दाङ, ४ चैत ।
फागुन अन्तिमतिर बिहेका लगनहरू थुप्रै थिए । त्यही भएर सहर बजारका पार्टी प्यालेस र होटलहरूलाई भ्याइ नभ्याई थियो । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ रजौरास्थित मुनाल गेष्ट हाउसमा एउटा विवाह समारोहका लागि सयौंलाई निम्तो दिइएको थियो । तुलसीपुर क्षेत्रका गन्ने मान्ने प्राय सबैलाई निम्तो थियो ।
निम्तो कार्डको सुरूमा प्रार्थीमा बुबा÷आमा शिव श्रेष्ठ÷विना श्रेष्ठ र त्यसको मुन्तिर बुबा÷आमा गणेशप्रसाद श्रेष्ठ र हुममाया श्रेष्ठ लेखिएको थियो भने ठेगाना तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ शिखरकोलनी उल्लेख गरिएको थियो ।
जहाँ ३० बर्षीया आरती श्रेष्ठ र नवलपरासी पश्चिमको बर्दघाट नगरपालिका वडा नं. ५ का ३४ बर्षीय चन्दनध्वज केसीका बीचमा यो बिहे भइरहेको थियो । आरती पेशाले स्टाप नर्स हुन् भने केसी म्यूजिक फिल्डका ब्यक्ति हुन् । उनको काठमाडौँको अनामनगरमा ‘स्टुडियो वान’ छ ।
जोसँग मह–सञ्चार पनि जोडिएको छ । दिउँसो सवा २ बजे विवाहस्थलमा पुग्दै गर्दा प्रवेशद्वार नजिकै निम्तालु आगन्तुकको स्वागतमा तुलसीपुर– ६ शिखरकोलनीका ६५ वर्षिय शिव श्रेष्ठ र उनको परिवार खटिएका थिए । आधा दर्जन बढी टेन्टहरू टाँगिएको बिहे समारोह भब्य थियो ।
निम्तो मान्न पुगेका मानिसहरू कोही विहे भोजमा मस्त थिए भने कोही आरती र चन्दनध्वजको बिहेको उल्लासमा रमाइ रहेका थिए । बिहेको उल्लासमा डिजेबाट गीत थरिथरी गीतहरू बजिरहेका थिए । छोरी अन्माउन तयारी अवस्थाका बुबा शिव श्रेष्ठसँग साढे दुई बज्दै गर्दा भेट भयो ।
छोरीको बिहे र बिदाई सहारोह भब्यरूपमा आयोजना गर्नुभएको रहेछ नि ? उनी नजिक आएर के भन्नुभयो रे ? भन्दै कान नजिक पारे । पृष्ठभूमिमा गायक उदितनारायण झा र ईश्वरी प्रधानको स्वरमा रहेको– छोरी मलाई भागी भागी नसताउ… बोलको गीत बजिरहेको थियो । शिवलाई फेरि दोहो¥याएर त्यही कुरा सोध्दा उनका आँखाहरू नदी बनिसकेका थिए ।
‘मेरो छोरा भने पनि बुहारी वा छोरी भनेपनि उही त थियो,’ उनी भक्कानिए ‘एक अर्थमा मलाई धेरै खुसी पनि लागेको छ र यति प्यारी छोरीलाई बिदाई गर्दै गर्दा अर्कातर्फ आफैलाई सम्हाल्न गाह्रो भइरहेको छ ।’ शिव र विनाका एक्ला सन्तान सुविन श्रेष्ठको २०७६ सालमा ३१ वर्षको उमेरमा क्यान्सरका कारण मृत्यु भएको थियो ।
