दुख हरण यादव
गढवा, २९ फागुन ।
गढवा गाउँपालिकाको स्थापना दिवसको अवसरमा पालिकास्तरीय खेलकुद प्रतियोगिताको शनिबार उद्घाटन गरिएको छ । गढवा गाउँपालिकाको अध्यक्ष यम नारायण पोख्रेलको सभाध्यक्षता र लुम्बिनी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्री इन्द्रजित चौधरीको प्रमुख आथित्य र लुम्बिनी विकास प्राधिकरणका प्रमुख छविराज पोख्रेलको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रमको उद्घाटन सभाध्यक्ष यम नारायण पोख्रेलको बल प्रहार र प्रमुख अतिथि इन्द्रजित चौधरीको गोल पोस्टको गोलरक्षक बनेर गरिएको थियो ।
कार्यक्रममा शुभकामना मन्तव्य दिदै प्रमुख अतिथि इन्द्रजित चौधरीले गढवा गाउँपालिकाले देउखुरीको चारवटै पालिकालाई समेटेर आयोजना गरेको अन्तरपालिकास्तरीय खेलकुदबाट देउखुरीको एकता, मित्रता र समग्र देउखुरीको विकासको लागि आपसी समन्वय कायम हुने बताउँदै यस प्रतियोगितामा सबै खेलाडीले खेलको मर्म तथा अनुशासन अनुसार खेल खेल्न सुझाव दिए ।
त्यसैगरी लुम्बिनी विकास प्राधिकरण प्रमुख छविराज पोख्रेलले यस खेलकुद प्रतियोगिताबाट अनुशासनको महत्वका साथै देउखुरीका चारवटै पालिकाबीच अन्तर्सम्बन्ध सुमधुर हुने बताए । कार्यक्रममा देउखुरी सामुदायिक पुस्तकालयकी ओभा पाठक, जनता माध्यमिक विद्यालयका रामसुरत यादव, नेपाल रेडक्रस सोसाइटी गढवाका सभापति दयाराम यादव, बड्कापथ सिचाइँ आयोजनाका रघुनन्दन चौधरी, गढवा गाउँपालिका वडा नं. ६ का अध्यक्ष वीरबहादुर आले, नेपाली कांग्रेसका हुकुमराज यादव, राष्ट्रिय जनमोर्चाका कपिलदेव खनाललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
गढवा गाउँपालिकाकी उपाध्यक्ष शारदा चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण गढवा गाउँपालिकाका शिक्षा शाखा प्रमुख श्याम विश्वकर्माले गरेका थिए ।
यसैबीच गढवा गाउँपालिकाको स्थापना दिवसको अवसरमा देउखुरीको गढवामा आयोजित गढवा गाउँपालिका र राजपुर गाउँपालिकाबीच भएको प्रथम खेल मा गढवा गाउँपालिकाले जित निकालेको छ । गढवाको जनता माध्यमिक विद्यालयको खेल मैदानमा भएको खेलमा गढवा गाउँपालिकाले राजपुर गाउँपालिकालाई ०–३ गोल गर्दै जित निकालेको हो ।
खेलको सुरुवातदेखि नै दबाब बनाएको गढवा गाउँपालिकाले पहिलो हाफमा १ गोल गर्दै अग्रता कायम गरेको थियो । राजपुर गाउँपालिकाको ह्याण्ड टचबाट पेनाल्टी पाएको गढवा गाउँपालिकाले प्रमुख प्रशासकीय अधिकृतको पेनाल्टी शुटबाट गोल गर्दै राजपुर गाउँपालिका माथि हाबी भएको थियो ।
खेलको मध्याह्नपछि राजपुर गाउँपालिकाले रणनीतिक योजनासहित लयमा फर्किने प्रयास गरेपनि गढवा गाउँपालिकाका शम्भु चौधरीको पासिङ टेक्निकले थप २ गोल गरेपछि गढवा गाउँपालिका निर्धारित समयमा ०–३ गोल गर्दै पहिलो खेलमा जित निकालेको हो ।