- Advertisement -spot_img
Monday, March 20, 2023
Homebreaking-newsस्ववियु रौनक

स्ववियु रौनक

- Advertisement -spot_img


जीतसागर जी.एम.


लामो समयपछि विद्यार्थीले आफ्नो नेता छनौट गर्ने मौका आएको छ । करिब १५ वर्षपछि हुन लागेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेतृत्व छनौट गर्न विद्यार्थी आतुर छन् । अस्तव्यस्त रहेको शैक्षिक क्रियाकलाप सुधार गर्न चैत्र ५ गते स्ववियु निर्वाचन हुन लागेको छ । स्ववियू नेतृत्व आफ्नो पक्षमा पार्नका लागि अहिले विद्यार्थी नेतालाई दौडधुप छ । स्ववियु निर्वाचन र विद्यार्थी नेताको दौडधुप प्रदेश टुडेको नियमित स्तम्भ टुडे राउण्ड टेबलमा विद्यार्थी नेताको विचारलाई समेटेका छौं । – सम्पादक


अधिकारका लागि चुनावी मैदानमा

स्वतन्त्र विद्यार्थी युनियनको नेतृत्व लामो समयपछि चयन हुन लागेकोमा हामी खुसी छौँ । चैत ५ गते निर्वाचनको मिति पनि तोकिसकेको हुँदा अहिले निर्वाचनका गतिविधि पनि भइरहेका छन् । त्रिभुवन विश्वविद्यालयले स्ववियु निर्वाचन करिब १५ वर्षपछि गराउन लागेको हुँदा विद्यार्थीले नेतृत्व छनौट गर्न आतुर हुनुभएको छ । स्ववियु निर्वाचन लामो समयसम्म पनि नहुँदा विद्यार्थीका अधिकार धेरै कुण्ठित भएका छन् ।

अहिले हुन लागेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनलाई भव्य र सभ्यरूपमा सम्पन्न गर्ने गरी निर्वाचनका गतिविधि बढिरहेका छन् । नेपाल विद्यार्थी संघले अधिकतम ठाउँमा नेतृत्व प्राप्त गर्ने गरी आवश्यक तयारी गरिरहेको छ । समय थोरै भएपनि धेरै अपेक्षासहित काम भइरहेको छ । ‘राष्ट्रियता, गणतन्त्र, समाजवाद र विद्यार्थी एकता भन्ने उद्देश्यका साथ नेपाल विद्यार्थी संघले चुनावी गतिविधिलाई तिब्र बनाएको छ ।

नेपाल विद्यार्थी संघ देशको सबैभन्दा जेठो विद्यार्थी संघ हो । संघले नेपालका हरेक शैक्षिक आन्दोलनमा नेतृत्वकारी भूमिका निभाउँदै मैदानमा आएको छ । विद्यार्थीका हकअधिकार सुनिश्चित गराउन नेविसंघले खेलेको भूमिकालाई आमविद्यार्थी साथीहरूले मूल्यांकन पनि गरिरहनुभएको छ । करिब १५ वर्षपछि हुन लागेको स्ववियु निर्वाचनमा अधिकांश ठाउँमा नेविसंघले नेतृत्व पाउने छ भन्नेमा पनि ढुक्क छौँ ।

मैले दाङकै कुरा गर्दा पनि नेविसंघले जिल्लाभरीका सातवटा क्याम्पसमा उम्मेदवारी दिएको छ । अहिले हामी चुनावी मैदानमा छौँ । विद्यार्थीले आफ्नो नेता छनौट गर्ने मौका आएको छ । यसमा नेविसंघप्रति विद्यार्थीको विश्वास कम भएको छ भन्नेमा म विश्वस्त छु । नेपाल विद्यार्थी संघले हरेक समयमा शैक्षिक एजेण्डालाई प्राथमिकतामा राखेर काम गरिरहेको छ । यसर्थ पनि आमविद्यार्थी साथीहरू नेविसंघप्रतिको विश्वास र मायालाई कम गर्नुभएको छैन् ।