तुलसीपुरका सुविन र नवलपरासी पूर्वको प्रतापपुर गाउँपालिका–१ गोपीगंजकी आरतीले आफ्नो प्रेमलाई अमर बनाउन बाबुआमाको सल्लाहमा बिहेका गरेका थिए । बिहे गरेको केही वर्षमै उनलाई क्यान्सर देखियो र त्यसैका कारण उनको मृत्यु भएको थियो । उनीहरूबाट सन्तान पनि थिएनन् । श्रीमान सुविनको मृत्युपछि पनि आरतीले घर छोडिनन् । त्यसको पछाडिको कारण उनले घरमा पाएको माया नै थियो ।
‘मलाई घरको बुबाआमाले आफ्नो छोरीभन्दा अलग व्यवहार कहिलै गर्नु भएन,’ आरतीले भनिन् ‘मेरो जन्मदिने बुबाआमा गोजीगंजमा भएपनि कर्म दिने आमाबुबा उहाँहरू नै हो ।’ शिव श्रेष्ठ र उनको परिवारले झन्डै तीन दशक अगाडिदेखि तुलसीपुरमा ‘पाल्पाली मेडिकल क्लिनिक’ सञ्चालन गर्दै आएका छन् ।
बिहे भएर आउँदा आरती आट्र्सबाट बिए उत्तीर्ण मात्रै गरेकी थिइन । एक्लो छोराको अवसानपछि शिवको परिवारले आरतीलाई नर्सिङ पढ्न हौसला दिए । उनले तुलसीपुरकै राप्ती लाइफ केयर हस्पिटलबाट पुस १० गते मात्रै स्टाफ नर्सको कोर्ष पूरा गरेको बताइन् ।
‘श्रीमान बितेपछि घरमा बुहारीले कति धेरै हेला र समस्यासँग जुध्नु पर्छ भन्ने खबरहरू थुप्रै सुनेकी थिए,’ आरतीले भनिन् ‘तर, म यहाँनेर आफूलाई भाग्यमानी ठान्छु बुबाआमा र परिवारले मलाई कहिलै बुहारीको दर्जा दिनु भएन छोरीभन्दा बढी माया गर्नुभयो ।’ घर परिवारकै हौसला र लगानीले आज आफू नर्सिङ स्टाफ उत्तीर्ण गर्न सफल भएको उनले बताइन् ।
उनले बिहेपछि पनि आफू तुलसीपुरमै बुबाआमाको साथमै बस्न आउने बताइन् । ‘मेरो जन्मदिने बुबाआमा अर्कै भएपनि कर्म दिने बुबाआमा पहिलो प्राथमिकता हुनुहुन्छ’ उनले भनिन्– ‘बिहेपछि पनि म तुलसीपुरमै बुबाआमाको घरमै आएर बस्ने छु ।’ आरतीले आफूले बिहे गर्नुभन्दा श्रीमान् चन्दनध्वज केसीसँग सोही सम्झौता गरेको जानकारी दिइन् ।
यो सबै सुनिरहेका ससुरा बुबा शिव श्रेष्ठले पनि छोरी (बुहारी) आरतीको लागि एउटा मेडिकल खोलिदिएको र छिल्लीकोटमा जिप लाइनसमेत उनकै नाममा खोलिदिएको बताएका थिए । उनले छोरी आरती इच्छाअनुसार चाडपर्व र अघिपछि पनि आफ्नो इच्छाअनुसार आफ्नो बिहे भएको घरमा जाने सक्ने बताए । ‘यो अब हाम्रोभन्दा पनि छोरी आरतीमा निर्भर हुने कुरा हो,’ शिवले भने ‘तर, मलाई विश्वास छ त्यो बाहेक अघिपछि छोरी ज्वाइँ हामीसँगै घरमा आएर बस्ने छन् ।’ यो सबै सुनेर मुसुमुसु हाँस्दै उभिएका चन्दनध्वजले अब आफू आरतीकै इच्छाअनुसार अगाडि बढ्ने प्रण गरेका थिए ।
आरती र चन्दन ध्वजको भेट
