- Advertisement -spot_img
Monday, March 20, 2023
Homeविचारमनाङमा पानी छ, तर माछा छैन

मनाङमा पानी छ, तर माछा छैन

- Advertisement -spot_img


सुन्दा पनि अचम्म लाग्ने । पानी छ, माछा छैन र धानखेती पनि हुँदैन भन्दा । नेपालको दुर्गम हिमाली जिल्ला गण्डकी प्रदेशमा पर्ने मनाङ जिल्लामा प्रशस्त पानी भएर पनि माछा र धानखेती हुँदैन । मनाङ जिल्लामा हिमाली क्षेत्रमा बस्ने भोटे, गुरूङ घले, लामा र तीनै जातिसँग मिल्ने भेषभूषा र भाषा बोल्ने दलितबाहेक अन्य जातिको बसोबास पनि छैन । तर अहिले ब्यापार र अन्य कारणले गर्दा केही जातिहरूले मनाङलाई कर्मथलोको रूपमा लिन थालेका छन् ।

पश्चिमी भेगमा दामोदर हिमाल पूर्व भेगमा मनास्लु र दक्षिणतिर लमजुङ हिमाल एवं अन्नपूर्ण हिमाल उत्तरमा स्वशासित तिब्बत क्षेत्र र पेरी र चीन हिमालको बीचमा मनाङ जिल्ला रहेको छ । हिमालको बीचमा रहेको जिल्ला भएर मनाङलाई हिमालपारीको जिल्ला भनेर पनि चिनिने गर्दछ । कुल क्षेत्रफल २ हजार २४६ वर्ग किलोमिटर भएको मनाङमा जम्मा चार गाउँपालिका रहेको छ ।

पर्यटकहरूको लागि दृष्यावलोकन गर्ने मनाङ गुम्वा, भ्राका गुम्बा, केरापगोम धार्जे, मिलेरेपा गुम्बा, याक खर्क र घले राजाको दरबार नेस्याङ गाउँपालिका क्षेत्रमा पर्दछ । पर्यटकहरू मनाङ जिल्लाबाट पैदल यात्राको थोराङपास र मेसाकान्तापासको पहाड नेस्याङको टंकी र खाङसार क्षेत्रमा पर्दछ । दुर्गम मनाङ जिल्लाको पनि अति दुर्गम र कम जनसंख्या भएको गाउँपालिका नारफू हो ।

मनाङ जिल्लाकै ऐतिहासिक मानिने टसीलाकाङ गुम्बा, सम्डुलिङ गुम्बा, गुरू साङमो गुफासमेत नारफूमा रहेको छ । भने नारमा काङलापास रहेको छ । मनाङ जिल्लाको तल्लो भागलाई सुगम मानिन्छ । ती गाउँमा ताचैवगरछाप, थोचे, धारापानी नाचे, घेराङ र तालगाउँ पर्दछन् । यसै क्षेत्रमा मनास्लु ताल र नमोपाससमेत पर्दछ । थोचेमा थोचे गुम्वा र तिब्बत जानको लागी लार्केपासको बाटोसमेत पर्दछ । तिल्चे थोचे–लार्केपास सडकको ३८ किमि मोटर मार्ग निर्माणाधिन अवस्थामा छ ।

प्राकृतिक रूपले मनाङ रमणीय जिल्ला छ । हिमालपारीको जिल्ला चारैतिर हिमश्रृखंला, अग्ला पहाड, नदी र खोला, पहाडको बीचमा अग्ला मनमोहक झरना, सल्ला र धुपीको जंगल, बौद्धमार्गीहरूको संस्कृति मनाङ जिल्लामा पाइन्छ । मस्र्याङ्दी नदीको उद्गमस्थल, नेस्याङ गाउँपालिका खाङसार क्षेत्रमा विश्वको अग्लो स्थानको तिलिचो ताल पर्दछ । त्यसैगरी नेस्याङ गाउँपालिकामा गंगापूर्ण ताल, केचो तालसमेत रहेको छ । भने नारफू गाउँपालिकामा छोकर्ण ताल रहेको छ ।

