दाङ, ९ बैशाख ।
नेपालले क्रिकेटमा हालसम्मकै उच्चस्कोर बनाएको छ । शुक्रबार ओमानसँग भएको खेलमा नेपालले ३१० रन तयार गरेको हो । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले बनाएको यो अहिलेसम्मकै उच्च योगफल हो । यसअघि नेपालले कीर्तिपुरमै भएको पपुवा न्युगिनी (पीएनजी) सँगको खेलमा २९७ रन बनाउनु नै अहिलेसम्मको ठूलो योगफल थियो ।
ब्याटिङमा कीर्तिमानी योगफल बनाएको नेपालले एसीसी प्रिमियर कपको आफ्नो दोस्रो खेलमा ओमानविरूद्ध ८४ रनको जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले प्रस्तुत गरेको ३११ रनको लक्ष्य पछ्याउने क्रममा ओमानले ४६.३ ओभरमा नौ विकेट गुमाएर २२६ रनमात्र रोकिएको थियो ।
पहिलो इनिङमा घाइते भएका कारण ओमानका अकिब इल्यास ब्याटिङमा नआएपछि नेपालले ८४ रनको जित निकालेको हो । त्यसअघि टस हारेर ब्याटिङमा आएको नेपालले अलराउन्डर कुशल मल्लको शतकप्रेरित ओमानविरूद्ध ३११ रनको कीर्तिमानी लक्ष्य प्रस्तुत गरेको थियो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा निराशाजनक सुरूवात गरे पनि कुशलले मध्यक्रममा शतक बनाएपछि नेपालले निर्धारित ५० ओभर आठ विकेट गुमाएर ३१० रनको योगफल खडा गरेको थियो । रनको खाता नखोल्दै दुवै ओपनरलाई गुमाएको नेपालले ७२ रनमा शीर्ष चार ब्याटरलाई गुमाएको थियो । ७२–४ को कठिन अवस्थामा कुशलले आरिफ शेखसँग ७५ रनको साझेदारी गर्दै नेपालको इनिङ उकासेका थिए ।
एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो शतक प्रहार गरेका कुशल ६४ बलमा नौ चौका र १० छक्कासहित १०८ रन बनाएर पेभेलियन फर्किए । आरिफले टिमको खातामा २९ रन थपे । त्यसअघि ०–२ को अवस्थाबाट नेपालका कप्तान रोहितकुमार पौडेल र भीम सार्कीले ५४ रनको साझेदारी गर्दै नेपालको इनिङ सम्हालेका थिए । रोहित २३ रनमा आउट हुँदा भीम ३३ रनमा पेभेलियन फर्किए ।
निराशाजनक सुरूवात गरे पनि अन्तिममा सोमपाल कामीले अर्धशतक बनाएपछि नेपाल विशाल योगफलतर्फ अघि बढेको थियो । अन्तिमसम्म अविजित रहेका सोमपालले ४८ बलमा नौ चौकासहित ६३ रन बनाए । सोमपाललाई अन्तिमसम्म साथ दिएका करण केसीले १५ बलमा दुई चौका र एक छक्कासहित २९ रन जोडे । यी दुई नवौँ विकेटका लागि ६१ रनको अविजित साझेदारी गर्दै नेपाललाई कीर्तिमानी योगफलसम्म डोहो¥याएका थिए ।
ओमानका आयान खानले दुई विकेट लिए । जतिन्दर सिंह, अकिब इल्यास, फयाज बट, जिसन मक्सुद, कलिमुल्लाह र बिलाल खानले समान एक विकेट लिए । ओमानका मुहम्मद नदिमले ६५ रन बनाए । सन्दीप गौडले ४६, आयान खानले २९, कश्यप प्रजापतिले २५, जतिन्दर सिंहले १५,आदिल सफिकले १३ र फजल बटले ११ रन जोडे ।
नेपालका सन्दीप लामिछानेले तीन विकेट लिए । ओमानका आदिल सफिकलाई एलबिडब्लूको धरापमा गर्दै एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो १०० विकेटको कोसेढुंगा पार गर्ने बलर बने । सन्दीपले ४२ खेलमा १०० विकेट लिएका हुन् ।