दुबैले आफूहरूको भेट सामाजिक सञ्जाल फेसबुकमार्फत भएको जानकारी दिए । कोरोना भाइरसको दोस्रो कहरका क्रममा शिव श्रेष्ठ पनि त्योबाट अछुतो रहन सकेनन् । उनी बिरामी परेपछि बुहारी आरतीले आफै गाडी खोजेर उपचारका लागि काठमाडौँ पु¥याइन । त्यही क्रममा अस्पतालमा आरती र चन्दन ध्वजको भेट भयो । चन्दन ध्वजले उनीहरूका लागि आफै खाना बोकेर अस्पताल आउँथे ।
त्यसबाट आरती प्रभावित बनिन् । उनीहरूको हृदयमा अदृश्य रूपमा मायाका मुनाहरू अंकुराउन थालिसकेका थिए । चन्दन ध्वजले प्रेमको प्रस्ताव गरेपछि आरतीले आफ्नो बिगत सबै नढाटेरै चन्दन ध्वजलाई बताउँदै आफूले फेरि बिहे गर्न नसक्ने तर्क प्रस्तुत गरिन । बिहे गर्ने भए बुबा शिव श्रेष्ठसँग आफ्नो हात माग्न आग्रह गरिन । त्यो भन्दा पहिलै चन्दन ध्वजसँग भए गरेका सबै कुरा आरतीले घरपरिवाका ससुरा बुबादेखि सबैलाई नलुकाएर भन्दै आएकी थिइन् ।
‘आरतीले कुनै कुरा नलुकाएर आफ्नो बिगत बताएपछि झनै मलाई उनीप्रति गर्ब महसुस भयो,’ चन्दनध्वजले भने ‘त्यसपछि झनै मलाई उनीप्रति थप माया र भरोसा पैदा भएको हो ।’ आफूले सबैकुरा राजिखुसीका साथ स्वीकार गरेको चन्दन ध्वजले बताए । नभन्दै चन्दन ध्वज उक्त प्रस्ताव लिएर शिव श्रेष्ठसम्म पुगे । ‘आरतीको फेरि बिहे गर्ने र हामीलाई छोडेर जाने इच्छा पटक्कै थिएन,’ त्यो पल सम्झदै शिवले भने ‘उनको उमेर कलिलै थियो हामीले नै सम्झाई बुझाई गरी बिहे गर्नुपर्छ भनेर छोरी आरतीलाई मनाएका हौं ।’
बिहेको कुरा स्वीकार्नुभन्दा पहिले बुहारी÷छोरी आरतीले फेरि आफू तुलसीपुरस्थित घरमै सदाको लागि बस्न पाउनुपर्छ भनेर सर्त राखेको शिवले बताए । ‘हाम्रो घर परिवारको चाहना पनि त्यही थियो,’ शिवले थपे ‘हाम्री छोरी आरतीले पनि सोही इच्छा ब्यक्त गरेको हुँदा उनी हामीलाई छोडेर कतै जालिन भन्ने हामीलाई विश्वास लाग्दैन ।’
आरतीले पनि आफू सदाको लागि तुलसीपुरस्थित बुबाआमासँगै बस्ने प्रण पटक÷पटक ब्यक्त गरेकी थिइन । ‘आज त म बिहे गरेर श्रीमान्को घरमा जानै पर्छ,’ उनले भनिन् ‘तर, म दुई÷चार दिनमै फेरि तुलसीपुर फर्किएर उहाँहरूसँगै बस्न आउने छु ।’
शिवले पनि छोरीको खुसी नै आफूहरूको खुसी हुने बताएका थिए । सोही कुरा उनका श्रीमान् चन्दन ध्वजले पनि ब्यक्त गरेका थिए । आफू बिदाको समयमा तुलसीपुरमा आरतीलाई भेट्न आउने उनले बताएका थिए । यो बिहेमा कति खर्चको अनुमान छ ? भनेर सोध्दा– शिब श्रेष्ठले छोरी अन्माउँदा लाग्ने खर्चको कुरा गर्नु उचित नहुने बताए । ‘मैले छोरीलाई १५ तोला सुनका गरगहना बनाइदिएको छु,’ उनले भने ‘ज्वाँइले त्यो बाहेक कुनै दाइजो लैजान्न भनेको हुँदा दाइजो भने बनाएको छैन ।’
