- Advertisement -spot_img
Wednesday, June 7, 2023
Homebreaking-newsगिट्टीले महल उठ्यो, जीवन उठेन

गिट्टीले महल उठ्यो, जीवन उठेन

- Advertisement -spot_img


उमा भण्डारी
दाङ, २५ फागुन ।
टन्टलापुर घाम । पसिना बगेको छ । हातमा हतौडाले गिट्टी कुट्दै दिन बिताउँछिन कमला सिंजाली । तुलसीपुर–६ शान्ति टोलका सिंजालीले करिब १० वर्षदेखि गिट्टी कुटिरहेकी छन् । उनलाई एक ट्याक्टर गिट्टी बनाउन करिब एक महिना लाग्छ । तर एक ट्याक्टर गिट्टी बनाएपछि उनको हातमा दुई हजारमात्र आउँछ ।

पेशाको विकल्प नभएपछि गिट्टी कुटेर भएपनि गुजारा चलाउनुपरेको उनी बताउँछिन् । ‘१०/१२ वर्ष अघिदेखि गिट्टी कुटिरहेको छु’ उनले भनिन्– ‘गिट्टीले उचित मूल्य पाउँदैन्, दुई हजारमा प्रतिट्याक्टर बिक्री गर्दा पनि कतिपयले ठग्ने गरेका छन् ।’ गिट्टी कुटेर जीविकोपार्जन त भइरहेको भएपनि गिट्टी कुट्नका लागि आवश्यक कच्चापदार्थ पाउन पनि मुस्किल छ ।

खोलामा ढुंगा उठाउन नपाउँदा गिट्टी कुट्न पनि सहज छैन् । गिट्टी कुट्ने महिलालाई नगरपालिकाले नै दुःख दिने गरेको उनी बताउँछिन् । ‘बजारमा ठेलामा पनि व्यापार गर्न पाउँदैनौँ, गिट्टी कुट्न पनि ढुंगा निकाल्न पाउँदैनौँ, कसरी चलाउने हो त गुजारा ?’

फुलमाया नेपालीले कुटेका गिट्टीले धेरैले महल बनाए । तर उनले आफै बस्ने गतिलो घरसमेत बनाउन सकेकी छैनन् । पातुखोला किनारामा गिट्टी कुटेर दैनिकी जोहो गरिरहेकी उनी पछिल्लो समय शारीरिक रूपमा अशक्त छिन् । मोटरसाईकलको ठक्करबाट खुट्टामा गम्भिर चोट लागेपछि उनले गिट्टी पनि कुट्न पाएकी छैनन् । गिट्टी कुट्न छोडेपछि दैनिकी चलाउनै हम्मे–हम्मे भएको छ ।

‘गिट्टी कुटेर दैनिकी चलाएको थिएँ, श्रीमान पनि साथमै थिए’ उनले भनिन्– ‘खुट्टाले नसक्ने भएपनि श्रीमान्ले पनि छोडेर गए, अहिले दुई छोरीलाई जेनतेन गिट्टी कुटेर गुजारा चलाएको छु ।’ गिट्टीले मूल्य नपाउँदा धेरै दुःख गरेर पनि थोरै आम्दानी हुने गरेको उनी बताउँछिन् । ‘दैनिकी चलाउने विकल्प गिट्टी कुट्नुभन्दा अरू छैन्’ उनले भनिन्– ‘गिट्टीले पनि मूल्य नपाउँदा अब दैनिकी कसरी चलाउने होला ?’

क्रसर उद्योगले एक ट्याक्टर गिट्टी ४ हजार ५ सयमा बिक्री गर्दा हातले कुटेका गिट्टीको मूल्य प्रतिट्याक्टर दुई हजार मात्रै छ । करिब ६÷७ वर्ष अघिदेखि एउटै मूल्यमा गिट्टी बिक्री गरिरहेकी राजकुमारी चौधरीले लामो समयदेखि गिट्टीको मूल्य बढ्न नसकेको बताइन् । ‘क्रसर उद्योगले प्रतिट्याक्टर ४ हजार ५ सयमा बिक्री गर्छन्’ उनले भनिन्– ‘तर हामीले दुई हजारमा प्रतिट्याक्टर बेच्न बाध्य छौँ ।’

स्थानीय सरकारले कम्तिमा पनि गिट्टीको मूल्य निर्धारण गर्न सकेपछि थोरै भएपनि राहतको महसुस गर्ने उनले बताइन् । ‘स्थानीय सरकारले मूल्य निर्धारण गरिदिनुपर्छ’ उनले भनिन्– ‘गिट्टी कुट्ने महिलाको आवाज सुनिदिने कोहि छैन् जस्तो लाग्छ ।’

