जीतसागर जी.एम.
नयाँ शैक्षिक सत्र २०८० सुरू भएको करिब एक महिना हुन लागिसकेको छ । विगतका वर्षमा पाठ्यपुस्तकको सहज आपूर्ति हुन नसके पनि यसवर्ष लगभग विद्यार्थीको हातमा पाठ्यपुस्तक पुगिसकेको पुस्तक व्यवसायीको दावी छ । पाठ्यक्रम परिमार्जन भएका किताव मात्रै विद्यार्थीको हातमा अझै पुगेको छैन् । ति किताब पनि विद्यार्थीले जेठको पहिलो साताभित्र पाउने व्यवसायीको दावी छ । दाङको सन्दर्भमा गतवर्ष जेठको अन्तिमसम्म विद्यार्थीले पाठ्यपुस्तक पाएका विद्यार्थीले यस वर्ष खासै समस्या भएको देखिएको छैन् । पाठ्यपुस्तक वितरणमा अहिले आएको सहजता र व्यवस्थापन कस्तो भएको छ ? प्रदेश टुडे दैनिकको नियमित स्तम्भ टुडे राउण्ड टेबलमा सरोकारवालाको विचार समेटेका छौं । – सम्पादक
पाठ्यपुस्तकको छैन अपर्याप्तता
चालु शैक्षिक सत्रमा पाठ्यपुस्तकको असहजता छैन् । करिब सबै विद्यार्थीको हातमा पाठ्यपुस्तक पुगिसकेको छ । विगतका वर्षमा पाठ्यपुस्तक ढुवानीमा समस्या हुन्थ्यो । दाङकै सन्दर्भमा पनि करिब जेठ असारसम्म विद्यार्थीले किताब पाउँथे । तर यसवर्ष त्यो समस्या रहेन् । अहिले सरकारी विद्यालयका विद्यार्थीले करिब ९० प्रतिशतले पाठ्यपुस्तक प्राप्त गरिसकेका छन् । बाँकी १० प्रतिशत भनेको पाठ्यक्रम परिमार्जन भएका किताब हुन् । ति पाठ्यपुस्तक विद्यार्थीले पाउन सकेका छैनन् । चालु शैक्षिक सत्रमा पाठ्यक्रम परिवर्तन भएका पुस्तक पनि जेठको पहिलो साताभित्रै विद्यार्थीको हातमा पुग्नेछ ।
फेरिएका पाठ्यपुस्तक विद्यालय जेठको पहिलो साताभन्दा उता जाँदैन कि जस्तो लागेको छ । संस्थागततर्फ करिब १५ प्रतिशत र सामुदायिक विद्यालयतर्फ करिब १० प्रतिशत पाठ्यपुस्तक विद्यार्थीको हातमा पुग्न बाँकी रहेको देखिएको छ । त्यो पनि सबै कक्षाको होइन् । केही कक्षाको मात्रै नयाँ पाठ्यक्रम परिमार्जन भएकाले छपाईमा ढिलाइ भएको छ । छपाईमा ढिलाइ हुँदा विद्यार्थीले पाठ्यपुस्तक पाउन सकिरहेका छैनन् । संस्थागत र सामुदायिक दुवै विद्यालयतर्फ पाठ्यक्रम परिवर्तन भएका कक्षा ५, ८ र १० का पाठ्यपुस्तक अझै विद्यार्थीको हातमा नपुगेको हो । तर गतवर्षभन्दा यसवर्ष पाठ्यपुस्तकको आपूर्ति सहजै भएको छ । २०७८ को शैक्षिक सत्रमा असारको अन्तिमसम्म विद्यार्थीले पाठ्यपुस्तक पाएका थिए ।
यसवर्ष जनक शिक्षा सामग्री केन्द्रले समयमै पाठ्यपुस्तक छपाईको काम सकिएकाले पाठ्यपुस्तकको आपूर्तिमा सहजता भएको हो । जनक शिक्षा सामग्री केन्द्रले यसवर्ष कक्षा १ देखि ५ सम्म निजी छापाखानालाई पुस्तक छपाईको काम दिएको र ६ देखि १० कक्षासम्मको पाठ्यपुस्तक आफै छपाई गरेपछि यसवर्ष पाठ्यपुस्तक आपूर्तिमा सहज भएको हो ।
बिगतमा भएका कमीकमजोरीलाई आत्मसात् गर्दै विद्यार्थीलाई किताबको अभाव हुन नदिने हामी पुस्तक व्यवसायीहरू लागेका छौँ । भौगोलिक विकटता भएका विद्यालयका विद्यार्थीले पनि यो वर्ष शैक्षिक भर्नासँगै किताब हातमा पारिसकेका छन् । विगतमा बजेट अभाव, किताब छपाईमा ढिलालगायतका कारण किताब विद्यार्थीले समयमै पाउन नसकेको पनि कमीकमजोरी थिए ।