मस्र्याङ्दी नदीको सहायक खोलाहरूमा दूधखोला, नारखोला, फूखोला, थोराङ खोला, सब्जे खोला, माडाखोला र डोनाखोला रहेका छन् । तर खोला छ, ताल छ तर मनाङ जिल्लामा माछा हुँदैन । नदी र खोला किनार र तालजस्तो समस्थल जमिनमा पनि धानको खेती हुँदैन ।

पञ्चायती कालदेखि कृषि अनुसन्धान केन्द्रलाई यो अनुसन्धानको विषय बन्दै आएको छ । वि.स. २०३२÷३३ मा धानखेतीको लागि मनाङ जिल्लाको तिमाङलेख, कुन्चोक गाउँ, सदरमुकाम चामेको कोतो, माडाका जमिनमा परीक्षण गर्दा पनि कृषि अनुसन्धान केन्द्र नार्क सफल हुन सकेन । कृषिको लागि यो अहिले पनि अनुसन्धानको विषय भएको छ ।

नेपाल एकीकरण हुनुभन्दा पहिले मनाङ लमजुङकै भूगोलमा थियो । सन् १७८१ मा रणबहादुर शाहको पालामा मनाङ पनि नेपाल राज्यमा बिलय भएको हो । लमजुङ जिल्लासँग जोडिएको अन्नपूर्ण र लमजुङ हिमालपारीको भूगोलमा रहेको मनाङ जिल्ला उपल्लो, बिचको र तल्लो गरी संस्कृति भेषभूषा र अन्य रहनसहन पनि फरक रहेको छ । तिब्बती भाषामा म्हनाङ शब्दबाट अपभ्रशं भएर जिल्लाको नाम पनि मनाङ रहन गएको पाइन्छ ।

जसको अर्थ तिब्बती भाषामा ‘म्ह’ को अर्थ सहायता र ‘नाङ’को अर्थ देउ भन्ने हो । नामको अर्थ जस्तैः मनाङ जिल्लामा सबै खाद्यान्न, लत्ताकपडा र अन्य सबै वस्तुहरू छिमेकी जिल्लाबाट लैजान पर्ने हुन्छ । चारैतिरबाट हिमालले घेरेको मनाङ जाने नाका अर्थात् बाटोहरू गोरखा जिल्लाको सामागाउँ हुदै लार्केबाट थोचे हुँदै पनि जान सकिन्छ । तर यो बाटो मनाङ पुग्नको लागि लामो मानिन्छ । कास्की जिल्लाको सिक्लेस गाउँको जंगल हँुदै मनाङको तिमाङ लेक भएर पनि मनाङ जान सकिन्छ ।

तर यो बाटो हिउ परेको बेलामा जान सकिन्न । मुस्ताङ जिल्लाको मुक्तिनाथ हुँदै थोराङपास भएर पनि मनाङ पुग्न सकिन्छ । तर यो पनि वर्षायाममा मात्र सम्वभ छ । हिउ परेको बेलामा बाटो बन्द हुन्छ । तिव्बतबाट आउने नार–फूबाट नाका रहेको छ । यो नाका पनि हिउ परेको बेलामा बन्द हुन्छ । यो नाका चलनचल्तीको पनि छैन । सबैभन्दा सुगम बाटो भनेको लमजुङको बेशी सहर हँुदै मस्र्याङ्दीको तिर–तिरैको बाटो सुगम छ । अहिले लमजुङ–मनाङ मोटर मार्ग पनि यहि बाटोमा बनेको छ । बेशी सहरदेखि मनाङको सदरमकाम चामेसम्मको दुरी ६५ किलोमिटर रहेको छ ।

धान खेती नहुने मनाङ जिल्लामा आलु, गहुँ, करू, जौ र तल्लो मनाङका केही गाउँमा मकै खेती पनि हुन्छ । तर उत्पादनले कसैलाई पनि खान भने पुग्दैन । मनाङमा कुल खेतीयोग्य जमिन २ हजार १५३ हेक्टर रहेको छ । उच्च हिमाल, उच्च पहाड र मध्य पहाड गरी तिन भागमा विभाजन भएको जिल्लाको भू–बनोटमा हिमश्रृखंला, चट्टान तथा भिर पहरा रहेको छ । अग्ला पहाड हिमालको फेदीका घाँसे मैदान र अन्य वन जंगलले ढाकेको क्षेत्रमा बहुमुल्य जडीबुटीको पाइन्छ ।

