जीतसागर जी.एम.
दाङ, ४ चैत ।
तुलसीपुर बजारदेखि करिब चार किलोमिटरको दुरीमा पर्छ हलवार । बस्तीको बिचैमा छ प्राथमिक विद्यालय हलवार । विद्यालयका भवनहरू जीर्ण छन् । विद्यालयमा १८ जनामात्रै विद्यार्थी अध्ययनरत छन् भने एकजना कार्यालय सहयोगी र दुईजना शिक्षक छन् । नाम प्राथमिक विद्यालय भएपनि विद्यालयमा बालविकासको मात्रै पढाइ हुन्छ ।
तुलसीपुर उपमहानगर–पालिका वडा नम्बर ४ हलवारमा रहेको विद्यालयको अवस्था हो यो । कुनै समय पाँच कक्षासम्म पढाइ हुने विद्यालय अहिले बालविकासमा सीमित हुन पुगेको छ । बस्ती पातलो हुँदा विद्यार्थी कम भएर विद्यालय बालविकासमा सीमित हुन पुगेको भने होइन् ।
बाक्लै बस्तीकै बीचमा पनि विद्यालयमा अहिले एउटा कक्षामात्रै सञ्चालन हुने गरेको छ । विद्यालय विसं २०२० सालमा स्थापना भएको हो । स्थापनाको लामो समयसम्म विद्यालयप्रति विद्यार्थी तथा अभिभावकको विश्वास कम थिएन तर समयको विकासक्रमसँगै नजिकै निजी विद्यालय सञ्चालन भए ।
निजी विद्यालय सञ्चालनमा आएसँगै अधिकांश अभिभावकले निजी विद्यालयमा छोराछोरी पढाउन थाले । अनि प्रावि हलवारमा विद्यार्थीको संख्या कम हुँदै गयो । विद्यार्थी कम हुँदै गएपनि विद्यालयको भविष्य पनि संकटमा परेको छ । ‘विद्यालय पहिला राम्रै चलेको थियो’ स्थानीय दिलबहादुर विकले भने– ‘नजिकै निजी विद्यालय खुले, त्यसपछि विद्यार्थी कम हुँदै गएपछि विद्यालय अहिलेको अवस्थामा आएको हो ।’
बस्ती बाक्लो भएपनि अधिकांश अभिभावकले सरकारी विद्यालयलाई बेवास्ता गरेपछि विद्यालयको अवस्था खस्कीएको उनले बताए । ‘सरकारी विद्यालय त हामीजस्ता निम्न आय भएकाको लागि रहेछ’ उनले भने– ‘हुनेखाने वर्गले त नजिकैको निजी विद्यालयमा छोराछोरी पठाउने गरेका छन् ।’ दुई पनातिनी अहिले विद्यालयमै पढिरहेको उनले बताए । ‘मेरा दुईवटा पनातिनीले अहिले बालविकासमा पढ्छन्’ उनले भने–‘यसपछि त कि निजीमा पढाउनुपर्छ, कि सरकारीमा पढाउने हो भने कालाखोला पठाउनुपर्ने बाध्यता छ ।’
करिब ६० वर्षअघि स्थापना भएको विद्यालयमा पछिल्लो समय बालबालिका कम हुँदा तुलसीपुर उपमहानगरपालिकाले नै बालविकासभन्दा माथिल्लो कक्षाको अनुमति दिएको छैन् । नगरको अनुमति अनुसार विद्यालयमा बालविकासमा मात्रै पढाइ हुने गरेको छ । पाँच कक्षासम्म पढाइ हुने प्रावि हलवार बालविकासमा झरेपछि १ कक्षादेखि माथिल्लो कक्षामा पढ्नका लागि निजी विद्यालय वा खाद्रे र कालाखोला जानुपर्ने बाध्यता छ । विद्यालयमा तीन वर्षअघि ३० जना विद्यार्थी भएको अहिले घटेर १८ मा आइपुगेको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मी खड्काले विद्यालयलाई पुरानै अवस्थामा फर्काउन कोसिस गरेपनि सरोकारवालाको साथ कम रहेको बताइन् । ‘विद्यालयको अवस्था सुधार गर्ने हो, तर नगरपालिकाले नै यसलाई बेवास्ता गर्ने गरेको छ’ उनले भनिन्– ‘म आएदेखि पनि केही परिवर्तन गर्न सकेको छैन्, सबै कुरा परिवर्तनका लागि आर्थिक नै चाहिने रहेछ ।’
विद्यालय निजी विद्यालयकै चपेटामा रहेको उनले बताइन् । ‘निजी विद्यालयकै चपेटामा परेका छौँ’ उनले भनिन्– ‘अलिकति हुनेखाने वर्गका बालबालिका निजी विद्यालयतिर जान्छन्, निम्न वर्गका नागरिकले मात्रै सरकारी विद्यालयमा पठाउने हुन्, जो थोरै छन् ।’ विद्यालयमा शैक्षिक गुणस्तरभन्दा पनि माथिल्लो कक्षाको अनुमति नहुँदा झनै समस्या भएको विद्यालयका प्रधानाध्यापक जीता चौधरीले बताईन् ।
‘उपमहानगरपालिकाले नै ठूलो कक्षाको भर्नामा रोक लगाएको छ’ उनले भनिन्– ‘आसपासका बालबालिका प्रावि तहको पढाइका लागि पनि टाढा जानुपर्ने बाध्यता छ ।’ विद्यालयमा भवन पनि जीर्ण अवस्थामा पुगेका छन् । भवन धेरै भएपनि सबै भवन जीर्ण अवस्थामा रहेको प्रअ चौधरीले बताइन् । ‘भवन धेरै छन्, तर काम लाग्ने भवन कोहि पनि छैनन्’ उनले भनिन्–‘हिउँदमा भन्दा पनि वर्षाको समयमा पानी चुहिने समस्याले पढाउन समस्या छ ।’
विद्यालयको भवन वडा नम्बर ४ मा भए पनि वडा नम्बर ७ का बालबालिका पनि आउने गरेको उनले बताइन् । ‘बालविकासभन्दा माथिल्लो कक्षा पढाइ हुँदैन्, जसका कारण विद्यालयमा अभिभावकको पनि कम चासो रहेको छ’ उनले भनिन्– ‘अभिभावकले पनि चासो देखाउने हो भने विद्यालयलाई पहिलेकै अवस्थामा फर्काउन सकिन्छ ।’
स्थानीय तुलसीपुर–७ जितपुर निवासी उपेन्द्र पौडेलले मध्यम तथा निम्न वर्गीय परिवारका छोराछोरीले पढ्ने थलो भएकाले प्राविसम्मको कक्षा सञ्चालनका लागि स्थानीय सरकारले अनुमति दिनुपर्ने बताए । ‘विपन्न वर्ग समुदायका छोराछोरीका लागि प्राविसम्मको पढाइ यहि विद्यालयमा पढ्ने वातावरण निर्माण गर्नुपर्छ’ उनले भने– ‘अब कुनै पनि हालतमा यो विद्यालयलाई पुरानै अवस्थामा फर्काउनुपर्छ ।’