तुलसीपुर–५ का ५५ वर्षिय सुशील नेपाली पनि पातुखोला किनारामा गिट्टी कुट्छिन् । तर पछिल्लो केही दिनयता शारीरिक रूपमा अस्वस्थ भएपछि उनले गिट्टीसमेत कुट्न पाएकी छैनन् । गिट्टी कुट्न नपाएपछि दैनिकी चलाउन पनि समस्या भएको उनले बताइन् । नेपालको संविधानमा मौलिक हकअन्तर्गत धारा ३८ मा महिलाको हकको व्यवस्था गरेको छ ।

संविधानमा समान कामको समान ज्याला पाउनुपर्ने व्यवस्था भएपनि गिट्टी कुटेर गुजारा चलाउनेहरू अझै पनि मूल्यहिन छन् । सरकारले गिट्टी कुट्ने महिलाका लागि आवश्यक सामग्रीको व्यवस्थापन गर्नुपर्ने महिला अधिकारकर्मी शुष्मा गिरी बताउँछिन् । ‘सरकारले कम्तिमा पनि गिट्टी कुट्ने महिलाका लागि छुट्टै ठाउँ तोकिदिने, आवश्यक पूर्वाधारको व्यवस्था गरिदिनुपर्छ’ उनले भनिन्– ‘गिट्टी कुट्ने सामग्रीको पनि व्यवस्था गर्नुपर्छ ।’

स्थानीय सरकारसँग गिट्टी कुट्ने महिला कति छन्, एकिन तथ्यांक छैन् । तर अधिकांश खोला किनारामा गिट्टी कुटेर दैनिक चलाउने महिलाहरू धेरै छन् । लामो समयदेखि गिट्टीको उचित मूल्य नपाउँदा महिलाहरू मारमा छन् । तुलसीपुर उपमहानगरपालिकाका नगर उपप्रमुख स्यानी चौधरीले गिट्टीले उचित मूल्य पाउनुपर्ने बताउँछिन् ।

यसैबीच मानवअधिकार तथा शान्ति समाज दाङले गिट्टी कुट्ने महिलासँगै अन्तर्राष्ट्रिय महिला दिवस मनाएको छ । समाजले तुलसीपुर–६ पातुखोला किनारामा गिट्टी कुट्ने श्रमिक महिलासँग ११३औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाएको हो । दाङ शाखा सभापति नवीन कुमार पोखरेलको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका उपप्रमुख स्यानी चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

उपप्रमुख चौधरीले महिला शिक्षित भएमात्रै समाज रूपान्तरण हुने बताइन् । उनले नगरले आमाबुबा शिक्षा कार्यक्रम सञ्चालन गर्न लागेको बताइन् । ‘आमाबुबा शिक्षा कार्यक्रममा सहभागी हुनुहोस्, त्यसबाट प्राप्त गरेको शिक्षाले जीवन जिउन थोरै भएपनि सहज बनाउँछ’ उनले भनिन्– ‘सबै जनालाई शिक्षित बनाउने उद्देश्य राखेका छौँ ।’

महिला दिवसमा श्रमिक महिलालाई सम्मान
दाङमा महिला दिवसको अवसरमा श्रमिक महिलालाई सम्मान गरिएको छ । जिल्लाको तुलसीपुर उपमहानगर–पालिकाले महिला दिवसका अवसरमा श्रमिक महिलाहरूलाई सम्मान गरेको हो । एकजना महिला उद्यमीसहित सातजना श्रमिक महिलाहरूलाई सम्मान गरिएको छ ।

तुलसीपुर क्षेत्रमा रहेर ज्याला मजदुरी र मिस्त्रीको काम गर्दै आएका महिला श्रमिकहरूलाई उपमहानगरपालिकाले नगदसहित सम्मान गरेको हो । ११३औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर विभिन्न क्षेत्रमा श्रमिकको रूपमा काम गर्दै आएका सातजना महिलाहरूलाई सम्मान गरिएको उपमहानगरको महिला बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख माया श्रेष्ठले बताइन् । ‘लैंगिक समानताको बलियो आधारः सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार’ नारासहित बुधवार महिला दिवस मनाइएको छ ।

कार्यक्रममा सफल उद्यमी तुलसीपुर–५ की शारदा अधिकारी, ज्याला मजदुरीको काम गर्दै आएका तुलसीपुर–१३ कि तुलसी हमाल खड्का, तुलसीपुर–६ बस्ने राधा विक, तुलसीपुर–९ बस्ने शुष्मा केसी, तुलसीपुर–७ की शिला चौधरीलाई नगदसहित सम्मान गरिएको हो ।

लामो समयदेखि मिस्त्रीको काम गर्दै आएकी तुलसीपुर–७ कि लिला चौधरीले आर्थिक अभावका कारण आफूलाई व्यावसायिक बनाउन नसकेको बताइन् । अवसर पाएमा महिलाहरू पुरूष सरहको काम गर्न सक्ने भन्दै उनले समान सहभागिता, पेशागत सुरक्षा र सम्मानमा सम्बन्धित निकायले ध्यान दिनुपर्ने बताइन् । दिवसको अवसरमा उपमहानगरपालिकाले गरेको सम्मानले आफूलाई थप उर्जा मिलेको उनको भनाइ छ ।