चालु शैक्षिकसत्रका लागि पाठ्यपुस्तकको अपर्याप्ता देखिएको छैन् । नयाँ शैक्षिक सत्र सुरू भएसँगै नयाँ बालबालिकामा किताब पाउने आशा हुन्छ । समयमै उनीहरूले किताब पाउन सकेनन् भने उनीहरूको मनोविज्ञानमा पनि असर पुग्छ भने चाहेको जस्तो शैक्षिक गुणस्तर प्राप्त गर्न निकै कठिन हुन्छ । हामी करिब १४५ पुस्तक व्यवसायीले दाङका दश स्थानीय तहमा रहेका विद्यालयमा पाठ्यपुस्तकको सहज व्यवस्थापन गरिसकेका छौँ ।
घोराही, नारायणपुर, तुलसीपुर, लमही, भालुवाङलगायतका ठाउँबाट पाठ्यपुस्तकको आपूर्तिमा सहज व्यवस्थापन गरिसकेका छौँ । बितेको शैक्षिक सत्रलाई आधार मानेर हामीले पुस्तक उपलब्ध गराएका छौँ । आउन बाँकी किताब ढिलोमा पनि जेठ पहिलो साताभित्र पाठ्यपुस्तक सबै विद्यार्थीको हातमा पुग्ने छ । विद्यालयले विद्यार्थीलाई छिटो पुस्तक पु¥याउन करिब धेरै विद्यालयमा पुस्तक गईसकेको छ । यो वर्षमा विगतको भन्दा निकै सहज देखिएको छ । भौगोलिक हिसावले विकट मानिएका पालिकामा पनि पाठ्यपुस्तक पुगिसकेको अवस्था छ । विद्यार्थीले समयमा पुस्तक पाएका छन् । किताब अभावकै कारण शिक्षक, विद्यार्थी र अभिभावक कसैले पनि चिन्ता गर्नुपर्ने अवस्था छैन् ।
पाठ्यपुस्तकमा समस्या छैन्
केही कक्षाको पाठ्यपुस्तक यस वर्ष परिवर्तन भएको छ । यसकारणले केही पब्लिकेशनका किताबहरू अझै विद्यार्थीको हातमा पुगेका छैनन् । कक्षा ५, ८ र १० का विज्ञान र गणितजस्ता महत्वपूर्ण विषय विद्यार्थीले अझै पनि पाउन नसकिरहेको अवस्था छ । अधिकांश पब्लिकेशनका किताब भने विद्यार्थीले प्राप्त गरिसकेका छन् । बैशाख महिना सकिनै लाग्दा अब विद्यालयमा पढाइ पनि निरन्तर अघि बढिसकेको छ । यस्तो अवस्थामा विद्यार्थीले समयमै पुस्तक पाउनेमा हामी विश्वस्त छौँ । संस्थागत विद्यालयमा विद्यालयको अभाव खासै हुँदैन् । किनभने संस्थागत विद्यालयका पाठ्यपुस्तक प्रकाशन गर्ने धेरै पब्लिकेशनहरू छन् । बजारमा प्रतिस्पर्धा धेरै हुने भएकाले जतिसक्दो छिटो पाठ्यपुस्तक पब्लिकेशनले ल्याउने गरेका छन् ।
एन प्याब्सनअन्तर्गतका कुनै पनि विद्यालयमा पाठ्यपुस्तकको समस्या विगतमा पनि थिएन् । यसवर्ष पनि विद्यार्थी भर्नासँगै पाठ्यपुस्तक पनि विद्यार्थीको हातमा पुगेको छ । केही किताबमात्रै आउन बाँकी छन् । ति किताब पनि समयमा आउनेमा विश्वस्त छौँ । पाठ्यक्रम परिमार्जन भएका किताब पनि समयमा नआएपनि पठनपाठनमा त्यति धेरै समस्या छैन् ।
विद्यार्थीले समयमै पाठ्यपुस्तक नपाउँदा सिकाई प्रक्रियामा केही असहजता आउँछ कि भन्ने चिन्ता हुनु स्वभाविक हो । तर हामीले पिडिएफ डाउनलोड गरेर भएपनि विद्यालयमा विद्यार्थीको सिकाईलाई निरन्तरता दिएका छौँ । यसले गर्दा विद्यार्थीको सिकाईमा कुनै अवरोध भएको छैन् । विद्यार्थीको सिकाईलाई निरन्तरता दिनका केही पाठ्यपुस्तकले असहजता बनाएको छैन् ।
