- Advertisement -spot_img
Monday, June 5, 2023
Homebreaking-newsफुटबल खेल्न सिक्दै बालबालिका

फुटबल खेल्न सिक्दै बालबालिका

- Advertisement -spot_img


जीतसागर जि.एम.
दाङ, २५ बैशाख ।
निगम छन्तेल उमेरले ९ वर्षको भए । निगम बिहान ६ बज्न नपाउँदै घोराही–१८ स्थित नवलपुर फुटबल मैदानमा दैनिक पुग्ने गरेका छन् । कक्षा ४ मा अध्ययनरत निगम फुटबल बुट बोकेर फुटबल मैदानमा धाउन थालेको एक वर्ष भइसक्यो । लियोनल मेस्सीको फ्यान बताउने निगमले बितेको एक वर्षमा फुटबल खेल्दा अपनाउनु पर्ने आधारभूत नियमका साथै खेल अनुशासन सिक्न भ्याएका छन् ।

उनलाई फुटबलमा स्ट्राईकर खेल्न मनपर्छ । उनीसँगै घोराही–१५ तुलसीपुर चोकका आश्रयजंग श्रेष्ठले नवलपुर फुटबल मैदानमा पुगेर दैनिक अभ्यास गर्न थालेको धेरै भईसकेको छ । कुनै दिन अभ्यासका लागि जान नपाउँदा उनलाई नियास्रो लाग्छ । दैनिक अभ्यासले आफूलाई निकै फाइदा पुगेको आश्रयजंगको भनाइ छ ।

घोराही–१८ नवलपुरका १२ वर्षिय गौरव पुनलाई पोर्चुगलका स्ट्राईकर क्रिष्टियानो रोनाल्डोको खेल निकै मनपर्छ । रोनाल्डोले फुटबल खेलेको देखेर आफू पनि त्यस्तै खेलाडी बन्न पाए हुन्थ्यो भन्ने सोँचलाई पूरा गर्ने संकल्पका साथ डेढ वर्षयता नवलपुर फुटबल एकेडेमीमा सामेल भई प्रशिक्षण गर्दै आएका छन् । उनलाई भविष्यमा देशको राष्ट्रिय टिमबाट खेल्ने गौरवको धोको छ ।

सिस्नेखोला बस्दै आएका धरम केसी पनि हरेक दिन बिहान फुटबल अभ्यासका लागि नवलपुर पुग्ने गरेका छन् । हरेक दिन फुटबलको बारेमा सैद्धान्तिक ज्ञान लिएपछि व्यवहारिक अभ्यास गर्दा धेरै कुरा सिक्न पाएको धरमको भनाइ छ । उनी ब्राजिलका स्टार खेलाडी नेयमार जुनियरलाई आफ्नो आईडल मान्दै आएका छन् । नेयमारको खेल हेरेर हुर्किएका धरमले भोलि देशकै लागि खेल्ने संकल्पका साथ दैनिक अभ्यास गर्दै आएका छन् ।

खुट्टामा फुटबल जुत्ता, फुटबलकै ड्रेस लगाएका ८ वर्षदेखि १४ वर्षसम्मका साना बाबुहरू चौरमा फुटबल खेलमा हरेक बिहान खेलमा व्यस्त हुन्छन् । निकै मेहनत गर्छन्, शरीरबाट पसिना निकाल्छन् । उनीहरूले फुटबलका विभिन्न सीप सिकिरहेका छन् । रामेछाप स्थायी घर भएका घोराही–१५ बस्दै आएका १४ वर्षिय सुजन तामाङले नवलपुर फुटबल एकेडेमीबाट सिक्न थालेको दुई वर्षभन्दा बढी भईसकेको छ ।

सुजनले अहिले फुटबलको बारेमा धेरै कुरा जान्न र सिक्न पाएका छन् । दुई वर्षअघि फुटबलको बारेमा सामान्य जानकारी भएपनि अहिले फुटबलको धेरै कुराबारे सिक्ने मौका मिलाई दिएको छ, नवलपुर फुटबल एकेडेमीले । समिउल श्रेष्ठ, क्रिस केसीलगायत थुप्रै साना बालकहरू हरेक दिन फुटबल प्रशिक्षणमा तल्लीन भएको देख्दा भोलिका स्टार खेलाडी उत्पादन हुने आधार तय भईरहेको आभाष हुने गरेको छ ।

