दाङ, १९ फागुन ।
दाङको तुलसीपुरमा अन्तर कलेजस्तरीय ‘टि–२० क्रिकेट टुनामेन्ट’ प्रतियोगिता सुरू भएको छ । ज्ञानज्योति एजुकेशन फाउन्डेशन तुलसीपुरको आयोजनामा बिहीबारदेखि अन्तर कलेजस्तरीय ‘टि–२० क्रिकेट टुनामेन्ट’ प्रतियोगिता सुरू हो ।
उक्त प्रतियोगिताको उद्घाटन तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ का अध्यक्ष दुजमान भण्डारीले गरेका छन् । तुलसीपुरको अरनीको मैदानमा सुरू भएको प्रतियोगितामा दाङ जिल्लाका १२ वटा कलेज तथा विद्यालयहरूको सहभागिता रहेको आयोजकले जनाएको छ ।
ज्ञानज्योति एजुकेशन फाउन्डेसनका सिइओ सुरेन्द्र जिसीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दे प्रमुख अतिथि वडा अध्यक्ष भण्डारीले खेलकुद क्षेत्रमा ज्ञानज्योतिले गरेको कार्य तथा गतिविधिहरू सह्रानीय रहेको बताए ।
तर खेलकुद क्षेत्रको विकास र खेलाडी उत्पादनमा राज्यको ध्यान नपुग्दा प्रतिभावान खेलाडीहरू गुमनाम अवस्थामा रहेको बताए । ‘अझै पनि खेल र खेलाडीमाथि राज्यको ध्यान नपुगेको महसुस भइरहेको छ’ उनले भने– ‘जसले गर्दा खेलकुद क्षेत्रको विकास हुन सकेको छैन ।’ उनले खेल र खेलाडीहरूको विकास र संरक्षणका निम्ति वडा सरकारबाट आगामी दिनमा सक्दो बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका शिक्षा तथा खेलकुद महाशाखाका अधिकृत मनबहादुर खड्का तुलसीपुरले खेलकुदलाई अतिरिक्त क्रियाकलापमा जोडेर कार्यक्रमहरू गर्दै आएको धारणा राखे । त्यस्तै खेलकुद पत्रकार मञ्च दाङका अध्यक्ष लक्ष्मण बस्नेतले राज्यले खेलकुदलाई फराकिलो बनाउन नसकेको गुनासो गरे । उनले युवा खेलाडीहरूलाई समेटेर खेलकुदको विकासमा सबै तहबाट जुट्नुपर्ने बताए ।
कार्यक्रममा युवा परिषद् दाङको अध्यक्ष अरूण लहरे, एन प्याब्सन दाङका अध्यक्ष बिमल गौतम, खेलकुद विकास समितिका कोषाध्यक्ष धु्रव आचार्य, क्रिकेट संघ दाङका कोषाध्यक्ष बालकृष्ण केसी लगायतले खेलकुदले शारीरिक, भौतिक र मानसिक रूपमा सबल बनाउन मद्दत पुग्ने बताए ।
क्रिकेटको आफ्नै क्रेज हुँदाहुँदै पनि जिल्लामा अन्य खेलको तुलनामा कमै मात्रामा यो खेल हुने गरेको अवस्थामा ज्ञानज्योतिले आयोजना गरेको यस प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने बताए । पछिल्लो समय खेल क्षेत्रलाई फरक दृष्टिकोण हेर्ने गरिन्छ, तर एउटा खेलाडीले खेलमार्फत आफ्नो विद्यालयसँगै सिंगो जिल्ला हँुदै नेपाललाई नै चिनाउने काम गर्दछ’ उनीहरूले भने ।
क्रिकेटमा रूचि राख्ने विद्यार्थीहरूको मागलाई मध्यनजर गर्दै क्रिकेटलाई पनि अन्य खेलहरू जस्तै सँगसँगै अगाडि बढाउन र यसको महिमालाई बचाइ राख्न अन्तर कलेजस्तरीय टी–२० क्रिकेट टुनामेन्ट प्रतियोगिताको आयोजना गरिएको ज्ञानज्योति फाउन्डेशनका सिइओ सुरेद्र जिसीले बताए । उनले यो खेललाई अर्को वर्षदेखि निरन्तरता दिने प्रतिवद्धता पनि व्यक्त गरे ।
उक्त कार्यक्रममा ज्ञानज्योति फाउन्डेशनका एकाडेमिक कोडिनेटर शरद गौतमले धन्यवाद ज्ञापन गरेका थिए भने सहजीकरण शिक्षक सोमराज बस्नेतले गरेका थिए । त्यस अवसरमा पूर्व खेलाडी, पत्रकार, प्रहरीलगायतको सहभागिता थियो ।
यसैबीच अन्तर कलेजस्तरीय टी–२० क्रिकेट टुनामेन्ट प्रतियोगिता फागुन २५ गतेसम्म सञ्चालन हुने भएको छ । उक्त प्रतियोगितामा प्रथम हुनेले नगद २५ हजार रूपैयाँ, मेडल र प्रमाणपत्र, द्वितीय हुनेले नगद १५ हजार रूपैयाँ मेडल र प्रमाणपत्र, उत्कृष्ट खेलाडीले नगद ३ हजार मेडल, प्रमाणपत्र, उत्कृष्ट बलरले नगद ३ हजार रूपैयाँ प्राप्त गर्ने छन् ।