एउटा अनुकरणीय कार्य
नवलपरासी पूर्वको प्रतापपुर गाउँपालिका–१ गोपीगंजबाट छोरी आरतीको ससुराली खलकले गरिदिएको विवाह समारोहमा आएकी आरतीलाई जन्मदिने आमा ५५ बर्षीया हुममया श्रेष्ठले शिव श्रेष्ठको परिवारजस्ता मानिस संसारमा बिरलै भेट्न मिल्ने तर्क गरिन् ।
‘मैले आरतीलाई जन्म मात्रै दिएकी हुँ जस्तो लाग्छ संसारमा यस्तै अरू मानिसहरू पनि भए कुनै छोरी बुहारीले दुःख पाउनु पर्ने छैन,’ दुई छोरा र दुई छोरीका आमा हुममायाले भनिन् ‘सुरूमा ज्वाइँको काल हुँदा लाग्यो कस्ती अभागी रहिछ पाउनु दुःख पाउने भई भन्ने चिन्ताले सताउँथ्यो, तर आजको यो समारोहमा मेरी छोरी जति भाग्यमानी कोही छैन जस्तो लागेको छ ।’
छोरीको खुसीअनुसार घर परिवारले लाखौ खर्च गरी धुमधामको साथ बिहे गरिदिएको देख्दा आफ्नो खुसीको सीमा नरहेको उनले बताइन् । कुरा गर्दा गर्दै उनी खुसीका आँशु थाम्न नसकेर भक्कानिएकी थिइन् । ‘यी छछल्किएका मेरा खुसीका आँसु हुन,’ उनले भनिन् ‘एउटी विधुवा छोरीको घर परिवाले सबै खर्च बेहोर्दै धुमधामपूर्वक गरेको बिहे समारोहमा उपस्थित एउटी आमा कति खुसी छु होला । म कसरी त्यो सबै कुरा शब्दमा ब्यक्त गर्न सकुला ।’
आरतीका बुवा ६१ वर्षिय गणेशप्रसाद श्रेष्ठले ज्वाइँ बित्नु आफूहरूका लागि नसोचेकै घटना भएपनि आज घरपरिवारले गरिदिएको छोरीको बिहेभोजमा सहभागी हुन पाउँदा निकै कृतज्ञ रहेको बताए ।
‘ज्वाइँको मृत्युपछि आफ्नी छोरीलाई सम्धी–सम्धीना शिव र विनाले आरतीलाई झनै माया गरी छोरीको दर्जा दिनुभयो,’ गणेशले भने ‘संसारमा सायदै यस्ता असल मानिसहरू कही भेटिन्नन् होला ।’ घरमा पाएको माया र सम्मानकै कारण छोरी आरती माइती आउ भन्दा पनि घरमै ठिक छु भन्दै जहिलै सासू–ससुराको सेवामा खटिने गरेको उनले बताए ।
आइतीका दाइ ३२ वर्षिय किस्मत श्रेष्ठले बहिनीको इच्छाअनुसार ससुराली खलकले नै आफ्नै छोरी ठानेर उत्सवका रूपमा बिहेभोज आयोजना गरी कन्यादन गरिदिएको दृष्य आफैले नियाल्न पाउनु खुसीको सीमा नरहेको बताए । आफ्नै जिल्लामा चप्पल फ्याक्ट्री सञ्चालन गर्दै आएको बताउने किस्मतले साँच्चिकै आफ्नी बहिनी आरती किस्मतवाली रहेको कुरा ब्यक्त गरे ।
बेहुला चन्दन ध्वजका बुबा ६१ वर्षिय उत्तमध्वज केसीले बुहारी आरतीको बिगतका बारेमा सबैकुरा थाहा भएपनि आफूहरू घर परिवारले राजीखुसी छोराको बिहे मागेरै गर्न सहमत भएको बताए । ‘विधुवा हुँदैमा कुनैपनि महिलाको के दोष हुन्छ र ?’ उनले प्रश्न गरे ‘अहिलेको जमानामा पनि पश्चगामी सोच पाल्नु कदापि सही होइन ।’