‘विगत लामो समयदेखि मिस्त्रीको रूपमा रहेर काम गरिरहदा पहिलोपटक आफूले गरेको काममा खुसी भएकी छु’ उनले भनिन्– ‘म मिस्त्री होइन, अब ठूला–ठूला भवनहरू निर्माणको जिम्मा लिन सक्ने ठेकेदार बन्ने छु, हामीलाई हौसला र प्रेरणा दिएमा हामी पुरूषसरह जिम्मेवारी लिएर काम गर्न सक्छौँ ।’

विना परियारले आफूले पाएको सम्मानले सबैभन्दा ठूलो खुसी मिलेको बताइन् । घर परिवारबाट अपहेलित भएर आफ्नो जीविकोपार्जनका लागि ज्याला मजदुरीको काम गर्दै आएको बताइन् ।

तुलसीपुर उपमहानगर–पालिका उपप्रमुख स्यानी चौधरीका अध्यक्षतामा भएको कार्यक्रममा श्रमिक महिलाहरूले आर्थिक र शैक्षिक पहुँच नहुँदा चाहेअनुसारको काम गर्न नसकेको बताएका थिए । उनीहरूले महिलाहरूको सामाजिक, आर्थिक र शैक्षिक क्षेत्रको सशक्तिकरणमा राज्यका सबै निकायहरूले ध्यान दिन जरूरी रहेको बताए ।

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्काले महिलाहरूको आर्थिक, सामाजिक र शैक्षिक अवस्था सुधारका लागि विभिन्न कार्यक्रमहरू ल्याउने प्रतिवद्धता व्यक्त गरे । पछिल्लो समय प्रविधिको प्रयोगकै कारण समाजमा विभिन्न किसिमका अराजक गतिविधिहरू बढ्दै गएको भन्दै त्यसतर्फ सचेत रहन सबैमा आग्रह गरे ।


उपप्रमुख चौधरीले महिलाहरूलाई शिक्षाको पहुँचमा पु¥याउन सके उनीहरूको दैनिक जीवनस्तरमा सुधार हुने बताइन् । कार्यक्रममा स्थानीय बालविज्ञ नवराज लामिछानेले पछिल्लो समय प्रविधिको प्रयोग बढ्दै गएसँगै साईबर सुरक्षामा पनि चुनौती बढ्दै गएको बताए । प्रविधिको प्रयोग र त्यसको प्रभाव विशेषगरी बालिका, किशोरीहरू बढी देखिएकाले यसतर्फ सबैले ध्यान दिन जरूरी रहेको उल्लेख गरे ।

सही ढंगले प्रविधिको प्रयोग गर्न नजान्दा सामाजिक अपराधहरू बढ्दै गएको भन्दै यसतर्फ सतर्क रहन आग्रहसमेत गरे । ईलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक सुशान्त मिश्रले प्रविधिको प्रयोग र त्यसले सामाजिक सुरक्षामा पारेको असरका बारेमा जानकारी गराएका थिए । प्रविधिको माध्यमबाट डिजिटल अपराधिक क्रियाकलाप बढ्दै गएको भन्दै यसतर्फ सबै सतर्क रहन आग्रह गरे । उनले साईबर अपारधविरूद्ध बनेका कानुनी प्रावधानका बारेमा समेत जनाकारी गराए ।

अधिकारकर्मी शुष्मा गिरी, पद्मा चौधरी, युवा करारा, सुशील बस्नेत, ज्येष्ठ नागरिक खुमानन्द अधिकारी, अपाङ्ग समाज सुधार केन्द्रका हुमकान्त कँडेल, पत्रकार नारायणी रजौरेलगायतले महिलाहरूले आफ्नो हक, अधिकार, सुरक्षा र सम्मानको प्रत्याभूति गर्न नसकेको बताए ।

राज्यका हरेक तहमा महिला सहभागिता शुन्यजस्तै रहेको र बाध्यकारी अवस्थामा मात्रै महिलाहरूको सहभागिता हुने गरेको उनीहरूको भनाइ थियो । राज्यको नेतृत्व तहमा महिलाको पहुँच अझैपनि पुग्न नसकेको भन्दै उनीहरूले संवैधानिक व्यवस्थामा उल्लेख गरिएका विषयहरूलाई पूर्णरूपमा कार्यान्वयन गर्न÷गराउन सडकमा आउनुपर्ने अवस्था सिर्जना भएको बताएका थिए ।

तुलसीपुर उपमहानगरपालिका महिला बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख माया श्रेष्ठको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको धन्यवाद कार्यपालिका सदस्य बसन्ता केसीले गरेकी थिइन् । कार्यक्रमको सहजीकरण पत्रकार उमा भण्डारीले गरेकी हुन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here