संस्थागत विद्यालयमा भन्दा सामुदायिक विद्यालयमा पाठ्यपुस्तकको समस्या अलि बढी हुने गरेको अवस्थामा यसवर्ष त्यस्तो अवस्था पनि छैन् भन्ने जानकारीमा आएको छ । विगतमा पाठ्यपुस्तक विद्यार्थीले समयमा पाउन सकेनन् भन्ने गुनासा सामुदायिक विद्यालयमा आएको समाचार पनि देख्न सुन्न पाएका हौँ । तर यसवर्ष समयमै पाठ्यपुस्तक व्यवस्थापन भएको छ । यसले विद्यार्थीमा हौसला पनि थपेको छ । विद्यार्थीको सिकाईमा पनि यसवर्ष केही सकारात्मक प्रभाव पर्ने देखिएको छ ।
शैक्षिक क्षेत्रमा पाठ्यपुस्तक अभावकै समाचार पढ्नुपर्ने बाध्यताको यस वर्षदेखि अन्त्य हुने अपेक्षामा छौँ हामी ।
अहिलेको परिस्थितिमा अब पाठ्यपुस्तक नै समयमा विद्यार्थीले पाउन सकेनन् भने त शैक्षिक गुणस्तरमा केही समस्या अवश्य हुन्छ । तर संस्थागत विद्यालयमा पाठ्यपुस्तको अभाव विगतमा पनि थिएन् । अहिले पनि छैन् । तर केही पब्लिकेशनले परिमार्जन गरिएका पुस्तकमा बदमासी गरेका छन् । बाहिरी आवरणमात्रै परिवर्तन गरेर पाठ्यक्रम परिमार्जनको हल्ला गरेका छन् । यस्ता कुरालाई सच्याउनका लागि सम्बन्धित पब्लिकेशनलाई अनुरोध पनि गरिसकेका छौँ । किताबको भित्री भागमा आवश्यक पाठ्यक्रम परिमार्जन नगरिएका कारण विद्यार्थी र विद्यालयलाई अलमल्याउने काम भएको छ ।
परिमार्जनको नाममा देखिएको समस्या समाधानका लागि निरन्तर समन्वय गरिरहेका छौँ । हामीले कुनै पनि हालतमा विद्यार्थीले समयमा नै पाठ्यपुस्तक पाउन सकुन् भन्ने वातावरण बनाएका छौँ । संस्थागत विद्यालयका विद्यार्थीले समयमा नै विद्यार्थीले पाठ्यपुस्तक पाउँछन् । पुस्तक प्रशस्त छापिन्छन् । त्यसकारण पनि संस्थागत विद्यालयका बालबालिकाले किताबको अभाव झेल्नुपरेको छैन् । पुस्तक अभावको चिन्ता विद्यार्थी तथा अभिभावकले गर्नुपर्ने छैन् ।
केही पाठ्यपुस्तकको अभाव छ
संस्थागत विद्यालयमा अधिकांश प्राइभेट पब्लिकेशनको किताब छन् । केही जनक शिक्षा सामग्रीका पुस्तक पनि हुन्छन् । जनक सामग्रीका केही पुस्तकको त अभाव नै छ । जस्तै अहिले हामीले कक्षा ४, ५, ६ र ७ मा संस्कृत किताब लगाउन खोजेकोमा त्यो किताब जनक शिक्षाले समयमै उपलब्ध गराउन सकेको छैन् । संस्कृत किताबको अभाव हामीकहाँ छ । हाम्रा विद्यार्थीले संस्कृत किताव समयमै पाउन सकेका छैनन् । अन्य सामुदायिक विद्यालयमा पनि जनक शिक्षा सामग्री केन्द्रका किताबको त अभाव नै छ । तर प्राइभेट पब्लिकेशनका किताबको खासै अभाव छैन् । विगतमा पनि संस्थागत विद्यालयमा पाठ्यपुस्तक समयमै पुग्ने गरेका छन् । अर्थात् संस्थागत विद्यालयका विद्यार्थीले समयमा नै पाठ्यपुस्तक पाउने गरेका छन् । यसवर्ष पनि अधिकांश विद्यार्थीले लगभग सबै किताब पाइसकेका छन् ।