उत्तमध्वजले आफ्नो छोरा कुमार नै भएपनि उनको इच्छाअनुसार माग्न आएर हिन्दू परम्पराअनुसार बिहे गरिदिएको बताए । चन्दन ध्वज उनका जेठा छोरा हुन् । जुम्ल्याहा दाजुभाइमध्ये चन्दनध्वजका भाइ लभ कुसले यसअघि नै बिहे गरिसकेको उत्तम ध्वजले जानकारी दिए ।
बिहेमा भेटिएकी महिला अधिकारकर्मी शुष्मा गिरीले आफू अहिलेसम्म सयौं विवाहमा सहभागी भएपनि यतिको खुसीको दिन अनुभूत गर्न नपाएको बताइन् । ‘विधुवालाई देख्दा भेट्दा शुभ हुँदैन वा अलच्छिन हुन्छ भन्ने पुरातन सोचबाट समाज मुक्त हुन जरूरी छ’ उनले थपिन् ‘विधुवा हुनुमा महिलाको कुनै दोष हुँदैन र समाजमा शिव र विनाजस्ता असल सोच भएका मानिसहरूको संख्या बढ्दै जान जरूरी छ ।’
तुलसीपुर उपमहानगर–पालिकाकी महिला बालबालिका तथा समाजिक विकास शाखा प्रमुख माया श्रेष्ठले आफूले जीवनमै यस्तो सकारात्मक र उदाहरणीय कार्य देख्न पाएको बताइन् । ‘सबै छोरी बुहारीका यस्तै असल अभिभावक भए किन महिला हिंसा बढ्थ्यो र ?’ उनले भनिन्– ‘सबैले छोरी हुन वा बुहारीको यसैगरी माया र संरक्षण गर्नसके समाज कति सुन्दर र सुरक्षित हुन्थ्यो होला ।’
आरतीकी फुपू तथा पाल्पाको रम्भादेव गाउँपालिकाकी उपाध्यक्ष राधाकुमारी श्रेष्ठले एउटा उदाहरणीय कामलाई प्राथमिकता दिनुपर्छ भन्ने सोचका साथ आफू त्यति टाढाबाट बिहेमा सहभागिता जनाउन आएको बताइन । ‘ सुरूमा त भतिजीले बिहे गर्न मानेकी थिइनन्,’ उनले भनिन्– ‘सम्धि–सम्धीना ज्यूहरूले धेरै सम्झाई बुझाई गरेपछि उनी तुलसीपुरमै बस्ने सर्तमा बिहे गर्न राजी भएकी हुन् ।’
हरेक घरपरिवारका लागि आरतीको विवाह एउटा उदाहरण मान्नुपर्ने तर्क गरेकी उनले हरेक घरपरिवारले बुहारीलाई पनि छोरीसरह ब्यबहार गर्न सिके र जाने महिलामाथिको हिंसा कम हुने बताइन् । ‘म रूने छैन भनेकी आरती कान्छा सम्धि र माइला सम्धिहरूले टीका लगाउँदै गर्दा आँसु रोक्न सकिन’ उनले भनिन्– ‘मैले शिव सम्धिका आँखामा आँसु नियाल्दै आएकी छु बिदाइको पल म उहाँलाई कसरी नियाल्न सकुला जस्तो भयो ।’
तुलसीपुरका प्रतिष्ठित व्यवसायी बिमल रिजाल, तुलसीपुर–६ का पूर्व वडा अध्यक्ष नवराज लामिछाने, सल्यानको छत्रेश्वरी गाउँपालिका पूर्वअध्यक्ष सन्तोष केसी, तुलसीपरकी चर्चित सेलीब्रेटी शुष्मा केसीलगायतले श्रेष्ठ परिवारले छोराको मृत्युपछि बुहारीलाई छोरी मानेर पढाइ लेखाइ धुमधामपूर्वक बिहे गरिदिनु समाजका लागि एउटा उदाहरण मान्नुपर्ने तर्क गरे ।