दाङ, ८ जेठ ।
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् विस्तार भएको छ । सोमबार मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले प्रदेशको मन्त्रिपरिषद् विस्तार गरेका हुन् । मुख्यमन्त्री चौधरीको क्याबिनेटमा सोमबार तीनजना मन्त्री थपिएका छन् ।
मुख्यमन्त्री चौधरीले नेपाली कांग्रेसबाट एकजना, जनता समाजवादी पार्टीबाट एकजना र जनमतबाट एकजना गरी तीनजना थपेर सात सदस्यीय मन्त्रिपरिषद् बनाएका हुन् । जसअनुसार नेपाली कांग्रेसका राजु खनाल स्वास्थ्यमन्त्री, जनमतबाट चन्द्रकेश गुप्ता सामाजिक विकास मन्त्री, जसपाबाट भण्डारीलाल अहिर कृषि मन्त्री बनेका छन् ।
त्यस्तै दुईजना विनाविभागीय मन्त्रीको पनि जिम्मेवारी तोकिएको छ । नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरी भौतिक पूर्वाधार मन्त्रालय र लोसपाका सन्तोषकुमार पाण्डेले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी तोकिएको हो ।
नवनियुक्त मन्त्रीले लिए शपथ
लुम्बिनी प्रदेशमा नियुक्त भएका तीनजना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुखको कार्यालय बुटवलमा प्रदेश प्रमुख अमिक शेरचन समक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् । नियुक्त भएका स्वास्थ्य मन्त्री राजु खनाल, सामाजिक विकास मन्त्री चन्द्रकेश गुप्ता, कृषि तथा भूमि व्यवस्था मन्त्री भण्डारीलाल अहिरले शपथ लिएका हुन् ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मन्त्री परिषद् पुनर्गठन गरेका हुन् । यसअघि माओवादीका धनबहादुर मास्कीले आर्थिक मामिला मन्त्रालयले जिम्मा पाएका थिए । लुम्बिनीमा अझै केही मन्त्रालय रिक्त नै छन् । बाँकी मन्त्री बजेटपछि नियुक्त हुने सरकारका प्रवक्ता सन्तोषकुमार पाण्डेयले जाकारी दिए ।
माओवादीमा आन्तरिक विवाद भएपछि बाँकी मन्त्री नियुक्ति बजेटपछिका लागि तय भएको स्रोतको भनाइ छ । माओवादीबाट कृष्णा केसी नमुना र दिपेन्द्र पुनको नाम चर्चामा छ । लुम्बिनीका मुख्यमन्त्री चौधरीले बैशाख १५ गते शपथ ग्रहण गर्दै चार सदस्यीय मन्त्रीमण्डल विस्तार गरेका थिए ।
कांग्रेसका डिल्लीबहादुर चौधरी नेतृत्व सरकारलाई कांग्रेसका २७, माओवादीका ११, नागरिक उन्मुक्ति पार्टीका चारजना, जनमत पार्टी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका तीन÷तीनजना, राष्ट्रिय जनमोर्चा, नेकपा एकीकृत समाजवादीका एक÷एकजना र स्वतन्त्र एक सांसद गरी ५३ जना सांसदको समर्थन छ ।