प्राइभेट पब्लिकेशनहरू आफूलाई समयमै व्यवस्थापन गर्ने भएका कारण पनि संस्थागत विद्यालयका विद्यार्थीले किताबको समस्या त्यति धेरै झेल्नुपरेको छैन् । यिनीहरूको प्रिप्लान पनि राम्रो गर्ने भएका कारण आफ्ना डिस्टिब्यूटर्सलाई समयमै किताब उपलब्ध गराउने गरेका छन् । यसले गर्दा संस्थागत विद्यालयमा हामीले पाठ्यपुस्तकको अभाव खेप्नुपर्दैन । यसपटकको हिसावमा के हो भने केही नयाँ पाठ्यक्रम लागू गर्नुपर्ने थियो । त्यसले गर्दा अलिकति ढिलासुस्ती त भयो तर पनि पब्लिकेशनहरूले किताब समयमै उपलब्ध गराउन सकेको छ ।
केही पब्लिकेशनको कस्तो बदमासी देखिएको छ । उनीहरूले पाठ्यक्रम हुनुपर्ने नयाँ तर बाहिरको कभरमात्रै नयाँ संस्करण भने छापेका छन् । पाठ्यक्रम नयाँ छैन् । तर बाहिरको कभरमात्रै नयाँ संस्करण भनेर छापेका छन् । विद्यालयमा नमुनाको रूपमा देखाउने बेलामा एउटा देखाउने तर छापेको किताब अर्कै हुँदा केही समस्या देखिएको छ । सबै पुस्तक होइन्, केही पुस्तकमा मात्रै यस्तो समस्या आएको हो ।
कुनै पब्लिकेशनले कक्षा ८ को परिवर्तन नगरिदिएको, कुनैले कक्षा ९ को परिवर्तन नगरिदिएको देखिएको छ । यस्तो समस्या देखिएपछि हामीले पब्लिकेशनलाई फोन पनि गरिसकेका छौँ । उनीहरूले यसपटक हामीले परिवर्तन गर्न सकेनौँ भनेपछि विद्यालयले अहिले सोहि पाठ्यपुस्तक नै पढाइ रहनुभएको छ । दाङको सन्दर्भमा पाठ्यपुस्तकको अभाव हामीले अहिलेसम्म खेप्न परेको छैन् । हामी ठूलो दुर्गममा पर्दैनौँ । अधिकांश व्यक्तिहरू बजारको पहुँचमा हुनुहुन्छ ।
भूगोलका हिसावले ग्रामीण वस्तुमा पनि स्टेशनरीहरू छन् । त्यसकारण पनि विद्यार्थीलाई कुनै किसिमको समस्या छैन् । स्थानीयस्तरबाटै पाठ्यपुस्तक वितरण गर्ने वातावरण बनेपछि अहिले पाठ्यपुस्तकको समस्या ठुलो छैन् । तर पाठ्यक्रममा नछापिएका किताबहरूले गर्दा अभिभावक, विद्यार्थी ठगिने, विद्यालय अलमलमा पर्ने वातावरण भने बनेको छ । हामीले सम्बन्धित ठाउँमा गुनासो गरिसकेका छौँ । यस सन्दर्भमा पब्लिकेशनले स्विकार गरिसकेको अवस्था छ । हाम्रो सन्दर्भमा त्यो पाठ्यक्रम लागू गर्न सक्ने अवस्था हुँदैन् ।
बालबालिकाले समयमै पाए किताब
वितेको शैक्षिकसत्रमा जस्तो यसवर्ष विद्यार्थीलाई पुस्तकको अभाव भएन । यो वर्ष पनि विद्यार्थीले समयमै किताब पाएका छन् । विगतमा पुस्तक अभावका समस्याहरू पनि भए । तर यस शैक्षिकसत्रमा विद्यार्थीको हातमा समयमै किताब पुगिसकेको छ । बालबालिकाले समयमै पाठ्यपुस्तक प्राप्त गरेका कारण पनि विद्यार्थीको सिकाईमा राम्रो प्रभाव पर्ने देखिएको छ । किनभने विद्यार्थीले समयमा किताब नै पाउन सकेनन् भने त त्यसको नतिजा नराम्रै जान्छ । सरकारी बेवास्ताका कारण विद्यार्थीले पाठ्यपुस्तक समयमै नपाउने समस्या यसवर्ष दोहोरिने हामी अभिभावक र विद्यार्थीलाई ठूलो चिन्ता थियो ।