यसैलाई नै आत्मसात् गरेर अहिले हामी चुनावी मैदानमा छौँ । हामी चुनावकै समयमा सस्तो लोकप्रियताका लागि कार्यान्वयन नहुने मुद्दा लिएर भन्दा पनि अघिपछिको समयमा विद्यार्थी माग र समस्या केन्द्रित राजनीति गछौँ । नेविसंघले यसअघि नै हरेक कलेजमा सेनेटरी प्याड अनिवार्य हुनुपर्छ भनेर माग अघि राखिरहेको छ । हाम्रो मागबमोजिम अहिले घोराहीको महेन्द्र बहुमुखी क्याम्पसले काम गरिरहेको छ । महेन्द्र बहुमुखीबाटै सेनेटरी प्याड राख्ने कामको सुरूवात भएको छ ।

नेविसंघले शैक्षिक एजेन्डा, पुस्तक अन्दोलन, विद्यार्थीको समस्यालाई विभिन्न समयमा प्रत्यक्ष/अप्रत्यक्षरूपमा काम गरिरहेको छ । अहिले हामी स्ववियुको निर्वाचन हुँदै गर्दा भोटभन्दा पनि अधिकारी मागिरहेका छौँ । हाम्रा एजेन्डालाई अक्षरस पालना गराउनका लागि हामीले सोजेजस्तो नेतृत्व आउँछ भन्नेमा विश्वस्त छु । पछिल्लो समय गठबन्धन भएर चुनौती होला भन्ने तपाईको कुरा होला तर मलाई लाग्छ गठबन्धन एकप्रकारको रोगको रूपमा छ ।

काम केही नगर्ने तर चुनावको समयमा मिलेर खाने प्रवृत्ति नै गठबन्धन हो । तर हामी एक्लै पनि चुनावी मैदानमा छौँ । हामीलाई विश्वास छ, आमविद्यार्थी साथीले नेविसंघजस्तो पवित्र संगठनलाई विश्वास गर्नुहुन्छ । महेन्द बहुमुखी क्याम्पस, नेपाल संस्कृत विश्वविद्यालयमा हाम्रो पोजिसन एकमै छ । तालमेल गरेर जितिन्छ भन्ने भ्रममा नपरे हुन्छ । विद्यार्थीका हितमा हुनेगरी तल्लो लेबलबाटै गएका सुझावलाई बहन गर्न सक्ने नेतृत्व आजको आवश्यकता हो ।

शैक्षिक एजेन्डा लिएर यसअघि नै विद्यार्थीमाझ पुगीसकेका छौँ । अहिले निर्वाचनको समय पनि छोटो भएका कारण हामीले अहिले नै सबै कुरा भन्न सक्ने अवस्था छैन् । हामी अहिले चुनावी मैदानमै छौँ । मैले पनि नेविसंघमा पहिलोपटक जिम्मेवारी पाएको हुँ । लामो समयदेखि नेविसंघ चलाएमान हुन सकेन्, नयाँ भएका कारण काम गर्न सहज नभएपनि सकेसम्म आमविद्यार्थीको हकहितमा हुने काम गरिरहेको छ । केही दिनअघि लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण दाङमा भएको थियो । त्यसमा दुई हजार विद्यार्थी सहभागी भएका थिए । घोषणापत्र हरेक क्याम्पसमा विद्यार्थीले तयार पारेका छन् । केही दिनमै सार्वजनिक गछौँ ।


स्ववियु अस्तित्व बचाउने जिम्मेवारी

लामो समयपछि स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुन लागेको आमविद्यार्थीको चासो बढेको छ । दाङमा २०६५ सालदेखि स्ववियु निर्वाचन हुन सकेको छैन् । अहिले करिब १५ वर्षपछि स्ववियु निर्वाचन हुन लागेकोमा आम विद्यार्थी नेतृत्व छनौट गर्न आतुर छन् । २०६२÷२०६३ सालतिर जन्मिएका विद्यार्थीहरू अहिलेको निर्वाचनमा भोटर र उम्मेदवारको रूपमा उल्लासपूर्ण रूपमा आएका छन् । हामी अखिल क्रान्तिकारीले दाङका २५ वटै क्याम्पसमा उम्मेदवारी दर्ता प्रक्रियालाई अगाडि बढाईसकेका छौँ ।

