तुलसीपुर, ३० फागुन ।
लुम्बिनी प्रदेशका प्रहरी प्रमुख एआइजी टेकप्रसाद राईले लुम्बिनी प्रदेशमा लागूऔषध, सवारी दुर्घटना, आत्महत्याका घटनाहरू मुख्य समस्याका रूपमा देखिएको बताएका छन् ।
सोमवार लुम्बिनी प्रदेशका प्रहरी कार्यालय दाङले आयोजना गरेको पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा राईले उक्त घटनाहरूलाई हेरेर नेपाल प्रहरीले वार्षिक कार्ययोजना २०७९ लागु गरेको जानकारी दिए ।
‘यस कार्यालयमा आइसकेपछि अनुसन्धान गर्दै गर्दा र दैनिक रूपमा हुने घटनाहरूमध्ये लागूऔषध, दुर्घटना, आत्महत्याका घटनाहरू मुख्य समस्याका देखिए,’ उनले भने, ‘त्यसमा सीमा अपराधहरू र फैसला कार्यान्वयनलाई मुख्य प्राथमितामा राखेर केही गर्न सकिन्छ कि भनी पाँचवटा कार्ययोजनाहरू बनाएर लागू गरिएको हो ।’
सीमा तस्करी नियणन्त्रण, लागूऔषध नियणन्त्रण, आत्महत्या न्यूनीकरण, फैसला कार्यान्वयन र सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी कार्ययोजना २०७९ बनाई फागुन ४ गतेदेखि कार्यान्वयनमा ल्याएको उनले बताए । एआइजी राईले आफू सरूवा भएर आएको ४९ दिनमा लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा पुगेर निरिक्षण तथा अनुगमन गरेको जानकारी दिए ।
‘अहिलेसम्म पनि नागरिकहरूलाई प्रहरीको निशुल्क सेवा हुन्छ भन्ने जानकारी नै छैन’ उनले भने ‘प्रहरी कार्यालयमा जाँदा निवेदन लेख्नका लागि ५ सय देखि ५ हजारसम्म शुल्क तिरेको पाइयो यो तत्काल रोक्न मैले यसअघि नै निर्देशन दिइसकेको छु ।’ प्रहरीको सेवा निशुल्क छ भन्ने फर्माट तयार गरेर प्रदेशभर निशुल्क निवेदनको लागि व्यवस्थापन गरिसकेको उनले बताए ।
त्यस्तै नागरिकले १०० मा फोन गर्दा वा प्रहरी कार्यालयमा फोन गर्दा प्रहरी कर्मचारीले आफ्नो परिचयसमेत नदिई कुरा गर्ने गरेको गुनासो बढेपछि प्रदेश प्रहरी कार्यालयका हरेक युनिटले कसैले फोन गरेमा कार्यालयको नामसहित आफ्नो परिचय उल्लेख हुने गरी नागरिकलाई सेवा प्रवाह गर्न निर्देशन पनि त्यो सेवा सुरू भएको बताए ।
राईले लुम्बिनी प्रदेशभित्र प्रहरीबाट गरिने कार्य सम्पादन एवं सेवाप्रवाहसम्बन्धी गुनासो गर्न हटलाइन नम्बर, इमेल र फेसबुक पेजको व्यवस्था गरिएको जानकारी दिए । लुम्बिनीमा आफू बस्दाको समयमा भएका कामको सार्वजनिक गर्दै राई सोमबार दाङबाट बिदाई भएका छन् ।