तर त्यो समस्या दोहोरिन पाएन । फेरिएका किताब पनि बालबालिकाले छिट्टै पाउने छन् । ति किताब छिट्टै पाउने आश्वासन पाएका छौँ । जतिसक्दो छिटो बालबालिकालाई बाँकी किताब पनि उपलब्ध गराउन सम्बन्धित विद्यालय, स्टेशनरी व्यवसायी, स्थानीय सरकारलाई आग्रह गर्दछु । विद्यार्थीको सिकाईलाई प्रभाव नपर्ने गरी विद्यार्थीलाई किताब उपलब्ध गराउनुपर्छ । विद्यार्थीको हातमा पाठ्यपुस्तक समयमै नपुग्दा त्यसले पार्ने प्रभाव मभन्दा पनि सम्बन्धित विद्यालय, सरकार बढी जानकार छ भन्ने कुरामा म ढुक्क छु ।
सुगम ठाउँका बालबालिकाले मात्रै होइन्, दुर्गम विकट पहाडी क्षेत्रका बालबालबालिकाले पाठ्यपुस्तक समयमै पाउने वातावरण सरकारले निर्माण गर्नुपर्छ । मतपत्र समयमै पुग्ने ठाउँमा किताब पुग्न नसकेको अवस्था हामीले बिगतमा धेरै देखेका पनि हौँ । अहिले सायद नागरिकको दवावकै कारण केही छिटो गरी विद्यार्थीले पाठ्यपुस्तक प्राप्त गरेका छन्, जस्तो लागेको मलाई । यो कार्यले अर्को शैक्षिक सत्रमा पनि निरन्तरता पाउनेमा म ढुक्क छु । शिक्षामा गुणस्तरियता ल्याउनका लागि एउटा शैक्षिकसत्रमा मात्रै समयमै किताब पुगेर हुँदैन् । हरेक समयमा विद्यार्थीको हातमा किताब समयमै पु¥याउनुपर्छ भन्ने ध्यान सरकारको पुग्नुपर्छ ।
शिक्षाजस्तो महत्वपूर्ण विषयमा सरकारको गाम्भीर्यता बढ्नुपर्छ भन्नेमा हामी अभिभावकको सोच हो । हाम्रो अभिभावक सरकार हो । तर गैरजिम्मेवारी पन हुँदा विगतमा विद्यार्थीले समयमै किताब पाउन सक्दैन थिए । यसवर्ष केही सुधार भएको छ । तर अझै कक्षा ५, ८ र १० का केही किताब अहिलेसम्म पाउन नसकिरहेको अवस्था देखिएको छ । ति फेरिएका भनिएका किताब पनि समयमै विद्यार्थीले पाउन सकेपछि शिक्षण सिकाईमा पक्कै पनि सहजता आउने छ । विद्यार्थीमा सिकाई उपलब्धि बढाउनका लागि समयमै किताब विद्यार्थीको हातमा पुग्नु अनिवार्य छ । यसका लागि सरोकारवाला सबै चनाखो हुनुपर्छ ।
दुर्गमका बालबालिकाले अन्तिम परीक्षा हुँदासम्म किताब पाउन नसकेका समाचार बिगतमा निकै आएका हुन् । यसले उनीहरूको सिकाईमा कस्तो प्रभाव परेको होला, हामीले कल्पनासम्म गर्न सक्दैनौँ । आजको सिकाईले भोलिको सुन्दर भविष्य निर्धारण हुन्छ । त्यसैले बालबालिकाको शैक्षिक सिकाईमा विद्यालय, शिक्षक, सरकार कसैले पनि गैरजिम्मेवार बन्ने छुट छैन् ।
बालबालिकाको असल सिकाईका लागि समयमै किताब उनीहरूको हातमा पुग्नुको विकल्प छैन् । शिक्षकले पनि समयमै कोर्षहरू सक्नका लागि समयमै विद्यार्थीको हातमा किताब पुग्नुपर्छ । सिकाईको नाममा झारा टार्ने प्रवृत्ति पनि छ । यसले बालबालिकाको सुन्दर भविष्यमा केही न केही खेलवाड हुन्छ । उनीहरूको सिकाईलाई उपलब्धिमूलक बनाउन समयमै पाठ्यपुस्तक पुग्नपर्छ । यसवर्ष त्यो समस्या दोहोरिदैन् भन्नेमा अभिभावकहरू विश्वस्त छौँ । अहिले भएको काम आगामी वर्षमा पनि निरन्तरता हुने छ भन्नेमा म विश्वस्त छु ।