दाङ, १७ माघ ।
मुलुकमा प्रजातन्त्र स्थापना गर्ने आहुति दिने सहिदहरूलाई यसवर्ष राज्यले बेवास्ता गरेको छ । विगतमा सहिद दिवसलाई भब्यतामा सात मनाउने गरिएको थियो तर यसपटक भने दिवसमा राज्यको उपस्थिति शून्य प्राय भयो । उच्च ओहोदामा व्यक्तिले सामान्य विज्ञप्तिबाहेक राज्यको सहभागिता सहिद दिवसमा देखिएन ।
परिवर्तनका लागि भएका आन्दोलनका क्रममा जीवन बलिदान दिने सहिदको सम्झनामा विभिन्न कार्यक्रम गरी सहिद दिवस मनाइने गरिन्छ । यसदिन मुलुकभर सहिदहरूको सम्झनामा विभिन्न कार्यक्रमहरू गरी सहिदहरूप्रति श्रद्धाञ्जली दिने गरिन्छ ।
सरकारी तथा गैरसरकारी संघसंस्थाहरूले सहिदहरूको सम्झनामा औपचारिक कार्यक्रमहरू गर्ने गर्दछन् । यस वर्षपनि सहिदहरूको सम्झनामा विभिन्न कार्यक्रमहरू भइरहदा राज्यको उपस्थिति भने शून्य देखिनुले सहिदप्रति वेवास्ता देखिन्छ ।
मुलुकमा प्रजातन्त्र र नागरिकको स्वतन्त्रताका लागि जीवन बलिदानी दिएका सहिदहरूलाई पछिल्लो समय सरकारले बेवास्ता गर्दै आएको छ । न त सहिद परिवारहरूको समस्या समाधान नै गर्न सकेको छ, न त सहिदहरू प्रतिको प्रतिबद्धता नै पूरा गर्न सकेको छ । सहिदको सम्झनामा प्रत्येक वर्ष सहिद सप्ताह सञ्चालन गर्दै आएको सरकारले यस वर्ष सहिद सप्ताह पनि सञ्चालन गरेन ।
वि.सं. २०१२ सालदेखि निरन्तर रूपमा माघ १० गतेदेखि माघ १६ गतेसम्म विभिन्न कार्यक्रमहरू हुने गर्दथ्यो । तर यसवर्ष भने सहिद सप्ताहअन्तर्गत सरकारले कुनै कार्यक्रमहरू सञ्चालन गरेको छैन । राज्यस्तरबाट कुनै कार्यक्रमहरू पनि आयोजना गरिएन । यद्यपि सामाजिक संघसंस्था, शैक्षिक संस्थाहरूले भने सहिद दिवसमा विविध कार्यक्रम गरेर मनाएका छन् ।
नेपालको पहिलो सहिद लखन थापालाई मानिन्छ । थापालाई तत्कालिन राणा प्रधानमन्त्री जङ्गबहादुर राणाविरूद्ध प्रचार प्रसार गरेको आरोपमा विक्रम सम्बत १९३३ साल फागुन २ मा गोरखाको मनकामना मन्दिर नजिकैको रूखमा झुण्ड्याएर मारिएको थियो ।
थापा तत्कालिन सैन्य पल्टनमा कार्यरत थिए । सहिद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द ठाकुर र गंगालाल श्रेष्ठलाई पनि राणा शासनकै बेला विक्रम सम्बत १९९७ सालमा मारिएको हो । तर राज्यले भने त्यो सम्मान दिवसका अवसरमा पनि दिन सकेन ।