तुलसीपुर उद्योग वाणिज्य संघको वार्षिकोत्सव
दाङ, २९ माघ ।
तुलसीपुर उद्योग वाणिज्य संघले २८औँ वार्षिक साधारण सभा गरेको छ । शनिबार संघले आफ्नो २८औँ साधारण सभा गरेको हो । साधारण सभाको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले गरेका छन् ।
उनले बैंकको ब्याजदर वृद्धिले व्यवसायीहरू समस्यामा रहेको बताए । महासंघको तर्फबाट व्यसायीको हितमा काम भइरहेको उनको भनाइ छ । उनले बंैक ब्याजदर घटबढमा आफ्नो कुनै भूमिका नहुने बताए । ढकालले उद्योगी व्यवसायीको नेतृत्वकै कारण बैंकको ब्याजदर घटबढ नहुने बताए ।
‘बैंकको ब्याजदर घट्नु वा बढ्नुमा हाम्रो कुनै भूमिका हुँदैन्’ उनले भने– ‘मैले बंैकको ब्याज घटाऔँ, वा बढाऔँ भनेर हुँदैन् ।’ निजी क्षेत्रको नेतृत्व गरेको हुँदा आफू सधैँ निजी क्षेत्रकै हकहितका लागि लागिरहेको उनले बताए । ‘म सधैँ निजी क्षेत्रको साथमा छु’ उनले भने–‘निजी क्षेत्रको हकहितका लागि कहिले काम गरेको छैन् र ?’
निजी क्षेत्रको ठूलो लगानी रहेको बैंकिङ क्षेत्रले ब्याजदर बढाउँदा आम उद्योगी व्यवसायीहरू मारमा परेको पनि उनले बताए । आफू बैंकको अध्यक्ष भएकै कारण ब्याजदर घटबढ गर्नमा भूमिका खेलेको धेरैले आरोप लगाउने गरेका तर त्यो गलत बुझाई रहेको उनको भनाइ छ ।
उनले दाङ सम्भावना बोकेको ठाउँ भएको बताउँदै स्थानीयस्तरमा कृषि, पर्यटनजस्ता क्षेत्रमा लगानी गर्न आम व्यवसायीलाई आग्रह गरे । उनले दाङको टरिगाउँ एयरपोर्टको विस्तार गर्न नसक्दा नेपालगञ्ज–मार्फत तुलसीपुर आउनुपरेको र कार्यक्रम नसकेर जानुपर्ने बाध्यता भएको बताउँदै ७२ सिटे जहाज बसाउनका लागि आवश्यक पहल गर्ने विश्वाससमेत दिलाए ।
नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्ष कृष्ण प्रसाद शर्माले व्यवसाय गरिराखेका व्यवसायीहरूलाई विस्थापित हुन नदिन आफूले राष्ट्र बैंकको गर्भनरसँग भेटेर छलफल गरेको बताए । मुलुकको अर्थतन्त्रलाई बचाउन सरकार गम्भीर हुनुपर्ने उनको भनाइ छ ।
दाङका प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले भयरहित वातावरणमा व्यवसाय सञ्चालन गर्न सुरक्षा व्यवस्था कायम गर्ने बताए । त्यस्तै आन्तरिक राजस्व कार्यालय तुलसीपुरका प्रमुख टीकाराम चौलागाईंले देशको विकासमा निजी क्षेत्रको योगदान महत्वपूर्ण रहेको बताए ।
त्यस अवसरमा मानवअधिकार तथा शान्ति समाज दाङका अध्यक्ष नवीन कुमार पोख्रेल, राप्ती बबई क्याम्पसका अध्यक्ष विष्णुकुमार देबकोटा, नेपाली कांग्रेस तुलसीपुर नगर सभापति सुरेश हमाल, नेकपा एमालेका नगर अध्यक्ष माधव वली, जनता समाजवादी पार्टीका टोप बहादुर महतरालगायतले राज्य व्यवस्थामा देखिएको संकटका कारण दिनप्रतिदिन साना तथा ठूला व्यवसायहरू अस्तव्यस्त अवस्थामा रहेको बताए ।
त्यस अवसरमा तुलसीपुरको बसपार्क क्षेत्रमा सरसफाई गर्दै आएका सरसफाई अभियान्ता निम बहादुर बुढाथोकीलाई सम्मान गरेको छ । त्यस्तै राप्ती बबई क्याम्पस तुलसीपुरमा व्यवस्थापनतर्फ प्लटुमा उत्कृष्ट हुने छात्र÷छात्रा र बिबिएसतर्फ उत्कृष्ट छात्र÷ छात्राहरू नगदसहित सम्मान एवं पुरस्कृत गरिएको छ ।
कार्यक्रममा सघंका बरिष्ठ उपाध्यक्ष मिनराज भण्डारीले धन्यावाद ज्ञापन गरेका हुन् भने सहजीकरण महासचिव विनिल केसीले गरेका हुन् । तुलसीपुर उद्योग वाणिज्य सघंका अध्यक्ष राम प्रसाद चालिसेको अध्यक्षतामा कार्यक्रम भएको थियो ।