मनाङ जिल्लाको पनि दुर्गम मानिने नार र फू क्षेत्रको हिमालको फेदीका घासे मैदान, भिर पहरा र चरिचरनका क्षेत्रमा बहुमूल्य जडीबुटी यारचागुम्वा, पाँचऔले, जटामसी, शिलाजीत, जिम्वु, सिबाकथ्रोन, कुटकी, निरमसि, तिक्का, सुगन्धवाला, पदमचाल, चिराइतो, गुच्छेच्याउ, कुरिलोजस्ता बहुमूल्य जडीबुटी प्राकृतिक रूपले उत्पादन हुने गर्दछ । तल्लो मनाङ थोचे, बगरछाप, ताचे, नाचे, बडारगाउँ, धारापानी, ताल र घेराङ गाउँका मानिसहरू कृषि र पशुपालन ब्यवसायमा पनि लागेका छन् । तल्लो मनाङमा गुरूङ र घलेको बसोबास धेरै छ ।

मनाङ तिब्बतको संस्कृतिसँग मिल्ने जनजीवन, बौद्धमार्गी प्रत्येक गाउँमा गुम्बा, हिमाली जनजीवन र स्वतन्त्र परिवेशमा रहेको भूमी हो । राजा महेन्द्रले ०१७ साल पछि नेपाललाई १४ अन्चल र ७५ जिल्लामा विभाजन गर्ने समयमा मनाङ गण्डकी अञ्चलको एउटा जिल्ला बन्यो । तर सरकारले मनाङ जिल्लाको सदरमुकाम मनाङको भूगोलमा राख्न सकेन ।

कारण थियो मनाङेहरूले नेपालको सरकारलाई नमान्नाको कारण । त्यति बेलासम्म मनाङ बौद्ध भिक्षुहरूले आफ्नो राजाको रूपमा दलाई लामालाई मान्ने गरेका थिए । त्यसैले त्यतिबेला मनाङको सदरमुकाम लमजुङ जिल्लाको बाहुनडाँडामा राखियो । बाहुनडाँडा मनाङ जाने मार्गमा पर्दछ ।

मनाङ जिल्लाबाट प्रतिनिधित्व गर्ने पञ्च नेताहरू पनि लमजुङ जिल्लाबाट मनोनित हुन थाले । मनाङबासीहरूलाई यो भूमी नेपाल हो, तपाईहरू नेपाली हुनुहुन्छ, त्यसैले अब तपाईहरूले नेपाल सरकारको ऐन नियम पालना गर्नुपर्दछ भन्ने कुरा सिकाउनु प¥यो । लामो समयपछि तल्लो भेगका मनाङबासी सरकारको कुरामा सहमत भएपछि बल्ल सदरमुकाम मनाङ जिल्लाको थोचेमा लमजुङको बाहुनडाँडाबाट सारिएको थियो । यी सबैकुरा अहिलेको पुस्तालाई कथा बनेको छ ।

सदरमुकाम थोचेमा रहे पनि उपल्लो मनाङेहरूले पूर्णरूपले सरकारलाई समर्थन गरेनन् । पछि राजा महेन्द्रले मनाङ जिल्लाको भ्रमण गरी उपल्लो मनाङेहरूलाई तेस्रो मुलुकमा विना भन्सार ब्यापार गर्न दिने ब्यवस्था मिलाएपछि थोचेको सदरमुकाम अहिलेको सदरमुकाम चामेमा सारिएको हो । महेन्द्रको हुकुम प्रमाणितको आदेशमा विना भन्सार तेस्रो मुलुकसँगको ब्यापार गर्न पाउनेमा उपल्लो मनाङका बासिन्दा मात्र भए ।

