हेमराज परिवर्तन
दाङ, २४ माघ ।
व्यावसायिक बंगुरपालन किसानहरूले बजार समस्या रहेको बताएका छन् । आयआर्जनका लागि बंगुरपालनलाई व्यावसायिकरण गरिएको भएपनि अहिले पाठापाठी र मासु दुबैले बजार नपाउँदा समस्या बढ्दै गएको किसानहरूको भनाइ छ । बजारको समस्या हुन थालेपछि दाङका बंगुर तथा सुंगुर पाल्दै आएका किसानहरू निरास बन्न थालेका छन् ।
बंगुरपालक किसानले उत्पादन गरेकोे पाठापाठी र मासुका लागि तयार भएका बंगुर अहिले बिक्न छाडेको बताएका छन् । दानाको मूल्य अत्याधिक बुद्धि भएको छ, तर उत्पादनले बजार पाएको छैन व्यवसायी सुरेश बुढामगरले बताए । ‘बंगुरपालन गर्दा दानाको खर्चसमेत उठ्न सकेको छैन’, उनले भने ‘अहिले व्यवसायी पूर्णरूपमा संकटमा रहेको छ ।’
पशुपालनबाटै स्वदेशमै स्वरोजगार बन्ने योजना बनाएका उनले बिबिएस पास गरेर बंगुरपालन व्यवसाय सुरू गरेका हुन् तर, अहिले सोचेजस्तो नहुँदा व्यवसाय नै संकटमा पर्न थालेको बताए । ‘स्वदेशमै केही गरौं भनेर विविएस पास गरेर पनि बंगुरपालन पेशा गरिरहेको छु’,उनले भने, ‘तर बिक्री हुँदैन उत्पादन मात्रै छ ।’
बुढामगरले घोराही उपमहानगरपालिका–४ गोग्लीमा दश लाखको लगानीबाट व्यवसाय सुरू गरेका उनले पाठापाठी र मासुसमेत बिक्री नहुँदा दानाका लागि समेत ऋण लिनुपर्ने बाध्यता रहेको बताउँछन् । ‘दाना जुटाउनसमेत समस्या छ, पालिएका बंगुर विक्री हुँदैन त्यसैले दाना किन्ने रकमसमेत ऋण लिनुपर्ने अवस्था सिर्जना भयो’, उनले भने, ‘स्थानीय सरकारले पनि सहयोगका लागि कुनै पहल गरेको छैन् ।’
दैनिक दानाका लागि मात्रै रू एक हजार पाँच सयदेखि दुई हजारसम्म खर्च हुने गरेको उनी बताउँछन् । तर, त्यो अनुसार आम्दानी हुँदैन । वार्षिक एक लाखसम्म पनि आम्दानी नहुने गरेको उनले बताए । स्थानीय सरकारले बजार व्यवस्थापनमा सहजीकरण गरिदिए किसानलाई राहत मिल्ने उनको भनाइ छ ।
घोराही–१८ का सुशीला गुरूङले पनि बंगुर पाल्न थालेको झन्डै डेढदशक भयो । विगतमा बंगुर बिक्री नहुने समस्या थिएन, तर, पछिल्लो समय निकै समस्या हुने गरेको उनको भनाइ छ । ‘पहिले यो समस्या थिएन, तर, अहिले बिक्री नहुने समस्याले सतायो’, उनले भनिन् ‘पेशाबाट नै पलायन हुने अवस्था आयो ।’
त्यस्तै समस्या सुनाउँछन् घोराही–१४ पुलचोक खोलीगाउँका बमपाल बुढा पनि । २८ वर्षदेखि बंगुर पाल्दै आएका उनले विगतमा बंगुर पालेरै राम्रो आम्दानी गरिरहेका थिए । तर अहिले पाठापाठी र मासुका लागि तयार भएका बंगुर पनि नबिक्दा व्यवसायका लागि लिएको ऋण तिर्नै नसक्ने अवस्था आएको बताए । व्यवसायी धेरै भएकाले पाठापाठी बिक्री हुन छोडेको र व्यापारीले मासु पनि नलैजाँदा बंगुरको खानाका लागि ल्याएको भुसको खर्च पनि उठाउन मुस्किल भएको गुनासो बम पालको छ ।
किसानले उत्पादन गरेको पाठापाठी नबिकेपछि किसानलाई आर्थिक संकट पर्न थालेको नेपाल बंगुर व्यवसाय संघ घोराहीका अध्यक्ष वीरबहादुर चौधरीले बताए । ‘व्यावसायिक रूपमा बंगुर पालेर पाठापाठी उत्पादन गरिरहेका छौं,’ उनले भने, हाल बजार नपाएर हामी किसान पुर्पुरोमा हात लगाएर बस्नुपरेको छ ।’ व्यावसायिक फर्म सञ्चालन गर्नेहरू हाल व्यवसाय बन्द गरेर वैदेशिक रोजगारमा पलायन हुन बाध्य बन्न थालेको उनले बताए ।
घोराही उपमहानगर– पालिकाका उपमेयर हुमाकुमारी डिसीले जिल्लामा मागभन्दा उत्पादन धेरै भएपछि बंगुर बिक्री हुन छाडेको बताइन् । यो समस्या उपमहानगर–पालिकामा पनि जानकारी आएको तर समस्या समाधान गरिहाल्ने उपाय भने नभएको उनको भनाइ छ ।
जिल्लामा बंगुरपालन व्यवसायदेखि अन्य पशुपालन गर्दै आएका थुप्रै कृषक रहेका छन् । पशुपालन व्यवसायलाई नै मुख्य पेशा बनाउँदै आएका कृषकहरूले पालेका पशुलाई चाहिने दानापानीदेखि बजार व्यवस्थापनको अभाव भैरहेको छ । यसतर्फ स्थानीय तथा संघीय सरकारको ध्यान नदिने हो भने धेरै व्यवसाय समस्यामा पर्ने देखिन्छ ।
जिल्ला भेटनरी तथा पशु अस्पताल दाङले बंगुरपालन व्यवसायीहरूको बजार नपाउने जिल्लागत समस्या भएको बताएको छ । बजारीकरणमा समस्या छ कार्यालय प्रमुख सुदामा भट्टले भने, उत्पादन धेरै भयो, खपत गर्ने थोरै भएकाले बजारको समस्या देखिएको छ ।
जिल्ला बाहिर सप्लाई नहुँदा तथा पाठापाठी वितरण कार्यक्रम सरकारी कार्यालयबाट सञ्चालन नहुँदा बजार कम देखिएको उनले बताए । बंगुरमा देखिएको सामान्य स्वास्थ्य समस्याले बजारमा केही असर गरेको प्राविधिकहरूको भनाइ छ ।