Saturday, April 13, 2024
Homebreaking-newsसमीक्षामा २०७९ को पत्रकारिता

समीक्षामा २०७९ को पत्रकारिता

- Advertisement -spot_img


जीतसागर जी.एम.


नेपाली पत्रकारिता जगतमा पछिल्लो समय चुनौतीसँगै सम्भावना पनि थुप्रै देखिएका छन् । सञ्चारको पहुँच आमनागरिकमा पुग्दै छ । तर सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै बढी चुनौती नै पनि थपिएका छन् । सञ्चार जगत र पत्रकारप्रतिको विश्वसनीयतामाथि आज पनि प्रश्न यथावत छ । प्रश्नका बीचमा पनि पत्रकारितालाई थप मर्यादित र जिम्मेवार पत्रकारिता अहिलेको खाँचो हो । २०७९ सालमा पत्रकारिताको समीक्षा कसरी गर्न सकिन्छ ? आमसञ्चारको क्षेत्रमा देखिएका परिवर्तन र सुधार के कस्ता भएका छन् ? भनेर पत्रकारिताका क्षेत्रको नेतृत्वमा रहेका केन्द्रीय, प्रदेश तथा जिल्लास्तरका अगुवा पत्रकारहरूलाई प्रदेश टुडे दैनिकको नियमित स्तम्भ टुडे राउण्ड टेबलमा ल्याएका छौं । – सम्पादक


सकारात्मक छन्, सुधारका संकेत

सिंगो पत्रकारिता जगत संकटमा छ । नेपाली पत्रकारिता जगत विभिन्न कारणले संकटमा पुगेको हो । पत्रकारिता आफ्नै कारणले होइन्, यसमा अरू, बाह्य कारण पनि छन् । खासगरी पत्रकारितालाई जोगाउने आर्थिक पाटो मुख्य हो । पछिल्लो समय आर्थिकले पत्रकारितालाई मात्रै नभएर सबै क्षेत्रलाई प्रभावित बनाएको छ । यसबाट पत्रकारिता जगत पनि टाढा रहन सकेको छैन् । पत्रकारिता जगतका लागि मार्केटिङ पाटो महत्वपूर्ण छ । कन्टेन पनि महत्वपूर्ण त छदैछ । विश्वसनीय बनाउनुपर्ने प्रमुख जिम्मेवार हुँदाहुँदै पनि आर्थिक पाटो पनि महत्वपूर्ण मानिएको छ ।

कोरोना महामारीपछि पुरानै लयमा केही फर्किन खोजेको छ । तर अझै पनि सहज स्थिति बनिसकेको छैन् । २०७९ साललाई बिदाई गर्दै गर्दा कोरोना महामारीले प्रभावित बनेको सञ्चार जगत केही उठ्न खोजेपनि सोचे जति बलियो बन्न नसकिरहेको अवस्था छ । भूकम्प, कोरोना महामारीलगायतका कारण सञ्चार जगत अरू क्षेत्रजस्तै प्रभावित भएको हो । तर निराश हुनुपर्ने अवस्था भने होइन् । पछिल्लो समय २०७९ सालमा केही सकारात्मक कुराहरू देखापरेका छन् ।

मिडिया जगतको कुरा गर्दा अरूभन्दा प्रिन्ट मिडियालाई केही चुनौती पनि थपिएका छन् । सूचना प्रविधिको विकाससँगै अरू मिडियालाई पनि चुनौती त थपिएको छ नै । प्रिन्ट मिडियालाई झनै चुनौती छ । अब प्रिन्ट मिडियाले समयसापेक्ष (समयानुकूल) आफूलाई परिमार्जन गर्नुपर्छ नै । पाठकवर्गलाई मन जित्नका लागि प्रिन्ट मिडियाले फरक ढंगले सोच्न अनिवार्य छ । यदि फरक ढंगले सोच्न सकिएन भने धरासयी बन्ने खतरा पनि देखिन्छ ।

प्रिन्ट मिडियालाई नयाँ मिडियाको चुनौती पनि थपिएको छ । नयाँ मिडियाले विभिन्न तरिकाले सामग्री फस्किएको पाइन्छ । टेलिभिजन र रेडियो अवस्था पनि उहि हो । प्रविधिको विकाससँगै रेडियो र टेलिभिजनले पनि परिमार्जन गरेर लैजानु आवश्यक छ । सबैका लागि अनलाईन मिडिया र सोसल मिडियाको चुनौती छ । रेडियो, पत्रिकार र टेलिभिजन सबैले सामाजिक सञ्जालसँग जोड्ने र अनलाईनमा लैजान अनिवार्य छ ।

