सल्यान, १९ फागुन ।
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि दोस्रो पटक छत्रेश्वरी गाउँपालिकाले जितेको छ । बिहीबार जिल्लाको बागचौर नगरपालिका–२ थारमारेमा सम्पन्न १३औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि छत्रेश्वरी गाउँपालिकाले जितेको हो ।
१२औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि छत्रेश्वरी गाउँपालिकाले जितेको थियो । जिल्लाका तीन नगरपालिका र सात गाउँपालिका सहभागी भएको प्रतियोगितामा सबैभन्दा धेरै २७ पदक छत्रेश्वरीले जितेको हो ।
जसअन्र्तगत १० स्वर्ण, १५ रजत २ कास्य गरेर जम्मा २७ वटा पदक जितेर छत्रेश्वरी गाउँपालिका पहिलो भएको जिल्ला खेलकुद विकास समिति सल्यानले जनाएको छ । त्यस्तै ८ स्वर्ण, ४ रजत र ३ कास्य गरेर जम्मा १५ पदक जित्दै बागचौर नगरपालिका दोस्रो भएको छ ।
यस्तै ७ स्वर्ण, ६ रजत र ६ कास्य पदकसहित जम्मा १९ पदक जितेर कुमाख गाउँपालिका तेस्रो भएको छ भने ६ स्वर्ण, ४ रजत १० कास्यसहित जम्मा २० वटा पदक जितेर शारदा नगरपालिका चौथो भएको छ ।
यस्तै ५ स्वर्ण, ७ रजत र ६ कास्यसहित १८ पदक जितेर दार्मा गाउँपालिका पाँचौ, ५ स्वर्ण, २ रजत र २ कास्यसहित ९ पदक जितेर सिद्धकुमाख गाउँपालिका छैटौँ, ३ स्वर्ण, ३ रजत र १० कास्यसहित १६ पदक जितेर कपुरकोट गाउँपालिका सातौँ, समान एक/एक रजत र एक÷एक कास्यसहित २/२ पदक जितेर बनगाड कुपिण्डे नगरपालिका र कालिमाटी गाउँपालिका आठौँ तथा ४ कास्य पदकसहित त्रिवेणी गाउँपालिका नवौँ भएको जिल्ला खेलकुद विकास समिति सल्यानका अध्यक्ष खड्ग आचार्यले जानकारी दिए ।
प्रतियोगितामा छात्रछात्रा तर्फका भलिबल, कबड्डी, एथ्लेटिक्स अन्तर्गतका खेल, मार्सल आर्ट लगायतका खेल सञ्चालन गरिएको थियो । पालिकास्तरबाट छनौट भएका करिब ५ सय खेलाडीहरूका बीचमा प्रतियोगिता सञ्चालन गरिएको उनले बताए । प्रतियोगितामा विभिन्न पदक हात पारेका तथा उत्कृष्ट खेल प्रदर्शन गरेका खेलाडीहरूलाई छनौट गरेर प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा समावेश गराइने उनको भनाइ छ ।
प्रतियोगिताको समापन कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख बेलाराम रावलले पढाइ र खेललाई सँगै अघि बढाउन विद्यार्थीहरूलाई सुझाव दिए । खेल खेल्दा शरीर फूर्तिलो र स्वस्थ हुनेमात्र नभएर व्यक्तिको भविष्य पनि खेलसँग जोडिएको उनले बताए । कार्यक्रमको सहजीकरण कार्यालय प्रमुख शिवराज अधिकारीले गरेका थिए ।