्टै पहिचान बोकेको पाइन्छ । मकवानपुरगढी कुनै बेला राजधानीको प्रवेशद्वार र राहदानी जारी गर्ने स्थानका रूपमा समेत परिचित थियो । विशाल नेपाल एकीकरण पूर्व मकवानपुर सेनवंशी राजाहरूको अधीनमा थियो ।

मकवानपुरगढी तिनै सेन राजाहरूको राजधानी थियो । यहाँबाट नजिकै पर्ने चिसापानीगढी अग्रेजसँगको युद्धमा सेना तैनाथ गरी युद्ध गरेको स्थान पनि हो । पाल्पाली राजा मणिमुकुन्द सेनले आफ्नो विशाल राज्यलाई चार भागमा विभाजन गर्दा उनका कान्छा छोरा लोहाङ सेनको भागमा परेको मकवानपुरको राजकाजका क्रममा मकवानपुरगढीको निर्माण १७५० सालतिर राजा तुलासेनले गरेका थिए ।

हिन्दूपति कहलिएका सेनवंशी राजाहरूको अन्त्यसमेत यसै गढीबाट भएको इतिहासमा उल्लेख छ । यो गढी समुद्रको सतहबाट करिब तीन हजार ६ सय फिट उचाइँमा महाभारत पर्वतको दक्षिणतर्फ फैलिएको छ । मकवानपुरगढीमा मुख्य रूपमा दुईवटा गढी छुट्टाछुट्टै छन् । राजदरबार रहेको ठूलो गढीलाई मूल गढी भनिन्छ । त्यस्तै, सैनिक परेड खेल्ने र प्रशासनिक भवनसमेत रहेको गढी सानो गढीको नामले परिचित छ ।

मूल गढीको सुरक्षाका लागि चारैतर्फ करिब २५ फिट अग्लो पर्खाल लगाइएको छ । पर्खालको चौडाइ करिब चार फिट छ भने पर्खाल वरपर १० फिट गहिरो खाडलले गढीलाई थप सुरक्षा प्रदान गरेको छ । पूर्व–पश्चिम फैलिएको यस गढीमा राजपरिवार बस्ने दरबार जुगे दरबारका नामबाट परिचित छ । त्यसबेला अपराधीलाई दण्ड दिन कारागारको स्वरूपमा बनाइएको खाल्डो अझै छ ।

तत्कालीन समयमा ऐन कानून मिच्नेलाई गहिरो खाडलमा हालेर मार्ने गरिएको बताइन्छ । गढीमा ऐतिहासिक एवं सांस्कृतिक महत्वका वस्तु अध्ययनको लागि अझैपनि भेटिन्छ । मकवानपुरगढीको दक्षिणपूर्वमा सेनवंशीय राजासँग सम्बन्धित जमिन अझै छ । सो जमिन रानीसेराको नामले परिचित छ । मकवानपुरे सेन राजा अत्यन्तै धनी शासकका रूपमा समेत परिचित थिए । सेनवंशीय शासनकालमा गाडिएको सुनैसुनको ढुकुटी अहिले पनि मकवानपुरगढीमा रहेको विश्वास गरिन्छ ।

मकवानपुर जिल्लाको नामकरण सेनवंशी प्रतापी राजा मुकुन्द सेनको नामसँग जोडिएको छ । ऐतिहासिक कालखण्डमा मकवानपुरलाई मुकुन्दपुर भन्ने गरिन्थो । कालान्तरमा भन्दै आएको मुकुन्दपुर अपभं्रश हुँदै मकवानपुर भएको हो भन्ने जनधारणा रहेको छ । चित्लाङ, मकवानपुरगढी पर्यटकहरूको घुमफिर मात्र होइन नेपालकै ऐतिहासिक महत्वको धरोहर हुन । इतिहासले के देखाउँछ भने मकवानपुरबाट नेपाली सेनाको इतिहास सुरू भएको छ ।

अग्रेजसँगको युद्धमा फौजबाट ५०० भन्दा धेरै राइफल, दुई तोप हात पारेर ४ वटा गुल्म श्रीनाथ, कालीबक्स, बर्दबहादुर र सबुज गुल्म भएको थियो । प्राकृतिक दृष्टिकोणले पनि मकवानपुर जिल्ला धनी जिल्लाको रूपमा लिने गरिएको छ । यहाँ थुप्रै प्राकृतिक मनोरमस्थलहरू रहेका छन । मकवानपुर जिल्लाका दुर्गम मानिने गाउँ र बस्तीको भ्रमण गर्ने हो भने त्यहा पाइने शान्त र शीतल वातावरणले जो कोहिको मन जित्न सक्दछ । चितवन राष्ट्रिय निकुञ्ज र पर्सा वन्यजन्तु आरक्षले पनि यस जिल्लाको थप वातावरणीय सुन्दरता दिलाएको छ ।

