जीतसागर जी.एम.
दाङ, ५ चैत ।
१४ वर्षपछि हुन लागेको स्ववियु निर्वाचन दाङका क्याम्पसहरूमा सहज नहुने देखिएको छ । जिल्लाका ठूला चार क्याम्पसमा विद्यार्थी संघ संगठनले तालाबन्दी गर्दा निर्वाचनसमेत अनिश्चित जस्तै बनेको छ ।
जिल्लाको सबैभन्दा पुरानो क्याम्पस महेन्द्र बहुमुखी क्याम्पसमा आज निर्वाचन नहुने भएको छ । अखिल क्रान्तिकारीले क्याम्पसमा तालाबन्दी गरे पनि आजको निर्वाचन प्रभावित भएको छ । त्यस्तै नेपाल संस्कृत विश्वविद्यालयको केन्द्रीय क्याम्पस केन्द्रीय विद्यापीठ र जनता विद्यापीठमा पनि आज निर्वाचन नहुने भएको छ । त्यसैगरी पश्चिम दाङकै ठूलो क्याम्पस राप्ती बबई क्याम्पसमा पनि तालाबन्दी हँुदा निर्वाचन अनिश्चित भएको छ ।
त्रिभुवन विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्याल–यलगायत क्याम्पसमा आज स्वतन्त्र विद्यार्थी विद्यार्थी निर्वाचन हुँदैछ । २०६५ सालपछि पहिलोपटक त्रिविअन्तर्गतका सबै आङ्गिक तथा सम्बन्धन प्राप्त क्याम्पसमा आज निर्वाचन हुन लागेको हो ।
लामो समयपछि हुन लागेको स्ववियु निर्वाचनमा विद्यार्थीको उत्साह देखिए पनि चुनावी मैदानमा रहेका विद्यार्थी संगठनले कतिपय क्याम्पसमा तालाबन्दी गरेका छन् । त्रिविअन्तर्गतका दाङका २६ वटामध्ये १९ वटामा सहमति गरेका छन् । अन्य तीनवटा क्याम्पसमा मात्रै चुनावी प्रतिस्पर्धा हुन लागेको छ । बाँकी चारवटा क्याम्पसमा विवाद उत्पन्न हुँदा चुनावको मिति लम्बिएको छ ।
घोराहीको महेन्द्र बहुमुखी क्याम्पसमा चैत्र ८ गते निर्वाचन हुने तय भइसकेको छ । क्याम्पसमा तालाबन्दी गरिएको विषयमा अखिल (क्रान्तिकारी) र महेन्द्र बहुमुखी क्याम्पस दाङबीच शुक्रबार भएको सहमतिपछि स्ववियु निर्वाचन चैत ८ गतेका लागि सारिएको हो । विप्लव निकट अखिल (क्रान्तिकारी)ले स्ववियु निर्वाचनका लागि क्याम्पस प्रशासनले अनाधिकृत रूपमा परिचयपत्र बनाउँदै गरेको भेटिएको भन्दै मंगलबार क्याम्पसमा ताला लगाएको थियो ।
स्ववियु निर्वाचन हुने २६ क्याम्पसमध्ये १९ वटामा भागबण्डा मिलिसकेको अनेरास्ववियु दाङका अध्यक्ष गोविन्द बस्नेतले जानकारी दिए । ‘१९ वटामा सर्वसम्मतिका लागि भागबण्डा मिलिसकेको छ’ उनले भने– ‘सातवटा मध्ये आज तीनवटा क्याम्पसमा मात्रै निर्वाचन हुन लागेको छ ।’ १९ वटा क्याम्पसमध्ये ६ वटा नेपाल विद्यार्थी संघको भागमा परेको छ ।
यस्तै पाँचवटामा अनेरास्ववियु, चारवटामा अनेरास्ववियु (क्रान्तिकारी) तीनवटामा अखिल (क्रान्तिकारी) विप्लव र एउटामा राप्रपा निकट विद्यार्थी संघको भागमा परेको छ । चारवटा क्याम्पसको भागबण्डा परेपनि अनेरास्ववियु क्रान्तिकारीले शनिबारसम्म तीनवटामा सर्वसम्मत नेतृत्व चयन गरेको छ ।
निर्वाचनका लागि यही फागुन २७ गते उम्मेदवार मनोनयन पत्र दर्ता गरिएको थियो । अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली र उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछन् । स्ववियु निर्वाचनका लागि दाङसहित देशभरका ६२ आङ्गिक र एक हजार ४० क्याम्पसमा एकै साथ बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म मतदान हुने भएको छ ।
राप्ती बबईमा विद्यार्थी आन्दोलित
निर्वाचनको पूर्वसन्ध्यामा राप्ती बबई क्याम्पसमा विद्यार्थी संगठनहरूले तालाबन्दी गरेका छन् । नेपाल विद्यार्थी संघले निर्वाचन कार्यालयमा र अनेरास्ववियुले क्याम्पस प्रशासनमा तालाबन्दी गरेका हुन् । चुनावी विषयसँग अन्य विषय जोडेर राप्ती बबईमा तालाबन्दी गरिएको विद्यार्थी संगठनहरूले बताएका छन् ।
उनीहरूबीच प्रत्यक्ष मतपत्रमा संगठन खुलाउने र नखुलाउने विषयमा विवाद भएको थियोे । त्यो सहमति हुन नसकेपछि विद्यार्थी संगठन आन्दोलित भएका हुन् । यस्तै नेपाल विद्यार्थी संघ र अखिल क्रान्तिकारी संयुक्त गठनबन्धनका उम्मेदवारहरूले क्याम्पसमा विद्यार्थीहरूको परिचयपत्र फर्जी रहेको र सो को चुस्तदुरूस्त छानबिनको माग गरेका छन् ।
त्यस्तै मतपत्रमा गठबन्धन गरेको विद्यार्थी संगठनको नामसमेत राख्ने माग नेपाल विद्यार्थी संघ राप्ती बबई क्याम्पसले राखेको सभापति भिमार्जुन बस्नेतले बताए त्यो नभएपछि तालाबनदी गर्नुपरेको सभापति बस्नेत र सचिव डिमन गिरीले प्रेस विज्ञप्ति जारी गरेर क्याम्पसमा परिचयपत्र फर्जी रहेको र सोको चुस्तदुरूस्त छानबिन नहुँदासम्म ताला नखोल्ने बताएका छन् ।
यसैबीच स्ववियु निर्वाचनमा संलग्न विद्यार्थी संगठनहरू बीच मतपत्रसम्बन्धी फरक–फरक धारणा रही सहमति जुट्न नसकेका मतदान स्थगित भएको निर्वाचन अधिकृत टेकनप्रसाद कँडेलले जानकारी दिए । उनले अर्को सूचना प्रकाशित नहुँदासम्मका लागि मतदान स्थगित गरिएको जानकारी दिए ।