शिक्षा दुई प्रकारका भनेर आलोचना भइरहेको छ । सरकारी स्रोत साधनबाट सञ्चालन हुने सामुदायिक तथा सरकारी विद्यालयको स्तर अपवादबाहेक माथि उठ्न सकेको छैन । अहिले पनि समुदायस्तरमा सञ्चालन भएका सरकारी विद्यालयहरूमा अभिभावकको र विद्यार्थीको विश्वास खस्कदो नै छ । त्यहि अवस्थामा रहेका त्यहि स्थानमा निजी विद्यालयहरूको भने अवस्था सुधारोन्मुख देखिन्छ ।
अभिभावकले सरकारीभन्दा निजी विद्यालयमा बढी विश्वास गरिरहेका छन् भन्दा अनर्थ नहोला । शैक्षिक गुणस्तर कमजोर भएको भनिएका सामुदायिक विद्यालयहरूमा राज्यले सुधार गर्ने भन्दै विभिन्न कार्यक्रम नगरेको पनि हैन तर पनि सामुदायिक शिक्षा उस्कन सकेको छैन । सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर कमजोर भएको बहस चलिरहेका बेला त्यसको सुधार र सामुदायिक विद्यालयप्रतिको विश्वास बढाउने ध्यान स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारको पनि देखिन्छ । तर त्यो प्रभावकारी हुन सकेको छैन ।
सामुदायिक विद्यालयको नेतृत्व अनुसार पनि विद्यालयको अवस्था फरक हुन्छ । धेरै सामुदायिक विद्यालयहरूले शैक्षिक गुणस्तर सुधारमा आफै पनि लागेका छन् । केही नमुना पनि बनेका छन् भने केहीको अवस्था सुध्रने भन्दा बिग्रने बढी छ । अहिले पनि ५ कक्षासम्मका विद्यालयमा १५÷२० जना विद्यार्थी मात्रै अडिन सक्नु सामुदायिक विद्यालयको लाजमर्दाे अवस्था हो । केही सुधारका लागि राज्य पक्षबाट पनि राम्रै सहयोग तथा वातावरण पनि बनेको छ ।
तर पनि यहाँका सामुदायिक विद्यालयहरूले आफ्नो स्तर बढाउन सकेका छैनन् । पटक–पटकका मूल्यांकनहरूले सामुदायिक विद्यालयको जग नै कमजोर भएको देखाउने गर्दछ तर त्यो सुधार कसरी गर्ने भन्ने चासो कमै हुन्छ । त्यसमा चासो पनि कम मात्रै भएको देखिन्छ । विद्यालयले बढी लगानी र चासो माथिल्ला कक्षाहरूमा दिने गरेपछि आधारभूत कक्षाहरूमा बेवास्ता देखिदा विद्यालयका जग आधारभूत कक्षाका बालबालिकाहरूमा सामान्य पठनसीपको ज्ञानसमेत कमजोर भएको देखाइनुले हाम्रो शिक्षा कहाँ छ भन्ने प्रष्ट पार्छ ।
साुमदायिक विद्यालयको शिक्षालाई गुणस्तरीय तथा प्रतिस्पर्धी बनाउने गरी सामुदायिक विद्यालयहरूका सबै पक्षका गतिविधिहरू बढाइनु पर्छ । शिक्षकलाई राजनीति गर्नबाट रोकेर विद्यालयमा विद्यार्थी अड्याउने र गुणस्तरिय शिक्षा दिने अवस्था सिर्जना गर्नुपर्छ । शिक्षक, अभिभावक, विद्यार्थी र सरोकारवाला पक्ष सामुदायिक शिक्षाको सुधारका लागि गम्भीर भएमा मात्रै पनि शिक्षामा धेरै परिवर्तन आउँछ । सामुदायिक विद्यालयले गरेका केही राम्रा प्रयासहरू सह्रानीय छन् । त्यस्ता विद्यालयलाई नमुनाको रूपमा लिएर अन्य विद्यालयमा त्यो सन्देश पु¥याउन सके मात्रै पनि सुधारका आधारहरू सिर्जना हुने छन् ।