कोरोना महामारीपछि अझ बढी अनलाईन मिडियाको प्रभाव बढी देखिएको छ । अहिले नेपालमै कुरा गर्दा करिब चार हजारको हाराहारीमा प्रेस काउन्सिलमा अनलाईन मिडिया दर्ता भएका छन् । कतिपय अनलाईन प्रेस काउन्सिलमा दर्ता नभएर पनि सञ्चालन भएका छन् । यसको नियमन पनि गरिरहेका छौँ ।

अनलाईन मिडिया सञ्चालनको बाढी नै आएको छ । प्रत्येक व्यक्तिले अनलाईन मिडिया सञ्चालन गर्नुपर्छ भन्ने परिपाटीको विकास हुन थालेको छ । यसले गर्दा अनलाईन मिडियाले पस्कने सामग्रीप्रति विश्वसनीयता कम पनि छ । सिकाइ र अनुभवको आधारमा भन्दा पनि मैले पनि अनलाईन चलाउनुपर्छ भन्ने अल्पकालिन सोचले धेरै अनलाईन मिडिया सञ्चालन भएको देखिन्छ । अनलाईन मिडियाको संख्या बढ्दै गर्दा गुणस्तरियता सोहि अनुसार बढ्न सकेको छैन् ।

समयको माग अनुसार अनलाइन मिडिया सञ्चालन हुनु स्वभाविक पनि मानिन्छ । तर यसले पस्कने सामग्रीका कारण यसप्रतिको हेराई, दृष्टिकोण सकारात्मक बन्न सकिरहेको छैन् । जुनसुकै मिडियामा अहिले विश्वसनियताको खडेरी पनि छ । मिडियाले फरक प्रस्तुति र विश्वसनीयता बनाउने सामग्री दिन सकेन भने झन् बढी संकटमा पर्ने निश्चित देखिन्छ । सबै सूचना अहिले स्मार्ट फोनमै हुन्छ । सबै मिडियाले दर्शक, स्रोतालाई कसरी तान्ने भन्ने विषयमा गम्भीर हुनुपर्छ ।

अहिलेको मुख्य चुनौती के हो भने आर्थिक सँगसँगै परम्परागत मिडियालाई समयसापेक्ष कसरी बनाउने भन्ने नै हो । अझै पनि सुधार हुने मौका पनि छ । मिडियालाई अपग्रेड बनाउनतर्फ ध्यान पुग्न आवश्यक छ । सूचना प्रविधिको विकास धेरै भएको छ । यसैअनुसार अपग्रेट गर्दै सूचना सम्प्रेषण गर्न आवश्यक छ । सूचना, सामग्री जतिसक्दो छिटो पाठक, श्रोता, दर्शकमाझ लैजान सञ्चारजगत, मिडिया सञ्चालकले सोच्न जरूरी छ । प्रविधिको ज्ञान हुन पनि आवश्यक छ । परम्परागत शैलीमा मिडिया सञ्चालन हुन सक्दैनन् । हरेक वर्ष समयको माग अनुसार मिडिया सञ्चालनको भूमिकालाई थप सशक्त बनाउनुपर्ने प्रमुख आवश्यकता देखिएको छ ।


सम्भावनाको ढोका खुलेको छ

२०७९ साल पत्रकारिता जगतमा केही शुभ संकेतहरू देखापरेका छन् । कोरोना महामारीले नराम्ररी प्रभावित भएको पत्रकारिता जगतमा पछिल्लो समय सकारात्मक परिवर्तनहरू देखिन थालेको हो । कोरोना महामारीले कतिपय पत्रकार ज्यानसमेत गुमाउनुप¥यो । कतिपय पत्रकार बिरामी भएर दीर्घरोग लागेको अवस्थामा पुगेको कुरा यो सम्झनुपर्ने बिडम्बना छ । तर पछिल्लो समयमा आएको स्वास्थ्यमा सुधार, पत्रकार आफैले कोरोनाबाट बचाउन गरेको प्रयासले हामी यो वर्षमा काम गर्न पाएका छौँ । पत्रकारिता जगतमा सुधारका संकेतहरू देखिदै छन् ।

