जीतसागर जी.एम.
दाङ, २ चैत ।
बजारमा बिक्री गर्ने कुनै पनि वस्तुको मूल्य निश्चित छैन् । उपभोक्ताको अनुहार हेरेर वस्तुको मूल्य निर्धारण हुन्छ । त्यहि वस्तुमा व्यक्तिअनुसार मूल्यसमेत फरक–फरक हुन्छ । एकजनाले पाँच सयमा किनेको त्यहि वस्तु अर्काेसँग एक हजार रूपैयाँ असुली हुन्छ ।
बजारमा खुलेआम म्याद गुज्रिएका वस्तुहरू बिक्री हुन्छन् । अनुगमन पनि हुन्छ । अनुगमनको क्रममा म्याद गुज्रिएका वस्तु भेटिन्छन् । तर कुनै पनि व्यवसायीलाई कारवाही हुँदैन् । बजारमा यस्तो साझा समस्या वर्षौँदेखि छ । बजारमा उपभोक्ता खुलेआम ठगिएका छन् । नियमनकारी निकाय निरिह छ । नियमन गर्ने निकाय नै सडकको फुटपाथमा सामान किन्छन् ।
तर तिनै कर्मचारीले ठेला सडकमा किन व्यापार गरेको भन्दै उठाउने गरेका छन् । ‘आर्थिक मन्दीको नाममा बजारमा मनपरीतन्त्र छ’ उपभोक्ता अधिकारकर्मी युवा व्यवसायी संगीत बस्यालले भने– ‘अनुगमनको नाटक कहिलेसम्म हुने हो तर बजारमा सधैँ मनपरी चलेको छ ?’ नियामक निकायसमेत गम्भीर बन्न नसकेको उनले बताए ।
‘सडकबाट माछा छोपेर ल्याउनेहरू नै सडकको माछा किन्ने गरेको देखेको छु’ उनले भने–‘मापदण्ड विपरीत सञ्चालित ठाउँमा किनमेल गर्ने अनि राजस्व संकलन हुन्छ त ?’ उनले कुनै पनि व्यवसायीले बिक्री गर्ने वस्तुको मूल्य उपभोक्ताले देखिने गरिराखेको नदेखेको बताए । ‘अनुहार हेरेर वस्तुको मूल्य निर्धारण गरिन्छ, जुन एकदमै गलत छ’ उनले भने–‘यसकारण पनि उपभोक्ता खुलेआम ठगिरहेका छन्, खै कारबाही ?
तुलसीपुर उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख ओमपि न्यौपानेले अस्पतालको नियमन फितलो रहेको बताए । ‘अनुगमन गर्ने हो भने अस्पताल तथा फार्मेसी पसल करिब ९० प्रतिशत मापदण्ड विपरीत सञ्चालनमा छन्, तर अनुगमन प्रभावकारी हुन सकेको छैन्’ उनले भने– ‘यतिसम्मकी नियमनकारी निकाय अनुगमनमा आउँदा अस्पताल बन्द गरेर बस्ने परम्परा छ ।’ अनुगमनमा पुग्दा धेरै अस्पताल बन्द गरेर सञ्चालक होटलमा भेटिने गरेको उनले बताए ।
‘प्रदेश सरकारले अनुमति दिएका अस्पतालको सैद्धान्तिक जाँच गर्ने क्षमता हामीसँग छैन्’ उनले भने– ‘यसको अनुगमनका लागि प्रदेश सरकारकै टिम आउनुपर्छ ।’ अस्पतालको अनुगमन निकै फितलो रहेको उनले बताए । ‘अस्पताल हेर्न मात्रै जाने हो भने ठिक छ, तर नीति, नियमनअनुसार हेर्ने हो भने अधिकांश अस्पताल फेल छन् ।’ उनले भने– ‘स्वास्थ्यमाथि खेलवाड हुन हुँदैन्, यस विषयमा सरोकारवाला गम्भीर बन्नुपर्छ ।’
तुलसीपुरमा फार्मेसी नपढेकाले औषधि खुलेआम बिक्री गर्ने गरेको समाचार सञ्चार माध्यममा आउँदा पनि कारबाही हुन नसकेको उनले गुनासो गरे । ‘केही दिनअघि सञ्चार माध्यममा फार्मेसी नपढेकाले औषधि बिक्री वितरण गरेको समाचार आयो, तर कारबाही भएन्’ उनले भने– ‘वाच डग सक्रिय हुँदा पनि बजारका धेरै बेथिति कम हुन्छन् ।’
