तुलसीपुर, ८ जेठ ।
दाङको तुलसीपुरका विद्यार्थीहरूले संवैधानिक व्यवस्था र त्यसको कार्यान्वयाका विषयमा छलफल तथा बहस गरेका छन् । तुलसीपुर मेट्रो कलेज कानुन संकायमा अध्ययनरत विद्यार्थीहरूले संविधान कार्यान्वयनको अवस्थाका बारेमा छलफल गरेका हुन् ।
संविधानविद् खिमलाल देवकोटासँग विद्यार्थीहरूले संविधानको परिपालनामा देखिएको समस्याका बारेमा छलफल गरेका थिए । छलफलका अवसरमा विद्यार्थीहरूले संवैधानिक व्यवस्था अनुसारका हक, अधिकार नागरिकले प्राप्त गर्न नसकेको प्रति गुनासो गरेका थिए । नेपालको संविधानले मौलिक हकको पूर्ण प्रत्याभूतिको रूपमा व्यवस्था गरेको भएपनि हालसम्म नागरिकले त्यसको प्रत्याभूति गर्न नसकेको बताए ।
कानुन संकायमा अध्ययनरत विद्यार्थी प्रकाश वलीले संविधानमा लेखेर मात्रै अधिकार प्राप्त नहुने समेत बताए । उनले संविधानले व्यवस्था गरेका कानुन, ऐनहरू पूर्ण रूपमा पालना हुन नसकेको भन्दै प्रश्नसमेत गरे । ‘संविधानले मौलिक हकका बारेमा उल्लेख गरेको भएपनि किन कार्यान्वयन भएको छैन ?’ उनले भने– ‘के संविधानमा लेखेर मात्रै अधिकार प्राप्त हुन्छ ?’
कार्यक्रममा संविधानविद् खिमलाल देवकोटाले संवैधानिक अधिकारको ग्यारेन्टी गराउनका लागि राज्यलाई जिम्मेवार बनाउनुपर्ने बताए । संविधानले राज्यलाई जिम्मेवार बनाउनुका साथै जनताका आवश्यकता पूरा गर्ने हैसियतमा लैजाने उल्लेख गरे ।
‘राज्यले संविधानमा उल्लेख गरेका कुराहरू नागरिकलाई उपलब्ध गराउनका लागि हैसियत बढाउँदै लैजानुपर्दछ’ देवकोटाले भने । संघीयता देशको आधार र जनसंख्याका आधारमा मापन नहुने समेत बताए । उनले विश्वका ठूला–ठूला मुलुकमा पनि संघीयता नभएको तर अत्यन्त साना मुलुकमा पनि संघीयता भएको प्रष्ट्याएका थिए । संघीयतालाई कत्तिको अधिकार सम्पन्न बनाएर लैजान्छौँ भन्ने कुरामा निर्भर रहने उल्लेख गरे ।
स्थानीय तहमा कानुनी अधिकारभन्दा पनि मेलमिलापको अधिकार दिइएको बताउँदै स्थानीय तहका पदाधिकारीहरूले सोहीअनुसार कार्यसम्पादन गर्नुपर्ने उनको भनाइ थियो । ‘स्थानीय तहले मेलमिलाप गराउने हो तर यहाँ कानुनी काम पनि भइरहेको छ’ उनले भने– ‘यसले जनतामा भ्रम फैलदै गएको छ ।’ नेपालको संविधान जनताको सहभागितामा बनाइएकाले नमुना भएको बताउँदै संविधान निर्माणका क्रममा धेरै दबाब सिर्जना भएको पनि बताए ।