आर्थिक तरलताले प्रभावित पत्रकार तथा मिडिया जगत फेरि पहिलेकै अवस्थामा फर्किन थालेको छ । कोरोना महामारीपछि विश्वव्यापी अर्थतन्त्रमा परेको प्रभाव मिडियामा पनि परेको छ नै । तैपनि पछिल्लो समय सुधारका संकेतहरू देखिएका छन् । पत्रकारिता जगतमा प्रेस स्वतन्त्रता हननका घटना हुने क्रम रोकिएको छैन् । गतवर्षजस्तै यसवर्ष पनि हामीले प्रेस जगतमाथि हुने आक्रमणका घटनाहरू भएका छन् । श्रमजीवी पत्रकारले तोकिए बमोजिमको तलब सुविधा नपाउँदा हामीहरूमाझ आएका उजुरीको बहस पैरवी गरेको अवस्था पनि छ ।

समा नेपाल पत्रकार महासंघले कानुनसम्वत छलफल, वार्ता लगायतका माध्यमबाट पत्रकार साथीहरूका समस्या समाधान पनि गरेको छ ।
त्यसैगरी अघिल्लो वर्ष संसदबाट पास गर्नका लागि कतिपय मिडियासँग सम्बन्धित कानुनका ड्राफ्टहरू बने । ति ड्राफ्टहरू प्रेसमैत्री थिएनन् । त्यसलाई रोक्ने काम गरेका थियौँ । त्यस्ता कानुनहरू नयाँ बनेको अवस्था छैन् ।

अहिले त्यस्ता कानुनलाई पुनः हेरेर पारिमार्जन गर्ने प्रक्रियामा अघि बढेका छन् । मिडियाको विषयवस्तुको सन्दर्भ होस्, या विश्वसनीयता अभिवृद्धि गर्ने सन्दर्भमा ठूलो लभिङ पत्रकारिता क्षेत्रमा भइराखेको अवस्था छ । मिडिया क्षेत्रलाई धम्क्याउने, आलोचना गर्ने, अप्रमाणित आरोप लगाउने एउटा खराब प्रवृत्ति राजनीतिक एवं संवैधानिक अंगका प्रमुखहरू प्नि लागेको देखिन्छ ।

दवाव दिने भन्दा पनि पत्रकारिता क्षेत्रले आफूले पनि सच्याउँदै अघि बढ्ने कुरामा प्रतिवद्ध छ । पत्रकारिता आचारसंहिता अनुसार अघि जाने कुरामा लागेको पनि देखेका छौँ । सञ्चार क्षेत्रमा प्रविधिको विकाससँगै दक्ष जनशक्तिको निर्माण गर्नुपर्छ । त्यो अभियान पनि महसुस गरेर राज्यले प्रशिक्षण प्रतिष्ठान चलाउनुपर्छ भनेर हामीहरू लागेका थियौँ, त्यसमा राज्यले पनि सहमति जनाएको छ । यद्यपि कार्यान्वयनमा आउन बाँकी छ ।

चुनौतीहरू त थुप्रै छन् । चुनौतीसँगै सम्भावना पनि छन् भन्ने कुरालाई मध्यनजर गरी अघि बढ्नुको विकल्प छैन् । चुनौतीलाई सहज बनाउन राज्यलाई दिएको दवाव एक चरणमा सफल भएका छौँ भन्न सकिन्छ । यद्यपि यसको कार्यान्वयन चरण फेरि पनि हेर्नुपर्छ । मलाई लाग्छ, यसवर्ष गरिएका सहमति, प्रयासहरू कार्यान्वयन गरेर पत्रकारितालाई व्यवस्थित गराउन, विश्वसनीय दिन र थप जनमैत्री हुन अघि बढ्नुपर्छ । २०७९ साल सम्भावनाको ढोका खोल्न सफल भएको छ भन्ने महसुस गरेका छौँ ।

प्रविधिको विकासक्रमसँगै सञ्चार जगत बढ्दो छ । आम सञ्चारका माध्यमहरू थपिएका छन् । इन्टरनेट सूचना प्रवाहको एउटा श्रृंखला नै सुरूवात भएको छ । सोसल मिडियाको बढ्दो प्रयोगले सूचना आदानप्रदानमा थप सहजता भएको छ । तर सोसल मिडियाले चुनौती पनि थपेका छन् । सोसल मिडियामा आउने भ्रामक सूचनाले मूलधारका मिडियालाई थप चुनौती छ । आम नागरिकले सोसल मिडिया र मूलधारका मिडिया एउटै हुन् भन्ने बुझ्न जाँदाखेरी केही समस्या पनि देखिन्छ ।

