Friday, March 29, 2024
Homebreaking-newsबहुलाखोलामा अनाधिकृत उत्खनन

बहुलाखोलामा अनाधिकृत उत्खनन

- Advertisement -spot_img


जीतसागर जी.एम.
दाङ, २८ फागुन ।
ठेक्का सम्झौता गरेको झण्डै ५÷७ मिटर तलदेखि नै उत्खनन भइरहेको छ । खोलाभरी गहिरा खाल्डा पारिएका छन् । ढुङ्गा, गिट्टी उत्खननमा ठूला मेसिन प्रयोग भएका छन् । अनाधिकृत नदीजनय वस्तुको उत्खनन गरिदा कतिपय स्थानमा भैसी नै आल बस्ने खालको खाल्डाहरू पोखरीसमेत निर्माण भएका छन् ।

शान्तिनगर गाउँपालिकामा पर्ने बहुलाखोलामा अहिले यस्तै अवस्था रहेको छ । पालिकाले विष्णुपुर घाटको ३ सय ६० मिटर तलमाथिको उत्खननको ठेक्का लगाइएको छ, तर ठेक्का लिएको कम्पनीले अनाधिकृत रूपमा जथाभावी उत्खनन गरिरहेको छ । बहुलाखोलाका अन्य दुई घाटमा अहिले उत्खनन भएको छ । भने केही दिनदेखि उत्खनन गरेर बनेका खाल्डलहरू पुरिने क्रम चलेको छ ।

शान्तिनगरको बहुला खोलामा गाउँपालिकाले सनलाईट निर्माण सेवासँग २० लाख राजस्व लिएर एउटा (विष्णुपुर) घाटको सम्झौता गरेको छ । निश्चित क्षेत्र तोकेर सम्झौता गरिए पनि बहुलाखोलामा जथाभावी रूपमा उत्खनन गरेको देखिएको छ । गाउँपालिकाले उत्तरमा खिलतपुर जाने सडक, पूर्वमा जंगपुर, पश्चिममा रातापौरा र दक्षिणमा बाघढुईघाटको बिचभागलाई आधार मानेर ठेक्का दिएपनि जथाभावी उत्खनन भएको छ ।

गाउँपाालिकाले वडा नम्बर २ मा पर्ने ठाउँमा ठेक्का दिएपनि वडा नम्बर ५ बाट पनि नदीजन्य पदार्थको उत्खनन भएको पाइएपछि अहिले ठेकेदार कम्पनी सनलाईटलाई नदीजन्य पदार्थको उत्खननमा रोक लगाईएको छ । बहुलाखोलामा जथाभावी रूपमा उत्खनन भएको पाइएपछि तत्काललाई उत्खननमा रोक लगाईएको शान्तिनगर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्ली खड्काले बताए ।

‘ठेक्का लागेको ठाउँभन्दा अन्य ठाउँमा उत्खनन भएको पाइएपछि अहिले तत्कालालाई रोक लगाइएको छ’ उनले भने– ‘गहिराई मापदण्डमा छ कि छैन्, नापजाँच गर्न बाँकी रहेको छ ।’ उनले अनुगमनका लागि जिल्ला समन्वय समिति र प्रशासनलाई जानकारी गराईसकेको बताए । ‘अनुगमन र नापजाँचका लागि प्रशासन र समन्वय समितिलाई जानकारी गराएका छौँ’ उनले भने– ‘नाप जाँच र अनुगमनमा समस्या देखिएपछि छानबिन गरी अघि बढ्छौँ ।’

उनका अनुसार गाउँपालिकाले अहिलेसम्म दुई ठाउँमा मात्रै नदीजन्य पदार्थको उत्खननको अनुमति दिएको छ । वडा नम्बर २ को बहुलाखोला र बबई नदीमा दुई कम्पनीलाई नदीजन्य पदार्थको उत्खननका लागि अनुमति दिएको प्रमुख प्रशासकीय अधिकृत खड्काले बताए ।

‘नदीजन्य पदार्थ उत्खनन गर्ने दुई कम्पनीलाई दुई ठाउँमा दिएका छौँ’ उनले भने– ‘बबई नदीमा उत्खनन् चलिरहेको छ भने बहुलाखोलामा अहिले स्थगित गरिएको छ ।’ प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले बहुलाखोलामा जथाभावी रूपमा उत्खनन् भएको जानकारीमा आएको बताए ।