समाजमा धेरैजसो किशोर उमेरका बालबालिकाहरू गलत संगतमा फस्ने, कुलतमा लाग्ने, अनावश्यक गतिविधि गरेर भविष्य बिगार्ने काममा लागि रहदा सुजनजस्तै सयौँ बालबालिकाहरू आफ्नो स्वास्थ्य र भविष्यका बारेमा सानै उमेरबाट सोँच्ने भएका छन् ।

एकेडेमीमा आवद्ध भएका थुप्रै बालबालिकाहरू हरेक दिन प्रशिक्षणमा पुग्दा उनीहरूका अभिभावकले खेल मैदानसम्म पु¥याउने काम गर्दै आएका छन् । खेलमा सानैबाट लाग्न प्रेरित गर्न, मानसिक, शारीरिक रूपमा स्वस्थ राख्न फुटबल प्रशिक्षणमा लैजाने गरेको एक अभिभावकले बताए । घरमा रहदा मोबाइलमा झुन्डिएर समय बिताउने, गलत संगतका कारण कुलतमा फस्ने डरमा रहने गरेका अभिभावकहरू अहिले आफ्नो सन्तान खेल खेल्न थालेपछि ढुक्क भएका छन् ।

नवलपुर फुटबल एकेडेमीले सानै उमेरबाट खेलमा लाग्न, खेलसँगै व्यवहारिक अनुशासन सिकाउन थालेपछि बालबच्चाहरू अरूको खराब संगतमा लागेर बिग्रने हुन् की भन्ने डर हटेको तथा फुटबल सिकेर भोलिका दिनमा देशका लागि खेल्ने खेलाडी बन्न सक्ने सम्भावना रहेको हुँदा आफूहरू ढुक्क भएको नवलपुरका भीमबहादुर छन्तेलले बताए ।

आफ्ना बाबुहरू फुटबलमा रमाएको देख्दा अभिभावक पनि खुसी देखिएका छन् । ‘बिदाको समय होस् या अरू दिनमा सधैँ मोबाइलमा झुन्डिएर बस्दा बाबुहरूको स्वास्थ्यमै असर पर्ने सम्भावना रहन्छ’ अर्का एक अभिभावकले भने, ‘बालबालिकाले फुटबल सीप मात्रै सिक्ने अवसर पाएका छैनन्, यसबाट उनीहरू शारीरिक र मानसिक रूपमा पनि बलिया भईरहेका छन् । फुटबलप्रति उनीहरूको चासो निकै बढेको छ भने पढाइमा पनि लगावका साथ समय दिने गरेका छन् ।’

नवलपुर फुटबल एकेडेमीले २०७६ सालबाट उमेर समूहका बालकहरूलाई प्रशिक्षण गराउँदै आएको छ । एकेडेमीको सीमित श्रोतसाधनबाट पनि धेरै कुरा सम्भव गराउँदै आएका एकेडेमीका अध्यक्ष एवं प्रशिक्षक दीपक पुनले सयभन्दा बढीलाई प्रशिक्षण दिएको बताए । उनले शुरूवाती कालमा निःशुल्क रूपमा प्रशिक्षण दिदै आएका थिए ।

पछि, कोरोना महामारी आदि कारणले फुटबल सामग्री खरिद तथा आवश्यक सामान खरिद गर्न पनि समस्या हुन थालेपछि अहिले एकजना प्रशिक्षार्थी बराबर वर्षको एक हजार रूपैयाँमा प्रशिक्षण गराउने गरेको उनले बताए । उक्त रकम पनि उनीहरूकै खेल सामग्रीमा खर्च गर्ने गरिएको प्रशिक्षक पुनले बताए ।

