दाङ, ५ चैत ।
दाङको दंगीशरण गाउँपालिमामा दुईदिने अर्धवार्षिक समीक्षा गोष्ठी सम्पन्न भएको छ । सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाका लागि समीक्षा गोष्ठी सम्पन्न गरिएको हो । दंगीशरण गाउँपालिका स्वास्थ्य शाखा हेकुलीको आयोजनामा दुई दिनसम्म चलेको समीक्षा गोष्ठीमा स्वयंसेविकाहरूले आ–आफ्नो वडाको कार्य विवरण तथा आफ्नो वडाको स्वास्थ्य अवस्थाका बारेमा जानकारी गराएका थिए ।
समीक्षा गोष्ठीमा बोल्दै पालिका अध्यक्ष शम्भु गिरीले समीक्षा भन्ने शब्द आफैमा आफूले गरेको कामको उपलब्धि के कति भयो भन्ने कुराको लेखाजोखा गर्ने थलो भएकाले पनि आफूले गरेको कार्यको सही रेकर्ड राख्न आग्रह गरे । स्वास्थ्य सेवाको जगको रूपमा स्वयंसेविकाहरूको भूमिका सह्रानीय रहेको बताए ।
यस्तै दंगीशरण गाउँपालिका स्वास्थ्य शाखा प्रमुख राजेन्द्र हमालले स्वास्थ्यको सूचक बढाउन अनवरत लागि रहेका स्वयंसेविकाहरूप्रति सम्मान ब्यक्त गरे । यस्तै स्वास्थ्य शाखा हेकुलीका प्रमुख प्रल्हाद चौधरीले दैनिक रूपमा आफूले गरेका कामको नियमित रेकर्ड राख्न सुझाव दिए । समीक्षा गोष्ठी गाउँपालिका अध्यक्ष शम्भु गिरीको सभापतित्वमा भएको थियो । कार्यक्रमको सहजीकरण जनस्वास्थ्य निरीक्षक प्रदीप योगीले गरेका थिए ।