सोमबारमात्रै पद्मोदय कलेज घोराहीमा सर्वसम्मत रूपमा बिष्णु गोराथोकी निर्वाचित भइसक्नुभएको छ भने अन्य क्याम्पसहरूमा आ–आफ्ना उम्मेदवारलाई अगाडि बढाएका छौँ । दाङका सामुदायिक तथा आंगिक क्याम्पसमा नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी, नेकपा एमाले निकटको अनेरास्ववियु र जनमोर्चा निकट अखिल छैठौँ गरी संयुक्त रूपमा अघि बढेका छौँ । समग्रमा भन्दा २०६५ सालभन्दा अघि उमेर हदबन्दी नहुँदा स्वतन्त्र विद्यार्थी युनियनको नेतृत्वमा अंकलहरू आउने प्रवृत्ति थियो । त्यो समस्या अहिले छैन् ।

अहिले नियमित विद्यार्थीहरू मात्रै भोटर र उम्मेदवार बनेका छन् । २८ वर्षे उमेर हदबन्दीकै कारण विद्यार्थीको साझा एजेण्डा आउन सक्ने उम्मेदवार आएका छन् । यसकै कारण फर्जि विद्यार्थी भर्ना हुने प्रवृत्ति पनि छैन् । खास उमेरका विद्यार्थीहरू निर्वाचनमा होमिएका छन् । खास उमेरका विद्यार्थी उम्मेदवार बनेका छन् । हामीले इतिहासलाई पल्टाएर हेर्दा खेरी २०६५ सालभन्दा अघि स्ववियु निर्वाचनमा झगडा हुने, लडाइँ हुने, तोडफोड हुने स्थिति हुन्थ्यो तर अहिले हामी सौभार्दपूर्ण वातावरणमा विद्यार्थी संगठनहरू आ–आफ्नो तरिकाले चुनावी मैदानमा होमिएका छन् । स्वस्थ प्रतिस्पर्धाबाट नेतृत्व छनौट हुँदैछ भन्ने कुरामा विश्वास दिलाउन चाहन्छु ।

अहिलेको स्ववियू निर्वाचन उल्लासपूर्ण वातावरणमा सम्पन्न हुँदैछ भन्ने कुरामा म विश्वस्त छु । हामीले दाङका १९ वटा क्याम्पसहरूमा सर्वसम्मत रूपमा नेतृत्व चयन गरेका छौँ । तीनवटै संगठन मिलेर हामीले स्वतन्त्र विद्यार्थी युनियनको अस्तित्वलाई बचाउन लागीरहेका छौँ । म आमविद्यार्थी साथीहरूलाई संयुक्त प्यानलका उम्मेदवारलाई निर्वाचित गराउन पनि आग्रह गर्दछु । हामीले विद्यार्थीको हकहितका लागि विगतदेखि नै निरन्तर लागिरहेका छौँ । केही कुराहरू सम्बन्धित क्याम्पसले सुनुवाई पनि गरेको छ ।

राष्ट्रिय रूपमा पनि विद्यार्थीका साझा मुद्दालाई अघि बढाइरहेका छौँ । स्ववियु विद्यार्थीको साझा मञ्च हो । स्ववियु नहुँदा क्याम्पस लथालिंग रूपमा सञ्चालनमा रहेका थिए । विद्यार्थीको हकहितका लागि आवाज उठाउने साझा संस्था स्ववियु नहुँदा देशमा राजनैतिक अस्थिरता पैदा भएको पनि देखिरहेका छौँ । स्ववियुका कारण दलीय व्यवस्थाप्रति आमविद्यार्थीले हेरेका हुन्छन् । स्ववियु नहुँदा विद्यार्थीमा राजनैतिक वितृष्णा पैदा भएको छ । स्ववियु नहुँदा कलेजहरूमा मनोमानी ढंगले विद्यार्थीको हित विपरीतका कार्यहरू गरेको पाइन्छ । यसलाई रोक्न पनि स्ववियुको आवश्यकता हो । आम हकअधिकारका कुरा, शैक्षिक सुधारका कुरा, विद्यार्थीले पाउनुपर्ने सम्पूर्ण राजनैतिक दायित्व स्ववियु नहुँदा पूर्ण हुन सकेको छैन् ।