मनाङको पनि अति दुर्गम मानिने नार र फू गाउः र तल्लो मनाङका बासिन्दा त्यो सुबिधाबाट बन्चित भएका थिए । जसको परिणाम अहिले मनाङमा दुईखाले जनजीबन देखिन्छ । उपल्लो मनाङबासीहरू आर्थिक रूपले सम्पन्न छन् । अधिकांशको घर काठमाण्डौ र पोखरामा बनाएका छन् । ठूला ब्यापारी भएका छन् । तर अन्य भू–भाग अर्थात् तल्लो भेगका मनाङबासीको अवस्था भने सामान्य नै रहेको छ ।

नेपालमा बढ्दै गएको पर्यटन ब्यवसाय र व्यापारले गर्दा अहिले मनाङ जिल्लामा अवस्था बदलिएको छ । दैनिक हजारौको संख्यामा पर्यटकहरू लमजुङको बेसी सहर हुँदै पैदल यात्रामा मनाङका हिमश्रृंखलाको दृष्यावलोकन गर्दै थोराङपास भएर मुस्ताङ जिल्लाको मुक्तिनाथ भएर पोखरा जानेको संख्या बढ्दै छ ।

पर्यटकहरू यात्रा गर्ने प्रमुख मार्ग ताल, धारापानी, सदरमुकाम चामे, एयरपोर्ट हुम्डे, मनाङ गाउँ, ढुकुरपोखरी, पिसाङ, थोराङ र तिलिचो बेस क्याम्पमा पर्यटकहरूको लागि होटलहरू सञ्चालनमा आएका छन् । पर्यटकहरूलाई बास बस्न ठूला साना होटल खुलेका छन् । गाउँ–गाउँमा साना जलविद्युत आयोजनाबाट विद्युत उत्पादन गरिएको छ ।

अहिले मनाङ जिल्लालाई चार स्थानीय तहमा विभाजन गरिएको छ । चामे गाउँपालिका, नासोङ गाउँपालिका, नेस्याङ गाउँपालिका र नार्पाभूमी गाउँपालिका भएको छ । मनाङ जिल्लाको उपल्लो मनाङका साबिक गाविस खाङसार, घ्यारू, ङावल, टंकी, मनाङ, पिसाङ र भ्राकासमेत गरी अहिले नयाँ नेस्याङ गाउँपालिका भएको हो । नेस्याङको अर्थ हुन्छ उपल्लो ।

मनाङबासीले बोल्ने गुरूङ भाषामा सातगाउँ । सातवटा गाउँ मिलेर बनेको गाउँपालिका भएर गाउँको नामनै नेस्याङ राखिएको हो । मनाङ जिल्लाको सदरमुकाम चामेमा छ । चामे गाउँपालिका हो । चामेको अर्थ स्थानीय बोल्ने भाषामा चा भनेको पुल र मे भनेको पारी हो । यहाँ बीचमा मस्र्याङ्दी नदी बगेको छ । त्यहि नदीमा पुल पनि छ र पुल वारी पारी चामे बजार रहेको छ ।

मनाङ जिल्लाको अर्को गाउँपालिका नशोङ राखिएको छ । ताचैबगर छाप, थोचे, धारापानी गाविस मिलाएर नशोङ गाउँपालिका बनाइएको हो । नशोङको अर्थ हुन्छ तीन गाउँ । यो तिब्बती भाषाको अर्थ हो । तीनवटा गाउँ मिलाएर बनाइएको गाउँपालिका भएकोले नशोङ नाम राखिएको छ ।

नार र फु पहिला दुई गाविस थिए । नारको राजाले शिकार खेल्न जाँदा नाउर भेटेकोले नार नाउँ रहेको हो । गुङ भाषामा फु नाँस अर्थात फुँ गाउँ कुखुराको अण्डाको आकारको गोलो परेको जमिनको बनावट भएको हुँदा ठाउँको नाम फु भन्ने गरिएको हो । अहिले दुबै गाउँ नार्पाभूमी गाउँपालिका भएको छ ।