उनले अबको १÷२ दिनभित्रै अनुगमन गरिने बताए । ‘जिल्लाका सबै नदी तथा खोलामा भइरहेको उत्खननबारे अनुगमनमा निस्केका छौँ’ उनले भने– ‘शान्तिनगरको पनि हामीलाई जानकारीमा आएको छ, १÷२ दिनभित्रमा त्यहाँ पनि पुग्छौँ ।’ उनले नदीजन्य पदार्थको अवैध उत्खनन बढ्दै गएको बताए । ‘हामीहरू शुक्रबार राजपुर गाउँपालिका र गढवा गाउँपालिकामा पर्ने राप्ती नदीमा पनि अनुगमन गरेका थियौँ’ उनले भने–‘ति ठाउँहरूमा पनि जथाभावी रूपमा उत्खनन भएको पाइएको छ ।’

खोला तथा नदीमा नदीजन्य पदार्थको चोरी निकासी हुँदा पनि प्रशासनले अनुगमनमा औपचारिकता पूरा मात्रै गरेको देखिएको छ । अनुगमन हुने तर कारवाही नहुने गरेको बिगतदेखि नै हुने गरेको छ । प्रशासनकै मिलेमतोमा नदीजन्य पदार्थको उत्खनन हुने गरेको स्थानीयको आरोप छ ।

शान्तिनगरको बहुलाखोलामा पनि जथाभावी उत्खनन हुँदा पनि प्रशासन र स्थानीय पालिका मौन रहेको स्थानीय बताउँछन् । ‘खोलामा दिउँसोमा भन्दा रातको समयमा ट्याक्टर, टिप्परहरू हुन्छन्’ एक स्थानीयले भने– ‘हामीहरूले विरोध जनाउँदा, प्रहरीलाई खबर गर्दा पनि सुनेको नसुनै गरेको पाउँछौँ ।’

जथाभावी रूपमा ढुंगा, गिट्टीको उत्खनन हुँदा पनि स्थानीय सरकारले चासो नदिएको उनको आरोप छ । शान्तिनगर–२ का वडा अध्यक्ष सुनिल वलीले ठेक्का लागेको ठाउँभन्दा बाहिरबाट उत्खनन भएको बताए । ‘मापदण्डभन्दा बाहिर गएर उत्खनन भएको छ’ उनले भने– ‘उत्खनन गर्नुपर्ने नीति पनि पालना भएको छैन्, ठेक्का लागेको भन्दा अर्को ठाउँबाट पनि उत्खनन भएको छ ।’

शान्तिनगर गाउँपालिका नेपाली कांग्रेसका सभापति झलक केसीले बहुलाखोलामा भएको अनाधिकृत र अवैध उत्खननको विषयलाई पार्टीले गम्भीर रूपमा लिएको बताए । उनले उत्खननको वस्तुस्थिति हेरि वास्तविकता सार्वजनिक गर्ने तयारीमा रहेको बताए । बदमासी भएको देखिन्छ, हामी केही दिनमै अध्ययनको प्रतिवेदन सार्वजनिक गर्दै छौ उनले भने ।

ठेकेदार गोविन्द बस्नेतले आफूहरूले मापदण्डभन्दा बाहिर उत्खनन नगरेको दाबी गरेका छन् । प्रदेश टुडे दैनिकसँगको कुराकानीमा उनले ठेक्का लागेको ठाउँभन्दा बाहिरबाट नदीजन्य पदार्थ उत्खनन नगरेको दाबी गरे । ‘अहिले उत्खनन पनि रोकिएको छ’ उनले भने– ‘यसको सबै वास्तविकता अनुगमन भएपछि आउने छ, मैले केही भनेन् ।’ जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्माले बहुलाखोलामा जथाभावी उत्खनन भएको विषयमा तत्काल अनुगमन गरिने बताए ।

‘हामी तत्काल अनुगमनमा जाँदैछौँ’ उनले भने– ‘यसका लागि प्रशासनसँग समन्वय भइरहेको छ ।’ नदीजन्य पदार्थ पदार्थको अवैध उत्खनन रोकिन सकेको छैन् । स्थानीय सरकारलाई नियमन गर्ने अधिकार आएपनि दाङका खोला तथा नदीमा जथाभावी उत्खनन हुने गरेको छ । खोला तथा नदीमा स्थानीय सरकारले नदीजन्य पदार्थको टेण्डरमार्फत वैध उत्खनन गर्न ठेकेदारलाई दिएपनि जथाभावी उत्खनन रोकिन सकेको छैन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here