स्थानीय तहमा दोस्रो कार्यकालका लागि निर्वाचित भएर आएका जनप्रतिनिधिको एक वर्ष पूरा भएको छ । गतवर्ष बैशाख ३० मा भएको निर्वाचनमा निर्वाचित जनप्रतिनिधिको कार्यकाल दोस्रो वर्षमा प्रवेश गर्दै गर्दा बितेको एक वर्षको कामको समीक्षा नागरिकले राम्रैसँग गरेका छन् । निर्वाचनको समयमा गरेका प्रतिवद्धता पूरा गर्न जनप्रतिनिधिलाई भनेजस्तो सहज पनि छैन् । सीमित स्रोत साधनका बिचमा नागरिकका आशा र आकांक्षा पूरा गर्नुपर्ने दायित्व जनप्रतिनिधिलाई छ ।
जनप्रतिनिधिले जतिसक्दो धेरै नतिजा देखिने गरी काम गर्ने कोसिस गरिरहेको दावी गर्छन् । तर नागरिकले सोचे अनुरूपको विकास पाउन सकिरहेका छैनन् । एक वर्षको अवधिमा गरेका कामको सीमित पालिकाका जनप्रतिनिधिले सार्वजनिक गरेको पनि देखिएको छ । सल्यानको कपुरकोट गाउँपालिकाले एक वर्षमा गरेका कामको नतिजा सार्वजनिक गरेको छ । कपुरकोटबाहेक अन्य पालिकाले एक वर्षका उपलब्धि सार्वजनिक गरेको देखिएको पनि छैन् ।
नागरिकमाझ पालिकाले एक वर्षको उपलब्धि सार्वजनिक गर्न अन्य पालिकाका जनप्रतिनिधि आनाकानी गरिरहेका छन् । दोस्रो कार्यकालका लागि आएका जनप्रतिनिधिले पनि अघिल्लो कार्यकालमा आएका जनप्रतिनिधिको भन्दा फरक काम गर्न सकेका छैनन् । दोस्रो कार्यकालका लागि निर्वाचित जनप्रतिनिधिले पनि नागरिकको चाहनाअनुरूप काम गर्न निकै सकस देखिएको छ ।
बितेको एक वर्षले नै आगामी पाँच वर्षको गन्तव्य निर्धारण गर्ने निश्चित छ । तर अहिले बितेको वर्षमा पनि लक्ष्य अनुरूप काम भएको छैन् । अघिल्लो कार्यकालमा निर्वाचित जनप्रतिनिधिले विगतमा देखिएको कोरोना महामारी, पहिलो कार्यकाललगायतका कारण देखाएर सोचेअनुरूप काम गर्न सकेनन् । जनप्रतिनिधिलाई पनि बहाना बनाउन निकै सजिलो भएको थियो । अघिल्लो जनप्रतिनिधिजस्तै पछिल्लो कार्यकालका जनप्रतिनिधिबाट पनि नागरिकले सोचेअनुरूप काम पाउन सकेनन् ।
जनप्रतिनिधिलाई यसपटक पनि आर्थिक मन्दीको प्रभावका कारण नागरिकको चाहनाअनुरूप काम गर्न नसकेको बहाना बनाउन सहज भएको छ । केही बाहेकको अधिकांश पालिकामा राम्रो काम हुन सकेको छैन् । नेपालको संविधान २०७२ जारी भएपछि स्थानीय तहमा दोस्रो कार्यकालका लागि आएका जनप्रतिनिधिबाट पनि नागरिकका अपेक्षा थुप्रै छन् । शिक्षा, स्वास्थ्य, खानेपानी, सडक पूर्वाधारलगायतका अभावमा धेरै नागरिक छन् ।
नागरिकले आधारभूत आवश्यकता पनि पूरा गर्न नसकिरहेको अवस्थामा जनप्रतिनिधिलाई कार्यकाल स्वर्णिम बनाउन निकै सकस देखिएको छ । नागरिकका चाहनाभन्दा पनि नेतृत्व व्यक्तिगत चाहनाअनुरूप काम गर्दा पनि नागरिकको वितृष्णा झन्पछि झन् बढेको छ । परिवर्तन देखिने गरी काम गर्नुपर्ने प्रमुख जिम्मेवारी जनप्रतिनिधिलाई छ । तीन तहका सरकारले नागरिकले परिवर्तन देखिने गरी काम गर्नुपर्छ । परिवर्तनका लागि नागरिकले दिएको भोटको दुरूपयोग नगरी काम गर्न जनप्रतिनिधि लाग्नुपर्छ ।