दाङ, ५ बैशाख ।
दाङको तुलसीपुरमा विविध खेलकुद कार्यक्रम हुने भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. २ स्थित बालापुरमा उक्त कार्यक्रम हुने भएको हो । नव वर्ष २०८० सालको अवसरमा तुलसीपुर नगर युवा सञ्जालले उक्त कार्यक्रमको आयोजना गरेको हो ।
खेलकुद प्रतियोगिता बैशाख ८ गतेदेखि ११ गतेसम्म सञ्चालन हुने नगर युवा सञ्जालले जानकारी दिएको छ । सोमबार पत्रकार सम्मलेन गरी खेलकुद कार्यक्रमको बारेमा जानकारी गराएको हो ।
वडाका युवाहरूको माग र महिला तथा बालबालिकाहरूमा लुकेर रहेको प्रतिभालाई उजागर गर्ने मुख्य उद्देश्यले टोलस्तरीय प्रथम भलिवल प्रतियोगिता, टोलस्तरीय महिला कुर्सी दौड प्रतियोगिता, खुल्ला घैटो फोड प्रतियोगितालगायत खुल्ला सोलो बाइक रेस पनि सञ्चालन गर्न लागेको नगर युवा सञ्जालका अध्यक्ष गणेश भण्डारीले जानकारी दिए ।
उनका अनुसार युवा सञ्चालले विभिन्न संघसंस्थाहरूको व्यक्तिगत सहयोगमा उक्त कार्यक्रम आयोजना गर्न लागेको हो । त्यस कार्यक्रममा टोलस्तरीय भलिबल प्रतियोगितामा प्रत्येक टोलदेखि दुईवटा टिम समावेश हुन पाउने छन् ।
त्यस्तै घैटो फोड प्रतियोगितामा दाङ जिल्लाबाट जति पनि महिला पुरूष समावेश हुन पाउने, टोलस्तरीय महिला कुर्सी दौड प्रतियोगितामा एक टोलदेखि पाँचजनासम्म समावेश हुन पाउने छन् भने खुल्ला सोलो बाइक रेस प्रतियोगितामा दाङ जिल्लाभरका मात्र समावेश हुन पाउने व्यवस्था गरिएको छ ।
कार्यक्रममा भलिवल प्रतियोगितामा प्रथम हुनेले २५ देखि ३० केजीसम्मको एकवटा खसी र प्रमाणपत्र, द्वितीय हुनेले २० देखि २५ केजीसम्मको एउटा खसी र प्रमाणपत्र प्राप्त गर्ने छन् भने तृतीय हुनेले चारवटा लोकल भाले र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै खुल्ला घैटो फोड प्रतियोगितामा प्रथम हुनेले नगद दुई हजार पाँचसय र प्रमाणपत्र, द्वितीयले एक हजार पाँचसय र प्रमाण पत्र र तृतीय हुनेले एक हजार रूपैयाँ र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
टोलस्तरीय महिला कुर्सी दौड प्रतियोगतामा प्रथम हुनेले नगद २५ सय र प्रमाणपत्र, द्वितीयले १५ र प्रमाणपत्र र तृतीय हुनेले एक हजार रूपैयाँ र प्रमाणपत्र प्राप्त गर्नेछन् भने खुल्ला सोलो बाइक रेस प्रतियोगितामा प्रथम हुनेले नगद १० हजारसहित प्रमाणपत्र, द्वितीयले ५ हजार, प्रमाणपत्र र तृतीय हुनेले ३ हजार नगदसहित प्रमाणपत्र प्राप्त गर्ने सञ्जालका अध्यक्ष भण्डारीले जानकारी दिए ।
उनका अनुसार सोलो बाइस रेस प्रतियोगितामा भाग लिने व्यक्तिलाई पाँचसय, घैटो दौड प्रतियोगीलाई एक सय, महिला कुर्सी दौड प्रतियोगीलाई एक सय र टोलस्तरीय भलिबल प्रतियोगीहरूलाई ७ सय ५० रूपैयाँ शुल्क निर्धारण गरिएको छ । पत्रकार सम्मेलनको सञ्चालन खेलकुद कार्यक्रमका संयोजक भिम वलीले गरेका थिए ।