तुलसीपुर, ३ फागुन ।
दाङ तुलसीपुरमा दोस्रो हिरा डाँगी स्मृति कप फुटबल प्रतियोगिता सुरू भएको छ । फुटवलमा सर्वाधिक पुरस्कार राशिको प्रतियोगिता हो । हिरा डाँगी फाउण्डेसन तुलसीपुर–५ को आयोजनामा सञ्चालित प्रतियोगिताको उद्घाटन प्रदेशसभा सदस्य माननीय प्रचण्ड विक्रम न्यौपानेले गरेका थिए ।
उद्घाटन न्यौपानेले राष्ट्रको सान र गौरवलाई उच्च राख्ने एक मात्र दरिलो माध्यम खेलकुद भएको बताए । खेलकुद राष्ट्रको पहिचान हो, विश्वसामु राष्ट्रलाई चिनाउने माध्यम खेलकुद नै हो तर राज्यले खेलकुद क्षेत्रलाई हेर्ने र बुझ्ने दृष्टिकोण फराकिलो हुन सकेको छैन उनले भने । अब हामी खेलकुदको विकासमा जुट्नु पर्ने समय आएको छ, उनले भने, देशका राजनीतिक दल सरकार बनाउने र ढलाउनेमा लिप्त हुँदा खेलक्षेत्र ओझेलमा परेको छ ।
उनले स्थानीयस्तरको खेलकुदको विकासका लागि आफू लागि पर्ने प्रतिवद्वतासमेत ब्यक्त गरे । कार्यक्रमका विशिष्ट अतिथि दाङ जिल्ला फुटबल संघका अध्यक्ष संजात धितालले खेलकुद स्वस्थ, अनुशासित नैतिक चरित्रवान नागरिक उत्पादन गर्ने थलो भएको बताए । अनुशासनको उच्च पालना गर्दै यसको आदर्शलाई आत्मसात् गर्न पनि उनले आग्रह गरे ।
साथै उनले फुटबल विकासका हरेक गतिविधिमा संघ सहकार्य गर्न सदैव तयार रहेको बताए । फाउण्डेसनका अध्यक्ष पोखर सिंह डाँगीको अध्यक्षतामा भएको कार्यक्रममा फाउण्डेसनका संरक्षक मानबहादुर डाँगी, युवा परिषद् दाङका अध्यक्ष ऋषिराज लहरे (अरूण) लगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए । फाउण्डेसनका सचिव केशव चौधरी मिग्माको स्वागत रहेको कार्यक्रमको सञ्चालन फाउण्डेसनका सल्लाहकार लक्ष्मण बस्नेतले गरेका थिए ।
पहिलो खेलमा टरिगाउँ विजयी
प्रतियोगिताअन्तर्गत सोमबार भएको पहिलो खेलमा टरिगाउँ युवा क्लव तुलसीपुर–१२ टरिगाउँले विजयी सुरूवात गरेको छ । बडहरा फुटबल क्लव घोराहीलाई सुन्यका विरूद्ध दुई गोल गर्दै टरिगाउँले जित निकालेको हो ।
खेलको १२औँ मिनेटमा टरिगाउँका जर्सी नं. ९ का ब्रिजेश बिष्टले पहिलो गोल गर्दै टिमलाई एक शून्यको अग्रता दिलाए भने ७३औ मिनेटमा जर्सी नं. १० का सञ्जु सेन ठकुरीले थप गोल गर्दै टिमलाई दोब्बर अग्रता दिएका थिए । खेलको म्यान अफ म्याच जर्सी नं. ११ सुजन राना घोषित भए । प्रतियोगिता अन्तर्गत आज मंगलबार एसएसएफ र फोरब्रदर्श नवलपरासी भिड्ने छन् । खेल दिउँसो साढे दुई बजेदेखि सुरू हुनेछ ।
स्थानीयस्तरमा फुटबल खेलको पहुँच अभिवृद्धि गर्ने र व्यावसायिक फुटबल खेलको विकासमा थप टेवा पु¥याउने उद्देश्यका साथ आयोजना गरिएको प्रतियोगितामा ८ टिमको सहभागिता रहेको छ । प्रतियोगितामा उपाधि जित्ने टिमले नगद १ लाख ५१ हजार पुरस्कार, उपविजेताले नगद ७५ हजार ५ सय, पुरस्कार रकम पाउने छन् ।