नेस्याङ उपत्यकामा बस्ने मानिसहरूलाई नेस्याङपा पनि भनिन्छ । नेस्याङपाहरूमा अगुवाको रूपमा सामाजिक नेतृत्व गर्न मिथेवा प्रथा रहेको छ । मिथेवालाई गाउँको अगुवाको रूपमा मान्ने गरिन्छ । मिथेवा प्रथाले गाउँमा रितिथिती बसाल्ने र मिथेवा प्रथाबाट बनेका नियम उल्लंघन गर्नेहरूलाई दण्ड, जरिवाना गर्ने गरिन्छ । नेस्याङ गाउँपालिका क्षेत्रका छोरीको विवाह अन्य क्षेत्रका केटासँग भए पनि माइतमा नै बस्दछन् । छोरी केटाको घर नजानेर केटाहरू नै ससुरालीमा आएर बस्ने प्रचलन छ । ससुरालीमा बसेका ज्वाइँलाई नेस्याङमा ‘माक्पा’ भनिन्छ । नेस्याङमा माक्पा बनेर आउने पनि धेरै छन् ।

मनाङको यात्रा सहज छैन । बेसी सहर–चोमेको सडकमार्ग जोखिमपूर्ण यात्रा गर्नु पर्छन् । मनाङमा हुम्डे एयरपोर्ट छ तर, सञ्चालनमा छैन । मोटर मार्ग एउटै ढुंगाजस्तो पहाड खोपेर भीरबाट निर्माण भएको छ । मनाङको यात्रा साहसिकहरूको लागि अनौठो अनुभव दिलाउने हुन्छ । मनाङमा हेर्ने हिमाल, हिमाली हावापानी, वातावरण, हिमाली वन्यजन्तु र मनमोहक वातावरण हो । दन्त लहरझैं फैलिएका हिमाल । स्थानीय रहनसहन । नागबेली आकारमा बग्ने मस्र्याङदी नदीको सुसाई । चक्रीय अन्नपूर्ण पदमार्गमा जाने पर्यटकहरूका साथी हुन् ।

मनाङमा थोराङपास चढ्न पर्यटक विशेष रूची राख्छन् । यहाँ पुगेपछि पर्यटक प्रकृति देखेर खुसीका आँसु झार्छन् । थोराङ भञ्ज्याङ चढ्न सफल भएकोमा साथीभाइसँग खुसी साटासाट गर्छन् । थोराङ फेदीमा ब्लु शीप अर्थात् जंगली भेडा हेर्न पाइन्छ । नार र फूमा कस्तुरी र नाउर भेटिन्छन् । जडीबुटी, फूल र जैविक विविधतामा पनि मनाङ धनी छ ।

हिउँ पग्लिएर बनेको पहाड हेरेर पर्यटक लोभिन्छन् । हिमाल हेरेपछि दंग पर्छन् । वातावरण, रहनसहन, हिमाली हावाको सुगन्ध र एकान्तले उनीहरू प्रकृतिमा हराउँछन् । मनाङमा अनेकन खालका पर्यटकहरू पुग्दछन् । पर्यटकहरूले जीवन र प्रकृतिलाई बुझ्छन् र फर्कन्छन् । मनाङलाई धेरै पर्यटकले प्रकृति, जनजीवन र रहनसहनलाई शोध र अनुसन्धानको विषय बनाएका छन् ।

पृथ्वी राजमार्गमा पर्ने तनहुँको डुम्रेदेखि लमजुङको बेंसीसहरसम्म ४२ किमी कालोपत्रे सडक छ । बेसी सहरदेखि मनाङ सदरमुकाम चामे ६५ किमी र चामेदेखि नेस्याङको खाङसार ३१ किमी दूरी पर्दछ । डुम्रेदेखि बेसी सहर सवा घण्टा बसको यात्रामा पुगिन्छ ।

बेसी सहरदेखि चामे सात घण्टा र चामेदेखि नेस्याङ उपत्यका अर्थात् मनाङ जीपमा दुई घण्टा यात्रा गर्नु पर्दछ । मनाङ गाउँदेखि खाङसार आधा घण्टामै पुग्न सकिन्छ । मनाङ गाउँ चक्रीय अन्नपूर्ण पदमार्गको गन्तब्य हो भने खाङसार चर्चित हिमताल तिलिचो ताल जाने बाटो हो । बाटोमा खाना खाने र बस्न सामान्य र सुविधाजनक होटल पनि सञ्चालनमा छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here