कृष्णप्रसाद न्यौपाने
दाङ, ८ जेठ ।
बैशाख÷जेठ महिनाको टन्टालपुर घाम । पसिनाले शरीर पूरै भिजेको छ । एक हातले पसिना पुछ्दै श्रीमानले हलो सोजाई रहेका छन् । श्रीमतीले अघि–अघि हलो तानिरहेकी छन् । हातभरी ठेला उठेका छन् । शरीर थकानले मलिन छ । टाढाबाट झ्वाट्ट हेर्दा गोरूले हलो जवाली तानिरहेको जस्तो देखिन्छ ।
तर मकै, तरकारी लगाउनका लागि किसान आफैले हलो तानेरै खेत जोतिरहेका छन् । मध्यान्हको चर्को घाममा यसरी काम गर्ने उनीहरूको रहर भने होइन् । गाउँमा खेतबारी जोत्ने गोरू पाउनै छोडेपछि बाध्य भएर आफै हलो तानेर खेतबारी जोत्दै आएका छन् ।
लमही नगरपालिका–८ खोलीगाउँका कमल चौधरी र उनकी श्रीमतीले मकै रोप्दा, तरकारी लगाउँदा, धानको बीउ राख्दा यसरी नै खेतबारी जोत्ने गर्दछन् । उनीहरू मात्र होइन त्यसक्षेत्रका अन्य किसानहरूले पनि यसरी नै हलो तानेरै अन्नबाली लगाउँदै आएका छन् । गाउँमा गोरू पाल्न छोडेपछि किसानहरू आफैले हलो जवाली तानेर खेतबारी जोत्नुपर्ने बाध्यता रहेको उनीहरू बताउँछन् ।
लमही, गढवा र राजपुर क्षेत्रका किसानहरूले हिजोआज यसरी नै आफैले हलो तानेर खेतबारी जोत्ने गरेको चौधरीले बताए । ‘गाउँमा गोरू पाल्नै छोडिसके, आफूलाई चाहिदा कहाँ माग्न जाने ? उनले भने– ‘बाँझो खेत ठूलो ट्याक्टरले जोताए पनि बीउ लगाउँदा हामी आफैले जातेर लगाउँछौँ ।’
परिवारको आर्थिक अवस्था कमजोर हुँदा गोरू किन्न नसकेपछि बाध्य भएर यसरी नै काम गर्नुपरेको उनले बताए । बिहान ६ बजेदेखि बेलुकी ५ सम्म त्यसरी हलो तान्दा करिव चार कट्टा जमिन जोतेर सकिने उनले बताए । बलौटे माटो भएकाले जोत्न केही सजिलो भएपनि हलो तान्दा हातखुट्टामा ठेला उठ्ने, दुख्ने जस्ता शारीरिक पीडा धेरै हुने कमलकी श्रीमती रूपनियाँ चौधरीले बताइन् । तरकारी बेचेर आएको पैसाले दुई छोरा र एक छोरीसहित पाँचजना रहेको परिवारको खर्च टर्ने भएकाले पनि घाम पानी नभनेर काम गरिरहेको बताइन् ।
‘बिहानबाट बेलुकासम्म हलो तान्दा कसलाई गाह्रो हुन्न होला, राति खुट्टा दुखेर सुत्नै सक्दिन । कहिले त ज्वरो नै आउँछ, उनले भनिन्– ‘जतिसुकै दुःख भएपनि काम गर्नै प¥यो, यहि पनि नगरे के खाने ? कसरी परिवार पाल्ने ?’
अन्नबाली लगाउँदा सानो ट्याक्टर तथा गोरू आवश्यक पर्ने हुन्छ तर दुवै आफूहरूसँग नहुँदा एकजनाले हतो सोजाउने, एकजनाले हलो तान्ने गरेरै भएपनि अन्नबाली लगाउँदै आएको उनले बताइन् । ‘बाँझोखेतमा त ठूलो ट्याक्टर लगाएका थियौँ, त्यसैको पैसा तिनै गाह्रो भएको छ’ उनले भनिन्– ‘सधै उधारोमा काम पनि गर्दिन् हामीले पनि पैसा तिरिरहन सम्भव हुन्न ।’
करिव ११ कट्टा खेत हलो तानेरै जोत्ने गरेको उनले बताइन् । वषौँदेखि यसरीले खेतबारी जोत्दै आएका उनीहरू सरकारले अनुदानका कार्यक्रमहरू ल्याएर कृषि उपकरण दिए राहत हुने बताउँछन् । राजपुर गाउँपालिका–६ कि जानुका चौधरीले पनि आफै हलो तानेर तरकारी रोप्ने गरेको बताइन् ।
खेतबारी बाँझो राख्नुभन्दा आफैले खनेर, जोतेर भएपनि अन्नबाली लगाउँदै आएको उनको भनाइ छ । सिमी, आलु मकै, मुलाजस्ता अन्नबाली त हामीले हलो तानेर, कुटोले खनेर लगाउँछम्, उनले भनिन्– ‘अरूको मुख ताक्नुभन्दा आफ्नै हातमा ठेला उठाउन ठिक हुने, दिनभरी काम गर्न गाह्रो त हुन्छ तर अरू उपाय पनि त छैन ।’
खेतबारीमा लगाएको तरकारी, धान गहुँ बेचेरै परिवारको खर्च पु¥याउने गरेको उनले बताइन् । परिवार नै कृषि पेशाबाट पाल्दै आएका किसानहरूको पहिचान गरी सरकारले अनुदानका कार्यक्रमहरू ल्याउनुपर्ने उनको भनाइ छ । सरकारले किसानहरूका लागि अनुदानमा हाते ट्याक्टर दिन्छ भनेपनि आफूहरूले अहिलेसम्म कुनैपनि अनुदान नपाएको उनीहरूको गुनासोसमेत छ । किसानलाई कृषि उपकरणसँग जोडेर लैजाने गरी विभिन्न कार्यक्रमहरू ल्याएको भनिए पनि त्यसको पहुँचसम्म आफूहरू पुग्न नसकेको उनीहरूको बताउँछन् ।
धानको बीउ राख्दा, मकै रोप्दा, तरकारी लगाउँदा ठूलो ट्याक्टरबाट सम्भव नहुने र जोत्नको लागि गोरू नपाइने भएपछि हिजोआज यसरी नै खेतबारीको काम हुने उनीहरूले बताए । कृषिमा यान्त्रिकीकरण गर्ने उद्देश्य सरकारको भएपनि समयमै आवश्यक अनुसारका कृषि यन्त्र वितरण गर्न नसक्दा किसानले सास्ती खेप्नु परेको उनीहरूको भनाइ छ ।
न त समयमै मल पाइन्छ, न त आवश्यक कृषि उपकरण नै’ उनीहरूले भने– ‘कृषि क्रान्तिका कुराहरू गरेर मात्रै भएन जहाँ जे कुराको आवश्यक छ त्यो कुरा उपलव्ध गराउन सक्नुपर्छ अनि मात्र किसानले समयमै प्रशस्त अन्नबाली उब्जाउन सक्छन् ।’