विद्यार्थी संगठनहरू स्ववियुको अस्तित्व बचाउन लागि परेका छौँ । चैत ५ गतेको निर्वाचनबाट योग्य र सक्षम नेतृत्व छनौट गर्नुपर्छ भन्ने उद्देश्यका साथ लागिरहेका छौँ । त्यसै अनुसार तयारी गरेर अघि बढेका छौँ । हामी पराजित हुने मानसिकताले तालमेल गरेका हैनौँ । दाङमा जिल्लामा क्रियाशील विद्यार्थी संगठनहरूले १९ वटै कलेजमा स्ववियुको अस्तित्व बचाउने गरी नेतृत्व चयन गर्दैछौँ । केही कलेजमा भइसकेको छ । जो संग एजेण्डाहरू मिल्छन् । उसँगै सहकार्य गरेर अघि बढेका छौँ । तीनवटा संगठनबीचमा मात्रै होइन कि हामी सम्पूर्ण संगठनको बीचमा सहकार्य गरेर जाने सोच हो । स्ववियुको अस्तित्व बचाउन जिम्मेवार ढंगले प्रस्तुत भएका छौँ । सहमति र सहकार्यबाट नै हरेक कुरा सम्भव छ भन्ने सोचका साथ अघि बढेका छौँ ।


नेतृत्व छनौटमा विवेक प्रयोग गरौं

नेपाल विद्यार्थी संघ स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनकै लागि निरन्तर लागिरहेको छ । लामो समयपछि हुन लागेको स्ववियु निर्वाचनमा नतिजा जतिसक्दो धेरै पक्षमा पार्नका लागि संघले गतिविधि अघि बढाएको छ । हामी विद्यार्थीसँग निर्वाचनको समयमा मात्रै भन्दा पनि अन्य समयमा पनि भएको हुँदा नतिजा हाम्रो पक्षमा आउँदैन भन्नेमा कल्पना पनि गर्न सक्दैनौँ । करिब १५ वर्षपछि स्ववियु निर्वाचन हुन लागेको हुँदा अहिले विद्यार्थीलाई आफ्नो नेतृत्व छनौट गर्ने सुवर्ण मौका पनि आएको छ ।

विद्यार्थी जीवनबाट असल नेतृत्व छनौट गर्न सकियो भने भोलिको नेतृत्व देशले असल पाउँछ भन्ने हिसावले पनि स्वतन्त्र विद्यार्थी युनियनको चुनावको बढी महत्व छ । देशकै सबैभन्दा जेठो विद्यार्थी संगठन नेविसंघले अहिलेको स्ववियु निर्वाचनमा भिजन, योजना भएका नेतृत्वलाई उम्मेदवार बनाएको छ  । आमविद्यार्थी साथीको सहयोगले उहाँहरू नेतृत्वमा आउनुहुन्छ भन्नेमा विश्वस्त छौँ । हामीले निरन्तर विद्यार्थीको हकहितमा आवाजहरू बुलन्द गरिरहेका छौँ ।

आगामी दिनमा थप सशक्त आवाज बुलन्द गर्नका लागि अहिले नेविसंघका उम्मेदवारलाई चुनावी मैदानमा सफल बनाउन आमविद्यार्थी साथीहरूलाई पनि अनुरोध गर्दछु । चैत ५ गते हुने निर्वाचनमा नेविसंघका उम्मेदवारले जित हासिल गर्नका लागि सबैको साथ सहयोग आवश्यक छ । नेविसंघले विद्यार्थीको हकहितमा हुने गरी सम्बन्धित क्याम्पसका विद्यार्थीलाई नै आवश्यक माग, समस्यासहितको घोषणापत्र तयार गर्दैछ । त्यो घोषणापत्र जतिसक्दो छिटो सार्वजनिक हुनेछ भन्नेमा म यहाँलाई विश्वास दिलाउन चाहन्छु ।

विद्यार्थीका समस्यासँग हरेक समयमा नेविसंघ नजिक छ । यसकारण पनि नेविसंघका उम्मेदवारले स्ववियु निर्वाचनमा अधिकांश ठाउँमा जित हासिल गर्छन् भन्ने विश्वासमा छौँ । नेतृत्व छनौट गर्नमा विवेकता पु¥याउन आवश्यक छ । सानो गल्तीले भोलिको सुन्दर नेपाल निर्माणमा गम्भीर असर पर्न सक्छ । भोलिको नेतृत्वका लागि आज असल युवा कहाँ छन् भन्दा क्याम्पसमै छन् ।

क्याम्पसमा भएका असल युवा स्ववियु निर्वाचनमा निर्वाचित हुन्छन् । नेविसंघले सबैको साझा उम्मेदवारलाई अघि सारेको छ । नेतृत्वमा आएपछि सबैको साझा काम गर्ने उम्मेदवार कहाँ छन् त भन्दा नेपाल विद्यार्थी संघमा छन् । आमयुवा विद्यार्थीको साथ आवश्यक छ । उहाँहरूको एकमतले पनि नेतृत्व छनौटमा केही समस्या आउँछ । यसकारण पनि नेतृत्व छनौटमा ध्यान दिन विद्यार्थी साथीहरूलाई आग्रह गर्दछु ।

नेपालको विद्यार्थी आन्दोलनको मेरूदण्ड र अविछिन्न उत्तराधिकारी संस्था भनेको स्वतन्त्र विद्यार्थी युनियन नै हो । स्ववियु राष्ट्रियताका पहरेदारहरू, लोकतन्त्रका सेनानीहरू र जनजीविकाका पक्षमा बागी विचार ओकल्ने योद्धाहरू जन्माउने कारखाना हो । स्ववियु विद्यार्थी हकहित र शैक्षिक रूपान्तरणको पनि मूल अभियन्ता हो । तर पछिल्लो कालखण्डमा विभिन्न कारणले स्ववियु कमजोर बन्दै गएको छ । वि.सं.२०६५ सालमा देशब्यापी रूपमा सबैतिर स्ववियु निर्वाचन भएको थियो ।

त्यसपछि पटक–पटक चुनाव घोषणा हुने र अन्त्यमा स्थगित हुने क्रम चलिरह्यो । गतवर्ष नै हुनुपर्ने निर्वाचन पनि विविध कारणले हुन सकेन । अहिले चैत ५ गते निर्वाचन हुने भएपछि आमविद्यार्थी नेतृत्व छनौट गर्न आतुर भएका छन् । लामो समयदेखि हुन नसकेको स्ववियु निर्वाचन यसपटक हुन लागेकोमा विद्यार्थीले नेतृत्व छनौटमा ध्यान दिनुहुने छ । नेविसंघले विगतदेखि उठाउँदै आएका माग र समाधानमा आमविद्यार्थीले नियाल्नुभएको छ । यसकारण पनि अधिकांश ठाउँमा नेविसंघको नेतृत्वले जित हासिल गर्नेछ भन्नेमा विश्वस्त छौँ ।


विद्यार्थीको गौरव, स्ववियु निर्वाचन

लामो समयपछि हामी स्वतन्त्र विद्यार्थी युनियनको नयाँ नेतृत्व छनौट गर्दैछौँ । करिब १५ वर्षपछि हुन लागेको निर्वाचनप्रति हामी उत्साहित छौँ । देशको मूख्य बागडोर सम्हाल्ने नेतृत्व उत्पादन गर्ने थलो हो स्वतन्त्र विद्यार्थी युनियन । त्यसकारण पनि स्ववियुको असल, योग्य नेतृत्व छनौट गर्नका लागि हामी उत्साहित छौँ । चैत्र ५ गतेको मिति नजिकिदै गर्दा अनेरास्ववियू दाङले मिसन चैत्र ५ भनेर आफ्ना योजना विद्यार्थीमाझ लगिरहेको छ ।

दाङका महेन्द्र बहुमुखी क्याम्पस, राप्ती बबई क्याम्पस र जनता क्याम्पस देउखुरीमा हामीले केही विद्यार्थी संगठनसँग सहकार्य गरेर अघि बढेका छौँ । अनेरास्ववियु विप्लवलगायतका विद्यार्थीसँग सहकार्य गरेर स्ववियुलाई विद्यार्थीको हकहितमा लड्ने सशक्त नेतृत्व छनौट गर्ने तयारीमा व्यापक जुटेका छौँ । यो सरकारी क्याम्पसको कुरा हो भने निजी क्याम्पसमा सहमतिकै सबै विद्यार्थी संगठनबीच सहमति एकताकै आधारमा स्ववियु नेतृत्व छनौट गरिरहेका छौँ ।

स्ववियु निर्वाचन विद्यार्थी संगठनहरूका लागि आफ्नो राजनीतिक आधार मजबुत बनाउने र प्रभाव देखाउने अवसरमा रूपमा रहदै आएको छ । करिब १४ वर्षदेखि अधिकांश क्याम्पसमा निस्कृय स्ववियु पुनः ब्युँतिने तर्खरमा छ । त्यसैले पनि हामी विद्यार्थी नेतृत्व छनौट गर्न आतुर छौँ । त्रिभुवन विश्वविद्यालयले चैत ५ गते स्ववियु चुनाव गराउने भएकोले विद्यार्थीहरूमा उर्जा आएको छ ।

विद्यार्थी र विश्वविद्यालयको पुलको रूपमा स्थापित स्ववियु ‘रिभाइभ’ हुने आशले क्याम्पसहरूको माहोल तात्तिएको छ । विगतका कमजोरीलाई सच्याएर सार्थक प्रयत्न गर्न आवश्यक छ । शिथिल अवस्थामा रहेको विद्यार्थी आन्दोलनलाई पुनर्जागरण गराउने इमान्दार प्रयास थाल्न जरूरी छ । बुझेकालाई नैतिक तागत जुटाइ विश्वासमा लिएर र नबुझेकालाई स्ववियुको महत्व बुझाएर अघि बढ्नु नै आजको हाम्रो दायित्व हो ।

हामीले उठाउनुपर्ने मुद्दाहरू धेरै छन् । सबैभन्दा प्रमुख मुद्दा शिक्षा क्षेत्रमा हाबी भएको निजीकरण र कमजोर सरकारी विद्यालयको अवस्था सुधारमा केन्द्रित हुन आवश्यक छ । वर्गको आधारमा शिक्षाको गुणस्तर छुट्टिने अवस्था तत्काल अन्त्य नहुने हो भने समाज अर्को विभेदको खाडलमा फस्ने निश्चित देखिन्छ ।

त्यसैले पैसा हुनेले निजीमा राम्रो शिक्षा लिँदा गरिब सरकारीमा ‘कमसल’ शिक्षा लिन बाध्य हुनुपर्ने अवस्था अन्त्यको लागि सार्वजनिक शिक्षा सुधारका मुद्दा हामी केन्द्रित छौँ । आउँदो स्ववियु निर्वाचन हरेक विद्यार्थीको लागि महत्वपूर्ण मौका हो । विद्यार्थी राजनीति सफा भए जस्तोसुकै परिवर्तन पनि यसले गर्नसक्छ भन्ने उदाहरण हाम्रै विगतबाट लिन सक्छौँ । केबल दलका स्वार्थ बोकेर क्याम्पसभित्र पौँठेजोरी खेल्ने र स्ववियुका मञ्चहरू निष्प्रभावी बनाउने तत्वहरूलाई परास्त गर्नुपर्छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here