यो अवस्थामा पत्रकारिता फरक हो, सोसल मिडिया फरक हो भन्ने नागरिकलाई बुझाउन सञ्चार साक्षरताको अभियान नै चलाउनुपर्ने आवश्यकता देखिएको छ । यस्तै मिडियाको संख्या थपिदै जाँदा पत्रकारको संख्या पनि थपिदै गएको छ । तर दक्षतामा प्रश्न पनि छ । यसका लागि पत्रकारलाई दक्ष बनाउन प्रशिक्षण प्रतिष्ठानको आवश्यकता छ । यसवर्षलाई समीक्षा गर्दै आगामी वर्षमा राज्यसगँ लभिङ गर्ने कुरामा तयार छौँ । यसले सम्भावनाको ढोका खुल्ने छ ।


प्रेस स्वतन्त्रतामा सुधार

२०७९ साल सञ्चार जगतका लागि सबैभन्दा खुसीको खबर छ । सन् २०२२ को प्रेस स्वतन्त्रता सूचकाङ्कमा नेपाल विश्वका १८० देशहरूमध्ये ७६औं स्थानमा रहनुलाई खुसी मान्नुपर्ने हुन्छ । अघिल्लो वर्ष नेपाल यो सूचकाङ्कको १०६औं स्थानमा थियो । नेपाल १०६ बाटै एकैपटक ७६औँ स्थानमा आउनुलाई सञ्चार जगतका लागि खुसीको कुरा हो । विश्वकै प्रेस स्वतन्त्रताको निगरानी गर्ने संस्था रिपोटर्स विद्आउट बोर्डर्स (आरएसएफ) ले गत २०७९ वैशाख २० गते (अर्थात् मे ३ २०२२) मा सार्वजनिक गरेको प्रतिवेदन अनुसार, विश्व प्रेस स्वतन्त्रता सूचकाङ्कमा नेपाल दक्षिण एसियामा दोस्रो र एसिया महादेशमा छैटौं स्थानमा परेको छ ।

नेपालको प्रेस स्वतन्त्रताको स्थिति एकै वर्षमा ३० स्थान माथि उक्लनु नेपालको सञ्चार क्षेत्रको लागि सबैभन्दा खुसीको खबर मान्नुपर्ने हुन्छ । यसैगरी यो वर्ष लुम्बिनी प्रदेश सञ्चार ऐन पारित भएको छ । लामो समयको दवावपछि यो ऐन आएको छ । यद्यपि कार्यान्वयन भने अझै हुन सकेको छैन् । दाङमा यसवर्ष प्रेस स्वतन्त्रता हननका घटना पनि भएका छन् । समाचार संकलन गर्ने क्रममा अहिले पनि पत्रकार र सञ्चार गृहहरू माथि हस्तक्षेप गर्ने क्रम यो वर्ष पनि रोकिएन । रिपोर्टिङ गर्न जाने क्रममा पत्रकारहरूलाई धम्क्याइएको छ । पत्रकार र सञ्चार गृहमाथि हस्तक्षेप गर्ने, पत्रकारलाई सूचनाको स्रोतसम्म पहुँच हुन नदिने प्रवृत्ति अझै पनि कायम छ । पत्रकारमाथि कुटपिटमा समेत संलग्न हुनेहरू माथि समेत राज्य संयन्त्रले कारबाही गर्ने गरेको देखिएन् । बरू यस्ता धेरै घटनामा मिलापत्र गर्नपरेको स्थिति छ ।

विवरण
२०७९ असोज १३ गते नेपाल पत्रकार महासंघ दाङ शाखा सदस्य पूर्णप्रकाश विश्वकर्मा (प्रियास्मृति गजमेर) ले २०७९ असार २४ गतेदेखि नेपाल लाइभ अनलाइनमा काम गरेको पारिश्रमिक नपाएको र पारिश्रमिक माग्दा उल्टै अपशब्द र दुव्र्यवहार खेप्नुपरेको भनेर नेपाल पत्रकार महासंघमा निवेदन दिनुभएको थियो । निवेदन प्राप्त हुनासाथ महासंघले प्रेस विज्ञप्ति जारी गरी पत्रकारलाई त्यस्तो व्यवहार नगर्न र तत्काल पारिश्रमिक उपलब्ध गराउन अनुरोध गरेको थियो । महासंघले शाखाका तर्फबाट अनलाइनका सञ्चालक र सम्पादकसँग सम्पर्क गरी पारिश्रमिक उपलब्ध गराउन अनुरोध गर्ने काम गरेको हो ।

