दाङ, २९ फागुन ।
एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसिएमसी) ले सेवा प्रभावकारी बनाएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत रहेको ओसिएमसीले बितेको आठ महिनामा एक सय ६७ हिंसापीडितलाई उपचार तथा मनोपरामर्श सेवा उपलव्ध गराएको हो ।
फागुन महिनाको अन्तिमसम्म ओसिएमसीले सबैभन्दा धेरै यौनजन्य हिंसामा परेकाहरूलाई उपचार तथा परामर्श सेवा दिएको छ । बलात्कारका ४७, यौन दुव्र्यवहारका १३ र शारीरिक दुव्र्यवहारका ५८ जनालाई सेवा दिएको ओसिएमसी संयोजक डा. विभूति शर्माले जानकारी दिए ।
यस्तै बालविवाह तथा जबरजस्ती विवाहका १२, स्रोत साधन र अधिकारबाट बञ्चित भएका चार, मानसिक दुव्र्यवहारका ३१ र अन्य दुई गरी एक सय ६७ जना हिंसापीडितहरूलाई उपचार, मनोपरामर्शलगायतका सेवा उनको भनाइ छ ।
ओसिएमसीले हिंसापीडितहरू ९७ जनाको शारीरिक परीक्षण, २४ जनाको गर्भ परीक्षण, २२ जनाको अन्य उपचार सेवा, एक सय ४६ जनालाई मनोसामाजिक परामर्श, ३४ जनालाई मानसिक रोगको उपचार, पाँचजनालाई सुरक्षीत गर्भपतन सेवा दिएको छ ।
दुई जनाको यौन रोगको उपचार, १६ जनालाई आकस्मिक गर्भनिरोधक सेवा, ३१ जनालाई घाउ तथा चोटपटकको उपचार, ४८ जनाको एचआइभी स्वेच्छिक परामर्श, ६२ जनाको चिकित्साजन्य कानुनी परीक्षणलगायत सेवा उपलव्ध गराएको डा. शर्माले जानकारी दिए ।
ओसिएमसीले सबैभन्दा धेरै १९ देखि ४९ वर्ष उमेर समूहका पीडितलाई सेवा दिएको छ । १९–४९ वर्ष उमेर समूहका ९१, १५–१८ वर्ष उमेर समूहका ३५, १४ वर्षसम्मका ३१, ५० देखि ६० वर्ष उमेर समूहका सात र ६० वर्षमाथिका तीनजना पीडितले सेवा लिएका छन् ।
यीमध्ये दुई पुरूष र एक सय ६५ जना महिला छन् । त्यसैगरी हिंसामा परेकामध्ये सबैभन्दा धेरै ७७ जना जनजाति समुदायका छन् । त्यसपछि ब्राम्हण क्षेत्री ४२, दलित ३८, मुस्लिम दुई र अन्य सातजनाले सेवा लिएको ओसिमएसीले जनाएको छ ।