करण केसी र दीपेन्द्रसिंह ऐरीले समान दुई विकेट लिदा ललितनारायण राजवंशीले एक विकेट हात पारे । प्रतियोगितामा दुवै टिमको यो दोस्रो खेल हो । नेपालले यसअघि प्रतियोगिताको पहिलो खेलमा मलेसियाविरूद्ध ६ विकेटको जित निकालेको थियो । यता, ओमानले भने पहिलो खेलमा कतारलाई ४० रनले पराजित गरेको थियो ।
यसै वर्ष पाकिस्तानमा हुने तालिका रहेको एसिया कपको छनोट प्रतियोगिताको रूपमा रहेको प्रिमियर कपमा कुल १० टिम सहभागी छन् । सहभागी टिमलाई एक समूहमा पाँच टिम रहने गरी दुई समूहमा विभाजन गरिएको छ । प्रिमियर कपको समूह ‘ए’ नेपालसँगै ओमान, मलेसिया, साउदी अरेबिया र कतार छन् । यस्तै, समूह ‘बी’मा युनाइटेड अरब इमिरेट्स (यूएई), हङकङ, कुवेत, सिंगापुर र बहराइन छन् । प्रतियोगिताको विजेताले एसिया कपका स्थान बनाउनेछ ।
सन्दीपको विश्वकिर्तिमानी
नेपालका स्पिनर सन्दीप लामिछानेको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो सय विकेट लिने खेलाडी बनेका छन् । सन्दीपले ४२ खेलमा यो कीर्तिमान बनाएका हुन् । एसीसी मेन्स प्रिमियर लिगअन्तर्गत ओमानसँगको खेलमा एक विकेट लिँदै सन्दीपले यो कीर्तिमान बनाए ।
सन्दीपले ४२ खेलमा एक सय २ विकेट बनाएका हुन् । उनले खेलको १२ ओभर ३ बलमा अदिल सफिकलाई एलबीडब्ल्यू आउट गरे । सन्दीपले अफगानिस्तानका स्पिनर राशिद खानलाई पछि पार्दै दुर्लभ कीर्तिमान बनाएका हुन् । यसअघि यो कीर्तिमान अफगानिस्तानका स्पिनर राशिद खानको नाममा थियो । उनले ४४ खेलमा सय विकेट लिएका थिए । यस्तै अस्ट्रेलियाका तीव्र गतिका बलर मिचेल स्टार्क तेस्रो स्थानमा छन् । उनले ५२ खेलमा यो कीर्तिमान बनाएका थिए ।
हङकङले हरायो युएइलाई
एसीसी मेन्स प्रिमियर कपमा हङकङले यूएईलाई हराएको छ । शुक्रबार मुलपानी क्रिकेट मैदानमा भएको खेलमा हङकङले यूएईलाई डकवर्थ लुइस स्ट्रेन (डीएलएस) पद्धतिअनुसार ६७ रनले हरायो ।
हङकङले दिएको दुई सय ६४ रनको लक्ष्य पछ्याएर ब्याटिङ थालेको यूएईले २७ ओभरमा छ विकेट गुमाएर १ सय १७ रन बनाउँदा खेल वर्षाका कारण प्रभावित भएपछि डीएलएस पद्धतिअनुसार हङकङ ६७ रनले विजयी भएको हो । यूएईका लागि आर्यन लाक्राले नटआउट ५२ र रमीज शहजादले ३४ रन बनाए । हङकङका एहसान खानले दुई विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङ गरेको हङकङले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर दुई सय ६३ रन बनायो । हङकङका लागि यान्सी रथले शतक बनाए । यस्तै किन्चित शाहले ३५ रन बनाए । यूएईका आयन अफजल खानले पाँच विकेट लिए । यो जितसँगै समूह बीमा रहेको हङकङ दुई खेलमा चार अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ ।