दाङ, ६ चैत ।
दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ स्थित सगरमाथा बालबाटिकाले अभिभावक शिक्षा कार्यक्रम गरेको छ । विद्यालयमा कार्यक्रम गरी अभिभावकहरूलाई सचेतना प्रदान गरेको हो ।
विद्यालय सञ्चालक समितिका अध्यक्ष यमकान्त खरेलको अध्यक्षता तथा तुलसीपुर वडा ९ का वडा अध्यक्ष घनश्याम ढकालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । त्यस अवसरमा प्रहरी नायव उपरीक्षक पुष्पराज मल्लले शान्ति सुरक्षाका विषयमा अभिभावकहरूलाई प्रशिक्षण दिएका थिए । त्यस्तै ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख तिर्थ भुसालले ट्राफिक सचेतना प्रदान गरेका थिए ।
त्यस्तै प्रमुख प्रशिक्षक देवराज दाहालले अभिभावकले घरमा विद्यार्थीलाई गर्ने व्यवहार, अभिभावक र विद्यार्थीबीचको सम्बन्धलगायतका विषयमा प्रशिक्षण दिएका थिए । कार्यक्रममा विद्यालयका प्रिन्सिपल छविकुमार वलीलले विद्यार्थीहरूलाई किताबी ज्ञानमात्रै दिएर नहुने भन्दै प्रयोगात्मक शिक्षामा पनि उत्तिकै जोड दिएको बताए । बजारमा विक्ने शिक्षा दिने आफ्नो दायित्व रहेको भन्दै त्यसमा अभिभावकहरूले पनि सहजीकरणको भूमिका खेल्नुपर्ने उनको भनाइ थियो ।