दाङ, ३ चैत ।
जयशिव महाकाल मानवसेवा आश्रमले आयोजना गरेको श्रीमद्भागवत महापुराण तथा शिव चर्चा २०७९ को आय–व्यय विवरण सार्वजनिक गरिएको छ । तुलसीपुर उपमहानगरपालिका–५ नयाँ बसपार्कस्थित पुल्चोकमा सञ्चालन भएको महापुराणको शुक्रबार खर्च आम्दानी सार्वजनिक गरिएको हो । शुक्रबार आश्रमले पत्रकार सम्मेलन गरेर महापुराणमा भएको खर्च तथा आम्दानीको बारेमा जानकारी गराएको हो ।
फागुन २४ गतेदेखि ३० गतेसम्म सञ्चालन भएको महापुराणमा ८ लाख ७३ हजार दुईसय ६० नगद आम्दानी भएको आश्रमका सचिव शम्भु बुढा मगरले जानकारी दिए । महापुराणमा ८ लाख ८७ हजार ९ सय ९ रूपैयाँ खर्च भएको छ । महापुराणमा तुलसीपुर उपमहानगरपालिका–९ बेलुवा निवासी रूद्रसिंह खड्का र विमला खड्काले तुलसीपुर–७ गैरापातुमा रहेको करिब ३० लाख मूल्य बराबरको जग्गा आश्रमलाई दान दिएको पनि उनले बताए ।
कार्तिक महिनादेखि भोक र प्यासविरूद्धको निःशुल्क खाना खुवाउने अभियान सञ्चालन गर्दै आएको र त्यसलाई थप व्यवस्थित गर्नको लागि महापुराण आयोजना गरिएको उनले जानकारी दिए । ‘आजसम्म हामीले १३६ दिनसम्म निःशुल्क खाना खुवाउँदै आएका छौँ’ उनले भने– ‘यो अभियानलाई थप व्यवस्थित गर्नको लागि महापुराणको आयोजना गरिएको हो ।
तर, हामी आर्थिक रूपमा सफल हुन नसके पनि भौतिक रूपमा जग्गा पाएका छौँ । अब हामी त्यहाँ आश्रम निर्माणको लागि तयारी गर्नेछौँ । यो निःशुल्क खाना खुवाउने हाम्रो अभियान निरन्तर चलिरहने छ ।’ निःशुल्क खाना खुवाउने कार्यक्रमसँगै कपडा बैंक पनि सञ्चालन गर्न लागेको बताए । उनले भने, ‘अहिले गरिब, दिनदुःखीलाई साँझ बिहान खाना खुवाउँदै आएका छौँ ।
हामीले भोक र प्यास मेटाउन कोसिस गरेका छौँ । अब उनीहरूलाई शरीर ढाक्नको लागि कपडा अवश्य छ । त्यसैले कपडा बैंक अभियान सञ्चालन गर्न लागेको छौँ ।’ आश्रमका अध्यक्ष शेरबहादुर घर्ती मगरले छोटो तयारीका बावजुद पनि महापुराण सफल भएको बताए ।
उनका अनुसार आश्रमलाई प्राप्त भएको जग्गाको अहिले बजार मूल्य करिब तीन लाख बराबर रहेको र जसको २३ मिटर लम्बाई रहेको छ, भने १८ मिटर चौडाई रहेको छ । उक्त जग्गा तुलसीपुर–७ गैरापातुमा रहेको पनि उनले बताए । उनका अनुसार जग्गादान गर्ने दाताले जग्गासँगै डिंग्रे साइकुमारीको मन्दिर निर्माण गरेर आश्रमलाई हस्तान्तरण गर्नेछन् ।
यस्तै उनले आफूहरूले सञ्चालन गरेको महापुराणमा सहयोग गर्ने सबैलाई धन्यवादसमेत दिए । उनले पनि आफूहरूको निःशुल्क खाना खुवाउने अभियान निरन्तर चलिरहने र अहिले गाँसको व्यवस्था गर्दै आइरहेकोमा अब आश्रमले प्राप्त गरेको जग्गामा बासको व्यवस्थाको लागि निर्माण गर्नेसमेत बताए ।
यस्तै कार्यक्रममा निःशुल्क खाना खुवाउने अभियानमा अहिलेसम्म निरन्तर निःस्वार्थ रूपमा सेवा गर्दै आएका आश्रमका सदस्य हिरा सुनारलाई प्रमाण–पत्रले सम्मान गरिएको थियो ।