काठमाडौँ, २८ फागुन ।
उपराष्ट्रपति पदमा चारजनाको उम्मेदवारी दर्ता भएको छ । जसमा आठ दलीय गठबन्धनको तर्फबाट एकल उम्मेदवार नभएपछि तीनजनाको उम्मेदवारी परेको छ । गठबन्धनमा रहेको जनता समाजवादी पार्टी (जसपा)बाटै दुईजनाको उम्मेदवारी परेको छ । उम्मेदवारी खारेज हुनसक्ने अवस्था भएकाले दुई उम्मेदवार रहेका बताइएको छ ।
जसपाबाट नेतृ प्रमिला यादव र नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी परेको छ । यस्तै, नेकपा (एमाले) बाट अष्टलक्ष्मी शाक्यले उम्मेदवारी दिएकी छन्् भने जनमत पार्टीबाट ममता झाले उम्मेदवारी दर्ता गरेकी छन् । राष्ट्रपति चुनावमा एकमत देखिएको आठ दलीय गठबन्धन उपराष्ट्रपति चुनावमा भने एक भएनन् ।
निर्वाचन आयोगको निर्णय र प्रमुख निर्वाचन आयुक्तको अभिव्यक्तिले गठबन्धन सशंकित देखिएको छ । उपराष्ट्रपति निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारी दर्ताको समय शनिबार बिहान ९ बजेदेखि २ बजेसम्म तोकेको थियो । निर्वाचन भने चैत्र ३ गते हुनेछ ।
एमाले उम्मेदवार शाक्यको प्रस्तावकमा केपी शर्मा ओली, सुवास नेम्वाङ, छविलाल विश्वकर्मा, गोकर्ण विष्ट र रघुवीर महासेठ रहेका छन् । समर्थकमा भने कृष्णगोपाल श्रेष्ठ, महेश बर्ताैला, तुलसा दाहाल, भगवती न्यौपाने र यशोदा रिजाल रहेका छन् ।
उम्मेदवारी दर्तापछि एमाले अध्यक्ष ओलीले एमालेको उम्मेदवार सक्षम रहेको प्रतिक्रिया दिए । उम्मेदवारी दर्तापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै शाक्यले लोकतन्त्रलाई सुदृढ बनाउनका लागि आफूले उमेदवारी दर्ता गराएको बताइन् । उनले आफूलाई सबैको सहयोग हुने बताइन् ।
गठबन्धनका तर्फबाट उपराष्ट्रपति पदमा उम्मेदवारी दिएका यादवको प्रस्तावका अशोककुमार राई, प्रदीप यादव, किशान श्रेष्ठ, शक्ति बस्नेत, रमेशजंग रायमाझी छन् भने समर्थकमा रेखा यादव, अम्बिका काफ्ले, प्रकाश ज्वाला, खिमलाल देवकोटा, भानुभक्त जोशी रहेका छन् ।
जसपाबाटै उम्मेदवारी दिएकी प्रमिला कुमारीको प्रस्तावकमा रन्जु झा, मृगेन्द्रकुमार सिंह यादव, नवलकिशोर शाह, दीपक कार्की, राजकिशोर यादव र समर्थकमा अनिता देवकोटा, विमला सुवेदी, सीता गुरूङ, जयन्ती राई, मनिष सुमन रहेका छन् ।
जनमत पार्टीबाट ममता झाको प्रस्तावकमा अब्दुल खान, अनिता देवी, गंगाराम चौधरी, अविराम शर्मा, रूपाकुमारी यादव रहेका छन् भने समर्थकमा गोमालाम सापकोटा, विनिताकुमारी सिंह, वसन्तकुमार कुशवाह, रामप्रकाश चौधरी, रानीकुमारी तिवारी रहेका छन् ।
राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल खसआर्य समावेशी समूहका उम्मेदवार निर्वाचित भएकाले उपराष्ट्रपतिमा त्योभन्दा फरक लिङ्ग वा समुदायको व्यक्ति हुनुपर्ने निर्वाचन आयोगले जनाएको छ ।
उपराष्ट्रपतिको निर्वाचन संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रिय सभा) र प्रदेश सभाका सदस्य मतदाता रहेको निर्वाचक मण्डलबाट हुनेछ । उपराष्ट्रपति निर्वाचनमा मतदाताको सख्या सघीय संसद्तर्फ ३३२ र प्रदेश सभा सदस्य ५५० गरी कूल ८८२ कायम छ । संघीय सांसदको मतभार ७९ र प्रदेश सभा सदस्यको मतभार ४८ छ ।