जीतसागर जी.एम.
दाङ, १ चैत ।
विद्यार्थीले नेता छनौट गर्ने दिन नजिकिदै गएको छ । करिब १५ वर्षपछि चैत ५ गते हुन लागेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको सरगर्मी बढेको छ । निर्वाचनको मिति नजिकिदै जाँदा राजनैतिक दल निकट तथा स्वतन्त्ररूपमा विद्यार्थी चुनावी गतिविधिलाई तिब्र बनाएका छन् ।
सोमबार उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएसँगै मंगलबारबाट चुनावी प्रचारप्रसार सुरू भएको छ । निर्वाचनको पूर्वसन्ध्यामा कतिपय क्याम्पसमा तालाबन्दीसमेत भएको छ । दाङको घोराहीमा रहेको महेन्द्र बहुमुखी क्याम्पस, तुलसीपुरको जनता क्याम्पस बिजौरीमा विद्यार्थी संगठनले तालाबन्दी गरेका छन् ।
जनता क्याम्पसमा नेपाल विद्यार्थी संघले तालाबन्दी गरेको छ भने महेन्द्र बहुमुखी क्याम्पसमा विप्लव निकट विद्यार्थी संगठनले तालाबन्दी गरेको हो । नेपाल संस्कृत विश्वविद्यालय विद्यापीठको केन्द्रीय क्याम्पस बेलझुण्डीमा अनेरास्ववियुले लगाएको ताला भने खुलेको छ ।
गैरविद्यार्थीलाई समावेश गरी मतदाता नामावली प्रकाशन गरेको आरोप लगाउँदै अनेरास्ववियुले लगाएको ताला मंगलबार बेलुका खुलेको हो । वार्ताका माध्यमबाट विवाद टुंगो लगाउने सहमती भएपछि ताला खोलिएको अनेरास्ववियु दाङका अध्यक्ष गोविन्द बस्नेतले बताए ।
‘वार्ता र छलफलका माध्यमबाट विवाद टुंगो लगाउने गरी ताला खालेका छौँ’ उनले भने–‘सरकारी कर्मचारीले नियमित पढ्नका लागि बिदा लिएको हुनुपर्छ, तर बेलझुण्डीमा त्यसो नभएको देखिन्छ ।’ अनेरास्ववियुले सोमबार बेलुकादेखि विद्यापीठ क्याम्पसमा ताला लगाएको थियो । जनता क्याम्पस बिजौरीमा नेविसंघले उम्मेदवारको उपस्थितिबिना उम्मेदवारी दर्ता भएको भन्दै क्याम्पसमा तालाबन्दी गरेको हो ।
निष्पक्षरूपमा छानबिन गरी सर्वसम्मतरूपमा अघि नबढेसम्म तालाबन्दी जारी रहने जनता क्याम्पस बिजौरीका नेविसंघ इकाई सभापति उमेश उपाध्यायले बताए । ‘उम्मेदवारको उपस्थितिबिनै उम्मेदवारी दर्ता गरेर निर्वाचनलाई निष्पक्ष बनाउनबाट रोकिएको छ’ उनले भने– ‘सर्वसम्मतरूपमा अघि नबढेसम्म तालाबन्दी जारी राख्छौँ ।’
मंगलबारसम्म पद्मोदय क्याम्पस, राप्ती शिक्षा क्याम्पस, अम्बिकेश्वरी कलेजमा सर्वसम्मत स्ववियु चयन भएको नेपाल विद्यार्थी संघ दाङका अध्यक्ष कुलराज पोखरेलले बताए । ‘चुनावी अभियानमै छौँ, कतिपय क्याम्पसमा सर्वसम्मत भएको छ’ उनले भने–‘कतिपय कलेजमा विवाद उत्पन्न हुँदा तालाबन्दीसमेत भएको छ ।’
लामो समयपछि हुन लागेको निर्वाचन आमविद्यार्थी उत्साहित भएको उनले बताए । ‘करिब १५ वर्षपछि विद्यार्थीले आफ्नो नेता छनौट गर्दैछन्’ उनले भने– ‘लामो समयपछि नेतृत्व छनौट हुन लागेकाले पनि आम विद्यार्थीले सक्षम र योग्य नेतृत्व छनौट गर्नुपर्छ ।’
नेपाल विद्यार्थी संघले पनि दाङका क्याम्पसमा एकलरूपमा उम्मेदवारी दिएको उनले बताए । ‘विद्यार्थीको हकहितको पक्षमा हामी काम गरिरहेका छौँ, नेपालकै जेठो विद्यार्थी संगठनले योग्य र सक्षम उम्मेदवार उठाएको छ’ उनले भने–‘आमविद्यार्थीलाई योग्य उम्मेदवार छनौट गर्न अनुरोध गर्दछु ।’
नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु (क्रान्तिकारी)ले पनि स्ववियु निर्वाचनमा नतिजा आफ्नो पक्षमा पार्न चुनावी गतिविधि तिब्र बनाएको छ । क्रान्तिकारी जिल्ला अध्यक्ष गिरबहादुर महराले स्ववियु निर्वाचनको नतिजा संयुक्त प्यानलको पक्षमा ल्याउन दौडधुप भइरहेको बताए । ‘तीनवटा विद्यार्थी संगठन मिलेर अघि बढेका छौँ’ उनले भने– ‘परिवर्तनका पक्षमा नतिजा आउने छ भन्नेमा विश्वस्त छौँ, आवश्यक प्रचारप्रसारको कामलाई पनि तिब्रता दिएका छौँ ।’
स्ववियु निर्वाचनका लागि गत शनिबार दाङसहित देशभरका क्याम्पसमा उम्मेदवारी दर्ता भएको हो । निर्वाचनमा अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली र उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछन् । निर्वाचन चैत ५ गते आइतबार बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म मतदान हुने भएको छ ।
अदालतमा रिट
स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा मतदान गर्ने अधिकारबाट वञ्चित गराइएको भन्दै रिट दायर भएको छ । मध्यपश्चिम विश्वविद्यालयलगायत पाँचवटा कार्यालयविरूद्ध उच्च अदालत सुर्खेतमा रिट दायर भएको छ । विश्वविद्यालयअन्तर्गतकै स्कुल अफ म्यानेजमेन्टमा अध्ययनरत भुवन बुढा, सुदिप महतारा र खेमु शाही तीनजनाले उच्च अदालत सुर्खेतमा रिट दायर गरेका हुन् ।
मंगलबार उनीहरूले मध्यपश्चिम विश्वविद्यालय, स्कुल अफ म्यानेजमेन्ट (मोसुम), स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन समिति र केन्द्रीय विभागको स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन अधिकृतको कार्यालयलगायत पाँचवटा कार्यालयलाई विपक्षी बनाई रिट दायर गरेका छन् । मोसुममा करिब चार सय विद्यार्थीहरू अध्ययनरत छन् । मोसुममा अध्ययनरत विद्यार्थीको मतदान गर्न पाउने अधिकारलाई कुण्ठित गर्न खोजिएको उनीहरूको आरोप छ ।