यसैगरी किसानहरूलाई हाइब्रिड धानको नाममा झुक्याएर अन्य धानको बीउ बिक्री गरेको विषयमा समाचार लेखेका कारण नेपाल पत्रकार महासंघ दाङ कार्यसमिति सदस्य शिवराज खनाललाई लमहीस्थित दर्शन स्वर्गद्वारी एग्रोभेट सेन्टरका सञ्चालक एवं लमही नगरपालिकाका पशु उपशाखा प्रमुखले अपशब्द प्रयोग गर्दै ज्यान मार्ने धम्की दिएका थिए । पत्रकार महासंघको टोली तत्काल घटनास्थल पुगी सो सम्बन्धमा अध्ययन गरी दुवै पक्षलाई राखेर छलफल गर्दा पत्रकारलाई धम्क्याउने न्यौपानेले गल्ती स्वीकार गरी माफी मागेपछि अब यस्तो नगर्ने शर्तमा मिलापत्र गरिएको थियो ।

यसैगरी स्थानीय तह निर्वाचनमा हरेक स्थानीयतहको मतदानस्थल र मतगणना स्थलमा समाचार सम्प्रेषणका क्रममा सबै पत्रकारहरूलाई सहजै प्रवेश दिइएको थिएन । जसका कारण सहजरूपमा निर्वाचनको नियमित अपडेट गर्न पत्रकारलाई समस्या भएको थियो । त्यसैले कतिपय समयमा मतगणनामा रहेका एजेन्टमार्फत आएका गलत सूचनाका कारण सामाजिक सञ्जालमा भ्रमपूर्ण सूचनाहरू पनि सम्प्रेषण भएका थिए ।

२०७९ मंसिर १९ गते बंगलाचुली गाउँपालिका वडा नम्बर ३ कमिरेचौरस्थित रेडियो बंगलाचुली एफएममा एक समूह प्रवेश गरी पत्रकारहरूलाई अभद्र व्यवहार गर्ने, धाकधम्की दिने, रेडियोका कागजपत्र नियन्त्रणमा लिने काम गरेका थिए । उक्त घटनाप्रति पत्रकार महासंघ दाङले प्रेस विज्ञप्ति जारी गरी प्रेस स्वतन्त्रताको सम्मान गर्न आग्रह गरेको थियो ।


पत्रकारितामाथि डिजिटल आक्रमण

२०७९ साल पत्रकारिता, प्रेस स्वतन्त्रता र पत्रकारको क्षमता विकासका हिसावले अन्य वर्षजस्तै यो वर्ष पनि समग्ररूपले सन्तोषजनक रह्यो । पत्रकारका सुरक्षा चुनौती र सञ्चारमाध्यममाथिका प्रेस स्वतन्त्रता विरूद्धका गतिविधिहरू भने अझै पनि छन् । पछिल्लो समय पत्रकारितामाथि भौतिकभन्दा पनि डिजिटल माध्यमबाट हुने आक्रमण बढ्दो देखिएको छ ।

सामाजिक सञ्जाल अर्थात् डिजिटल माध्यमको प्रयोगमार्फत सञ्चारमाध्यमलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा प्रहार गर्ने, सञ्चारमाध्यममा प्रकाशन भएका सामग्रीलाई नियन्त्रण गर्ने, प्रकाशन÷प्रसारण नगर्न दवाव दिने र अनलाईनलाई अनफ्लो गर्न अभियान चलाउनेजस्ता गतिविधि अहिले पनि भइरहेका छन् । यस्तै सामाजिक संजालमा नकारात्मक टिकाटिप्पणी गर्ने र कतिपय अनलाईनमा समस्या सिर्जन गर्ने काम भएको छ । सामाजिक रूपमा पत्रकारलाई आक्रमण हुने क्रम बढ्दो छ । त्यो पनि डिजिटल माध्यमबाट हुने गरेको छ ।

पछिल्लो समय पत्रकार महासंघको तथ्यांक हेर्दा पनि एक वर्षमा ५३ वटा प्रेस स्वतन्त्रता हननका घटनाहरू भएका छन् । त्यसमा ३५ जना पुरूष र १८ जना महिलाहरू पीडित हुनुभएको छ । यस्तै विभिन्न छवटा सञ्चारमाध्यममा आक्रमण र अवरोध गर्ने कामहरू पनि भएका छन् । पछिल्लो समयमा पनि पत्रकारमाथि कुनै न कुनै कारणले धम्की दिने, आक्रमण हुने वा नियन्त्रण गर्ने खालका घटनाहरू भएका छन् । हाम्रो संविधानले दिएको अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रतामाथि बन्देज लगाउने खालका गतिविधि भएकै छन् ।