मकवानपुर जिल्लाको उत्तरी क्षेत्रमा रहेको पालुङ, बज्रवाराही, दामन, मार्खु, फाखेल र चित्लाङ पर्यटकीय क्षेत्रको रूपमा विकास हुन थालेको छ । टौखेल–चित्लाङ–चन्द्रागिरी मात्र १५ किमिको दूरीमा रहेको छ । काठमाडौँबाट २२ किलोमिटरको दूरीमा चन्द्रगिरी डाँडा पर्दछ । चन्द्रगिरीको डाँडाको काखमा रहेको चित्लाङमा पछिल्लो समयमा स्थानीयबासीले होमस्टे र पेइङ गेष्ट अवधारणामा पर्यटनहरूलाई सेवा दिन थालेका छन् । चित्लाङ मल्लकालीन इतिहास बोकेको ऐतिहासिक स्थल पनि हो । राणाकालीन समयमा चित्लाङ हँुदै मकवानपुरगढी भएर भिमफेदी आवतजावत गर्ने प्रमुख मार्गको रूपमा रहेको थियो ।

हेटौडा बागमती प्रदेशको राजधानी हो । यस जिल्लाको धरातलीय विविधता सँगसँगै यहाँको हावापानीमा पनि निकै विविधता पाइन्छ । हिउँ पर्नेदेखि लिएर गर्मी हुने स्थानको रूपमा चिनिन्छ । जुन कारणले पर्यटकहरूको लागि मकवानपुर उत्कृष्ट गन्तब्य बन्दै गएको छ । पर्यटकहरूले भ्रमण गर्नु मनोरञ्जन लिनु मात्र होइन । गाउँ ठाउँको भ्रमणबाट धेरै किसिमका कुराहरू सिक्न र जान्न पाइन्छ ।

भ्रमणबाट नै प्रकृति, समाज र प्रविधिको अवस्था, आवश्यकता र सम्भावनाहरूको पहिचान, निर्माण र प्रसारजस्ता कार्यहरू गर्न सम्भव हुन्छ । त्यसैले होला भ्रमणलाई खुल्ला विश्वविद्यालय पनि भन्ने गरिन्छ । शिक्षालाई अर्को पाटोबाट हेर्नेहो भने पढ्नु र सिक्नुको अर्थ किताबी कुरा जान्नु र सूत्रहरू स्मरण गर्नु होइन । अरूले लेखिदिएको पुस्तकहरू पढेर संसारको बारेमा जान्न त सकिएला तर ज्ञानको गहिराइमा पुग्न सकिदैन । खासगरी प्राकृतिक स्रोत, भौगोलिक अध्ययन, मानव विकासको अध्ययन, सामाजिक र आर्थिक पक्षको अध्ययन लिन भ्रमण गर्नै पर्ने हुन्छ ।

पर्यटक गाउँघरमा किन जाने ? यसको उत्तर खोज्ने हो भने हामी किन अरूको गाउँमा घुम्न जान्छौं भन्ने कुरालाई गाँसेर हेर्न सकिन्छ । हामी अरूको गाउँठाउँ राम्रो लागेर हेर्न जान्छौं । सहर बजारहरू सुन्दर छन्, शान्ति र सुव्यवस्था छ, पर्यटकलाई कुनै किसिमको डरको वातावरण छैन । अहिले पर्यटनको क्षेत्र विस्तार भएको छ ।

प्राकृतिक सौन्दर्य हेर्ने, समुद्रको किनारमा रमाउने, जलमा सिकार गर्ने, जगलमा अनेक जीव जनावरको प्राकृतिक बसोबास र बसाइ हेर्ने, मानव निर्मित स्मरणीय र दर्शनीय स्थलहरूप्रति श्रद्धा व्यक्त गर्ने, इतिहासबारे जानकारी लिने, सांस्कृतिक महत्वका सम्पदाहरूको अवलोकन गर्ने, तीर्थाटन गर्ने पर्यटनका क्षेत्र विकसित भएका छन् । परम्परागत पर्यटनको मान्यतामा पनि खासै कमी आएको छैन । अध्ययन र व्यापारको सिलसिलामा आज पनि हजारौं मानिस दिनहुँ एक अर्को स्थान घुमफिर गरिरहेका छन् ।

पढनु र सिक्नुको अर्थ किताबी परिभाषा जान्नु र सूत्रहरू स्मरण गर्नु होइन । जीवन र जगत्लाई बुझेर त्यसैअनुरूप सहज जीवन पद्धतिको विकास गर्नु नै शिक्षाको मुख्य उद्देश्य हो । अरूले लेखिदिएको पुस्तकहरू पढेर संसारको बारेमा जान्न त सकिएला तर ज्ञानको गहिराइमा पुग्न कदापि सकिदैन । जीवन र जगत्लाई चिन्ने र त्यसैको आधारमा सहज जीवनको बाटो पहिल्याउने मध्यम नै शिक्षा हो । जीवन र जगत्लाई चिन्ने बुझ्ने सबैभन्दा राम्रो उपाय घुमघाम अर्थात् पर्यटन हो । घुमघाम वा भ्रमण गर्नु मनोरञ्जन लिनु मात्र होइन । भ्रमणबाट धेरै किसिमका ज्ञानगुनका कुराहरू सिक्न र जान्न पाइन्छ । प्रकृति, समाज र प्रविधिको अवस्था, आवश्यकता र सम्भावनाहरूको पहिचान, भ्रमणबाटै लिन सकिन्छ । त्यसैले भ्रमणलाई खुल्ला विश्वविद्यालय पनि भन्ने गरिन्छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here