तुलसीपुर, २१ माघ ।
दाङको प्रतिष्ठित शैक्षिक संस्था हिमाल एकाडेमी तुलसीपुर दाङले स्थापनाको १८औँ वर्ष पार गरेको छ । गुणस्तरिय, व्यवहारिक तथा उपयोगी शिक्षा दिने उद्देश्यले २०६१ सालमा स्थापना भएको हिमाल एकाडेमीले शुक्रबार विद्यालयको १९औँ वार्षिकोत्सव मनाएको छ ।
कक्षा पिजीदेखि कक्षा १२ सम्म अध्ययन हुने हिमालमा दुई हजार एक सय विद्यार्थी अध्ययनरत रहेका छन् । शिक्षण सिकाइलाई गुणस्तरिय र युग सुहाउँदो व्यवहारिक शिक्षा एकेडेमीले दिदै आएको प्रिन्सिपल मधुसुदन केसीले बताए ।
विद्यालय सञ्चालक समितिका अध्यक्ष विनयकुमार मिश्रको अध्यक्षतामा तथा ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालयकी क्षेत्रीय सञ्चालिका गीता न्यौपानेको प्रमुख आतिथ्यतामा तथा तुलसीपुर उपमहानगरपालिका महिला बालबालिका शाखा प्रमुख माया श्रेष्ठ र प्याब्सन तुलसीपुर नगर अध्यक्ष गिरिराज डाँगीको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा बोल्ने बक्ताहरूले विद्यालय यस क्षेत्र गौरवको विद्यालय र शैक्षिक गुणस्तरमा अब्बल विद्यालय रहेको बताएका थिए । उनीहरूले अब विद्यालयले अहिलेको आवश्यकता हेरेर थप नयाँ संकायहरू र विषयहरू थप गरेर जान सक्नुपर्ने बताएका थिए । कार्यक्रममा विद्यार्थीहरूले सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरेका थिए ।
विद्यालयमा लामो समयदेखि सेवा दिदै आएका शिक्षक कर्मचारीलाई सम्मान गरिएको थियो । कार्यक्रममा शिक्षक अभिभावक समितिका अध्यक्ष श्रमलाल चौधरी, विद्यालयका सहायक प्रिन्सिपल मुकेश कुमार एसलगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन सनोद थापा र अनिमा वैद्यले गरेका थिए ।