‘महिनामा ८४ रूपैयाँ पनि शुल्क लिने गरिएको छैन, सस्तोमा प्रशिक्षण दिने काम गर्दै आएको छु’, प्रशिक्षक पुनले भने, ‘उमेर समूहबाटै दक्ष खेलाडी उत्पादन हुन सकून्, बालबालिकाहरू कुलतमा फसेर भविष्य अन्धकार हुनबाट बचुन् भनेर स्वयंसेवकको रूपमा आफूले सिकेको, जानेको कुरा सिकाउने गरेको छु, फुटबलप्रति पछिल्लो समय साना बाबुहरू र अभिभावकहरू पनि सकारात्मक हुन लाग्नुभएको छ ।’

उनले आठ वर्षदेखि १४ वर्ष उमेर समूहका बाबुहरूलाई विशेषरूपमा प्रशिक्षण दिदै आएका छन् । यसअघि प्रशिक्षणमा आईरहेका केही २१ वर्षसम्मका छन् । नवलपुर फुटबल एकेडेमीमार्फत प्रशिक्षण दिन थालेपछि फुटबलप्रति अहिले धेरैको ध्यान तानिएको छ । एकेडेमीले चालेको कदमजस्तै कम्तिमा हरेक वडामा एकवटा फुटबल एकेडेमी आवश्यक रहेको उनको भनाइ छ ।

स्वस्थ नागरिक उत्पादनसँगै देशको पहिचान विश्वस्तरमा पु¥याउन भूमिका खेल्ने खेलाडी उत्पादनमा राज्यको लगानी निकै निराशाजनक रहेको प्रशिक्षक पुनको भनाइ छ । ‘ग्रासरूटमा राम्रो प्रशिक्षण दिन सकियो भने मात्रै राम्रा खेलाडी उत्पादन गर्न सकिन्छ,’ प्रशिक्षक पुनले भने, ‘हामीले त्यही उद्देश्यले प्रशिक्षणलाई निरन्तरता दिएका छौँ, यसैगरी सबै ठाउँमा नियमित प्रशिक्षण हुनसके कति राम्रो हुन्थ्यो, तर राज्यको लगानी अरूतिरै छ, यसतर्फ ध्यान दिन आग्रह गर्दछु ।’

जसोतसो बनाइएको नवलपुर फुटबल मैदान बाह्रै महिना खेल्न मिल्दैन । त्यसको उस्तै समस्या छ । खेल मैदान भरपर्दो नहुँदा पनि आफूले भ्याएसम्म सहयोगी गुहारेर, कसैको व्यक्तिगत सहयोगबाट भएपनि अहिलेसम्म एकेडेमीबाट प्रशिक्षण गराउँदै आएको पुनले बताए । उनलाई अष्ट्रेलियाबाट सुवास श्रेष्ठ, युकेबाट जंगबहादुर पुन मगरबाट बेला–बेलामा सहयोग हुने गरेको छ । अरू बेला साथीभाइले पनि सहयोग गर्ने गरेका छन् भने अरू समयमा आफै खर्च व्यहोर्दै आएका छन् ।

‘खेल्न उपयोगी खेलमैदान अभाव छ । यही फुटबल मैदानमा पालिकाले आफै पनि विभिन्न प्रतियोगिता आयोजना गर्दै आएको छ तर स्तरवृद्धिका लागि चासो लिएको छैन’ उनले भने– ‘वर्षामा हिलो र हिउँदमा धुलो, साना गिट्टीले भरिएको हुन्छ त्यसलाई सुधार गर्न कुनै निकायले ध्यान दिदैनन् । हामीले फुटबल मैदानको स्तरवृद्धिका लागि दाता खोज्दा पनि विभिन्न बहानामा काम हुन नदिँदा मैदान जस्ताको तस्तै छ ।’

फुटबलको समग्र विकासका लागि उमेर समूहबाटै खेलाडी उत्पादन आवश्यक रहेको उनले बताए । खेलका लागि तालिम दिने तथा बेला–बेलामा आयोजना हुने फुटबल मैदानको राम्रो मैदान नहुँदा पनि समस्या हुने गरेको उनको भनाइ छ । कमजोर खेल संरचनालाई बलियो बनाउन र खेलकुदको समग्र विकासका लागि स्थानीयस्तरमा पालिकाहरूले पनि प्रयास गर्न सक्ने हुँदा सबै प्रकारका खेलकुदको विकासमा लगानी गर्न सके राम्रो हुने उनको सुझाव छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here