बजार नियन्त्रण बाहिर हुँदा उपभोक्ता अधिकार सुरक्षित हुन नसकेको सरोकारवालको गुनासो छ । तुलसीपुरमा बुधबार विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा गरिएको कार्यक्रममा सरोकारवालाले बजार अनुगमनलाई प्रभावकारी बनाउन माग गरेका छन् ।
बजारमा खुलेआम उपभोक्ता ठगी हुँदा पनि सरोकारवाला निकाय गम्भीर हुन नसकेको उनीहरूको आरोप छ । मूल्यमा एकरूपता हुन नसकेको, अखाद्यवस्तु बिक्री वितरण हुने गरेकोलगायतका समस्या बजारमा विद्यमान हुँदा पनि नियमन हुन नसकेको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् ।
दिवसको अवसरमा तुलसीपुर उपमहानगरपालिकाको उपभोक्ता हित संरक्षण शाखाले आयोजना गरेको कार्यक्रममा सरोकारवालाले उपभोक्ता अधिकार सुरक्षित हुन नसकेको बताएका छन् । पत्रकार सुशील बस्नेतले बजारमा देखिएको व्यवसायीको मनपरीतन्त्रलाई नियमन गर्न आवश्यक रहेको बताए । ‘उपभोक्ता अधिकार सुरक्षित गर्न उपभोक्ता र व्यवसायी दुवैजना सेचत हुनुपर्छ’ उनले भने–‘अनुगमनको पाटोलाई पनि प्रभावकारी बनाउन आवश्यक छ ।’
उपमहानगरको उपप्रमुख स्यानी चौधरीको अध्यक्षता तथा नगरप्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यता एवं प्रमुख प्रशासकीय अधिकृत मोहन पौडेलको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो । नगरप्रमुख टिकाराम खड्काले उपभोक्ता अधिकार सुरक्षित गर्न सबै जिम्मेवार बन्नुपर्ने बताए । उनले स्थानीय सरकारले मात्रै बजारलाई व्यवस्थित गर्न नसक्ने भन्दै सबैको सहयोग आवश्यक रहेको बताए ।
तुलसीपुर उपमहानगरपालिका आर्थिक विकास समितिका संयोजक माधव वलीले बजारमा आउने वस्तुको गुणस्तरमा उपभोक्ता सचेत बन्नुपर्ने बताए । बिक्री गर्ने व्यवसायी र खरिद गर्ने उपभोक्ता दुवैजना गुणस्तरको बारेमा जानकार नहुँदा पनि समस्या रहेको बताए ।
तुलसीपुर चेम्बर अफ कमर्सका अध्यक्ष टोपबहादुर घर्तीले व्यवसायीको सिमित स्वार्थका कारण उपभोक्ता अधिकार हनन हुने गरेको बताए । उनले बजारलाई सभ्य र सुरक्षित बनाउन ऐन, नियम बनाउनुपर्नेमा जोड दिए । तुलसीपुर उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष मिनराज भण्डारीले खाद्यवस्तुको बिक्री वितरण र उपभोगबारे उपभोक्ता र व्यवसायीलाई सजक बनाउने गरेको बताए ।
ज्येष्ठ नागरिक लुम्बिनी प्रदेशका अध्यक्ष खुमानन्द अधिकारी उपभोक्ता अधिकारबारे सचेतना वडास्तरमा राखिनुपर्ने बताए । कार्यक्रमको सहजीकरण उपभोक्ता हित संरक्षण शाखा प्रमुख रेखा शर्माले गरेकी हुन् ।