तर पनि पत्रकारिताले कर्तव्य निर्वाह गर्नुपर्ने, सामाजिक दायित्व, जवाफदेहिताप्रति जिम्मेवार रही काम गर्दै आएको छ । पत्रकारितामा भइरहेको विकास, सञ्चारमाध्यममा भएका विकास र पछिल्लो समय भइरहेको प्रविधिको विकासले पत्रकारिता जगतलाई जति सहज बनाएको छ । सँगसँगै चुनौतीहरू पनि बढ्दै गएको महसुस गरेका छौँ । पत्रकारको पेशागत हकहित र सुरक्षाका हिसावले २०७९ सालमा अन्य अफ्ठेरो परिस्थितिका बीच पनि पत्रकारितामा निरन्तर काम गरिरहेका छौँ ।

यसवर्ष नेपालको पत्रकारिता जगतलाई हेर्दा पत्रकारिताको विकासका लागि नेपाल पत्रकार महासंघले विभिन्न ठाउँमा अन्तरक्रिया गर्ने, बहस गर्ने, पत्रकारिताका विषयमा विभिन्न छलफल गर्ने, पत्रकारितामा भइरहेका कमिकमजोरीलाई सुधार गर्ने कामहरू गरेका छौँ । यसवर्ष समग्ररूपमा केही सकारात्मक संकेतहरू देखापरेका छन् । सँगै देखिएका चुनौतीलाई पनि सहजरूपमा समाधान गरी अघि बढ्ने कोशिस गरेका छौँ । यसअघिका वर्षमा कोरोना महामारीले पारेको प्रभाव अहिले पनि छ ।

यद्यपि केही सुधार हुँदै गएको भने पक्कै हो । कोेरोना महामारीले कतिपय पत्रकारले ज्यान गुमाएका थिए । कतिपय पत्रकार पेशाबाट पलायन भएका थिए । तर पछिल्लो समय सञ्चारमाध्यम विस्तारै सुधारको अवस्थामा छन् । तर पछिल्लो समय आर्थिक मन्दीमा परेको समग्र क्षेत्रजस्तै सञ्चारमाध्यममा पनि परेको छ । आर्थिक मन्दी हुँदा सञ्चारमाध्यममा विज्ञापन कटौती हुन्छन् । यसले गर्दा सञ्चारमाध्यम आर्थिक संकटमा पर्ने निश्चित भएका छन् ।

हामीले पत्रकार महासंघ दाङबाटै पनि जिल्लामा रहेका मिडियाका सम्पादक तथा मिडिया सञ्चालकसंग अन्तरक्रिया गर्दा पनि मिडियाले आर्थिकरूपमा संकट बेहोरिरहेको कुरा आएको छ । सञ्चारमाध्यम कतिबेला बन्द हुन्छ भन्ने डरकै बीचमा सञ्चालन गर्नुपरेको गुनासो व्यापक आएको छ । त्यसकारणले गर्दा पनि दाङमा सञ्चारमाध्यमलाई आर्थिक संकट छ । यसका लागि नेपाल सरकारले मिडियालाई उपलब्ध गराउने विज्ञापनको शुल्क बढाउन अनुरोध पनि गरेका छौँ ।

हाल रहेको रेटमा ५० प्रतिशत बृद्धि गर्नुपर्छ भनेर विज्ञापन बोर्डलाई अनुरोध गरेका छौँ । बोर्डले सोहिअनुसार नेपाल सरकारलाई सिफारिस गरेर पठाएको छ । लोक कल्याणकारी विज्ञापन ५० प्रतिशतले वृद्धि गर्ने भनेर माग भएको छ । आउने वर्षमो यो लागू हुन सकेपछि धेरै राहत हुनेछ । यसैगरी पत्रकारको बिमाको कार्यक्रम पनि अघि बढेको छ । दाङमा पनि धेरै पत्रकारको बिमा गरिएको छ । यसैगरी पत्रकारको क्षमता विकासका लागि महासंघले विभिन्न समयमा तालिमहरू प्नि सञ्चालन गरिरहेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here